logo
२०८२ असार ९ सोमवार



निशान छाप कि निसान छाप ?

विचार/दृष्टिकोण |




पुष्पराज भट्टराई

‘भाषा  र भाका सधैँ परिवर्तनशील छ, भाषा म¥यो भने, मझधारमा नेपाली भाषा, पुराना पुस्ताको मृत्युसँगै मातृभाषाको मृत्यु, भाषामाथिको बहस केन्द्रीयस्तरमा मातृभाषा लोप हुँदै स्थानीयस्तरमा, नेपाली भाषाभन्दा बाह्य भाषा सिक्ने युवाको सङ्ख्या बढी, नाममात्रैको भाषा आयोग, भाषा मर्दा र मार्दा, भाषामा विभेदको वृत्तान्त, कहाँ हराए भाषाका गीतहरू, मिडियाले बिगारेको भाषाको छवि, सृष्टि व्युँझाउने आवाज.....।’ यी विभिन्न पत्रपत्रिकामा छापिएका समसामयिक लेखका शीर्षकमात्र हुन् ।
शीर्षक आफैँ बोल्छन् । नेपाली भाषाभित्रको भाषा कस्तो छ । शीर्षकभित्रका शीर्षक समाचार पढेपछि पनि यो बहसको विषय बनिसकेको प्रमाणित हुन्छ । भाषाभित्र भाषा हराउँदै छ । भाषा एक विभेद अनेक छन् ।
भाषा समाज र सभ्यताको जननी हो । हाम्रो भाषा मेटिए संस्कृति मेटिन्छ । हाम्रो संस्कृति मेटिए हाम्रो सभ्यताको मूल सुक्छ । सभ्यताको मूल सुके हामी मेटिन्छौँ । त्यसैले कुनै पनि देश र जातिलाई चिनाउने मूल आधार भाषा नै हो । हाम्रो भाषाले पालनपोषण गरी हुर्काएको हाम्रो भाषा श्रुतिमधुर छ । विश्वमै अनुकरणीय छ ।
भाषा हरेक देशका नागरिकको प्राकृतिक अधिकारको भाषा हो । यसलाई कसैले मातृभाषाका रूपमा बोल्छन् त कसैले दोस्रो भाषाका रूपमा बोल्छन् । कसैकसैले विदेशी भाषाका रूपमा पनि बोल्छन् । कतिपय भाषाभाषीले सापटी भाषाका रूपमा बोल्लान् ।
नेपाली भाषा नेपालका सम्पूर्ण जातजाति र भाषाभाषीको पनि साझा भाषाका रूपमा स्थापित बनेको छ । नेवारी बोल्ने व्यक्ति नेवारी भाषामै तामाङ भाषा बोल्ने मान्छेसँग कुराकानी गर्न सक्दैनन् । तामाङ मातृभाषा भएको मानिस तामाङ भाषामै गुरुङ मातृभाषा भएको मानिससँग कुराकानी गर्न सक्दैन ।
अवधी बोल्ने व्यक्ति अवधी भाषामै मैथिली भाषा बोल्ने मान्छेसँग कुराकानी गर्न सक्दैनन् । झाँगड मातृभाषा भएको मानिस झाँगड भाषामै सतार मातृभाषा भएको मानिससँग कुराकानी गर्न सक्दैन । यस्तो अवस्थामा विभिन्न भाषाभाषीले नेपाली भाषाकै मद्दत अनिवार्य रूपमा लिनुपर्ने अवस्था छ । त्यसैले नेपाली भाषा भाषाको पनि भाषा हो । यसमा थुप्रै जातीय भाषामा प्रयोग हुने आगन्तुक शब्दको सुगन्ध पनि मिसिएको छ ।
आज नेपाली भाषाको वर्णविन्यासमा विविधता जताततै छ । सरकारी कामकाजी भाषाको प्रयोगमा विविधता, कार्यालयको नागरिक बडापत्रमा लेखिएको भाषामा विविधता, होडिङ बोर्डमा लेखिएका नाम ठेगानामा विविधता छ । सरकारका सूचनादेखि विज्ञप्तिसम्म जताततै वर्णविन्यासमा एकरूपता भेटिँदैन ।
