logo
२०८२ असार ८ आईतवार



जैविक कृषिको अवसर

विचार/दृष्टिकोण |




लक्ष्मी शाह

नोभल कोरोना भाइरस (कोभिड–१९) ले विश्वव्यापी महामारीको रूप लिएसँगै भौतिक, सामाजिक, आर्थिक, राजनीतिक, मनोवैज्ञानिक, स्वास्थ्य क्षेत्रलगायतका अन्य विकासका गतिविधिहरू धरापमा परेका छन् । देशलाई सबै क्षेत्रमा नोक्सानी बेहोर्नुपरेको छ । विकासको स्तर खस्कँदो छ । धनजनको क्षतिसँगै राष्ट्रहरूले ठूलो आर्थिक सङ्कट बेहोर्नुपरिरहेको र भविष्यमा आर्थिक सङ्कट, खाद्यान्न अभाव, भोकमरीजस्ता चुनौतीहरू बेहोर्नुपर्ने अवस्था आकलन गरिँदै छ । मुख्य गरेर विकासोन्मुख राष्ट्र जो प्रायःजसो जनताका दैनिक आधारभूत आवश्यकताका लागि समेत अन्य छिमेकी राष्ट्रमा निर्भर हुन्छन्, तिनलाई कोरोनाले ल्याएको भौतिक र मनोवैज्ञानिक त्रास र धनजनको क्षतिसँगै निकट भविष्यमा भयानक आर्थिक र खाद्य सङ्कट आउनसक्नु नौलो कुरा पनि हैन ।
नेपालमा लामो समयदेखि चलिरहेको बन्दाबन्दीले कृषि, उद्योग, व्यापार र व्यवसायको क्षेत्रलाई निकै अप्ठ्यारो पारिरहेको छ । थुप्रै सङ्कट र चुनौतीहरू खडा भएका छन् । राष्ट्रविकास र समृद्धिको प्रारम्भिक यात्राबाट निकै पछाडि धकेलिएको छ । यस्तो विषम परिस्थितिबीच पनि सम्पूर्ण जनतालाई आत्मनिर्भरताको एक ठूलो पाठ सिकाएको छ, यो महामारीले ।
महामारी एक चुनौतीमात्र नभई, कृषि क्षेत्रमा अवसर पनि बन्न सक्छ । नेपाल कृषिप्रधान देश हो, जहाँ लगभग ६०.४ प्रतिशत जनता कृषि पेसामा निर्भर छन् । यहाँ जैविक कृषि पद्धतिको प्रचुर सम्भावना छ । तर, यहाँ अधिकांश स्रोत–साधन र दैनिक उपभोग्य उत्पादन तथा सामग्रीहरू अन्य छिमेकी मुलुकबाट आयात गरिन्छ । विश्व नै बन्दाबन्दीको स्थिति र सङ्कटमोचनमा केन्द्रित भइरहँदा त्यस्ता सामग्रीहरू आयात हुन गाह्रो हुनेछ । देशको अर्थतन्त्रको मुख्य पूर्वाधार मानिने कृषि क्षेत्र जहाँ कृषि खेतिपातीका लागि अत्यावश्यक स्रोत साधन, कच्चा पदार्थ मलखाद, उन्नत बीउविजन, विषादि, कृषियन्त्रसमेत उपलब्ध हुन सक्ने अवस्था छैन । यातायात बन्दले पर्याप्त स्रोत साधन देशको एक ठाउँबाट अर्को ठाउँसम्म पु¥याउन सकिएको छैन । हेर्दा यो स्थिति एकतर्फबाट समस्या भए पनि जैविक कृषिका लागि एक अवसरचाहिँ बन्न सक्छ । किसानलाई आत्मनिर्भरताको पाठ सिकाउन सक्छ ।
जैविक खेतीले विशेष गरेर अनवरत रूपमा माटो, प्राकृतिक, वातावरण तथा मानव स्वास्थ्यको रक्षा गर्दछ । यसले स्थानीय वातावरणमै खारिएका प्राकृतिक पद्धति, जैविक विविधता तथा स्रोत–सम्पदाहरूको प्र्रयोगलाई बढावा दिन्छ र विभिन्न प्रकारका आयातीत तथा हानिकारक सामग्रीहरूको प्रयोगलाई निरुत्साहित गर्दछ । प्राङ्गारिक कृषि परम्परागत ज्ञान, पद्धति स्थानीय सिर्जनात्मकता तथा अन्वेषण र विज्ञानलाई जोडेर वातावरणलाई लाभ पु¥याई सम्पूर्ण जीवितहरूको जीवनको गुणस्तर अभिवृद्धिका लागि स्वच्छ सम्बन्धको प्रवद्र्धन गर्दछ । यस्तो प्रविधिले यसै पनि कृषिमा थुप्रै सम्भावना बोकेको हाम्रो देशमा महामारीका कारण प्राप्त फुर्सदको समय कृषि क्षेत्रमा थप सम्भावना सिर्जना गर्ने एक सुनौलो अवसर साबित हुन नसक्ने पनि हैन । उदाहरणका लागि नेपालको एकमात्र जैविक खेतीको भेगका रूपमा चिनिने जिल्ला जुम्लालाई लिन सकिन्छ । त्यहाँ आयातीत कृषि कच्चा पदार्थ र स्रोत साधन अभावका कारण नै पनि जैविक खेतीलाई अवलम्बन गरिएको पाउन सकिन्छ । यसरी महामारीले प्रभावित कृषि क्षेत्रलाई विनाअवरोध नै निरन्तरता दिन सकेमा किसानको मात्रै समस्या हल नभई, देशको अर्थतन्त्रमा समेत लाभ पुग्ने देखिन्छ । देश आर्थिक सङ्कट र भोकमरीको समस्याबाट बच्न सक्छ ।
