logo
२०८२ असार ९ सोमवार



निर्विकल्प पुटिन

विचार/दृष्टिकोण |




रामप्रसाद आचार्य

रूसमा राष्ट्रपति भ्लादिमिर पुटिनको राजनीतिक विरासत पुनः बलियो भएको छ । उहाँको वर्तमान कार्यकाल सन् २०२४ मा सकिँदै छ । तर, संवैधानिक सुधारसम्बन्धी जनमतसङ्ग्रहमा करिब ७७.९२ प्रतिशत मत पाएसँगै अब उहाँलाई थप दुई कार्यकाल अर्थात् सन् २०३६ सम्म राष्ट्रपति पदमा बहाल रहन पाउने कानुनी बाटो खुलेको छ ।
रूसी केन्द्रीय निर्वाचन आयोगका अनुसार जुलाई १ मा भएको जनमतसङ्ग्रहमा कुल मतदातामध्ये करिब ६५ प्रतिशतले मतदानमा भाग लिएका थिए ।
राष्ट्रपति पुटिनले संवैधानिक सुधारसम्बन्धी प्रस्तावमाथि जनताको अभिमत बुझ्न जनमतसङ्ग्रह आह्वान गर्नुभएको थियो । जसमा राष्ट्रपतिको कार्यकालसहित अन्य केही संवैधानिक सुधारका व्यवस्थाहरू समावेश गरिएको छ । यस्तै संविधान संशोधन प्याकेजमा राष्ट्रपति र संसद्को अधिकार क्षेत्रलाई व्यापक बनाउने प्रस्ताव पनि अनुमोदित भएको छ । राष्टपति पुटिन रूसी जनतामाझ अत्यन्तै लोकप्रिय हुनुहुन्छ भन्ने जनमतसङ्ग्रहको परिणामले पुनःपुष्टि गरेको छ ।
रूसमा राष्ट्रपतिको कार्यकाल छ वर्षको हुन्छ । सन् २०२४ मा सकिने हालको कार्यकालपछि पनि राष्ट्रपतीय निर्वाचनमा सहभागी हुने सम्भावनालाई ६७ वर्षीय पुटिनले अस्वीकार गर्नुभएको छैन । गएको जनवरीमा पुटिनले लोकप्रिय मतदानमार्फत संविधान संशोधनको प्रस्ताव राख्नुभएको थियो । यो जनमतसङ्ग्रह अप्रिल २२ मा गर्ने तय भएको थियो तर कोरोना भाइरस सङ्क्रमणका कारण लगाइएको लकडाउनका कारण यसलाई जुलाई १ मा सारिएको हो । कोरोना भाइरसको महामारीका कारण भीड नहोस् भनेर एक साताअघि नै मतदान केन्द्र खुला गरिएको थियो ।
मूलतः एक्काइसौँ शताब्दीको रूसले केवल पुटिनलाई मात्र शीर्षनेताका रूपमा चिनेको छ । उहाँको विकल्पकमा अरू नेता देखिएका छैनन् । पुटिन सन् १९९९ मा प्रधानमन्त्रीमा नियुक्त हुनुभयो । त्यसपछि सन् २००० देखि २००८ सम्म राष्ट्रपति चुनिनुभयो । फेरि सन् २००८ देखि २०१२ सम्म प्रधानमन्त्री बन्नुभएका पुटिन सन् २०१२ देखि पुनः राष्ट्रपति निर्वाचित हुँदै आउनुभएको छ । पछिल्लोपटक सन् २०१८ मा भएको चुनावमा उहाँले ७६ प्रतिशत मत पाउनुभएको थियो ।
राजनीतिमा आउनुअघि सन् १९८९ को क्रान्तिका बेला पुटिन रूसी गुप्तचर निकाय केजीबीको प्रमुखका रूपमा काम गर्नुभएको थियो । सन् १९९० मा सोभियत सङ्घको विघटनसँगै मस्कोमा नेतृत्व अभाव देखियो । रूसका तत्कालीन राष्ट्रपति बोरिस यल्तसिनले पुटिनलाई सन् १९९९ मा प्रधानमन्त्री नियुक्त गर्नुभयो । यल्तसिनले सन् १९९९ को डिसेम्बरमा अचानक पद त्यागको घोषणा गर्नुभयो । त्यसपछि पुटिनका दिन सुरु भए । नयाँ राष्ट्रपतिका रूपमा आउनुभएका पुटिनलाई सबैले समर्थन गरे । त्यसपछि उहाँ नयाँ रूसका शक्तिशाली नेता बन्दै जानुभयो ।
