सरोज नेपाल
कोभिड–१९ का कारण मानवजीवनका थुप्रै आधारहरू चक्रव्यूहमा परेका छन् । ज्यामितीय आकारमा बढिरहेको सङ्क्रमण र मृत्युदरले संसार हल्लाएको छ । फलस्वरूप विविध आर्थिक, सामाजिक र मानसिक असरहरू हामीले झेलिरहेका छौँ । लामो समयको बन्दाबन्दी, घरभित्र थुनिएर बस्दाको तनाव, सीमित मानवीय क्रियाकलाप सँगसँगै भाइरस सङ्क्रमणको भयले जनजीवन आक्रान्त छ । यसको प्रभावले मानवजीवनमा पारेको नोक्सानी र दीर्घकालीन असरको त आँकलनसमेत गर्न सकिएको छैन ।
भाइरसको द्रुत फैलावटका बीच विश्वभर वैज्ञानिकहरू अहोरात्र लाग्दा पनि यसको निदानका लागि खोप तथा औषधि पत्ता लाग्न सकिरहेको छैन । पत्ता लागिहाले पनि हाम्रोजस्तो देशमा तत्कालै उपलब्ध हुने र सर्वसाधारणको पहुँचसम्म पुग्ने सम्भावना न्यून नै छ । अमेरिका, रूस, स्पेन, इटाली, भारतजस्ता शक्तिशाली मुलुकलाई समेत यो महामारीले काबुमा राखिसकेको छ । चिकित्सा प्रणालीमा संसारकै उत्कृष्ट मानिएको देश इटालीसमेत यस रोगको नियन्त्रणमा हार खाइरहेको छ । प्रक्रियामुखी कार्यशैली र भ्रष्टाचारले ग्रसित नेपालको केही सहरी क्षेत्रमा सीमित चिकित्सा प्रणालीले देशका समग्र क्षेत्रमा एकैपटक ठूलो सङ्ख्यामा सङ्क्रमित भएको खण्डमा सेवा दिन नसक्ने निश्चितप्रायः देखिन्छ ।
पछिल्लो समयमा सङ्क्रमितको सङ्ख्या घट्दै गए पनि यसको जोखिम कायम छ । कतिपय मुलुकमा जोखिम घटेको ठानी खुला गरिसकेको लकडाउन पुनः घोषणा गर्नुपरेको यथार्थबाट सजगता अपनाउनु बुद्धिमानी ठहर्नेछ । अब मानवीय जीवनशैली लकडाउनअघिको जस्तो हुने छैन । मानव समुदायले यस भाइरससँग लड्ने क्षमताको विकास नगरुन्जेल र अन्य उपचारात्मक पद्धतिको विकास नहुन्जेल हामीले आफ्नो जीवनशैली नै परिवर्तन गर्नु जरुरी देखिन्छ । सामाजिक दूरी र व्यक्तिगत सरसफाइयुक्त जीवनशैलीका साथ कोरोनासँग जुध्दै मानवीय क्रियाकलापको निरन्तरता दिनु आवश्यक देखिन्छ ।
कोरोना कहर अब विश्वइतिहासमा एउटा नमेटिने दाग बनिसकेको छ । यसले विश्व भूआकृतिमा थुप्रै परिवर्तनहरू ल्याउने निश्चित छ । जसलाई सकारात्मक र नकारात्मक दुवै पक्षबाट औँल्याउन सकिन्छ । एकातिर मानिसको जीवनयापन, सोच, कार्यशैली, बानी व्यवहार, खानपिन, प्राथमिकीकरण आदिमा परिवर्तन आउँछ भने अर्कोतर्फ सामाजिक विकास, अग्रगमन, सद्भाव र भाइचारामा समेत खलल भई पूर्ण रूपमा नयाँ संरचनाको निर्माण हुन सक्ने देखिन्छ । यसले प्रसिद्ध वैज्ञानिक चाल्र्स डार्विनको सिद्धान्त ‘बाँच्नका लागि सङ्घर्ष’ लाई समेत प्रतिविम्बित गरेको देखिन्छ । बदलिँदो पर्यावरण र नितान्त फरक चुनौतीहरूको सामना जसले गर्न सक्छ, त्यसैको मात्र प्रकृतिमा अस्तित्व रहन्छ । त्यसैले कोरोना महामारीका करण बदलिएको परिस्थितिसँग अनुकूल हुनेगरी जीवनपद्धति अवलम्बन गरिनुपर्दछ ।
लामो समयसम्म कोरोना प्रभाव रहिरहेको आवस्थामा त्यसले आर्थिक, सामाजिक तथा साँस्कृतिक जीवन तहसनहस पार्नेछ । मानिसले रोजगारी गुमाउनेछन् । व्यापार व्यवसाय चौपट हुन्छ । आर्थिक क्रियाकलापका लागि वैकल्पिक उपायहरूको खोजी हुनेछ, चोरी डकैती र लुटपाटको उल्लेखनीय वृद्धि हुन सक्नेछ । समाजमा अराजकताले प्रश्रय पाउन सक्नेछ । मानिसले बिस्तारै चाडपर्व, साँस्कृतिक क्रियाकलाप, रहनसहन र रीतिरिवाज परिवर्तित शैलीमा मान्न थाल्नेछन्, जसले गर्दा परम्परा नै खतरामा पर्न सक्ने हुन्छ । चाडपर्व मनाउने शैली बदलिनेछ । खेलकुदका प्रतियोगिताहरू बदलिनेछन् । धेरै भीडभाड र जमघट हुने खेलको विकल्पमा इनडोर खेलकुदले ग्राह्यता पाउनेछन् । इन्टरनेटको प्रयोगमार्फत हुने क्रियाकलापमा उल्लेख्य वृद्धि हुनेछ । मानिसको अपरिचितसँगको दूरी झनै बढ्नेछ । एक देशका मानिस अर्को देशका मानिससँग लामो समयसम्म सशङ्कित हुनेछन् । देशभित्रै पनि कोरोनाले विभेद निम्त्याउन सक्छ । विद्यालय खुले पनि छोराछोरीलाई विद्यालय पठाउँदा अविभावकको भय र त्रास विद्यमान नै हुन्छ । जसले गर्दा पठनपाठनको तौरतरिकामा परिवर्तन हुनेछन् । खानपिनको शैली बदलिनेछ, समग्रमा जीवनपद्धति नै परिवर्तन हुनेछ ।
