मनोहर कार्की
नेपालको राजनीतिका शिखर व्यक्तित्व बीपी कोइरालाको आदर्श र मूल्यको राजनीति चीरकाल पर्यन्त स्मरणीय रहनेछन्, उहाँका वैचारिकता र उदार समाजवादी विचारधाराका रूपमा । बीपी वैचारिकता र नेतृत्वका सवालमा राष्ट्रवादी समाजवादी चिन्तकका रूपमा स्थापित नाम हो । विश्व राजनीतिक परिवेशलाई अत्यन्त सूक्ष्मतम् र गहिराइमा पुगेर विश्लेषण गर्न सक्ने र त्यसको सान्दर्भिकतालाई नेपालको भूराजनीतिक पहिचानसहित उपयोग गर्ने खुबी भएका नेता मानिुनहुन्छ बीपी । त्यसैले त नवऔपनिवेशिक तथा सैन्यशक्तिको आडमा राजनीतिक र वित्तीय प्रभुत्ववाद कायम गर्ने होडबाजी चलेको विश्व शीतयुद्धको समयमा सन्तुलित असंलग्न परराष्ट्र नीति अवलम्बन गरी नेपालको हितमा उपयोग गर्न सकियो ।
विक्रम संवत् २००७ को प्रजातान्त्रिक आन्दोलन तथा तत्पश्चात् नवस्थापित प्रजातन्त्रको संस्थागत विकासमा बीपीको नेतृत्वदायी भूमिकाले नेपालको राजनीतिक इतिहासमा विशेष महŒव राख्दछ । विसं २००७ देखि २०१५ सम्मको प्रजातन्त्रको सङ्क्रमणकालीन अवस्थालाई कुशल ढङ्गबाट व्यवस्थापन गरी नेपाली काँग्रेस पार्टीको नेतृत्वमा बहुदलीय प्रतिस्पर्धाअनुसारको पहिलो संसदीय चुनावमा नेपाली काँग्रेस पार्टीलाई दुईतिहाइ बहुमतका साथ विजयी गराएर पहिलो जननिर्वाचित सरकारको प्रधानमन्त्रीका रूपमा सरकारको नेतृत्व गर्नुभयो उहाँले । मूलतः प्रजातन्त्र र प्रजातान्त्रिक पद्धतिको संस्थागत विकास र उन्नयनका लागि बीपी आफ्नो लौकिक जीवनको अन्तिम समयसम्म पनि दृढनिश्चयी, निर्भीक तथा निष्ठाका साथ लाग्नुभयो ।
बीपीले राष्ट्रिय मेलमिलाप नीति र उपयोगको सोपानलाई जोड दिँदै नेपाल आएपछि यसको सान्दर्भिकताका सन्दर्भमा एक अपिल प्रकाशित गर्नुभयो । जसको भावना र मर्म संवेदनशील र मुलुकको हितमा छ । यसै अपिलमा उल्लेख गर्नुभयो, “प्रजातन्त्रको प्राप्ति र राष्ट्रको रक्षा दुवै जिम्मेवारी नेपाली काँग्रेसले लिनुपरेको छ । यदि हामीले एउटै जिम्मेवारीको मात्र कुरा ग¥यौँ भने हामी एकपक्षीय भएर गलत बाटोतिर लागेका हुनेछौँ । र, यदि हामीले प्रजातन्त्र प्राप्तिमा मात्र जोड दियौँ भने राष्ट्रिय सङ्कटको निवारणमा हाम्रो योगदान रहँदैन । त्यतिमात्र होइन, यस्तो एकपक्षीय कार्यले हामी विदेशीहरूको चालमा पर्ने खण्डमा हुन्छौँ । त्यस्तै यदि हामीले केवल राष्ट्रियताको मात्र चर्चा ग¥यौँ भने १६ वर्षको खोक्रो राष्ट्रियताको नाराबाजीमा लाग्छौँ र अधिनायकवादको पक्षधर हुन पुग्छौँ । यस्तो खोक्रो राष्ट्रियताले