डा. कल्पना ज्ञवाली
राष्ट्रिय परीक्षा बोर्डका अनुसार २०७६–०७७ का कक्षा १२ का विद्यार्थी नियमिततर्फ करिब तीन लाख १० हजार ५९ छन् भने आंशिकतर्फ एक लाख २१ हजार २७७ जना । २०७७ वैशाख ८ गतेबाट हुने भनिएको कक्षा १२ को परीक्षा बन्दाबन्दीका कारण स्थगित भयो । तयारीमा बसिरहेका ती विद्यार्थी अनिर्णीत परीक्षाको मिति, परीक्षाको नतिजा र भविष्यमा के बन्ने ? कुन विश्वविद्यालयमा के विषय लिएर अध्ययन गर्ने हो भनी अन्योलमा रुमल्लिरहेका छन् । उनीहरूको विद्यालयले लिने नियमित सिकाइ कक्षा ठप्प छन् । अन्य कक्षा तथा तहको जस्तो कक्षा १२ का विद्यार्थीलाई लक्षित गरेर विद्यालय र जिम्मेवार निकायले अनलाइन कक्षा तथा आन्तरिक मूल्याङ्कन पनि गरेका छैनन् । चार महिनादेखि बन्दाबन्दी र यो केही खुकुलो रहेको परिस्थितिमा उत्तर किशोरावस्थामा पुगेका बालबालिका अन्योलको जीवन, भविष्यप्रति चिन्ताले तनावग्रस्त हुँदै घर र कोठाभित्र सीमित हुन बाध्य छन् ।
किशोरावस्था अत्यन्तै भावनात्मक रूपमा कमजोर हुने अवस्था हो । शारीरिक–मानसिक, संवेगात्मक–सामाजिक विकासका साथै संवेगात्मक रूपमा अनियन्त्रित हुने अवस्था पनि हो । सानोसानो कुरा र समस्यामा पनि उनीहरू विचलित हुने हुँदा दैनिक जीवन, स्वास्थ्य र शिक्षामा समेत असर पार्ने हुन्छ । यस्तो संवेदनशील उमेरमा उनीहरू कोठाभित्र बसेर सिकाइ उपलब्धि मूल्याङ्कन र भविष्यको अन्योलमा छन् ।
कोभिड १९ ले निम्त्याएको सङ्कटको परिस्थितिमा विभिन्न तहका विद्यार्थीको स्तर उन्नति विद्यालयहरूले आन्तरिक मूल्याङ्कनको आधारमा गरे भने कोही यस्तो गर्ने तयारीमा छन् । यसै सन्दर्भमा ‘ए लेबल’ तहको पनि आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर अन्तिम मूल्याङ्कन भइसकेको छ । विभिन्न विश्वविद्यालयले अनलाइनमार्फत कक्षा चलाउँदै आन्तरिक अनलाइन र मूल्याङ्कनको तयारी गरिरहँदा कक्षा १२ का विद्यार्थीको मानसिक स्वास्थ्य, सिकाइ, मूल्याङ्कन र भविष्यप्रति सरकार, शिक्षा मन्त्रालय, विद्यालय, राष्ट्रिय परीक्षा बोर्डलगायतका जिम्मेवार निकाय मौन देखिएका छन् । के यी विद्यार्थीप्रति सरोकारवाला निकायको जिम्मेवारी छैन ? के यी विद्यार्थी राष्ट्रका भविष्यका कर्णधार तथा हकदार हैनन् ? त्यसैले यस विषयमा सरोकारवाला निकायले छिट्टै कुनै पहलकदमी चाल्नु आवश्यक छ । बालबालिकाहरू आफ्नो भविष्यप्रति चिन्ता गर्दै विभिन्न अनलाइन साइटमा आफूलाई भुलाउने प्रयत्न गरिरहेका छन् जसबाट राम्रो कुरामात्र सिकिरहेका छन् भन्न सकिन्न । अभिभावकले पनि आफ्ना बालबालिकालाई सम्झाउँदा, गाली गर्दा उनीहरू झर्को मान्ने, गलत कदम उठाउने हुन् कि भनेर डराउनुपर्ने अवस्था छ । यस्तो अवस्थाले बालबालिकाको जीवन सिकाइ, शिक्षा मात्र होइन कि मानसिक स्वास्थ्यमा समेत गम्भीर असर पर्नसक्ने देखिन्छ । यसै सन्दर्भमा कक्षा १२ का विद्यार्थीसँग अनलाइनमा भएका कुराकानीबाट आएका उनीहरूका केही प्रतिनिधिमूलक अनुभव हेरौँ ः
