logo
२०८२ असार ९ सोमवार



आयुर्वेदको सहारा

विचार/दृष्टिकोण |




दीपक सुवेदी

प्रकृतिविरुद्ध मानिसको पराकाष्टा र अप्राकृतिक जीवनशैलीबाट उत्पन्न हुने अनिश्चित खतराहरूबाट बच्ने उत्तम उपाय वैदिक उपचार विधि एवम् वैदिक ज्ञानविज्ञानको व्यावहारिक आचरण हो । यो कुरालाई यसपटकको स्थितिले पनि पुष्टि गरेको छ ।
कोभिड–१९ को लक्षणहरूलाई हेर्दा आयुर्वेद सिद्धान्तमा यो दुष्ट प्रतिश्याय एवम् सान्निपातिक श्लेष्मकज्वर तथा कर्कट सन्निपातअन्तर्गत पर्न सक्ने देखिन्छ । यसरी आउने सङ्क्रमणका महामारीको सबै लक्षण शास्त्रमा वर्णितभन्दा फरक पनि हुन सक्ने भएकाले शास्त्रोपदेशसँग हुबहु लक्षण मिल्नुपर्छ नै भन्ने हुन्न । काल परिस्थितिअनुसार त्रिदोष सिद्धान्तअनुरूप अवलम्बन गर्नुपर्छ र यही कुरा क्रमशः पुष्टि हुँदै गएको छ । पछिल्लो समयमा यो सङ्क्रमणका लागि अन्य चिकित्साको तुलनामा आयुर्वेदीय चिकित्सा एवम् जीवनशैली प्रभावकारी देखिन्छ ।
समस्याले सम्भावना बोकेर आएको हुन्छ । पुरानो औषधि कम्पनी (सिंहदरबार वैद्यखाना) भएको देश नेपाल हो । विश्वमै सबैभन्दा प्रभावकारी गुण भएका जडीबुटी पाइने मुलुक नेपाल हो । यहाँ हावापानी, खनिज आदि धेरै प्राकृतिक स्रोत छन् । यी साधन–स्रोतको सदुपयोग गर्ने र यसको माध्यमबाट देशले विश्वको सामु परिचय पस्कने अवसर पनि हो यो ।
संसारमा सबैभन्दा ठूलो एवम् वैज्ञानिक सभ्यता तथा मानवविज्ञान वैदिक विज्ञान हो । वैदिक ज्ञानविज्ञानको विरोध गरे पनि विश्वमा आइपर्नेजति पनि समस्या छन्, तिनको मुख्य समाधान भनेको वैदिक ज्ञानको सदुपयोग एवम् व्यवहार हो भन्ने प्रमाणित हुँदै गएको छ । सुरु सुरुमा बेवास्ता गरे पनि पछिल्ला दिनहरूमा यसको उपचारमा आयुर्वेदिक औषधिको पनि प्रयोग र अनुसन्धान गर्न विश्व स्वास्थ्य सङ्गठनलगायतले भन्न थालेका छन् ।
अप्राकृतिक जीवनशैलीले यससँग लड्ने क्षमता राख्दैन बरु सङ्क्रमणलाई बढाउन मद्दत दिन्छ । त्यसैले प्राकृतिक रूपमा रोगसँग लड्ने शक्ति अर्थात् इम्युन पावर बढाउन योग प्राणायाम गर्नुपर्छ । स्वस्थ र सफा ठाउँमा शारीरिक व्यायाम गर्नुपर्छ । दूषित पदार्थ, माछामासु एवम् अस्वस्थकर कुनै पनि चीजहरू खानुहुँदैन । घरेलु औषधिका रूपमा कागती, तुलसी, असुरो, मरिच, पिपला, सुठो, ज्वानो, जाइफल, जाइपत्री, गुर्जो, बेसार, टिमुर, लसुन, खाने मेन्था, ल्वाङ, अलैँची, सुकमेल, खाने कपुरजस्ता चीजहरूको मात्रा र अनुपात मिलाएर सेवन तथा अन्य तरिकाले औषधीय प्रयोग गर्न सकिन्छ । सिलाजित, मृगमद्, श्रृङ्गभस्मलगायत आयुर्वेदमा सान्निपातिक श्वासकास एवम् कर्कट सन्निपातमा प्रयोग गरिने औषधिहरू गुणदोष तथा उमेर अवस्थालाई विचार गरेर यसमा प्रयोग गर्न सकिन्छ । जटिल रोगहरूमा सिद्ध भइरहेको स्थानीय जातिको गोअर्क (गोमुत्र) को सेवन, गोघृत, मेडिकेटेड गोघृतको नस्य आदि यसमा रामवाण औषधि हुन सक्छ ।
स्वस्थ रहनलाई पेटको क्षमताभन्दा बढी नखाने र कब्जा हुन नदिने अर्थात् पेटलाई सफा राख्नुपर्छ । फोहोरयुक्त पदार्थबाट बच्नुपर्छ । ओसमा रहेका लत्ताकपडालगायत प्रयोग गरिने सरसामान घाममा सुकाएरमात्रै प्रयोग गर्नुपर्छ । शरीरमा अग्नि अथवा सूर्यतŒव बढाउने सूर्य नमस्कार, सूर्यभेदी प्राणायाम आदि यौगिक अभ्यास गर्नुपर्छ । बाहिर हिँड्दा नाक, मुख छोपेर हिँड्ने, मास्कको प्रयोग गर्नुपर्छ ।
आयुर्वेद भैषज्यरत्नावलीले व्यक्त गरेको एउटा कुरा यहाँ मननीय छ– ग्रहेषु प्रतिकूलेषु नानुकूलं हि भेषजम् । ते भेषजानां वीर्याणि हरन्ति बलवन्त्यपि । याप्याः केचित् प्रकृत्यैव केचिद्याप्या उपेक्षया । प्रतिकृत्य ग्रहानादौ पश्चात् कुर्याच्चिकित्सितम् । अर्थात् प्रतिकूल ग्रहले औषधिको गुणदोषलाई कमजोर गरिदिन्छ, फलस्वरूप औषधोपचारले काम नगर्न सक्छ । त्यसैले पहिला ग्रहको प्रतिकार गर्नु र अनि उपचार चलाउनु । यसैगरी, महर्षि चरकले चरकसंहिताको विमानस्थानअन्तर्गत पूरा बस्ती उजाड हुनेगरी चल्ने महामारी रोगहरूका बारेमा जनपदध्वंसको संज्ञा दिँदै उपदेश गरेका छन् । यसबाट रोगको सङ्क्रमणको महामारी प्राचीनकालमा पनि हुने गरेको तथ्य प्रस्टिन्छ । त्यो समयमा रोगको महामारी चल्दा अपनाएर सिद्ध भएका ज्ञानविज्ञान तथा उपचार विधिहरूलाई आयुर्वेद ग्रन्थहरूले उपदेश गरेका हुन्, जुन आज पनि व्यावहारिक हुन सक्नेछन् ।
एलोप्याथिक चिकित्सा सफल हुन नसकेका कतिपय यस्ता रोगमा आयुर्वेदीय उपचार सफल हुने गरेका छन् । तसर्थ, आयुर्वेदका विद्वान् विशेषज्ञहरूले यसप्रकारको समस्यालाई अवसर बनाएर आफ्नो साधना बढाउन पर्ने देखिन्छ ।

(लेखक ॐ आयुर्वेद आरोग्यशालाका वैद्यराज हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?