logo
२०८२ असार ९ सोमवार



भानुभक्तीय योगदानको सान्दर्भिकता

विचार/दृष्टिकोण |




प्रा.डा. बद्रीविशाल पोखरेल

भाषा विचार आचारप्रदानको सशक्त माध्यम मात्र होइन । यो संस्कृतिको संवाहक पनि हो । यसैले आदिकवि भानुभक्त आचार्यको भाषा साहित्यप्रतिको ऐतिहासिक योगदानको सामयिकता र सान्दर्भिकता अझै विद्यमान देखिन्छ । उनले गरेको योगदानलाई सिर्जनात्मक रूपमा ग्रहण गर्ने हो भने अहिले देखापरेका भाषिक विवाद र समस्या समाधान गर्ने दृष्टिचेत प्राप्त गर्न सकिन्छ । बर्सेनि भानुको भूमिका र योगदानलाई पुनःपठन, वाचन र पुनरुक्ति मात्र नगरी पुनःसृजन गरेर लागिपर्नु चाहिँ विषय विज्ञजनको बुद्धिमानी हो । महान् व्यक्तिको गुणगान मात्र नगरी गुणग्रहण गर्नु दूरगामी महत्वको विषय हो ।
भानुभक्तले तत्कालीन अवस्थामा जनजिब्रोको वा जनभाषाको अभावलाई गम्भीर रूपमा महसुस गरेर रामायणलाई नेपालीमा अनुवाद गरेका हुन् । संस्कृत भाषाको एकाधिकार वा वर्चस्व रहेको तत्कालीन अवस्थामा नेपाली (मोतीराम भट्टका अनुसार तत्कालीन अवस्थामा गोर्खा भाषा) भाषा उपेक्षित अवस्थामा थियो । यसले गर्दा संस्कृतका रामायणलगायत धार्मिक सांस्कृतिक ग्रन्थ सर्वसाधारणका पहुँचमा थिएनन् । त्यसैले आवाजविहीनको आवाजका लागि भानुभक्तले रामायणलगायत पुस्तकाकार तथा फुटकर कृतिको रचना गरेका हुन् । यसरी भानुभक्तले झैँ अहिले पनि बेलाको बोली र मौकाको काम सिर्जनात्मक रूपमा सम्पन्न गर्न सकिन्छ ।
भानुभक्तले घाँसीबाट प्रेरणा प्राप्त गरी भाषा साहित्यको सेवामा लागि परेझैँ सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक कालमा देखापरेका भाषिक समस्याबाट प्रेरित भएर यस क्षेत्रमा विज्ञजनले उचित मार्गदर्शन गर्ने कि नगर्ने ? यो अहिलेको प्रश्न हो । प्रदेश २ मा मैथिली,भोजपुरी आदि राष्ट्रभाषालाई सर्वथा उपेक्षा गरेर हिन्दीलाई प्रदेशको सम्पर्क भाषा बनाउने खालका प्रत्यक्ष वा परोक्ष अभियान उपर कलात्मक हस्तक्षेप गर्ने कि नगर्ने ? आफूमाथि अनेक खालका खतबात आइलाग्ने डरले यस्ता संवेदनशील विषयमा तथ्य,तर्क र वास्तविकताका आधारमा बौद्धिक,भाषिक तथा प्राज्ञिक अन्तक्र्रियात्मक गतिविधि गर्ने कि नगर्ने ? नेपाली वर्णविन्यासका तर्कुले र बर्धन्ने विषयमा एक आपसमा औचित्यहीन अभद्र सडक क्षुद्र संवाद गर्ने ह्रस्वदीर्घका पण्डितहरूले यस्ता अतिसंवेदनशील विषयमा स्वस्थरूपमा कलम चलाउनुपर्छ कि पर्दैन ? नेपाली भाषालाई खस भाषा भनिरहेको परिस्थितिमा मौन,मुक र मुसुमुसु गर्ने कि शिष्टतापूर्वक र शालीनताका साथ संवाद गरेर सम्झाउने ? सत्य,तथ्य र सही कुरा पनि आफैँ स्थापित हुँदैन । हजारपटक भनियो भने असत्य पनि सत्य हो भन्ने भ्रम जनमानसमा पर्न जान्छ ।
