logo
२०८२ असार ९ सोमवार



बाढीपहिरोबाट बच्ने रणनीति

विचार/दृष्टिकोण |





डा. सुबोध ढकाल

गएका चार/पाँच दिनमा हाम्रो देशले बाढीपहिरोबाट ठूलो जनधनको क्षति बेहोर्नुपरेको छ । यस्ता क्षति बर्सेनि बेहोर्ने गरिएको भए पनि यो वर्षको क्षति थोरै समयमा धेरै भएकोमात्र नभई, बढी आक्रामक किसिमको देखिएको छ । म्याग्दी, सिन्धुपाल्चोक, कास्की र लम्जुङजस्ता जिल्लाहरू यो वर्षका लागि केही प्रतिनिधि स्थानमात्र हुन् । यस्ता अरू धेरै स्थानहरू यस्तै प्रकृतिका भूबनोट अनि मानवीय क्रियाकलापसँग मिल्दाजुल्दा छन् । यो वर्ष बढी क्षति भएका स्थानहरूको भौगर्भिक र मानवीय क्रियाकलापहरूको सूक्ष्म विश्लेषण गर्ने हो भने हामी के कारणले यस्ता घटना भए होलान् भन्ने उत्तर पाउन सक्छौँ, जुन भविष्य र अन्य स्थानका लागि एउटा मार्गनिर्देश हुन सक्दछ ।
सिन्धुपाल्चोक बाह्रबिसेका विभिन्न स्थानमा गएका पहिरोहरू फरक–फरक ढङ्ग र कारणले भएको देखिन्छ । तर, बढी क्षति हुनुको प्रमुख कारण बस्तीहरू जोखिमयुक्त स्थानमा रहनु देखिन्छ । वर्षायाममा बढी सक्रिय रहने खहरेखोला र खोल्साहरूको नजिकै र तिनीहरूको सजिलै पहुँच हुन सक्ने स्थानमा बस्ती बसाइनु बढी क्षति हुने प्रमुख कारण देखिएको छ । यसले फेरि पनि अव्यवस्थित बस्ती विकास र अवैज्ञानिक भूउपयोग नीतिलाई औँला ठड्याउनुपर्ने देखिएको छ । त्यसबाहेक अन्य ठूलो खोलाको अति नजिक बस्तीहरू बस्नु अर्को कारण देखिन्छ ।
सिन्धुपाल्चोकका बाढीपहिरोको घटना हेर्दा जमिनको माथिल्लो सतहमा असमानता रहे पनि समग्रमा खोल्साहरूको उपल्लो भेगमा खहरेखोलाको वेगले दायाँबायाँको कमजोर जमिनलाई कटान गरेको, सोक्रममा उक्त जमिनमा रहेको खुकुलो माटोलाई खोलाको पानीले घुलित बनाएको, माटो घुलित भइसकेपछि यत्रतत्र माटोसँगै रहेका चट्टानी टुक्राहरूसमेत खुकुलो बन्दै खोला र खोल्साको पानीसँगै तल बग्दा खोलो अझै बढी वेगवान र बलियो बनेको देखिन्छ । साथै तलतिर रहेको बस्तीमा पहुँच बढाई लेदो र डेब्रिससमेत ल्याई क्षति पु¥याएको देखिन्छ । यहीक्रममा खोलाको माथिल्लो भागमा साना ठूला पहिरो जान गई ठूलो रूप लिएको देखिन्छ । यस्तो प्रक्रियाले उक्त खहरेखोला र खोल्साहरू हुँदै बगेको लेदो र डेब्रिसले तल्लो तटमा आइपुग्दा र अर्को ठूलो खोलासम्म आइपुग्दा बाढीको रूप लिएको अथवा बाढीको स्वरूप बढाइदिएको देखिन्छ । यसमा उक्त स्थानमा रहेको जमिनमुनिको पानीको तह पनि उच्च होला भन्ने कुरा त्यहाँ रहेका सानासाना खोल्साहरूले इङ्गित गरेका छन् ।
