कोमल पौडेल
संसारमा मानिसले आफ्नो भूमिकालाई जनकल्याणकारी बनाउन नसक्दा समाजले ठूलो सङ्कट र विनाश भोग्न बाध्य भएको छ । एउटा घरमा कमजोर सदस्यलाई वा आदर्शबादी सदस्यलाई मूर्ख, स्वार्थी र अमानवीय स्वभाव भएका सदस्यले सताइरहेका हुन्छन् । समाजमा पनि त्यस्तै आदर्शवादी, मानवतावादी र अनुशासित तथा कमजोर अवस्था र जोखिमपूर्ण समूह अपराधी, चण्डाल र लुटेराबाट सताइएका हुन्छन् । संसारका साना देश, शान्तिप्रेमी देश, आफ्नो परिश्रम गरेर अरूलाई दखल नपु¥याई बाँच्ने देशलाई हस्तक्षेप र शोषण गर्ने मनोवृत्तिका देशहरूले नाङ्गो रूपमा हस्तक्षेप गरी धनजनको क्षति पु¥याइरहेका हुन्छन् । यो दानवीय प्रवृत्तिमा परिवर्तन नआएसम्म शान्ति र सुरक्षा सम्भव छैन ।
नेपाली जहिले पनि बाहिरी हस्तक्षेपको चपेटामा बाँच्न बाध्य छन् । समग्रमा नेपालीहरू अति इमानदार, मानवतावादी, मैत्रीभाव भएका, सरल, परिश्रमी, विश्वासिला र निःस्वार्थी हुन्छन् । नेपालीको यो स्वभाव र अवस्थालाई दुरूपयोग गरी बाह्य तत्वबाट भद्दा नाच लामो अवधिदेखि भइरहेको छ । सबैलाई आफ्नो देशको माया हुन्छ । सबैलाई राष्ट्रिय भाव हुन्छ, सबैलाई आफ्ना देशवासीको रक्षा गर्ने चाहना हुन्छ तर त्यो सबै चाहना पूरा गर्न त्यही देशभित्रको साधन र स्रोतले व्यवस्थापन गर्न सकिन्छ । तर त्यहाँको स्रोत साधनमाथि ज्ञान, स्वामित्व र परिचालनमा रहेको कमजोरीको उपयोग गरी प्रकारान्तरले आफ्नो हैकम जमाउने, परिचालन गर्ने र आफ्नो स्वार्थ पूरा गर्न खोज्ने बाह्य प्रवृत्तिको हस्तक्षेप नेपालमा लामो समयदेखि जारी छ ।
विशेषगरी अमेरिका र भारतले नेपालमा बारम्बार हस्तक्षेप गर्ने गरेको सुनिन्छ । अमेरिकाका र भारतका गुप्तचरहरू (सी.आई. ए. र रअ) को चलखेल निकै भएको र यसकै कारण देशमा अस्थिरता र अशान्ति अनि असुरक्षा बढेको भन्ने समाचार नियमित रूपमा आइरहन्छन् ।
अरू पनि ठूला देश छन्, बेलायत, जर्मनी, फ्रान्स, रुस, चीन, अरब अनि युरोपियन देशका गुप्तचरहरूले सताउने गरेका समाचार चाहिँ सुनिँदैन । उनीहरूलाई पनि आफ्नो देशको माया छ, देश बलियो बनाउने चाहना छ तर आफू बलियो बन्न नेपालमाथि कुनै हस्तक्षेप र शोषण गर्ने सोचमा खेलेको देखिन्न । किन अमेरिका र भारतले ठूलो रकम खर्च गरी गुप्तचर परिचालन गरेर नेपालको भविष्यमाथि हस्तक्षेपकारी नग्न चलखेल गरिरहेका
छन् ? सोझा सीधा नेपालीमाथि ठूलो अन्याय र हस्तक्षेप गरिरहेका छन् किन ? यो निकै गम्भीर समस्या हो । नेपाल भूगोल, स्रोत र प्रविधिको दृष्टिकोणले कमजोर छ । यहाँका बहुजाति, भाषी र भौगोलिक विविधतायुक्त जोखिमपूर्ण अवस्थाको मौका छोपी गृहयुद्धमा फसाउने कसरत भयो । त्यो सफल नभएपछि पनि देशमा अस्थिरता सिर्जना गर्ने प्रयत्नमा अनेक नाम र नारामा आएका गुप्तचरहरूकै हात रहेको सार्वजनिक चर्चाकै विषय बन्ने गरेका छन् ।