कृषिका लागि योग्य र पर्याप्त श्रमिकको अभाव सधैँ खड्किरहेको छ । कोरोनाका कारण देशबाहिर रहेका युवा स्वदेश फर्किरहेको अवस्थामा तिनलाई कृषि क्षेत्रमा संलग्न गराउन सके कृषि क्षेत्रको ठूलो चुनौती हटाउन सकिन्छ । उनीहरूलाई परम्परागत सीप, स्रोत साधनको सजिलै प्रयोग गरी जैविक कृषिका क्षेत्रमा आकर्षित गर्न सकिन्छ । यसले युवा परिचालनका साथै जैविक खेतीको विकास र विस्तारमा समेत ठूलो योगदान पु¥याउँछ । बाहिरबाट कृषिका लागि स्रोत साधन र कच्चा पदार्थ उपलब्ध नहुँदा स्थानीय बीउविजन, कम्पोस्ट मल, जैविक विषादिहरूको प्रयोग बढ्न सक्ने अवस्था छ ।
धेरैजसो किसानमा जैविक प्रविधिबारे उत्सुकता र सचेतना बढाउन सक्दा मौलिक प्रविधिको संरक्षण र त्यसको आधुनिकीकरण समेत अवसर सिर्जना हुन्छ । लामो समयदेखि बढ्दो सहरीकरण, औद्योगिकीकरण र सँगसँगै जनसङ्ख्या वृद्धि अनि त्यसैले निम्त्याएको चर्को खाद्य मागलाई पूरा गर्ने नाममा रासायनिक मल र विषादीयुक्त आधुनिक खेती फैलिँदो छ । यस्तो आधुनिक खेती प्रणालीले मानव स्वास्थ्य, माटो र वातावरणमा पार्ने नकारात्मक प्रभावलाई बेवास्ता गर्दै केवल उत्पादन वृद्धितर्फ मात्रै जोड दिन्छ । महामारीको यो अवस्थामा स्वास्थ्य सुरक्षा मुख्य प्राथमिकता रहेको छ र जनमानसमा व्यक्तिगत स्वास्थ्यप्रति निकै चासो र चेतना बढ्दै छ । ताजा, स्वस्थ, पोसिलो, रसायनरहित, जैविक खाद्य पदार्थको प्रयोगसँगसँगै माग पनि बढ्दो छ ।
तसर्थ, अब जैविक खेती प्रणालीको प्रचार–प्रसारमार्फत मानिसमा अझै चेतना फैलाउन सके जैविक कृषि प्रणालीको थप निरन्तर विकास र विस्तारमा टेवा पुग्नेछ । सम्पूर्ण कृषि विज्ञ, कृषितर्फका सक्षम विद्यार्थी, किसान सबै आ–आफ्नै घर क्षेत्रमा छन् । यस्तो वातावरणमा सम्पूर्णले आ–आफ्नो क्षेत्रभित्र रही आ–आफ्नै समुदायमा जैविक खेतीबारे विस्तृत जानकारी दिनुपर्छ । जस्तै जैविक खेती के हो ? कसरी सुरुवात गर्न सकिन्छ ? जैविक खेती किन जरुरी छ, मुख्य फाइदा र बेफाइदा के–के छन् ? के–के चुनौतीहरू छन्, जैविक खेतीका अवसरहरू के–के छन् ? कुन–कुन पद्धति अपनाउनुपर्छ ? जैविक खाद्य वस्तुहरूको बजार माग के–कस्तो छ ? यी सबै कुरा प्रत्यक्ष रूपमा जानकारी गराउन सकिन्छ । आफ्नो समुदायमा आफैँबाट थालनी गर्न सकिन्छ । यसले समुदायका अन्य व्यक्तिहरूमा जैविक खेतीबारे चेतनाको स्तर वृद्धि गर्नुका साथसाथै किसानलाई प्रत्यक्ष रूपमा हेरेर सिक्ने अवसर प्राप्त हुन्छ ।
भनिन्छ, जहाँ इच्छा त्यहाँ उपाय । यसरी कृषि क्षेत्रमा प्रचुर सम्भावना बोकेको हाम्रो देशमा चुनौतीको थुप्रो हुँदाहँुदै पनि सबै एकजुट भई लागिपरे सङ्कटको यो घडी पनि एक सुनौलो अवसरमा परिणत हुन सक्छ । आधुनिक खेती जैविक खेतीमा सजिलै रूपान्तरण हुन सक्छ । कृषि क्षेत्रमा जैविक क्रान्तिले नयाँ फड्को मार्न सक्छ ।

(लेखक कृषि र जीवविज्ञानको विद्यार्थी हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?