त्यस्तै, जम्बुनजिकैको पहिरोमा पातलो जङ्गलको भागमा कुनै कमजोर सतहमा पानी परेपछि भीरलाई बगाउने बल बढ्न गई भीर असन्तुलित बनेको र पहिरोको सुरुवात भएको देखिन्छ । त्यो कमजोर भू–भाग २०७२ को भूकम्पका कारण हल्लाईबाट खुकुलो हुन गई अथवा जमिनमा सानो ठूलो भ्वाङ परेर वा जमिनमा चिरा परेको स्थान पनि हुन सक्छ । पहिरोको सुरुवात भइसकेपछि उक्त स्थान रहेको नखाँदिएको माटो र ढुङ्गाको सम्मिश्रणले ग्रेनुलर फ्लो भनिने माटो ढुङ्गाको टुक्राटुक्राको बीचमा टकराव भई पहिरोको वेग बढाइदिनेखालको प्रक्रिया हुन गएको देखिन्छ । यसरी बगेको पहिरोको माटो र ढुङ्गा तल रहेको खोलामा पुगिसकेको अवस्थामा धेरै पानी परेर ठूलो डिस्चार्जसहितको खोलाको पानीले पहिरोको भागलाई आफैँसँग बगाएर हिँड्नेक्रममा खोलाको शक्ति अझै बढ्न गई दाँयाबायाँ बढी कटान गरेको र नजिकै रहेको बस्तीलाई असन्तुलित बनाई क्षति गरेको देखिन्छ ।
त्यस्तै, खोलाको नजिकैबाट बनाइएका सडकहरू पनि तलबाट खोलाले कटान गर्दै गएपछि असन्तुलित भई भासिएको देखिन्छ । भुल्नै नहुने कुरा, यसरी बनाइएका सडकहरूकै छेउछाउमा जीविकोपार्जन र व्यापार व्यवसायका लागि खोलाले अलि पहिले बनाएको बगरमा बजार र बस्ती बस्नु बढी क्षति हुनुको अर्को कारण देखिन्छ । सिन्धुपाल्चोकका विभिन्न स्थान र बस्तीहरू पुरानो भीमकाय वा ठूला पहिरोहरूमा रहेको भन्ने कुरा आउने गरेका छन् । जस्तो कि सन् २०१४ मा गएको जुरे पहिरोमा बस्तीहरू ७० वर्षअघिको ठूलो पहिरो भएको स्थानमा रहेको भन्ने पुष्टि भएको थियो । पुराना पहिरोहरूको फेरि पनि पुनरावृत्ति हुने सम्भावना बढी हुन्छ । किनकि जब ठूलो पहिरो जान्छ उक्त स्थान पहाडी भेगको अन्यत्रभन्दा अलि बढी समथर हुने गर्दछ भने रूखपात अनि ढुङ्गाहरू समेत टुक्रन र पिसिन गई कृषिको हिसाबले समेत बढी मलिलो हुने गर्दछ । यस्तो स्थान जीविकोपार्जनका लागि समेत सहज र उत्पादक हुने कारणले मानिसले बस्ती बसाउन थाल्छन् । पहिरो गएको बेला मान्छेको मनमा यस्ता स्थानमा घर बनाएर बस्ने सोच नआए पनि बिस्तारै मान्छेले यो कुरा भुल्दै जान्छन् र यस्तै स्थानमा समेत बस्ती बसाउन थाल्छन् । सिन्धुपाल्चोकको बाढीपहिरोको घटनामा यस्ता पुराना पहिरोमा बस्ती थियो कि थिएन भन्ने कुरा उक्त स्थानमा गएर विस्तृत अध्ययन नगरी भन्न नसके पनि पहिरोको प्रकृति हेर्दा उक्त स्थानहरूको माथिल्लो सतहमा माटो र ढुङ्गाको सम्मिश्रण रहेको र धेरै नखाँदिएको डेब्रिसहरू रहेको देखिन्छ ।
त्यसैगरी, म्याग्दी र कास्की सराङकोटका पहिरोको प्रकृति पनि ढुङ्गामात्रको पहिरोभन्दा पनि डेब्रिस पहिरो मुख्य रहेको अनि धेरै पानी पर्दा त्यस्ता डेब्रिसलाई आफूसँगै घुलित बनाएर लिएर हिँडेको देखिन्छ । कमजोर भागमा र पहिरोको पहुँच पुग्ने ठाउँमा बस्ती र अन्य मानवीय क्रियाकलाप पनि रहेकाले बढी क्षति गरेको देखिन्छ । यसले तल्लो भेग र खोलासम्म आइपुग्दा बाढीको रूप लिई अझै बढी क्षति गरेको देखिएको छ । कति बस्तीहरू माथिबाट पनि पहिरोले झार्ने अनि तलबाट पनि पहिरोले