राष्ट्रको रक्षा गर्ने आन्तरिक मनोबल देशवासीमा पैदा गर्न सक्दैन । त्यसो हुनाले हामीले यो कुरा पनि बुझ्नुपरेको छ कि राष्ट्रिय एकता प्रजातन्त्रको जगमा मात्र खडा हुन सक्छ र प्रजातन्त्रको जग देशको उत्तरोत्तर आर्थिक विकास र न्यायपूर्ण आर्थिक व्यवस्थामा मात्र बलियो हुन सक्छ । तसर्थ, हाम्रो दृष्टिमा राष्ट्रियता, प्रजातन्त्र, विकास र उन्नति एक–अर्कामा आधारित तŒव हुन् ।” यो भनाइ अद्यापि मननीय छ ।
बीपीमा अन्तरनिहित बहुआयामिक प्रतिभाको सोपानको अलग पाटोको प्रतिनिधित्व साहित्यिक व्यक्तित्व र आख्यान साहित्यमा अलग धारका अग्रज स्रष्टाका रूपमा नेपाली साहित्याकाशमा उच्च मूल्याङ्कन गरिन्छ । निकै हदसम्म उहाँका कालजयी सिर्जनाहरूमा सुम्निमा, तीनघुम्ती, मोदिआइन, हिटलर र यहुदी, नरेन्द्र दाइ, बाबुआमा र छोरालगायतका औपन्यासिक कृृति तथा जेल जर्नललगायतका आत्मवृत्तान्तले राजनीतिक वैचारिकताको आत्मबोध, यौनमनोविज्ञानको विश्लेषण तथा सामाजिक रूपान्तरण र मनोसामाजिक साँस्कृतिक द्वन्द्वलाई साहित्यिक वैचारिक धरातलमा सटिक प्रस्तुत गरेको पाइन्छ । जीवन र जगत्का मूल्य र मान्यतालाई राजनीतिक विचार र साहित्यिक पक्षबाट उजागर गर्न सक्ने विलक्षण थियो उहाँमा । उहाँका राजनीतिक विचार तथा सिद्धान्त र साहित्यिक सिर्जनाका प्रतिविम्ब बग्रेल्ती देखिन्छन् । त्यसैले बीपीले भन्नुभयो होला, म राजनीतिमा समाजवादी हुँ भने साहित्यमा अराजकतावादी हुँ । उहाँका साहित्यिक कृतिहरूले निकै हदसम्म त्यस परिवेश र समयका साहित्यिक धारलाई निषेध गरेर फरक र भौतिकवादी समाज र मानवीय मनोविज्ञानका भित्री पाटालाई स्वप्निल समाजको विम्ब र सामाजिक साँस्कृतिक द्वन्द्वात्मक पक्षलाई प्रस्तुत गरे । तीनघुम्तीकी इन्द्रमाया र सुम्निमाका किराती समुदायकी सुम्निमा तथा ब्राह्मण समुदायका सोमदत्तबीचको प्रेम र तिनका उत्कण्ठा अहिलेको समाजको पनि विम्ब नै हो ।
बीपीलाई अग्रज समाजवादी चिन्तक तथा पथप्रदर्शकका रूपमा राजनीतिक वृत्तमा लिइन्छ । प्रजातान्त्रिक समाजवादको अभ्युत्थानमा बीपीको नेतृत्वदायी भूमिका दक्षिण एसिया तथा सिङ्गो एसियाका लागि मार्गदर्शक हुन सकेको छ । जसले गर्दा उहाँलाई समसामयिक विश्व राजनीति र दक्षिण एसियाको अग्रज प्रजातान्त्रिक समाजवादी नेता र जननायकका रूपमा चिनायो । भारतका तात्कालिक नेता जयप्रकाश नारायण तथा राममनोहर लोहियाजस्ता समाजवादी चिन्तकको सामिप्यता र राजनीतिक उठबसले पनि बीपीमा नेपालजस्तो भूराजनीतिक परिवेशको मुलुकको स्थिरता, राजनीतिक विचारको सम्प्रेषण तथा छिमेक तथा अन्य मित्रराष्ट्रसँगको सम्बन्धलाई कसरी चीरस्थायी र मुलुकको हितमा प्रवद्र्धन गर्न सकिन्छ भन्ने स्पष्ट दृष्टिकोण निर्माण गर्ने र कार्यान्वयनतर्फ दिशाबोध गरेको पाइन्छ । तर, यसलाई आजका राजनीतिक व्यक्तित्वहरूले सायदै अनुशरण गरेको पाइन्छ ।
