डा. प्रकाश बुढाथोकी
स्वास्थ्य मापदण्ड पालना गर्ने शर्तमा बन्दाबन्दी खुकुलो बनाइए पनि कोरोना महामारी हटेको झँै भौतिक दूरी नराखी, भीडभाडमा मास्क नलगाई मानिस हिँडिरहेका छन् । सर्वसाधारणसहित सरकारी, निजी तथा गैरसरकारी सङ्घसस्था र कार्यालयमा स्वास्थ्य मापदण्डको उल्लङ्घन बढेपछि असार २२ गते गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कने, हिँडडुल गर्ने, स्यानिटाइजर प्रयोग नगर्ने र दुई मिटर सामाजिक दूरी कायम नगर्नेलाई सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन दिएको छ । मास्क नलगाई घरबाहिर निस्केमा एक सय रुपियाँ जरिवानामा पर्ने हरेक जिल्लामा सयौँको सङ्ख्यामा छन् ।
इतिहास
सर्जन रेडेक्कीको व्याख्यामा स्वास्थ्यलाई ध्यानमा राखी मास्क लगाउने चलन सन् १८९० को दशकतिर सुरु भएको देखिन्छ । शल्यक्रिया तथा नर्सिङ सेवा प्रदान गर्ने क्रममा सूक्ष्म जीवाणु तथा मसिना थुकका छिटा मास्क लगाउने व्यक्तिको नाकमुखबाट बाहिर जान छेक्ने गरिन्थ्यो । जसका कारण मास्कलाई सर्जिकल मास्क र कतै फेसमास्क भनियो । कपडाको एक तहको मास्कबाट हाल पुनः प्रयोगमा ल्याउन नमिल्ने पोलिमरबाट निर्मित तीन तह भएको मास्क प्रयोगमा छ । स्वास्थ्यकर्मी र उच्च जोखिममा भएकाले मेडिकल मास्क, अन्यले तीन तहको कपडाको मास्क र नपाइने स्थानमा सफा गम्छा तीन तह बनाई नाक, मुख राम्ररी छोप्ने गरे सङ्क्रमणबाट जोगिन सकिन्छ ।
एन ९५ मास्क
सुरुवाती सर्जिकल मास्क खुकुलो भई श्वासको माध्यमबाट सर्ने रोग, हावामा भएका सूक्ष्म तथा जैविक विषाक्त कणहरूबाट बचावट गर्न सक्दैनथ्यो । सन् १९६० को दशकमा समस्याको सम्बोधन भयो र अतिसूक्ष्म जैविक कणबाट सुरक्षा प्रदान गर्ने मास्क एफएफआर आयो । जसले थुक तथा हावामा भएको सूक्ष्म जीवहरू, विषाक्त कणहरू छिर्नबाट ९४ देखि ९५ प्रतिशतभन्दा माथिसम्म रोक्छ ।
सङ्क्रमितले बोल्दा मुखबाट निस्किने साना छिटाबाट भाइरस अर्काे व्यक्तिमा सर्ने बढी हुन्छ । मुखबाट निस्कने छिटा १० देखि १२ मिनेटसम्म हावामा रहने भए पनि जति नजिक भयो त्यति सर्ने जोखिम बढ्छ । कम्तीमा ६ फिटको दूरीमा मास्क लगाएर मात्र संवाद गर्न जरुरी छ ।
कहा“ मास्क अनिवार्य
सङ्क्रमणको सम्भावना हुने स्थानहरू, स्वास्थ्यसम्बन्धी काम गर्ने क्षेत्रहरूमा अनिवार्य मेडिकल मास्कको प्रयोग गर्नुपर्छ । कर्मचारीले मात्र नभई बिरामीले पनि अनिवार्य मास्क लगाउनैपर्छ । त्यस्तै सामुदायिक प्रसारण स्थानमा ६० भन्दा बढी उमेर समूह र स्वास्थ्यमा समस्या भएकाहरूले सामाजिक दूरी कायम गर्न नसकिने भए मेडिकल मास्क अनिवार्य छ । सार्वजनिक यातायात, पसल, भिडभाड हुने ठाउँमा मास्क अनिवार्य छ । अरूलाई सङ्क्रमण हुनबाट जोगाउन कपडाको मास्क पर्याप्त भए पनि कमजोर प्रतिरोधी क्षमता भएका तथा शरीरभित्र भाइरसका केही अवशेष बा“की रहेकाका लागि एन. ९५ मास्क चाहिन्छ तर भल्भ भएका मास्कमा सास फेर्दा लगाउनेले सङ्क्रमण सार्न सक्छ ।
सबभन्दा पहिले मार्च महिनामै भेनेजुएलाले सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउनपर्ने नियम लागु गरेको थियो । भियतनाम र दक्षिण कोरियाले ‘नो मास्क नो राइड’ नियम लागु गरेका छन् । ७५ भन्दा बढी देशले सार्वजनिक स्थलमा अनिवार्य मास्क लगाउनुपर्ने नियम बनाएका छन् । कतारमा मास्क नलगाउनेलाई तीन वर्षसम्म जेल र ५५ हजार अमेरिकी डलरसम्म जरिवाना छ । सुरुमा मास्क प्रयोग गर्न नहुने धारणा राख्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि मास्कको प्रयोग गर्न थाल्नुभएको छ ।
मास्क लगाउनुपूर्व साबुनपानी वा अल्कोहलयुक्त स्यानिटाइजरले हात धुनुपर्छ । मास्क नाकमुख पूर्णरूपमा छोपिने गरी टम्म लगाउनुपर्छ । कतैबाट ग्याप वा चर हुनुहुँदैन । लगाएको मास्कलाई हातले नछुने, छोइएमा तुरुन्त साबुनपानी वा अल्कोहलयुक्त स्यानिटाइजरले हात धुनुपर्छ । विशेषतः थुकका छिटाले मास्क भिजेपछि छिटै मास्क फेर्नुपर्छ । मास्कको डोरीमा समाएर खोल्नुपर्छ र सुरक्षित तरिकाले उचित स्थानमा विसर्जन गरी हात धुनुपर्छ । बिरामीको सम्पर्कमा आउँदा सङ्क्रमण रोक्न प्रभावकारी सबैभन्दा सजिलो, सस्तो र वैज्ञानिक उपाय मास्क लगाउने हो । मास्क सबैले लगाउनुपर्दछ किनभने कसको शरीरमा सङ्क्रमण छ, थाहा हँुदैन । मास्क लगाउँदा भाइरस सर्ने सम्भावना १.५ प्रतिशत रहन्छ ।
(लेखक नेपाल चिकित्सक सङ्घका केन्द्रीय कोषाध्यक्ष हुनुहुन्छ ।)