logo
२०८२ असार ९ सोमवार



यातायात र स्वास्थ्य सुरक्षा (सम्पादकीय)

विचार/दृष्टिकोण |




कोरोना महामारी (कोभिड–१९) को सङ्क्रमण नियन्त्रणको सिलसिलामा गतवर्ष चैत ११ गतेदेखि बन्द रहेको सार्वजनिक यातायात सीमित क्षेत्रका लागि खुलाउने पहल भइरहेको छ । स्थल र हवाई दुवै यातायात बन्द भएकाले नागरिकमा पर्न गएको असुविधा, कोरोना नियन्त्रणमै रहेको अवस्था तथा यातायात व्यवसायीको माग सम्बोधन गर्न छोटो दूरीको यातायात सञ्चालन गर्न सकिने व्यवस्था गरिएकाले जनजीवन सामान्य बन्दै गएको छ । संस्थागत रूपमा यातायात क्षेत्रका संस्थाले यातायात सञ्चालन गर्नु पूर्व केही तयारी र सरकारको प्रतिबद्धता आवश्यक पर्ने जनाएका छन् तर व्यक्तिगत रूपमा भने उपत्यकालगायत मुलुकका विभिन्न क्षेत्रमा जिल्लाभरका लागि यातायात सञ्चालनमा आएको छ । सरकारले असार अन्तिम साता छोटो दूरीमा (जिल्लाभित्रै) यातायात सञ्चालन खुला गरे पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलगायत व्यवसायी संस्था केही माग राखी अनिर्णित रहेको अवस्थामा हालै मौद्रिक नीति सार्वजनिक भएलगत्तै व्यवसायी यातायात सञ्चालनमा सकारात्मक देखिएका छन् । दुई÷तीन दिनको तयारीपछि सम्भवतः बुधबारबाट यातायात सञ्चालन गर्न सकिने महासङ्घले जनाएको छ । मौद्रिक नीतिमार्फत यातायत क्षेत्रको बैङ्क साँवा र ब्याज ६ महिनादेखि एक वर्षसम्म समय थप गर्ने, सहुलियतपूर्ण कर्जा, पुनःकर्र्जाजस्ता व्यवस्थाले व्यवसायीलाई राहत मिलेको छ । कोरोनाबाट अतिप्रभावित पेसा व्यवसाय सञ्चालनका लागि ५० अर्ब रुपियाँको कोषले प्रदान गर्ने सहुलियतमा यातायात क्षेत्र पनि समेटिएकाले यातायात सञ्चालन गर्न वातावरण बनेको छ । अब घोषणाअनुरूप उदार कार्यविधि बनाएर ऋणी उद्यमी व्यवसायीलाई राहत प्रदान गर्दै यातायातलगायत सार्वजनिक जीवनका सबै पाटालाई गतिशील बनाउनु आवश्यक छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन २१ गतेदेखि आन्तरिक र भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सकिने जनाएको छ । चैत ९ देखि अन्तर्राष्ट्रिय र चैत ११ देखि आन्तरिक उडान रोकेको सरकारले वायुसेवा पुनः सञ्चालन तयारी गरे पनि कोरोना सङ्क्रमण पूर्णतः नियन्त्रणमा आएको छैन र तत्काल यस्तो सम्भावना पनि छैन । यसैलाई आधार बनाएर अनन्तकाल जनजीवन निष्क्रिय राख्नुहुँदैन तर यातायातको सुविधा दिनुको अर्थ जनजीवनमा स्वास्थ्य सुरक्षा सतर्कता आवश्यक छैन भन्ने होइन । यातायात सञ्चालनमा व्यवसायीले आर्थिक पाटोलाई बढी महŒव दिएका छन् तर आफैँ र आफ्नै समुदायले प्रयोग गर्ने यातायातलाई सुरक्षित बनाउनुपर्ने मुद्दा अपेक्षाकृतरूपमा ओझेलमा परेको छ । यस अगाडि सरकारले सुरक्षा मापदण्डसहित सीमित यात्रु राख्ने र त्यसबापत दोब्बर भाडा लिन पाउने व्यवस्था गरेको अवस्थामा व्यवसायीले घाटा पर्ने कारण देखाएर सवारी चलाएनन् । अब पनि न लकडाउन पूर्ण खुलेको छ न त स्वास्थ्य सुरक्षाको जोखिम घटेको नै । अहिले पनि सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि यस अगाडि भएको निर्णयअनुरूप सुरक्षा मापदण्डको पूर्ण पालनासहित यातायात चलाउनुपर्ने आवश्यकता देखिन्छ । मुलुकभर यस्तो व्यवस्थाको पालना कसरी गर्ने भन्नेमा सम्बन्धित पक्ष उदासीन देखिएका छन् । काठमाडौँ उपत्यकाकै कतिपय रुटमा पूर्ववत् झल्को आउने गरी धेरै यात्रु राखेर गाडी सञ्चालन गरिएको देख्दा न यात्रु, न व्यवसायी, न सरकारी निकायले नै ‘जनस्वास्थ्य प्रथम सर्त’ भन्ने मान्यता पालना गरेको देखिन्छ ।
विज्ञका अनुसार बढ्दो सामाजिक अन्तरक्रिया, प्रभावित क्षेत्रबाट उपत्यका वा बाक्लो बस्तीमा आउने क्रम तथा भारतमा सङ्क्रमण फैलँदो अवस्थामा रहेकाले नेपाल कोरोनाको सम्भावित खतराबाट मुक्त भइसकेको छैन । यस्तो अवस्थामा नागरिकले पनि अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कने, सार्वजनिक यातायात प्रयोग गर्दा स्वास्थ्यसुरक्षालाई ध्यान दिने बानी विकास गर्नु आवश्यक छ । यस्ता सबै काम सरकारले गरिदिए सुरक्षित भइन्छ भन्ने उदासीन मानसिकता सबैले त्याग्नुपर्छ । कतिपय मुलुकमा एकपटक कोरोना नियन्त्रणमा आयो भनेर गरिएको खुकुलो व्यवस्था प्रत्युत्पादक भएको भन्दै पुनः बन्दाबन्दी गरिएको घटना कसैले बिर्सनुहुँदैन । विश्वकै सम्पन्न र शक्तिशाली मानिने अमेरिकामा मास्क प्रयोग गर्ने नगर्ने विवाद र अनियन्त्रित कोरोना सङ्क्रमणको दुःखद पक्षलाई सरकार, यातायातलगायतका व्यवसायी र सर्वसाधारणले बिर्सनुहुँदैन । भारतमा फैलँदो सङ्क्रमण र त्यहाँबाट निर्बाध नेपाल भित्रिने प्रवृत्तिका कारण नेपाल अझै पनि उच्च जोखिममा रहेकाले हाम्रा हर प्रयासमा स्वास्थ्यसुरक्षा केन्द्रमा रहनुपर्छ ।


 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?