logo
२०८२ असार ९ सोमवार



माल्थसको सिद्धान्त नटेर्दा

विचार/दृष्टिकोण |




डा. रामसागर पण्डित

सन् १७६६ मा इङ्गल्यान्डको रोकेरी भन्ने ठाउँमा जन्मेका थोमस रोबर्ट माल्थस प्राध्यापकका साथै एक दार्शनिक पनि थिए । उनले आफ्नो जीवनकालमा विभिन्न पुस्तक लेखे । उनले इतिहास र अर्थशास्त्रको प्राध्यापक भई १८३४ सम्म इस्ट इन्डिया कम्पनीको हेलीवरी कलेजमा काम गरेका थिए । उनले यसै अवधिभित्र जनसङ्ख्या सम्बन्धमा एउटा सिद्धान्त प्रतिपादन गरे जसलाई विश्वले मानेको छ । यो सिद्धान्तको मूल उद्देश्य जनसङ्ख्या वृद्धि र जीवन निर्वाह गर्ने साधनबीचको सम्बन्धलाई प्रष्ट पार्नु रहेको छ । मानिसहरू यसबारे सचेत भएनन् भने परिणाम के हुनसक्छ ? उनले यस सिद्धान्तबाट प्रष्ट निर्देशन दिएका छन् जो आज पनि समसामयिक देखिन्छ ।
उनले जनसङ्ख्या र खाद्यान्न वृद्धिको सम्बन्धबारे राम्ररी अध्ययन गरी भने– दुवैबीच अन्योन्याश्रित सम्बन्ध छ । जनसङ्ख्या वृद्धि हुँदा जीवन निर्वाह गर्ने साधनमा ह्रास आउन थाल्छ । जनसङ्ख्या वृद्धि ज्यामितीय अर्थात् गुणात्मक अनुपातमा र खाद्यान्नको अङ्कगणितीय अर्थात् योगात्मक अनुपातमा वृद्धि हुन्छ । गुणात्मक भनेको १ः२ः४ः८ः१६... तथा योगात्मक भनेको १ः२ः३ः४....९ हो । यसरी जनसङ्ख्या वृद्धि दुई सय वर्षभित्र २५६ गुणा हुँदासम्म खाद्यान्नको वृद्धि नौ गुणा मात्र हुँदोरहेछ । यसबाट दुवैको बीचमा माग तथा आपूर्तिमा असन्तुलन आउँछ ।
यस्ता असुन्तलनलाई हटाउने उपायको रूपमा उनले कृत्रिम अथवा प्रतिबन्धक र प्राकृतिक अथवा नैसर्गिक अवरोधहरूबारे प्रष्ट रूपमा लेखेका छन् । कृत्रिम अथवा प्रतिबन्धक अवरोधलाई दुई भागमा बाँडेर अझै प्रष्ट पारेका छन् । यी कृत्रिम अवरोधहरू नैतिक संयम तथा पाप रहेका छन् ।
उनले जनसङ्ख्या नियन्त्रण गर्न मानिसहरूलाई सबैभन्दा पहिले नैतिक संयम अपनाउन सल्लाह दिन्छन् । नैतिक संयम अपनाउन सकेन भने पाप गरेर पनि जनसङ्ख्या नियन्त्रण गर्नुपर्छ । हुन त उनी एउटा पादरीको पदमा समेत बसिसकेका हुनाले पापका पक्षपाती थिएनन् तर पापलाई एउटा बाध्यात्मक प्रक्रियाभित्र लिएको देखिन्छ । उनले नैतिक संयमभित्र ब्रह्मचर्य अथवा अविवाहित बस्नु, ढिलो विवाह, सतीप्रथालाई लिएका छन् भने अर्कोतिर पापभित्र सन्तति निग्रह, गर्भ समापन, मिश्रित सम्भोग, अप्राकृतिक सम्भोग, कठोर श्रम, युद्ध, शिशु हत्या आदिलाई लिएका छन् ।
देश, समुदाय र समाजले यस्ता विधिद्वारा जनसङ्ख्याको वृद्धिलाई नियन्त्रण गरेन भने प्राकृतिक अवरोधहरू सुनिश्चित छ । यो विधि निकै कष्टकारी हुन्छ । यसभित्र महामारी, अकाल, बाढी, भूकम्प आदि पर्छन् । यस्ता विधिद्वारा प्रकृति स्वयं पृथ्वीको जनसङ्ख्या वृद्धिलाई नियन्त्रण गर्दछ । माल्थसको सुझाव अनुसार मानिसले यस्ता कष्टकर अवस्थासम्म नआउन अप्राकृतिक अवरोधहरू अपनाएर जनसङ्ख्यालाई नियन्त्रणमा राख्नु उत्तम उपाय हो ।