अग्रजहरूले असल परम्परा स्थापित गर्ने दूरदर्शी सोच लिनुपर्छ । नेपालजस्ता मुलुकमा वैदेशिक भाषिक तथा सांस्कृतिक अतिक्रमणबाट जोगिनका लागि यस क्षेत्रमा सबै भाषाभाषीबीच मैत्रीसम्बन्ध कायम गरी संयुक्त अभियान सञ्चालन गर्नु अपरिहार्य हुन्छ । सबैले आआफ्ना भाषिक र साहित्यिक उत्थान र उन्नयनका लागि संस्था गठन गरी सिर्जनाको आँधीबेहरी सञ्चालन गर्नु जाती हुन्छ । लोपोन्मुख भाषाबाहेक नेपालका सबै राष्ट्रभाषामा साहित्य सिर्जना भएको पाइन्छ । ती भाषा र साहित्यमा दिवंगत वा जीवित महŒवपूर्ण स्रष्टाहरू रहेको अवगत हुन्छ । यस क्षेत्रको सर्वाङ्गीण विकासका लागि सम्बन्धित क्षेत्रले ध्यान दिँदा मात्र भानुभक्त आचार्यको गुणग्रहण गरेको ठहर्ने देखिन्छ । अझ यसमा उन्नत चेतका संवेदनशील भाषा र साहित्य क्षेत्रका व्यक्तित्वहरूको उदाहरणीय अगुवाइ अपरिहार्य हुन्छ । कुनै अमुक राष्ट्रभाषा र साहित्य मात्र वैदेशिक अतिक्रमणका विरुद्ध सशक्त तथा प्रभावी नहुन सक्छ । आगामी दिनमा कुन राष्ट्रभाषा प्रतिस्पर्धाको दौडमा अघि वा पछि हुन्छ वा पर्छ भन्ने चिन्ता छाडेर सबै भाषाको संरक्षण र संवर्धनमा लाग्नु अनिवार्य देखिन्छ ।
२०४६ साल हुँदै २०६२÷०६३ पछि भाषिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गरिएको देखिन्छ । नेपालीभाषा देशको कामकाज र साझा सम्पर्कको भाषा भनिएको छ भने नेपालभित्र बोलिने मातृभाषालाई राष्ट्रभाषा भनिएको छ । राष्ट्रिय दैनिक अखबार गोरखापत्रमा नेपालका सबै राष्ट्रभाषाका साहित्यिक सामग्रीलाई उचित स्थान दिएको देखिन्छ । भाषिक क्षेत्रमा विगत सामन्ती शासनकालमा जस्तो असमानता देखिन्न । अब भाषिक तथा साहित्यिक क्षेत्रमा आन्तरिक स्वस्थ प्रतिस्पर्धाको अवस्था रहेको देखिन्छ । यस्ता बेलामा सङ्घ,प्रदेश र स्थानीय सरकारका माध्यमबाट आआफ्ना भाषा र साहित्यका उत्थानमा सक्रिय रहनुपर्ने देखन्छ । विगतमा भाषिक समान अधिकार दिने सवालमा राज्यबाट कमीकमजोरी भए पनि तिनै कमजोरीमात्र कोट्याएर बस्ने दिन अब छैनन् । नेपालको संविधानले नेपाली भाषाको नाम,स्थान र मान सुरक्षित गरेको देखिन्छ । तथापि आफूलाई प्रगतिशील भन्ने कतिपय जातिवादी चेत र चिन्तनका लेखकहरू नेपाली भाषालाई खसभाषा भनेर खसाल्छन् । नेपाल एकीकरणकालदेखि नै विभिन्न भाषाभाषी समुदायका बीच यो भाषा साझा सम्पर्क भाषाका रूपमा देखिन्छ । मोतीराम भट्टले भानुभक्तको जन्मकाल वि.