बीपी कोइराला नेतृत्वको सरकारले कुशल परराष्ट्र नीति अवलम्बन गरेको देखिन्छ । उहाँको कार्यकालमा देशले असंलग्न परराष्ट्र नीतिलाई निर्देशक सिद्धान्तका रूपमा लियो । जसको फलस्वरूप नेपालले दुई ठूला छिमेकी भारत तथा चीनलगायतका विश्वका सबै मित्रराष्ट्रहरूसँग यसै नीतिका आधारमा कूटनीतिक सम्बन्ध स्थापना र विस्तार गर्न सकियो । इजरायलको मान्यता तथा राष्ट्रसङ्घमा नेपालको क्रियाशीलता बढाउन सकियो । सगरमाथाको आधिकारिकताका सन्दर्भमा उठान भएको राष्ट्रिय हित प्रवद्र्धनका सवालमा चीनसँग दह्रो अडानसाथ सगरमाथा नेपालको भएको तथ्यलाई उहाँले चीन भ्रमणका समयमा राख्नुभयो । त्यसलाई चीन सरकारले सहज रूपमा लियो र यससम्बन्धी समझदारी कायम भयो । तात्कालिक समयमा एक नियमित पत्रकार भेटघाट कार्यक्रममा बीपीले भन्नुभयो, ‘‘नेपालले सधँै असंलग्न परराष्ट्र नीतिलाई अपनाउनेछ । तिब्बत चीनकै एक भाग हो भन्ने कुरालाई नेपालले पनि स्वीकार गरिसकेको छ ।’ (गोरखापत्र ः ८ असार २०१६)
लोकतान्त्रिक समाजवादले आफ्नो वैचारिक आधार खडा गर्नेक्रममा धेरै आरोह अवरोहलाई पार गर्दै आएको छ । पाश्चात्य चिन्तक सेन्ट साइमन, चाल्र्स फोरियर तथा बेलायती समाजवादी चिन्तक रोबर्ट ओवेनले सर्वहारा वर्गको उन्मुक्ति र उत्थानका लागि पुँजीपति वर्ग र श्रमिक वर्गबीचमा हितको संरक्षण हुन सक्ने वैचारिक आधार प्रस्तुत गरे । त्यसलाई कुनै न कुनै रूपमा माक्र्स र एङ्गेल्सले वैचारिक बहस चलाएका थिए । लोकतान्त्रिक समाजवादको सारभूत महŒवपूर्ण पक्ष वर्ग समन्वय तथा उदार आर्थिक विकास हो । यसैको आयामलाई महŒव दिएर तेस्रो विश्वका गरिब तथा विकासोन्मुख देशमा राजनीतिक व्यवस्थाको आधार र आर्थिक, सामाजिक रूपान्तरणका लागि नवीन विचारधाराका रूपमा यसले काम ग¥यो । उदार समाजवादी विचारका नीति तथा कार्यक्रमले नेपालको आर्थिक उत्थान, सामाजिक रूपान्तरणका लागि योगदान दिँदै छ, जसलाई कसैले नजरअन्दाज गर्न सकिँदैन ।
