नवराज पोखरेल
जेठ ३० अर्थात् १२ जुनबाट सुरु भएको यस वर्षको मनसुनको प्रारम्भमै पर्वत जिल्लाको कुश्मामा पहिरोका कारण नौजनाको ज्यान तथा करोडौँको क्षति भयो । कोभिड–१९ महामारीको सङ्क्रमण दिनदिन बढ्दै गएको अवस्थामा हामीकहाँ आउने नियमित मनसुन अर्को विपत्तिको कारक बन्दै भित्रिएको छ । अघिल्लो वर्षको मनसुन २० जुनबाट सुरु भई अक्टोबर १२ सम्म ११५ दिन नेपालमा रहेको थियो । बङ्गालको खाडीबाट आउने मनसुनी वर्षाले यो ११५ दिनको अवधिमा बाढीपहिरो, उच्च वर्षा का ६९० घटना रेकर्ड गरिएको थियो । त्योसँगै १६१ जनाको ज्यान गएको उक्त अवधिमा छ हजार १६८ परिवार, पाँच हजार एक सयभन्दा बढी घरहरूमा असर परेको र एक अर्ब ४५ करोड रुपियाँभन्दा बढीको भौतिक क्षति भएको थियो ।
बङ्गालको खाडीबाट पानी बोकेको बादल नेपाल पसेर वर्षा हुने प्रक्रिया मनसुन हो । मनसुनका कारण समुद्रमाथिको र जमिनमाथिको वायुमण्डलमा ताप सञ्चय गर्ने क्षमतामा हुने फरक हो । पछिल्लो समयमा जलवायु परिवर्तनका कारण मौसम र जलवायुजन्य प्रक्रिया भविष्यवाणी झनै कठिन, जटिल र विपद्को निरन्तरतामा वृद्धि हुँदै गएको छ । नियमित रूपमा प्रकृतिमा हुने गरेका जलवायुजन्य क्रियाकलापहरूले मानवीय सहजतालाई बिगार्ने, दैनिक तथा मानवीय क्रियाकलापहरू त्यही असर पु¥याउने वा मानवीय क्षति गर्ने प्रक्रिया जलवायुजन्य विपद् हुन् । जलवायुजन्य प्रणाली नियमित भए पनि अरू सँगसँगैका अवयवहरूको कारण जलवायुजन्य जोखिम र त्यसबाट सिर्जित विपद् बढ्दै गएको छ ।
नेपालमा पनि जलवायु प्रक्रिया आफैँमा जटिल छ । यहाँको जलवायु बङ्गालको खाडीद्वारा नियन्त्रित मौसमी प्रणालीभित्र रहन्छ । यो जटिल प्रणाली नेपालमा हुने जलवायुजन्य विपद्को प्रमुख कारक हो । नेपालको भूगर्भ तथा भूगोललाई हिमालयको उत्पत्ति विकासक्रम र स्थितिसँग हेर्नुपर्दछ । नेपाल हिमालय क्षेत्रभित्र पर्ने जटिल भूगोल तथा भूगर्भ भएको स्थान हो । यहाँको भूगर्भ कलिलो, जोखिमयुक्त संवेदनशील र विकासक्रममा रहेको छ । यो प्रक्रिया नितान्त प्राकृतिक प्रक्रिया हो तर मानवजन्य क्रियाकलापहरूले यसलाई बढाउने र घटाउनेचाहिँ अवश्य गर्दछ ।
जलवायुजन्य विपद्को अर्को महŒवपूर्ण कारकचाहिँ विनायोजना विकास भएको बस्ती, पूर्वाधार विकास र मानवीय क्रियाकलापहरू हुन् । प्राकृतिक र भौगोलिक रूपमा जोखिमयुक्त स्थानहरूमा मानवीय क्रियाकलापहरूको विकास गर्दा आउन सक्ने, पर्न सक्ने जोखिमहरूको राम्रो विश्लेषण गर्नुपर्छ । नेपालको भूगोलभित्र छ हजारभन्दा बढी खोला, नदीहरू छन् । मानिसको आधारभूत आवश्यकता पूर्ति गर्न सहज हुनेगरी नदीकिनारामा, उच्चतम भिरालो क्षेत्रमा र भौगोलिक रूपमा उच्च जोखिम क्षेत्रमा बसेको बस्ती नै मनसुन र वर्षाको समयमा उच्च जोखिममा पर्दछन् । नेपालमा मनसुनको समय हरेक वर्षको जुन १० देखि सेप्टेम्बरसम्मका चार महिनामा औसत वार्षिक वर्षाको ८० प्रतिशतभन्दा बढी वर्षा हुने गर्दछ । जलवायुजन्य जोखिम (पहिरो, बाढी, अत्यधिक वर्षा, अतिकम वर्षा, चट्याङ भूक्षय) मूलतः यही समयमा हुन सक्छन् ।भिरालोपना भएको क्षेत्रमा अत्यधिक वर्षा भएको खण्डमा माटोमा पर्ने चाप र तौलका कारण माटोढुङ्गाको भाग छुट्टिएर जाने प्रक्रिया पहिरो हो । जब पहिरोले मानवीय क्रियाकलापहरू भएको स्थानमा असर पु¥याउँछ, यो विपद् हो । नेपालको मनसुन तथा वर्षाको समयमा भूक्षय र पहिरोका कारण मानवीय र अन्य क्षति सर्वाधिक हुने गरेको छ । गृह मन्त्रालयका अनुसार पहिरोका कारण वार्षिक रूपमा एक सयजनाभन्दा बढीको मृत्यु हुने गरेको छ, अन्य क्षतिचाहिँ अत्यधिक छ ।