आज विश्वको जनसङ्ख्याको तीव्र वृद्धिलाई हेर्दा अप्राकृतिक अवरोधलाई सफलतापूर्वक नअपनाएको प्रभाव मान्न सकिन्छ । हुन त विकसित देशहरूको जनसङ्ख्या पूर्णरूपेण नियन्त्रित छ तर उनीहरूले प्राकृतिक संसाधनलाई अति धेरै शोषण गरी पृथ्वीलाई छियाछिया पारेको हुनाले पृथ्वीको सन्तुलन बिग्रिन गएको देखिन्छ । अर्कोतिर विकासशील तथा अल्पविकसित देशहरू जनसङ्ख्या नियन्त्रणमा असफल रहेको मान्न सकिन्छ जसले गर्दा तिनको तीव्र जनसङ्ख्या वृद्धिले गर्दा अस्वस्थकर र अपर्याप्त भोजन गर्न बाध्य छन् । उनीहरू आफ्ना सन्तानलाई ठीकसँग लालनपालन गर्न सकिराखेका छैनन् । ठूलठूला सहर निर्माण तथा कलकारखाना सञ्चालनले वातावरण पूर्णरूपेण प्रदूषित भइसकेको देखिन्छ । समय–समयमा हातहतियारको प्रतिस्पर्धाले गर्दा विश्व पूर्णरूपेण पुनः विश्वयुद्धको खतराले भयभीत छ । आज मानिस र प्रकृतिबीचको सम्बन्धमा ठूलो फाटो परेको देखिन्छ । प्रकृतिको नियमविपरीत देशहरूले प्रकृतिलाई धज्जी उडाएको देखिन्छ । मानिसहरूले जनसङ्ख्या वृद्धि र प्राकृतिक संसाधनको सन्तुलनलाई स्थिर राख्न सकेनन् भने प्रकृतिले समेत आफ्नो तरिकाले सन्तुलन बनाउने बाटो खोज्छ ।
पृथ्वीको भार वहन गर्ने क्षमता सीमित हुन्छ । सीमित भारभन्दा बढी भार बोकाउन लगायौँ भने यस्तै महामारी, अकाल, बाढी, पहिरो, भुइँचालो आदि प्राकृतिक प्रकोपको बाटोबाट पृथ्वी पुनः सन्तुलित भारमा आउँछ । त्यसैले पृथ्वीको सन्तुलनलाई बिग्रिन नदिन माल्थसले अप्राकृतिक बाटो अपनाई जहिले पनि पृथ्वीको सन्तुलित भारलाई कायम राख्न मानिसहरूलाई सुझाएका छन् ।
वर्तमान अवस्थामा जनसङ्ख्याको तीव्र वृद्धिले गर्दा प्राकृतिक सन्तुलन पूर्णरूपेण असन्तुलित अवस्थामा आइसकेको हुनाले नै विश्वव्यापी महामारीको रूपमा कोभिड–१९ भाइरस देखापरेको छ जो मानव जातिको अस्तित्वमाथिकै खतरा रहेको बुझ्न सकिन्छ । विकसित देशहरूले पृथ्वीको प्राकृतिक सम्पदाको बनोटलाई छियाछिया नपारेको भए तथा विकासशील र अल्पविकसित देशहरूले तीव्र जनसङ्ख्या वृद्धिलाई समयमै नियन्त्रण गरेको भए यस्ता घटनाबाट सिङ्गै विश्वलाई बचाउन सक्थे होला । दार्शनिक माल्थसले विश्वलाई दुई सय वर्षअघि नै यस्ता ठूल–ठूला प्रकोपबाट जोगाउन दिएको दर्शनलाई अटेर नगरेको भए यस्तो विश्वव्यापी पीडादायक महारोगको सामना गर्नुपर्ने थिएन कि !