सं १८६९ मा नै गोर्खाभाषा (नेपालीभाषा)को उन्नतिको उदय भएको भानुभक्तको जीवनचरित्रमा उल्लेख गरेका छन् । यसको ज्वलन्त उदाहरण १८३१ तिरको पृथ्वीनारायण शाहको दिव्योपदेश हो । यसमा विम्ब, प्रतीक, उपमा, दृष्टान्तलगायत लाक्षणिक तथा व्यञ्जनात्मक अभिव्यक्तिको सुन्दर प्रयोग गरिएको पाइन्छ । लामो भाषिक परम्परा र पृष्ठभूमिबिना उपर्युक्तखालको भाषिक तथा काव्यिक अभिव्यक्ति सम्भव हुँदैन । तथापि आम पाठक, श्रोता तथा जनता जनभाषा वा नेपालीभाषाका अभावमा तड्पिएको बुझेर नै भानुभक्तले इह र परत्र दुवै लोक सुधार्न रामायणको नेपाली अनुवाद गरेको स्पष्ट हुन्छ । यसै सन्दर्भमा पृथ्वीनारायण शाहले नेपाली भाषालाई संरक्षण गरेको भनेर आरोपित गरिन्छ तर नेपालको भाषिक इतिहासमा संस्कृत, पालि, मैथिली आदि भाषा त्यस बेलाका राजकीय भाषा हुँदाहुँदै र राज्य संरक्षित हुँदा पनि किन लोकप्रिय हुन सकेनन्, फैलिन र विस्तारित हुन सकेनन् ? यो अर्को ज्वलन्त प्रश्न हो । राज्यको संरक्षणबाट मात्र भाषिक साहित्यिक समृद्धि हुन्छ भन्नु त्यति पत्यारिलो देखिँदैन । तथापि विगतको कुनै कालखण्डमा जे जस्ताखालका समानता र अन्याय भए पनि अब भाषिक र साहित्यिक समान समृद्धिको व्यवस्था संविधानतः गरिएको हुँदा दायाँ र बायाँ भड्काउमा नपरी यसमा नै दृष्टिगोचर गर्नु वाञ्छनीय देखिन्छ । नेपालीभाषालाई खसभाषा भनेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक स्रष्टा भेटघाटमा नेपालीभाषाका बारेमा अहिले कुनै भविष्यवाणी गर्न सकिन्न तर अहिले नेपालीभाषा संविधान र आम लोकप्रिय मतका आधारमा सबै नेपालीले बोल्ने साझा र सम्पर्कको भाषा तथा नेपालको राजकीय कामकाजको भाषा हो त्यसैले यस विषयमा अन्यथा बोल्न र व्यवहार गर्न किमार्थ सुहाउँदैन भन्नुभएको थियो ।
उपराष्ट्रपति नन्दबहादुर पुनले २०७५ साल असार ८ गते एक समारोहमा नेपाल र नेपाली भाषालाई परोक्ष रूपमा उपेक्षा गर्ने कुरामा असहमति जाहेर गर्नुभएको थियो । इटहरीमा नेवा पुच,इटहरीले आयोजना गरेको नेवार भोज र भोजन समारोहमा उद्घोषकले बारम्बार नेपाली भाषालाई खसभाषा भनी अपमानित गरेको सुनेर विनम्रतापूर्वक आपत्ति जनाउँदै कार्यक्रमका प्रमुख अतिथि प्रसिद्ध हास्य कलाकार मदनकृष्ण श्रेष्ठले जातीय अतिसङ्कीर्ण भावना राखेर नेपालीभाषाको हुर्मत नलिन आग्रह गर्नुभएको थियो । यसखालको स्वस्थ र सही विचारले मात्र असल परम्पराको जग बसाउन सक्छ ।