तराईको समथर भू–भाग प्रायः बाढीको चपेटामा पर्दछ । बाढी र बाढीजन्य मानवीय क्षति पनि एक सयभन्दा वढी वार्षिक देखिन्छ । अत्यधिक वर्षा, अव्यवस्थित बसोवास तथा ढल र पानीको उचित निकास नभएको अवस्थामा यस्तो बाढी र बाढीजन्य क्षति अत्यधिक रहन्छ । नेपालको १५ प्रतिशत भू–भाग, तराई समथर र ६८ प्रतिशत पहाडी क्षेत्र भएको हुनाले वार्षिक रूपमा हुने मानवीय तथा अन्य क्षति पहाडी क्षेत्रमा हुने पहिरो र भूक्षयबाट बढी हुने गरेको छ । सन २०१९ मा नेपालमा प्राकृतिक विपत्तिबाट मृत्यु भएकामध्ये ८९ जनाको मृत्यु चट्याङका कारण भएको थियो । चट्याङबाट औसत हरेक वर्ष एक सयजनाको मृत्यु भएको पाइन्छ । चट्याङ नेपालको प्राकृतिक विपत्तिका रूपमा ठूलो क्षतिको कारक बनेको छ । वायुमण्डलमा नियमित रूपमा हुने यस्तो विद्युतीय प्रवाह तबमात्र क्षतिका कारण बन्छ, जब यो जमिनसम्म आइपुग्छ । वायुमण्डलमा उत्सर्जित भएको विद्युतीय प्रवाह बस्तीसम्म आएपछि त्यसका कारणले नै क्षति पु¥याउँछ ।
विपद्बाट बच्ने उपाय :
करिब चार महिना चल्ने मनसुनमा ८० प्रतिशतभन्दा बढी पानी पर्ने नेपाल भौगोलिक भौगर्भिक रूपमा कच्चा र जलवायु परिवर्तनको जोखिमको हिसाबमा विश्वकै चौथो खतरापूर्ण छ । विपद्लाई न्यूनीकरण गर्नका लागि पहिलो प्राथमिकताचाहिँ व्यवस्थित, सुरक्षित बसोवास हो । योजनाबद्ध बस्ती विकास र खतराजन्य क्षेत्र पहिचान गरी मानवीय क्रियाकलापहरूलाई नियन्त्रण गर्नुपर्छ । सुरक्षित, व्यवस्थित बस्ती विकास योजनाले प्राविधिक भौगोलिक, भौगर्भिक वातावरणीय रूपमा योग्य स्थानको खोजी गर्नुपर्दछ । पहिचान गरिएको स्थानलाई वैज्ञानिक रूपमा विकास गर्ने योजना ल्याउनुपर्दछ । तबमात्र बस्तीलाई व्यवस्थित बनाउन सम्भव हुन्छ । सुरक्षित बस्ती विकासका लागि विपद् सम्भावित क्षेत्र पहिचान गरी खतराजन्य क्षेत्रको नक्साङ्कन गर्ने र त्यस्तो स्थानमा बस्ती नबसाउने हो । हरेक व्यक्ति जलवायुजन्य विपद् र यसबाट हुने क्षतिबाट बच्ने उपायहरूबाट सुसूचित हुनुपर्दछ । आफ्नो बासस्थान र कार्य गर्ने थलो कस्तो स्थानमा छ, त्यसको विपद् जोखिम कति छ भनी पहिचान गरी सुरक्षाको पूर्वतयारी गर्नुपर्ने हुन्छ । जलवायुजन्य विपद्लाई घटाउने तथा हटाउने उपाय पूर्वसूचना प्रणालीको विकास हो । मौसमी प्यारामिटरहरूको उचित नाप गरी तथ्याङ्क सङ्कलन गर्ने तथा त्यसको पूर्वानुमान गरी सुसूचित भएर जोगिने पद्धति हुनुपर्दछ ।
नेपालको परिप्रेक्ष्यमा बाढीपहिरो तथा उच्च वर्षाका कारण जनधनको क्षति नै धेरै छ, त्यसकारण पनि नदीकिनाराका तथा अन्य जोखिमपूर्ण स्थानका बासिन्दाहरू नै यो जोखिमबाट धेरै प्रभावित हुने गरेको पाइन्छ । नदीको उपल्लो तटीय क्षेत्रमा नियमित मापन गरी तल्लो तटीय क्षेत्रमा पूर्व सूचना पु¥याएर धेरै जनधनको क्षतिलाई रोक्न सकिन्छ । यसैगरी, मौसम पूर्वानुमानलाई चुस्त र दुरुस्त बनाई धेरै मात्रामा हुन सक्ने वर्षा तथा त्यसबाट सम्भावित पहिरो तथा बाढीबाट हुने क्षतिलाई पनि कम गर्न सकिन्छ । चट्याङलाई पनि नियमित अनुगमन गरी धेरै चट्याङ पर्न सक्ने स्थानमा सुरक्षित रहन सक्ने उपायहरू अवलम्बन गर्नुपर्दछ । साथै, सामुदायिक तथा सबै क्षेत्रमा विपद्सम्बन्धी जानकारी र बच्ने तरिकाहरूलाई यथासम्भव सचेतना जानकारी हुनुपर्दछ । विपद्को अवस्थालाई घटाउने र हटाउने कार्यलाई महŒवसाथ राज्य तथा हरेक नागरिक सचेत हुनु जरुरी छ ।
(लेखक वातावरणविद् हुनुहुन्छ ।)