गोरखापत्र होस् या अन्य पत्रपत्रिकाले प्रयोग गरेको भाषाशैली होस्, सबैमा एकरूपता भेटिँदैन । कसैले ‘शहीद’ लेखेर ‘सहिद’लाई आगन्तुक ठान्छन् भने कोही ‘रुपियाँ’ लेख्छन् र ‘रुपैयाँ’लाई खल्तीमा राख्छन् । बग्रेल्ती खुलेका अनलाइन समाचारमा प्रयोग भएका भाषा किन नहोस् । हिजोआज भाषामा प्रयुक्त वर्णविन्यासमा ‘युनिकोड’ आफैँ भाषाविद् बनेको देखिन्छ ।
नेपाली व्याकरणको नयाँ नियमले निम्त्याएको बिचल्ली जताततै मनलाग्दी भेटिन्छ । ‘फूलमा फुल’ विवादित छ । ‘सुरु र शुरु’का बीचमा मनमुटाव छ । ‘महाकवि र महा पुरुष’ आपसमा छुट्टिएका छन् । ‘कानून र कानुन’ दुवै अदालतमा बहस गर्छन् । अड्डा, अदालत र लेखापढीको भाषामा विविधता अथ्र्याउँछन् ।
पाठ्यक्रम निर्माता एकातिर, लेखक अर्कातिर, पढाउने शिक्षक एकातिर, पढ्ने विद्यार्थी अर्कोतिर, पढेको एकातिर पढाउनुपर्ने सिकाउनुपर्ने अर्कोतिर, तिनको बुद्धिमत्ताको परीक्षाको कपी परीक्षण गर्नेहरू अर्कोतिर बटारिएको देख्दा नेपाली भाषाका आकार, उकार, एकार, ओकार, हलन्त, अजन्तहरू आज कापीका पानामा आफैँ निरीहजस्ता भएका छन् । नियमविनाको वर्णविन्यास सिकारुका लागि मियोविनाको दाइँ भनेजस्तै भएको छ ।
विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा मात्र होइन, पाठ्यपुस्तकहरूमा समेत वर्णविन्यासगत एकरूपता पाइँदैन तिनै विश्वविद्यालयका शोधपत्रका पानाभरि वर्णविन्यासको त्रुटिको डङ्गुर भेटिन्छ । कोही ‘गरिब’लाई गल्ती देख्छन् । कोही ‘गरीब’प्रति सहानुभूति पोख्छन् । यसले भाषा सिक्ने र सिकाउनेलाई मात्र होइन कि यसका सम्पूर्ण प्रयोगकर्तालाई अन्योलमा पार्नुका साथै नेपाली भाषाको गरिमामाथि नै चोट पु¥याएको छ ।
हिजोसम्म सबै ठीक, उहाँहरूले लेखेका पाठ्यपुस्तकका पाना र पढाएको ठीक, उत्तरपुस्तिका परीक्षण गरेको ठीक, पाठ्यपुस्तक लेख्नुभयो त्यो पनि ठीक तर आज त्यही लेखाइ बेठीक ।
परीक्षाका प्रश्नपत्र हुन् या तिनका उत्तरपुस्तिका हुन्, सबै क्षेत्रमा वर्णविन्यासको विविधता सजिलै भेटिन्छ । यसरी वर्णविन्यास बेठीक भन्दैमात्र जाने हो भने एकजना शिक्षित नेपाली भाषीले जीवनभर नेपाली भाषाको नियम सिकिरहने हो भने जीवनको अन्तिम घडीसम्म शुद्ध लेख्न जान्दैन ।
विक्रम संवत् २०७२ मा घोषणा गरिएको संविधानको धारा र अनुसूचीको वर्णविन्यासमा विविधता छ, त्यसको लेखाइमा एकरूपता छैन । भर्खरै संशोधन भएर आएको नेपालको ‘निसाना छाप’ ‘निशान छाप’ भएको छ । वृहत् शब्दकोशमा यिनको अर्थगत भिन्नता छ । अब निशान छाप परिवर्तन भएसँगै सरकारका काम पनि बढेका छन् ।