गुणीजनले मात्र गुणको कदर गर्छ भनेझैँ युवाकवि मोतीराम भट्टले भानुको योगदानलाई जनसमक्ष उजागर गरे । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भानुभक्तलाई भाषा र साहित्यका शुक्रतारा र नेपालीका प्रथम ध्वनि भने ।
डा. मोदनाथ प्रश्रितका अनुसार भारतीय राजनीतिज्ञ कन्हैयालाल माणिकलाल मुन्सीले विविध वर्गका मानिसलाई मिलाउने एकताको मूलभाषा तथा संस्कृति प्रदान गरेर भानुभक्तले नेपालको अनुपम सेवा गरे भनेका छन् । अझ नेकपाका संस्थापक महासचिव तथा अन्वेषक पुष्पलालले नेपाली जनआन्दोलनको एक समीक्षा नामको (पुष्पलालका छानिएका रचनाहरू) लेखसङ्ग्रहमा भानुभक्तको रामायणले जनआन्दोलनलाई सघाएको बताएका छन् । उनले रामायणले राणाकालीन गुरु–पुरोहितवर्गको धार्मिक एकाधिपत्य कायम गर्न नेपालीभाषामा धार्मिक पुस्तक पढ्ने अधिकारबाट वञ्चित गर्ने परिपाटीको अन्त्यका लागि सशक्त कदम चालेको बताएका छन् । अझ पुष्पलालले अघि बढेर भानुभक्तको रामायणले तत्कालीन गुरु–पुरोहितवर्गको स्वार्थमा कुठाराघात गरेको उल्लेख गरेका छन् । प्रगतिशील कवि हृदयचन्द्रसिंह प्रधानले पृथ्वीनारायण शाहलाई नेपाललाई बनाउने र एकता स्थापित गर्नखोज्ने महान् सपूत मानेका छन् भने प्रधानले शाहको सपना पूरा हुनमा सबभन्दा सहायक आदिकवि भानुभक्त हुन गएको बताएका छन् । प्रधानले भानुभक्तीय भाषा र साहित्यले नेवार, पर्वते वा खस भन्ने जस्ता साम्प्रदायिक भावना मेटाइदिएको उल्लेख गरेका छन् । त्यति मात्र होइन उनले रामायणको भाषिक मिठास,शैलीगत सुन्दरता आदि विशेषताले नेवारहरू समेत प्रभावित भएको प्रधानले बताएका छन् । भक्तिभावमूलक धार्मिक विशेषताले पनि नेवारले रामायणप्रति अनुरागभाव राखेका कारण साम्प्रदायिक द्वेष हटाई मानवताको नातामा अबद्ध गराउन भानुको योगदानको चर्चा प्रधानले गरेका छन् । विज्ञ तथा विशिष्ट जनहरू गुण र गुणी जनको कदर गर्दा जात र जातिभन्दा माथि हुन्छन् भन्ने यो महŒवपूर्ण उदाहरण हो ।
भानु नेपालीभाषा र साहित्यका जग हुन् । जगबिना घर र महलको कल्पना गर्न सकिन्न । अहिले नेपाली भाषा र साहित्यको जुन विस्तारित अवस्था देखिन्छ यसमा नेपाली मातृभाषी र अन्य भाषाभाषी सर्जकको महŒवपूर्ण भूमिका र योगदान छ । तसर्थ नेपालका सबै राष्ट्रभाषा र साहित्यको जगेर्ना गरी नेपालको सांस्कृतिक समृद्धिका लागि सबै सर्जक सिर्जनात्मक रूपमा लागिपरे मात्र आदिकवि भानुभक्त आचार्यको गुणग्रहण गरेको ठहर्नेछ र मात्र भानुजयन्तीको सार्थकता सिद्ध हुने देखिन्छ ।

(लेखक स्रष्टा तथा बुद्धिजीवी हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?