जननिर्वाचित बीपी कोइरालाको सरकारले समाजवादी चिन्तन र नीतिअनुसारको राज्य व्यवस्था सञ्चालन र विकासलाई अघि बढायो । सरकारका विकासका नीतिगत कार्यक्रमका जगमा उठेको आर्थिक, सामाजिक, साँस्कृतिक परिवर्तनका कामले नयाँ बिहानीको सुरुवात गर्न सकेको थियो । तर, हठात् बीपीको लोकप्रिय जनउत्तरदायी सरकार तात्कालिक राजा महेन्द्रको उच्च महŒवाकाङ्क्षा र राजनीतिक शक्ति आर्जन तथा प्रत्यक्ष प्रयोग गर्ने मनसायप्रेरित २०१७ पुस १ को गैरप्रजातान्त्रिक कदमका कारण ढल्यो । अनि दलविहीन चरित्रको निर्दलीय पञ्चायतको नाममा देश पुनः राजनीतिक स्वतन्त्रता शून्य व्यवस्थातर्फ उन्मुख भयो । बीपीको आदर्श र विचारधारा सिङ्गो पञ्चायती व्यवस्थाको नाममा निस्तेज तथा तेजोवध गरियो । करिब तीन दशकसम्म विकास र स्वतन्त्र राजनीतिक चिन्तनधारालाई कुण्ठित गर्ने कार्य भयो । नेपाली काँग्रेसको नेतृत्व तथा जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको अगुवाइमा तात्कालिक संयुक्त वाम मोर्चाको सहकार्यमा विक्रम संवत् २०४६ को ऐतिहासिक जनआन्दोलनपश्चात् देशमा फेरि बहुदलीय व्यवस्थाको पुनःस्थापना सफल भयो ।
विश्व व्यवस्थामा देखिएको चरम गुटबन्दी तथा अलग राजनीतिक वैचारिक प्रभावबाट पृथक पहिचान दिने उदार समाजवादी विचार बोक्ने अन्तर्राष्ट्रिय मञ्च सोसलिस्ट इन्टरनेसनलको संस्थागत विकासमा बीपी कोइरालाको महŒवपूर्ण भूमिका रह्यो । नेपाली काँग्रेसले यस अन्तर्राष्ट्रिय संस्थामा आफ्नो सहभागिता र भूमिकालाई निरन्तरता दिँदै आएको छ । तर, मूलभूत कुरा लोकतान्त्रिक समाजवादी चिन्तनधारा र विचारलाई व्यवहारको कसीमा कत्तिको तिखार्न सकिएको छ र लोकतान्त्रिक समाजवादी सिद्धान्तको सान्दर्भिकतालाई आत्मसात् गर्ने दिशामा कत्ति कार्य भए ? यस्ता कुराले अहम् महŒव राख्दछ ।
बीपीले दिशाबोध गर्नुभएको लोकतन्त्रका मूल्य, पूर्ण प्रेस स्वतन्त्रता तथा मानवाधिकारको पूर्णः प्रत्याभूति दिने संवैधानिक व्यवस्था, बहुदलीय समाज तथा राष्ट्रिय मेलमिलापको नीति कार्यान्वयनको दिशामा उहाँले पु¥याउनुभएको योगदान नेपालको राजनीतिक इतिहासमा चीरस्मरणीय रहनेछ । समसामयिक परिवेशमा विकास र राजनीतिक स्थायित्वका लागि लोकतान्त्रिक समाजवादी आर्थिक नीतिको सान्दर्भिकता रहेको छ । वर्तमान केपी ओली नेतृत्वको सरकारले पनि समाजवादउन्मुख आर्थिक विकासको खाका अघि बढाएको छ । यस सन्दर्भमा नेपालको समृद्धि र विकासको अचुक अस्त्र गरिबी, असमानता तथा विकासका अवसरबाट वञ्चित जनताको आर्थिक विकास तथा सामाजिक रूपान्तरण हो, जसमा के–कति काम गर्न सकियो, समीक्षा र मूल्याङ्कन हुनु सान्दर्भिक छ ।
(लेखक अधिवक्ता हुनुहुन्छ ।)