त्यतिमात्रै होइन, नागरिकताको निशान छाप फेरिने भयो । पासपोर्टका पाना नयाँ छापिने भए । सांसदकै लोगो फेरिने भयो । एक सयको नोटमा नेपालको नक्सा फेरिने भयो । सरकारी कर्मचारीका परिचयपत्रको लोगो फेर्नुपर्ने भयो । ट्राफिकले जाच्ने लाइसेन्सको लोगो फेरिने भयो । राष्ट्रिय परिचयपत्र बदलिने भयो । हेर्दा सामान्य लागे पनि अर्थ फरक लाग्ने यी र यस्तै दूरगामी असर पर्ने विषयमा हिजोका दिनमा ध्यान दिन सकेको भए आज यो झन्झट आइलाग्ने थिएन ।
अब पुुस्तैपिच्छे, सरकारपिच्छे, युनिभर्सिटीपिच्छे, पाठ्यपुस्तक निर्माता, लेखक, वकिल, पत्रकारपिच्छे लिपि फरक हुनु सुहाउने कुरा होइन । त्यसैले भाषाको प्रयोग भाषाशास्त्र र व्याकरणसङ्गत हुनुपर्छ भन्ने निशान छापको परिवर्तनसँगै ठूलो शिक्षा भाषाविद्हरूलाई पनि मिलेको हुनुपर्छ । सबैले आफूखुसी नियम बनाउँदा भाषाको वास्तविक स्वरूप बिग्रिन्छ भन्ने चेत खुल्नुपर्छ ।
पछिल्ला दिनमा नेपाली भाषाका प्रयोगकर्ताले आफूले प्रयोग गर्ने भाषाको शुद्धताबारे सचेतता अपनाइएको पाइँदैन । समग्र भाषा प्रयोक्ताहरूमा चेतनाको कमी र अङ्ग्रेजी मोहका कारण नेपाली भाषा आफ्नै घरमा उपेक्षित छ ।
नेपाली भाषा हजार वर्षभन्दा बढी आयु बिताइसकेको भाषा हो । यसबीचमा नेपाली भाषा–साहित्यका क्षेत्रमा प्रशस्तै कामहरू नभएका होइनन् तापनि यी सबै कामलाई अभिलेखीकरण गर्ने मुख्य माध्यम लेख्य व्यवस्थामा आजसम्म पनि एकरूपता कायम हुन नसक्नु नेपाली वाङ्मयका लागि विडम्बनाको कुरो हो ।
२०३२ सालतिरै हराएको नक्साको चुच्चो जोड्न कति समस्या भएको छ आज । सडकदेखि सरकारका लागि भालुको कन्पट भएको छ । भोलिका दिनमा पनि ‘निसान’ छाप र ‘निशान’ छापको अर्थले पनि कतै सदनमा पातलो ‘स’ र मोटो ‘श’को भाउ नबढ्ला भन्न सकिन्न ।
नेपाली भाषाको मूल भनिने संस्कृतको लेख्य व्यवस्था निर्विवाद छ तर नेपालीको सबैभन्दा बढी विवाद यही लेख्य व्यवस्थामा देखिन्छ । कहिले ‘दस’ शब्द गलत कहिले त्यही ‘दस’ सही, कहिले फूल ‘पुष्प’ गलत कहिले फुल ‘पुष्प’ सही, कहिले ‘दुध’ ह्रस्व लेख्दा कान उखेलिने त कहिले ‘दूध’ दीर्घ लेख्दा टुप्पीका जरा खल्बलिने डरले सिकारु नै अन्योलमा छन्  ।
वर्णविन्यासका यी मौसमी नियमले भाषा सिक्ने र सिकाउने दुवै कुहिराका काग बनिरहेका छन् । वर्णविन्यास भनेको शुद्धाशुद्धि वा हिज्जेको विधान हो । यसले शब्दमा वर्णहरूको सार्थक एवम् समुचित विन्यास अर्थात् रखाइलाई जनाउँछ । तर, यस विषयमा नेपालीका विद्वान्हरूले जुँगाको लडाइँ मच्चाउने गरेकाले नेपाली भाषामा वर्णविन्यासका सर्वमान्य नियमहरू बन्न सकेका छैनन् ।
