रामचन्द्र वाग्ले
मनसुनको यो बेला बाढीपहिरोसँगै अर्को त्रासको विषय बन्छ– सर्पदंश । विषालु सर्पले टोकेको मानिसमा प्यारालाइसिस हुने, श्वास फेर्न गाह्रो हुने, रगत बग्न नरोकिने आदि जस्ता लक्षण देखिन्छन् । त्यसले गर्दा घाइते बाँचेपछि पनि भविष्यमा बिरामीको मिर्गौला बिग्रिने, मांसपेशी अथवा तन्तुहरू बिग्रिने र चोटपटक लागेको खण्डमा रगत बग्न नरोकिनेजस्ता असरहरू देखापर्दछन् ।
तर, अहिले नेपाल सरकारले पनि खास प्रजातिका सर्प मार्न प्रतिबन्ध लगाएको छ । सर्प मार्नेलाई कानुनी कारबाही हुने अथवा जरिवाना लाग्ने नियम बनाएको छ । अनि नेपालका विभिन्न ठाउँहरूमा थुप्रै मानिस सर्प उद्धार गर्ने कार्यमा लागिपरेका छन् । किन त ?
हामी मानिसले प्रायः सर्पहरू चिन्दैनौ र देख्नेबित्तिकै आफूलाई मार्न सक्ने ठानेर त्यसलाई मृत्युको मुखमा पु¥याउन तत्पर हुन्छौँ । हामीले सर्प नचिन्दा थुप्रै उपयोगी र विष नलाग्ने सर्पहरू पनि प्रत्येक वर्ष मारिरहेका छौँ ।
कुनै पनि सर्पले रहरले मानिसलाई वा अन्य घरपालुवा जनावरलाई टोक्दैनन् । हामीहरू सर्प देखेर जति डराउँछौँ त्योभन्दा दोब्बर सर्प हामीलाई देखेर डराउँछ । प्रायः सबै सर्पहरू मानिसबाट टाढै रहन खोज्छन् । सर्पहरूले मानिससँग सामाजिक दूरी कायम राख्ने भए तापनि विभिन्न समयमा मानिस र सर्पको जम्काभेट भएको पाइन्छ । विशेषगरी सर्पहरू आफ्नो सिकार खोज्नेक्रममा अथवा सिकारको पछि लाग्दा मानवीय संरचनातिर पुग्छन् र मानिससँग जम्काभेट हुने गर्दछ । त्यस्तै मानिसहरू सर्प बस्ने स्थानतिर जाँदा पनि सर्प र मानिसको जम्काभेट हुन्छ ।
मानिस व्यर्थमा सर्पहरू मारिरहेका हुन्छन् । सर्प मानिसका (विशेषगरी किसानका) परम मित्र हुन् । कृषिप्रधान देशका लागि सर्प अति आवश्यक जीव हो । यिनीहरूले किसानहरूको बालीनाली, अन्न आदि खाने जीवहरू जस्तै ः स्थानीय मुसा, मिचाहा प्रजातिका मुसाहरू आदि खाइदिन्छन् । सर्पहरूले खाद्य शृङ्खला र खाद्यचक्र सन्तुलन गर्न निकै अहम् भूमिका निर्वाह गर्दछन् । सर्पहरूले पारिस्थितिक प्रणाली र वातावरण सन्तुलन गर्न पनि महŒवपूर्ण भूमिका खेल्दछन् । त्यतिमात्र नभएर सर्पहरू विभिन्न प्रजातिका जीवहरू जस्तै ः चरा, न्याउरी मुसा र मोनिटर लिजार्ड आदिका सिकार पनि हुन् । सर्पको विषबाट विभिन्न रोगहरूको औषधि बनाउन सकिन्छ । सर्प विषरोधक (एन्टिभेनम) बनाउन पनि सर्प र सर्पको विष नै चाहिन्छ ।
हामीले सर्प चिन्न निकै आवश्यक छ । हामीलाई सर्पसम्बन्धी ज्ञान छैन र कुनै कारणवश सर्पले हामीलाई टोक्यो भने उपचार गर्न निकै गाह्रो पर्छ । सर्पसम्बन्धी ज्ञान छ भने उपचार गर्न सजिलो र छिटो हुन्छ । सर्पदंशको उपचार सम्भव छ तैपनि मानिस मरिरहेका छन् । यसको प्रमुख कारण अन्धविश्वास, जनचेतना कमी, कमजोर प्रतिरोधक क्षमता आदि रहेका छन् । नेपालका विभिन्न ठाउँमा अझै पनि मानिस धामीझाँक्रीकोमा जाने भएकाले गर्दा पनि मानिस मरिरहेका छन् । कतिपय अवस्थामा मानिसले विज्ञानले प्रमाणित नगरेका वस्तुहरू सर्पदंशको बिरामीलाई दिएर उपचार गर्दा पनि मानिस मरेको पाइन्छ ।
