डा. उज्वल न्यौपाने
कोरोनाको जोखिम घटेको छैन, बढ्दै छ । सरकारले मात्र प्रयास गरेर कोरोनालाई पूर्ण नियन्त्रण गर्न सकिँदैन, सबै नागरिकको सहयोग आवश्यक छ । त्यसैले पहिला कोरोनालाई सही रूपमा बुझ्नुपर्छ । त्यसपछि सचेत रहने र उपचारमा जानुपर्छ ।
कोरोना भइरस एउटा आरएनए भाइरसको समूह हो, जसले पक्षी तथा स्तनधारी जीवमा विभिन्न रोग उत्पन्न गराउँछ । कोरोना समूहको भाइरसहरूले सामान्य रुघाखोकीदेखि घातक श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउँछन् । कोरोनाले गराउने घातक रोगमा सार्स, मर्स र अहिले देखापरेको कोभिड–१९ पर्दछन् । कोरोना भाइरस पहिलोपटक सन् १९३० मा कुखुरामा देखिएको थियो । मानिसमा भने पहिलो कोरोना भाइरस १९६० मा भेटिएको थियो ।
सार्स कोरोना भाइरस–२
कोभिड–१९ पहिलोपटक वुहान, चीनमा गम्भीर श्वासप्रश्वाससम्बन्धी रोग भएको बिरामीमा देखिएको थियो । २०१९ को डिसेम्बरको दोस्रो साता देखापरेको यो भाइरसलाई सार्स कोरोना भाइरस–२ भनेर वैज्ञानिक नाम दिइएको छ । पहिलोपटक देखिएको यो भाइरसले यो लेख तयार गर्दासम्म एक करोड २४ लाखभन्दा बढीलाई सङ्क्रमित बनाइसकेको छ भने पाँच लाख ५७ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । सजिलै एक–अर्कामा सर्न सक्ने र वृद्ध तथा विभिन्न स्वास्थ्य समस्या भएका बिरामीलाई सजिलै गम्भीर अवस्थामा पु¥याइदिन सक्ने क्षमताले गर्दा यो भाइरसलाई विश्वभर गम्भीर रूपमा लिइएको छ । महामारी गराउने नोबल कोरोना भाइरसमा सार्स र मर्सपछि यो सार्स–कोभी–२ भाइरस तेस्रोमा पर्दछ ।
वैज्ञानिकहरूले धेरैजसो कोरोना भाइरस चमेरामा पाइने आँकलन गरेका छन् र यो कोभिड–१९ गराउने भाइरस पनि चमेरोबाटै सरेको अनुमान छ । यो सङ्क्रमित व्यक्तिले खोक्दा वा हाच्छ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिटाको माध्यमबाट अर्को व्यक्तिमा सर्दछ । यी छिटाबाट भाइरस विभिन्न सतहमा रहेर पनि ती स्रोतबाट एक–अर्कामा सर्न सक्छ । जनावरबाट भने मानिसमा सर्ने नसर्ने यकिन केही प्रमाण फेलापरेको छैन ।
अधिकांश सक्रमित व्यक्तिमा सामान्य रुघाखोकी, शारीरिक थकान तथा ज्वरो देखिन्छ र कुनै औषधोपचारविना नै आफैँ निको हुन्छ । सङ्क्रमण भएको दुई दिनदेखि १४ दिनसम्ममा सामान्यतया विभिन्न लक्षण देखिन सक्छ र यो अवधिलाई इन्कुबेसन समय भनिन्छ । यो समयमा देखापर्ने लक्षणहरूमा कामज्वरो, श्वास फेर्न गाह्रो हुने, थकान, मांसपेशी दुख्ने, गल्ने, टाउको दुख्ने, जिब्रोको स्वाद लिने शक्ति र नाकको सुँघ्ने शक्ति कम हुने, नाक बन्द हुने, वाकवाक लाग्ने, घाँटी खसखस गर्ने, वान्ता आउने, पखाला लाग्ने आदि पर्दछन् । वृद्ध तथा पुरानो रोग जस्तै ः चिनीरोग, मुटुसम्बन्धी रोग, फोक्सोको रोग भएका बिरामीलाई यो भाइरसले जटिल समस्याहरू निम्त्याउन सक्छ । न्युमोनिया, तीव्र श्वासप्रश्वास प्रणाली फेल हुने, एआरडीएसजस्ता जटिलता केही बिरामीमा आउन सक्छन । जसका लागि अस्पताल सेवा अत्यावश्यक हुन्छ र गहन देखभाल इकाइ (आईसीयू)अन्तर्गत राखी भेन्टिलेटरसमेत प्रयोग गर्नुपर्ने हुन सक्छ । यी जटिलता देखापर्नेमध्ये २५÷४५ प्रतिशतले ज्यान गुमाउन सक्नेसमेत तथ्याङ्कले देखाएको छ । तसर्थ, श्वासप्रश्वासमा समस्या, छाती दुख्ने, ओठ नीलो हुने तथा कोरोनाका अन्य शङ्कास्पद लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।