विश्वको जनसङ्ख्याको २० प्रतिशत जनसङ्ख्या विकसित देशहरूमा र ८० प्रतिशत जनसङ्ख्या विकासशील तथा अल्पविकसित देशमा बसोबास गर्छन् तर प्राकृतिक साधनको उपयोगको सवालमा ८० प्रतिशत विकसित देशहरूले र २० प्रतिशत मात्र विकासशील तथा अल्पविकसित देशले उपभोग गर्छन् । विकसित देशहरूले प्राकृतिक स्रोतलाई आफ्ना कृत्रिम तरिकाबाट विभिन्न किसिमको उत्पातसमेत मच्चाएको देख्न सकिन्छ । वनजङ्गललाई नाश गर्नु, नदीनालालाई नराम्रोसँग प्रदूषित गर्नु, बसोवासको जग्गा वृद्धि हुनु, खेतीपातीको जग्गामा कमी आउनु, जथाभावी ठूल–ठूला सहर बसाउनु, सडक, बाँध, नहर निर्माण हुनु, सिँचाइ तथा निर्माणका नाममा ठूल–ठूला नदीहरूको प्राकृतिक अवस्थालाई बिगार्नु, जथाभावी उत्खनन गर्नु जस्ता क्रियाकलाप प्रकृतिमाथिको सोझो अतिक्रमण हो । यस्ता अतिक्रमणबाट प्रकृति सन्तुलनमा ठूलो ह्रास आएको छ । पृथ्वी र सौर्य वातावरण समेतलाई असन्तुलित बनाई अम्ल वर्षा, जलवायु परिवर्तन, पृथ्वीको चौतर्फी वातावरणमा तातोपना वृद्धि हुनु आदिलाई विनाशकारी प्राकृतिक प्रकोपका रूपमा लिन सकिन्छ । यसबाट पृथ्वीमा बस्ने पूरै जीवजन्तुको अस्तित्वलाई चुनौती भएको छ । यस्ता प्राकृतिक प्रकोपलाई नियन्त्रण गर्न सबैभन्दा प्रबल उपाय जनसङ्ख्या वृद्धिलाई नियन्त्रण गरी प्रकृतिसँगको प्रेममा वृद्धि गर्नु हो । मान्छेले हामी प्रकृतिमा रहेका विभिन्न जीवजन्तुमध्ये एउटा मात्र हौँ, हाम्रो जीवनरक्षाका लागि सबै जीवजन्तुको अस्तित्वमा सन्तुलन हुनु परम आवश्यक रहेछ भन्ने बुझ्नुपर्छ ।
अहिले आएको नोवल कोरोना भाइरस–१९ लाई त्यही नबुझ्नुको परिणामका रूपमा लिन सकिन्छ । कोरोना भाइरसको रोकथाम गर्न सके पनि जनसङ्ख्या नियन्त्रण नभए यस्ता अनेकौँ महामारीको जन्म हुनसक्छ जसले हाम्रो अस्तित्वलाई समेत खतरामा पार्न सक्छ ।
जनसङ्ख्या वृद्धिले गर्दा विश्वका सम्पूर्ण प्राकृतिक स्रोत साधनहरू अत्यधिक आक्रमणमा परेका छन् । यस्ता अतिक्रमणबाट तत्कालका लागि मानिस आफ्नो विजयको खुशी जति मनाए पनि भविष्यका लागि दिगोपना देखिँदैन । विश्वको प्राकृतिक स्रोतसाधनलाई जोगाएको खण्डमा मात्र दिगोपना ल्याउन सकिन्छ । दिगोपना ल्याउन जनसङ्ख्या नियन्त्रणबाहेक अर्को विकल्प देखिँदैन ।
तीव्र गतिमा बढ्दो जनसङ्ख्यालाई रोकी वातावरणसँग सन्तुलन बनाइएन भने दार्शनिक माल्थसले गरेको भविष्यवाणी शतप्रतिशत सही ठहर्ने कुरामा दुईमत हुनसक्दैन । उनले नैतिक संयममा बढी जोड दिएका छन् । नैतिक संयमबाट सम्भव छैन भने पाप गरेर पनि जनसङ्ख्या नियन्त्रण गर्नुपर्छ । विश्वका प्रत्येक देशलाई यस्ता दर्शनको अवगत भए पनि यसलाई जानाजानी प्रयोगमा ल्याउन चाहँदैनन् । विना प्रयोग विश्वलाई सन्तुलनमा राख्न सकिन्न ।

(लेखक त्रिविका सेवानिवृत्त सहप्राध्यापक हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?