सोभियत सङ्घको विघटनपछि स्वतन्त्र भएको युक्रेनको सत्तामा एकखाले रिक्तता देखियो । त्यसको फाइदा उठाउँदै पुटिनले सन् २०१४ मा युक्रेनको क्रिमियालाई रूसमा विलय गराउनुभयो । यो उहाँको सबैभन्दा ठूलो विजय थियो । पश्चिमी शक्तिका लागि भने यो ठूलो झड्का थियो । विश्वले त्यसलाई रोक्न केही पनि गर्न सकेन । पुटिनले पश्चिमी देशहरूको विदेश मामिलासम्बन्धी कमजोरीको फाइदा उठाउनुभयो । पश्चिमा शक्तिविरुद्ध उहाँले सिरियामा राष्ट्रपति बसर अल असदलाई साथ दिनुभयो । त्यसले उहाँलाई अर्को लाभ प्राप्त भयो ।
कुनै बेला राजनीतिक महŒवाकाङ्क्षा शून्य रहेका पुटिनजस्ता नेताका लागि अहिलेको शक्तिशाली अवस्था चमत्कार नै हो । रोगले गाँजेको बेला हतास तत्कालीन राष्ट्रपति येल्तसिनले आफ्नो शक्ति र परिवारको सुरक्षाको ग्यारेन्टीका लागि अरू कसैलाई रोजेको भए रूसको इतिहासले अर्कै मोड लिने थियो । सन् १९९९ अगस्ट १९ मा प्रधानमन्त्री बन्दा राजनीतिक रूपले पुटिनको हैसियत शून्य थियो । धेरैलाई लागेको थियो, पुटिन पनि येल्तसिनले उभ्याउन चाहेका अन्य नेताजस्तै सङ्कटका बेला विस्थापित हुनुहुनेछ । तर, २० वर्षपछि पुटिन रूसमा सर्वशक्तिमान बन्नुभयो । सेन्ट पिटर्सबर्गमा हुर्केका, केजीबीका तत्कालीन युवा कर्मचारीले यो दुई दशकको अवधिमा रूसी जीवनका हरेक क्षेत्रमा आफ्नो वर्चश्व कायम गर्नुभएको छ । उहाँको सत्तारोहणपछि धेरै परिवर्तन भइसकेको छ । सुरुवाती समय पुटिनले शक्तिको संरचना तयार गर्नमा खर्चिनुभयो । सबै क्षेत्रमा एउटै व्यवस्था र दह्रो नियन्त्रण कायम गर्नुभयो । अर्थतन्त्रमाथि राज्यको नियन्त्रण बढाउनुका साथै गुप्तचर संस्थाहरूलाई मुख्य भूमिका दिलाउनुभयो ।
उहाँले पहिलो चरणमा पश्चिमा समर्थक ‘पपुलिजम’लाई अघि बढाउनुभयो । पुटिनले नेटोप्रति संशय र अमेरिका तथा खुला बजारका पक्षमा रूसमा जनमत बनाउनुभयो । त्यसपछि सार्वभौमसत्ताको विचार हाबी भयो । सन् २००७ मा पुटिनले म्युनिखमा आक्रामक भाषण दिनुभयो । सन् २०१४ मा उहाँले क्रिमिया रूसमा विलय गराउनुभयो भने युक्रेनमा युद्ध सुरु भयो । यसले अन्य मुलुकबाट रूसलाई अलग्यायो र स्वतन्त्र अर्थतन्त्र निर्माण भयो ।