विश्वव्यापी सङ्कटले गर्दा मनोवैज्ञानिक असरसमेत उत्तिकै छन् । आर्थिक वा सामाजिक रूपमा पिछडिएका वर्गको दैनिक जीवनयापनमै असजिलो भएको छ । मानव क्रियाकलाप ठप्प हुँदा बेचैनी बढेको छ । ऋण लिएर ठूला व्यवसाय थालेकाहरू ऋणको बोझमा डिप्रेसनको सिकार भएका छन् । पारिवारिक विखण्डन बढेको छ । आपसी भेटघाट, मनोरञ्जन र सौहार्दतामा विराम हुँदा मानिस विक्षिप्त हुँदै गएको छ । भय र त्रासले निद्रा हराएको छ । हाम्रै देशको तथ्याङ्क हेर्ने हो भने अन्य रोगले भन्दा आत्महत्याको सिकार भएको सङ्ख्या बढेको छ । गाँस, बाँस, कपास र सुरक्षामा समेत निकै मुस्किल हुन थालेको छ । जसले गर्दा कमजोर मानसिकता भएका र न्यून चेतनास्तर भएकामा कोरोना कहरले निकै गहिरो र दीर्घकालीन मानसिक असर पार्दै छ ।
यसका सकारात्मक पाटाहरू पनि छन् । कोरोनापछिको समय हामीले चाहेको खण्डमा परिवर्तित र रूपान्तरित परिवेशका रूपमा बदल्ने अवसर हुनेछ । यो महाव्याधिबाट सिकेका र अनुभव गरेका कुराहरूलाई मानवजीवनमा अवलम्बन गर्न सकिन्छ । यसले एकातिर सङ्कट बढाएको छ भने अर्कोतर्फ अवसर सिर्जनासमेत गरेको छ । समाज र राष्ट्रमा मानवीयता, सद्भाव र सहयोगको भावना अभिवृद्धि गरेको छ । सञ्चार क्षेत्रमा सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत नयाँ–नयाँ सम्भावनाको खोजी भएको छ । कृषिमा अवसर र सम्भावनालाई सार्थक तुल्याउन हौसला बढेको छ । समग्रमा आत्मनिर्भरताका लागि हिम्मत जुटेको छ तर खाँचो छ केवल प्रतिबद्धता, लगनशीलता र धैर्यको ।
मानव विकासक्रमको सभ्यतालाई हेर्दा यस्ता थुप्रै सङ्कटहरूको सामना गर्नुपरेको देखिन्छ । यसर्थ, कोरोना महाव्याधिलाई समेत मानव विकासमा पर्यावरणीय सन्तुलनको एउटा पाटोका रूपमा लिन सकिन्छ । विभिन्न प्राकृतिक विपद् र महामारीपश्चात् कायापलट भएका थुप्रै उदाहरणहरू छन् । विश्वयुद्धको सन्नाटापछि उदाएका युरोपेली मुलुकको द्रुत विकास होस् वा प्लेग महामारीपश्चात् आधा जनसङ्ख्या गुमाएको बेलायतको औद्योगिक क्रान्ति, एचआईभी एड्सले सखाप बनाएको अफ्रिकाको सभ्यता विकास होस् या जापानको नरसंहारपछिको आर्थिक समृद्धि– जुनसुकै सङ्कटले पनि सकारात्मक सन्देश बोकेको देखिन्छ । विनाशकारी घटनाहरूले एकातर्फ थुप्रै धनजनको क्षति गरिरहेका हुन्छन् भने अर्कोतर्फ मानवीय, आर्थिक, सामाजिक तथा साँस्कृतिक रूपान्तरणका सम्भावनाहरू पनि बोकेका हुन्छन् । त्यसैले अहिलेको महामारीलाई पनि एउटा अवसरका रूपमा लिई सामाजिक रूपान्तरणमा सदुपयोग गर्न सकिन्छ ।
चौतर्फी सङ्कट चुलिँदै गएको वर्तमानमा प्रमुख आवश्यकता यो महामारीबाट कसरी जोगिने भन्ने नै हो । यस्तो विषम परिस्थितिमा सङ्क्रमणबाट बच्न र फैलिन नदिन व्यक्तिगत रूपमा स्वयम् सजग हुँदै जीवनशैलीमा परिवर्तन ल्याउनु जरुरी छ । यो सङ्कटको घडीमा महामारीविरुद्ध लड्ने क्षमताको विकास गरी व्यक्तिगत र सामूहिक रूपमा सचेत र सबल हुनु अपरिहार्य देखिन्छ । सरकारी संयन्त्रमार्फत पनि तत्कालीन र अल्पकालीन कार्यहरूमा जोड दिँदै जीवन पद्धति, स्वास्थ्य प्रणाली र आर्थिक क्रियाकलापहरू बलियो बनाउन जोड दिनु अपरिहार्य छ ।
(लेखक नेवानिमा कार्यरत हुनुहुन्छ ।)