सर्पले डसेमा सबैभन्दा पहिले एम्बुलेन्सलाई खबर गरेर तुरुन्तै बोलाउनुपर्छ । विशेषगरी मोटरसाइकलको प्रयोग गर्नु सबैभन्दा उपयुक्त मानिन्छ । सर्पले टोकेको व्यक्तिलाई सबैभन्दा नजिकैको सर्पदंश उपचार केन्द्रमा लैजानुपर्छ । विषालु सर्पले टोकेको नटोकेको थाहा पाउने सजिलो तरिका भनेको बिरामीको शरीरमा हुने सर्पको दाँतको निशान हो । सर्पले टोकेको ठाउँमा एउटा अथवा दुईवटा मात्र दाँतको निशान छ भने त्यो सर्प विषालु हुने सम्भावना बढी हुन्छ । तर, करेत सर्पले टोकेको खण्डमा दाँतको निशान नहुन पनि सक्छ । विष नभएको सर्पले टोकेमा धेरै सानासाना दाँतका कोपरिएका धर्साहरू हुन्छन् । प्रायः विषालु सर्पको टाउको त्रिभुजाकार हुन्छ ।
सर्प सरिसृप वर्गको, हातखुट्टा नभएको, लामो मेरुदण्डीय प्राणी हो । यो घस्रिएर हिँड्ने खस्रो छाला भएको जीव हो । यिनीहरू मांशाहारी हुन्छन् । यिनीहरूले फूल पार्छन् । यसका भाले र पोथी फरक–फरक हुन्छन् तर टाढाबाट हेरेर भाले पोथी छुट्याउन गाह्रो हुन्छ ।
प्रत्येक वर्ष जुलाई १६ तारिखका दिन विश्व सर्प दिवस मनाइन्छ । यो दिवस सर्पसम्बन्धी नकारात्मक भ्रम हटाउने, सर्पको महŒव र आवश्यकताबारे जनचेतना जगाउने उद्देश्यले मनाउन सुरु गरिएको हो ।
सरिसृप तथ्याङ्क (द रेप्टाइल डाटाबेस) अनुसार हालसम्म विश्वमा तीन हजार ९५१ प्रजातिका सर्पहरू पाइएका छन् । तीमध्ये ७९४ प्रजातिका सर्पहरू मात्र विषालु हुन्छन् । तीमध्ये पनि करिब तीन सय प्रजातिका सर्पहरू मात्र मानिसका लागि खतरनाक हुन्छन् ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा प्रत्येक वर्ष ४५ लाखदेखि ५४ लाख मानिस सर्पदंशको सिकार हुन्छन् । तीमध्ये १८ लाखदेखि २७ लाख मानिस बाँच्न सफल भए तापनि शारीरिक रूपमा कमजोर वा अपाङ्ग हुन पुग्छन् । विश्वमा प्रत्येक वर्ष करिब ८१ हजारदेखि एक लाख ३८ हजार मानिस सर्पको टोकाइबाट मर्ने गर्छन् ।
सर्पदंशका घटनाहरू सबैभन्दा बढी एसिया, अफ्रिका र लेटिन अमेरिकामा घट्ने गरेको एक अध्ययनले देखाएको छ । प्रत्येक वर्ष एसियामा करिब २० लाख, अफ्रिकामा करिब चार लाख ३५ हजारदेखि पाच लाख ८० हजार मानिस सर्र्पदंशको सिकार हुन्छन् । विशेषगरी सामान्य तथा न्यून आयआर्जन भएका देशका महिला, बालबालिका र किसानहरू यसको सिकार हुने गरेको पाइएको छ । स्वास्थ्य संस्थाहरूको कमी भएको स्थानमा र स्वास्थ्य सुविधा कमजोर भएको ठाउँहरूमा सर्पदंशबाट मर्नेको सङ्ख्या बढी छ ।
द रेप्टाइल डाटाबेसका अनुसार हाल नेपालमा ९२ प्रजातिका सर्पहरू पाइन्छन् । तीमध्ये २६ प्रजातिका सर्पहरूमात्र विषालु हुन्छन् । नेपालका केही विषालु सर्पहरूमा करेतका प्रजाति, गोमनका प्रजाति, राजगोमन, भाइपरका प्रजाति, फोर्सटेन्स क्याट स्नेक, हिमालयन पिटभाइपर, रुसेलस भाइपर, हिमालयन किलब्याक आदि पर्दछन् ।
सर्पदंश केन्द्रमा उपलब्ध स्रोतहरूका अनुसार नेपालमा प्रत्येक वर्ष कम्तीमा ४० हजार सर्पदंशका घटना हुने गरेको पाइएको छ । यो तथ्याङ्क पूर्ण रूपमा सत्य छैन किनभने नेपालमा सर्पदंशका घटनाहरूको पारदर्शी लेखाजोखा छैन । नेपालमा बर्सेनि एक हजारभन्दा बढी मानिस सर्पदंशका कारणले मर्ने गरेको तथ्य नेपाल सरकारको महामारी तथा रोग नियन्त्रण शाखाले सन् २०१९ सालमा प्रकाशित नेसनल गाइड फोर स्नेक बाइट म्यानेजमेन्ट इन नेपालमा उल्लेख गरेको छ । पछिल्लो अध्ययनअनुसार सर्पदंशका कारणले मर्ने मानिसहरूको दर १८.७ प्रतिशत (२० वर्ष पहिलेकोे) बाट घटेर ६.६२ प्रतिशतमा झरेको छ ।
(लेखक स्नातकोत्तर क्याम्पस विराटनगरमा प्राणीशास्त्र विषयका शोधार्थी हुनुहुन्छ ।)