सोभियत सङ्घको विघटनसँगै रूस तहसनहस अवस्थामा पुग्यो । अर्थतन्त्र नराम्ररी खस्कियो । रूसी मुद्रा रुवलको चरम अवमूल्यन भयो । डालोभरिको रुवलले एउटा पाउरोटी किन्न नसक्ने अवस्था आयो । रूसी जनतामा चरम निराशा छायो । उनीहरू मुलुकलाई स्थायित्व दिन सक्ने बलियो नेताको खोजीमा थिए । रूस र रूसी जनताको आवश्यकता र चाहनालाई पुटिनले छोटो समयमा सम्बोधन गर्न सफल हुनुभयो । दोस्रो कार्यकाल समाप्त हुँदासम्म पुटिन रूसकै सबैभन्दा सफल नेता बन्ने प्रतिस्पर्धामा सामेल हुनुभयो । बहुसङ्ख्यक जनता उहाँको पक्षमा थिए । त्यसैले राष्ट्रपति बनिरहन उहाँले संविधानै संशोधन गर्न सक्नुहुन्थ्यो तर त्यसको सट्टा उहाँले नयाँ उत्तराधिकारी छान्ने बाटो रोज्नुभयो । सन् २००८ देखि उहाँ प्रधानमन्त्री बनी दिमित्री मेदभेदेभ राष्ट्रपति बनाउनुभयो । तर, मेदभेदेभ राष्ट्रपति बन्नेबित्तिकै सङ्कट सुरु भयो । आर्थिक अस्थिरताले राजनीतिक अस्थिरता निम्त्यायो । सम्भ्रान्तहरूको एक हिस्सा पुटिनलाई छाडेर मेदभेदेभको पछि लागे ।
त्यसैले सन् २०१२ मा पुटिन पुनः राष्ट्रपति बन्नुभयो । सँगसँगै राष्ट्रवादी धार बलियो हुँदै गयो । पुटिनका लागि दक्षताभन्दा इमानदारी बढी महŒवपूर्ण देखिन्छ । चरम गरिबीलाई घटाउन सक्नु पुटिन शासनको ठूलो सफलता हो । तेलको उच्च मूल्य, सुधारवादी एजेन्डा र वर्षौंसम्मको आर्थिक वृद्धिदरका कारण यो सम्भव भयो । सन् १९९९ देखि २००८ सम्मको १० वर्षे अवधिमा रूसको कुल गार्हस्थ उत्पादन ९४ प्रतिशतले वृद्धि भयो ।
पुटिनले रूसलाई विश्वशक्तिका रूपमा पुनःस्थापित गरेको आममानिसको बुझाइ छ । विपक्षीसमेत यसलाई अस्वीकार गर्न सक्दैनन् । उहाँले केही ठूला युद्धमा हात हाल्नुभयो । चेचेन्या, जर्जिया, युक्रेन, सिरियामा रूसले चालेको कदममा पुटिन सफल हुनुभयो । उहाँले सैन्य खर्चमा पनि ठूलो वृद्धि गर्नुभयो ।
रूसमा सन् १५४७ देखिको राजसंस्थालाई सन् १९१७ मा बोल्सेभिक क्रान्तिमार्फत हटाई कम्युनिस्ट सत्ता स्थापना गरिएको थियो । कम्युनिस्ट सत्ता स्थापना सँगसँगै गणराज्यहरूलाई मिलाएर सोभियत सङ्घ बन्यो । दोस्रो विश्वयुद्धमा जर्मनी पराजित भएपछि पूर्वी युरोप र बाल्कन क्षेत्रमा सोभियत सङ्घको प्रभाव विस्तार भयो । विश्व दुई धुव्रीय बन्यो । एकातिर सोभियत सङ्घ र अर्कोतिर अमेरिका विश्व शक्ति बने ।
सोभियत सङ्घको विघटनसँगै पश्चिमाहरूको कठपुतली बन्ने चरणमा पुगेको रूसलाई पुनः विश्व शक्तिराष्ट्र बनाउने पुटिनलाई रूसी जनताले साथ दिएका छन् । रूसमा लोकप्रिय पुटिनका आगामी योजना र कार्यक्रमले रूसलाई थप बलियो र एकताबद्ध गर्ने अपेक्षा गरिएको छ ।

(लेखक गोरखापत्रका नायव कार्यकारी सम्पादक हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?