कोभिड–१९ को जाँज कोरोनाविरुद्ध शरीरले उत्पादन गर्ने एन्टिबडीको माध्यमबाट गरिन्छ । यसका लागि धेरै जाँच छन् । नेपालमा भने पीसीआर अथवा आरडीटीबाट कोरोना जाँच गर्न सकिन्छ । पीसीआर परीक्षणका लागि घाँटीको पछिल्लो भागबाट स्वाब (¥याल) लिएर जाँच गरिन्छ । आरडीटीमा कुनै भाइरसले उत्पादन गर्ने एन्टीजेनको मात्रा जाँच गरिन्छ । लक्षण देखिएका बिरामी, पोजिटिभ केसको सम्पर्कमा आएका व्यक्ति, स्वास्थ्यकर्मी, क्वारेन्टाइनमा राखिएका बिरामीमा पीसीआर जाँच गरिन्छ । सम्भावित कोरोनाको बिरामीको सेवामा अग्रपङ्तिमा कार्यरत सबै स्वास्थ्यकर्मीमा आरडीटी जाँच गरिन्छ र पोजिटिभ आएमा पीसीआर गरिन्छ ।
हालसम्म स्वास्थ्य मन्त्रालयअन्तर्गत टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, विभिन्न प्रादेशिक अस्पताल र सरकारले तोकेका सरकारी अस्पतालहरूमा यी जाँचको व्यवस्था गरिएको छ । पीसीआर पोजेटिभ देखिएका तर सामान्य लक्षण भएका बिरामीलाई देशभरका विभिन्न क्वारेन्टाइनमा राखिन्छ । साथै संवेदनशील बिरामीलाई भने आइसोलेसन वार्डमा राखी आवश्यक उपचार गरिन्छ । पोजेटिभ देखिएका बिरामीको तीनवटा जाँच नेगेटिभ आएपछि रोगमुक्त घोषणा गरी डिस्चार्ज गरिन्छ ।
उपचार र जोखिम कम कसरी
हरेक दिन विश्वभर विभिन्न संस्थाले औषधि तथा खोप पत्ता लगाउन नयाँ–नयाँ अध्ययन अनुसन्धान गरिरहेका छन् । यस भाइरसको निवारणका लागि विभिन्न औषधिहरूको प्रयोगको अध्ययनअन्तर्गत क्लोरोक्विन तथा हाइड्रोक्सिन–क्लोरोक्विन, रेम्डेसिभर, आइभरमेक्टिन आदिको अध्ययनमा सकारात्मक नतिजा देखिएको छ । अध्ययनअनुसार मलेरियामा प्रयोग गरिने क्लोरोक्विन औषधिले कोरोना लाग्न नदिने तथा रेम्डेसिभर नामक औषधिले भाइरसको प्रजननमा बाधा पु¥याएर रोगको निवारण गर्न सहयोग पु¥याउने देखिएको छ । त्यसैगरी, एचआईभीमा प्रयोग गरिने लोपोनाभिर र रिटोनाभिरको मिश्रणले भाइरसको शक्ति कम गरी लक्षणमा सुधार ल्याउन सक्ने देखिएको छ । भाइरसको प्रजननका लागि चाहिने आरएनएलाई नष्ट गर्न सक्ने क्रिस्पर प्रणालीसम्बन्धी पनि खोज भइरहेको छ ।
सामान्य लक्षणहरू जस्तै रुघाखोकी लागेमा स्वास्थ्य संस्था गइरहनुपर्दैन र घरेलु उपचार पद्धति नै प्रभावकारी हुन्छ । श्वासप्रश्वाससम्बन्धी समस्या, न्युमोनिया, पुरानो रोग भएका बिरामीमा लक्षण देखिएमा भने चिकित्सकको सल्लाह लिनु नै उचित हुन्छ । जटिल समस्याहरू जस्तै एआरडीएस, न्युमोनिया, तीव्र मिर्गौला क्षति आदि देखिएमा अस्पतालमै भर्ना भई लक्षण सहयोगी उपचार गर्नुपर्ने हुन्छ ।
जोखिम निवारण गर्ने नै कोरोनाविरुद्ध हतियार हुन सक्छ । यसका लागि हामीले विश्व स्वास्थ्य सङ्गठन तथा स्वास्थ्य मन्त्रालयले बताएका प्रमुख नियमहरूलाई पालन गर्नुपर्छ । सकेसम्म अत्यावश्यक कार्यबाहेक अन्य कामका लागि बाहिर नजाने, कम्तीमा पनि दुई मिटरको दूरी बनाइराख्ने, बाहिर तथा जोखिमयुक्त स्थानहरूमा जाँदा मास्कको प्रयोग गर्ने, कम्तीमा ६० प्रतिशत अल्कोहल मिश्रित सेनिटाइजर प्रयोग गरिरहने, हात धोइरहने, आफूले प्रयास गर्ने मोबाइल, पर्स, कलम, काइँयो आदि सामग्रीलाई पनि नियमित सेनिटाइज गर्ने, खोक्दा वा हाच्छ्युँ गर्दा कुइना या रुमालले नाक र मुख छोप्ने तथा शङ्कास्पद लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने गरेमा कोरोना लाग्नबाट बच्न सकिन्छ । कोरोना लागिहालेमा पनि शीघ्र स्वास्थ्यसेवा प्राप्त गरी स्वस्थ रहन सकिन्छ । तथ्याङ्कअनुसार तीन प्रतिशतजति बिरामीको मात्र मृत्युदर रहेको छ र स्वस्थ व्यक्तिमा अझै कम छ, तसर्थ कोरोना लागिहाले पनि आत्तिहाल्नुपर्दैन ।
(न्यौपाने केएमसीमा इन्टर्न गर्दै छन् ।)