तान्ने विषम अवस्थामा समेत रहेको देखिएका छन् । अहिले हामीलाई कुन स्थानमा बढी पानी पर्छ र कुन खोलाहरूमा बहाव ज्यादा हुन्छ भन्ने कुराको पूर्वजानकारी हुने गरेको छ तर पनि हामीले नागरिकको जिउधनको क्षति चाहेजस्तो हिसाबले रोक्न सकिराखेका छैनौँ । यसो हुनुमा दुईवटा कुरालाई ख्याल गर्नुपर्ने देखिन्छ । कि त हामीसँग ती धेरै पानी पर्ने भनेर आँकलन गरिएका स्थानमा पनि कुन–कुन स्थान बाढीपहिरोको हिसाबले बढी जोखिममा छन् भन्ने कुराको ज्ञान थिएन अथवा ज्ञान त थियो तर समयमै त्यो ज्ञानलाई प्रयोग गर्न सकिएन । यदि यस्तो ज्ञान पहिले थियो भने त्यस्ता जोखिमयुक्त स्थानका मानिसलाई पहिले नै जोखिमरहित स्थानमा अस्थायी रूपमै भएपनि स्थानान्तरण गर्नुपर्ने थियो । यो काम वर्षा सुरु हुनुपूर्व गर्न सकेको भए क्षतिलाई पक्कै कम गर्न सकिन्थ्यो होला ।
भूकम्प जाने पूर्वसूचना प्राप्त नहुनाले मानिसको जिउधनको सुरक्षा गर्न गाह्रो भयो भन्ने हामीहरू पूर्वसूचना प्राप्त हुँदा पनि अपेक्षित बचाउका काम गर्न नसक्ने रहेछौँ भन्ने कुराको पुष्टि हुनु विपद् व्यवस्थापनमा हाम्रो कमजोरी हो र यसलाई तत्काल सच्याउनुपर्छ । यदि देशको कुन कुन बस्ती वा क्षेत्र बाढीपहिरोको हिसाबले बढी जोखिममा छन् भन्ने कुराको पूर्वजानकारी नभइसकेको अवस्था हो भने अब कत्ति पनि ढिलो नगरी यो काम पूरा गर्नु अति जरुरी देखिन्छ । अति बढी जोखिममा रहेका बस्ती वा घरहरूलाई स्थानान्तरण गर्ने सुरक्षित स्थानको पहिचान र प्रबन्धसमेत वर्षाअघि गरिसक्नुपर्ने कामहरू हुन् ।
समग्रमा बस्ती विकास र भूउपयोग नीतिमा आमूल परिवर्तनको खाँचो यी घटनाहरूले सुझाएका छन् । यसबाहेक हाम्रो सडक खन्ने प्रविधि र त्यसमा पनि स्थानीय सडक बनाउँदा बेवास्ता गरिने भविष्यको जोखिम आँकलन अनि बचाउका कामहरूलाई उपयुक्त मार्गनिर्देश र नियमनका साथै रोक्न परे रोक्नेसम्मको योजना र रणनीतिहरू ढिला नगरी लागू गर्नुपर्ने देखिन्छ । यस्ता अहम् रणनीतिक काममा विपद् प्राधिकरणको प्रमुख भूमिका रहन्छ भने सम्बद्ध सबै सरकारी मन्त्रालय, विभाग र निकायहरूले यसमा प्राधिकरणलाई सहयोग गर्नुपर्ने देखिन्छ । तर, यसका लागि विपद् प्राधिकरणकै प्रमुख पहल हुनु जरुरी छ । पाठ सिक्दै भविष्यमा कमीकमजोरीमा सुधार्दै जानुको विकल्प छैन । त्यसमा पनि विपद् व्यवस्थापन मानिसको जिउधनसँग गाँसिएकाले यसलाई भविष्यका लागि ठूलो रणनीतिक पाठका रूपमा लिन सकियो भने सम्भावित भविष्यको क्षतिलाई भने अवश्य कम गर्न सकिन्छ । किनकि हाम्रा देशका अन्य धेरै स्थानहरूको प्रकृति पनि सिन्धुपाल्चोक र म्याग्दीका यस्ता प्रकृतिसँग मिल्दाजुल्दा हुन सक्छन् ।

(लेखक इन्जिनियरिङ भूगर्भविद् तथा विपद्विज्ञ हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?