कमजोर देशमा जन्मेको कारण मानिसले सधैँ समस्या र सङ्कटमा बाँच्नपर्ने र जोखिमपूर्ण ढङ्गले जीवन बिताउनुपर्छ नै । यिनै नेपालीलाई सताउने हस्तक्षेपकारी, षड्यन्त्रकारी सोच अति अमानवीय, हिंसात्मक र गैर कानुनी छ तर यति ठूला राज्यहरूका स्रोतले परिचालित भएकाहरूबाट भित्रभित्र खेलिने नकारात्मक क्रियाकलापबाट कसरी नेपाल बचाउने ? कसले बचाउने ? र कसरी नेपाली सुरक्षित हुने ? नेपाली आम देशभक्त नागरिक र नेतृत्वले चिन्तन र व्यवहार यसतर्फ
केन्द्रित गर्नुपर्छ ।
अवश्य पनि नेपालमा हस्तक्षेपकारी भूमिका खेलिरहेका देशका समग्र जनता नेपालमाथिको षड्यन्त्रप्रति अनभिज्ञ छन्, मानवीय भावका छन् र काम गरेर कर तिरेका छन् । त्यही उनीहरूको करबाट सहयोगका नाममा नेपालमा ल्याएर दुरूपयोग भएको जानकारी नपाएका हुन सक्छन् तर केही मुठ्ठीभरका व्यक्तिको अहंकार र अमानवीय स्वभावले गर्दा सम्पूर्ण देशवासीको पहिचान धमिलिएको छ । विभाजनकारी, अमानवीय गतिविधि परिचालन गरी अति निर्दोष र विविध समस्याले सताइएका जनतामाथि जोखिमपूर्ण अवस्था सिर्जना गर्ने, थप सङ्कट ल्याउने, असुरक्षित बनाउने कार्य भैरहेको छ । यो विकराल हिंसा हो ।
शान्तिका लागि, सुरक्षाका लागि, मित्रताका लागि र मानवताको इतिहास कोर्नका लागि यस्तो हस्तक्षेपकारी सोचमा पुनर्विचार गर्नु अपरिहार्य छ । बौद्धिक, जनशक्ति, स्वस्थ जनशक्तिको दुरूपयोग गरेर अनि देशको राजस्वको दुरूपयोग गरी मानव समाजलाई सताउने कार्य गर्नु जटिल र गम्भीर समस्या हो । ती जनशक्ति जनकल्याणकारी कार्यमा परिचालन गरेमा संसार सबैका लागि सुरक्षित र शान्त बन्ने थियो । सक्षम, एकतामा विश्वास गर्ने, विकासवादी र मानवतावादी नेपालभित्र र बाहिर अति जोखिमपूर्ण अवस्थामा बाँच्न बाध्य पार्ने सोचमा परिवर्तन गर्न सबै मानवतावादीहरू अब एक भएर यसको समाधान खोज्ने समय आएको छ ।
मानवीय पीडा, मानवीय क्षति, मानव दुरूपयोग र मानव असुरक्षा गर्ने कार्य जसले जहाँबाट गरे पनि, अति प्रिय र आदरणीयहरूले गरे पनि शून्य सहनशीलता हुन जरुरी छ । मानिस स्वस्थ भएर पूरा आयु बाँच्ने परिवेशमा दखल पु¥याउने सबै अपराधी हुन् । अपराध गर्नेलाई कारबाही गर्ने सञ्जाल त छ तर निष्क्रिय छ र आफ्नो कार्य सम्पादनप्रति प्रतिबद्धता गरेको पाइँदैन । सबैलाई नियन्त्रण गरेर भूमिगत गिरोह परिचालन गरी समाजलाई दुःख पु¥याउने सोचमा परिवर्तन होस् । विकासका बाटा अनेक छन् अरूको देशमा हस्तक्षेप गर्ने सोच अति हिंसात्मक हो । यसमा पुनर्विचार गरिनुपर्ने सबै मानवतावादीले मनन गरिसकेको हुनुपर्ने हो ।
(लेखक फिनल्यान्डमा रही स्वतन्त्र लेखन गर्नुहुन्छ ।)