बालबालिकाका कलिला मस्तिष्कलाई जे आफूलाई ठीक लाग्यो, त्यही भनेर सिकाउँदा भोलि भाषाको अवस्था के होला भन्ने हेक्का गरिएन । जसरी लेखे पनि हुन्छ भन्ने दुष्प्रवृत्ति बढ्दै जाँदा अब बालमानसिकतामा सानैदेखि भरिएको शुद्ध लेख्न नसकिने त्रास सजिलै मेटिएला त ? हेर्न बाँकी छ ।
हिजोसम्म अशुद्ध लेखनबाट नेपाली भाषालाई कसरी जोगाउने भन्ने ध्यान कसैलाई गएन । हिज्जे, वर्ण सुधारका नाममा भाषाको कथ्य रूपजस्तै लेख्य रूप बनाउन खोज्दा यसको लेखनपरम्परा भत्किन्छ भन्ने याद गरिएन । वास्तवमा भाषाको प्राकृतिक रूप बिगार्ने भाषाका विद्वान्हरू नै हुन् भन्दा फरक पर्दैन ।
भाषा लेखाइका क्रममा यसको शुद्धताका लागि साधारण नियमलाई मात्रै ध्यान दिने हो भने पनि शुद्धाशुद्धिको हल हुने देखिन्छ । अजन्त र हलन्त ‘खुट्टो नकाट्ने र काट्ने’ आदि हिज्जेसम्बन्धी सामान्य नियम पालना गर्ने गराउने हो भने पनि नेपाली भाषाको वर्ण, हिज्जे र व्याकरणलाई आधार मानेर कोही पनि फेल हुँदैनथे । जथाभावी बेथिति भित्रिदैनथ्यो । भुइँको टिप्न खोज्दा पोल्टाको पोखिने डर हुन्नथ्यो ।
समस्त पदको वियोगले शब्दवर्गमा पार्न सक्ने प्रभाव, नामयोगीको वियोगले पार्ने प्रभाव, विभक्ति र पदवियोगले पार्ने प्रभाव, संयुक्त क्रियाको पदवियोगले पार्ने प्रभाव, समस्त पदको योग वा वियोगले तात्पर्यमै पार्न सक्ने प्रभावलाई मात्रै ध्यान दिन सके शुद्धाशुद्धिका लागि कसैको कान तान्नुपर्ने थिएन । वर्णविन्यासकै कारण कसैलाई फेल वा पास भनेर नाप–जाँच गर्नुपर्ने थिएन ।
नेपाली भाषा जति पुरानो भए पनि प्रकाशनका हिसाबले पहिलो आधार मानिएको ‘बगली कोश विसं १९९८’ र ‘नेपाली वृहत् शब्दकोश २०४०’ लाई भाषाको प्रयोगमा एकरूपता ल्याउने आधार मान्दा नै बढी न्यायसङ्गत देखिन्छ । वृहत् शब्दकोशलाई पनि नवप्रवेशी शब्दलाई समावेश गरी पुनः प्रकाशन गर्नुपर्छ । शब्दको शुद्धाशुद्धिको निर्णय शब्दकोशबमोजिम हुनुपर्छ ।
शब्दकोशमा तोकिएभन्दा भिन्न रहेर कुनै व्यक्ति वा निकायले शुद्धाशुद्धि विषयक नियम बाँध्न, प्रचार गर्न तथा शिक्षण गर्न नपाउने व्यवस्था गरिनुपर्छ । हाम्रा विशेष उपाधिले विभूषित विद्वान्, साहित्यकार, लेखकले प्रयोगमा ल्याएका सयाँैँ शब्दहरूलाई अशुद्ध ठह¥याउँदै आफ्नो भाषाप्रति गम्भीर प्रहार गर्ने काम आधिकारिक सरकारी निकायबाटै रोकिनुपर्छ ।

(लेखक पत्रकारिता शिक्षण पेशामा आबद्ध हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?