(हाम्रो कलेजमा नियमित कक्षा फागुनको १७–१८ गतेदेखि औपचारिक रूपमा बन्द भयो । त्यसपछि ट्युसनको तयारी तथा खोजी गर्दागर्दै लकडाउन भयो । केही समय त जाँच हुन्छ होला भनेर पढियो तर जाँच हुने केही छाँटकाँट भएन । अब पढ्न नि मन लाग्दैन, कतै जानु नि छैन, कोठाभित्र बस्यो मोबाइलमा साथीहरूसँग गेम खेल्यो, दिन काट्यो । साह्रै तनाव भएको छ ।
(निजी विद्यालय, छात्र ललितपुर, विज्ञान)
(हाम्रो परीक्षा नि भएन, आन्तरिक मूल्याङ्कन पनि भएन, न अनलाइन कक्षा छ । अब त पढेको पनि भुल्न थालियो, न घर बाहिर जाउँ भन्नु, न ट्युसन पढँु भन्नु, साह्रै गाह्रो भा‘ छ । अब त डिप्रेसन हुन थालिसक्यो । खै के हुन्छ हाम्रो परीक्षा, आन्तरिक मूल्याङ्कन ? राति निद्रा नि लाग्न छोडिसक्यो । अहिले त युट्युब हेर्ने, गेम खेल्ने गरेर दिन बितेको छ ।
(छात्र, काठमाडौँ, विज्ञान, निजी विद्यालय)
(पाँच–छ महिनादेखि न जाँच भयो न कक्षा सञ्चालन भइराखेको छ । अरू तहको के गर्ने, नगर्ने निधो भयो, हाम्रो त बिजोग भा’को छ । पढेको नि भुल्दै गइयो, न अनलाइन क्लासबाट सपोर्ट छ । अब त जाँच भए नि फेल भइन्छ होला, पढ्न नि मनै लाग्दैन ।
(छात्रा व्यवस्थापन, रूपन्देही)
(जाँच पनि भएन, पढेको पनि सबै बिर्सियो जस्तो लाग्न थाल्यो पाँच छ महिना भैसक्यो कलेज छुटेको, आफैँमात्र पढेर हुँदैन । न साथीहरूसँग छलफल हुन्छ, न अनलाइन क्लास छ । म त परीक्षा दिन्नँ, लकडाउन खुलेपछि ब्युटीपार्लर खोलेर बस्ने विचार छ ।
(छात्रा सरकारी, मानविकी, कपिलवस्तु)
(कोरोनाले त हाम्रो पढाइ, भविष्य सबै डाँवाडोल भयो । परीक्षा भयो भने पनि क्लास, कोचिङ, ट्युसन केही पढ्न नि पाइएन । पढेको नि बिर्सियो । पढौँ भने नि कति पढ्ने ? मरिने हो कि बाँच्ने के हुने हो थाहा छैन । हाम्रो नि स्कुलले जाँच लिन्छ कि के हुन्छ ? अब त निधो गरिदिए हुन्थ्यो नि जे भए पनि । हाम्रै पालामा यस्तो हुनुपर्ने ? सोच्दासोच्दा तनाव भइसक्यो ।
(छात्रा, रूपन्देही, व्यवस्थापन)
यी केही प्रतिनिधिमूलक भनाइ हुन् जसले विद्यार्थीको हालको अवस्थालाई देखाउँछन् । यसरी विद्यार्थीको सिकाइ, मानसिक स्वास्थ्य र उनीहरू ‘ड्रप आउट’ हुने अवस्थामा समेत शिक्षा मन्त्रालय, विद्यालय र जिम्मेवार निकाय किन मौन बसेका छन् ? यो आश्चर्यलाग्दो विषय छ । के कक्षा १२ का विद्यार्थीका लागि कुनै निकास नै नभएको हो ? फागुनदेखि कक्षा बन्द गर्ने तर शुल्क असारसम्म लिने विद्यालयले के तयारी गरेका छन् र तिनको जिम्मेवारी कसरी पूरा गरिरहेका छन् ? शिक्षा मन्त्रालय, राष्ट्रिय परीक्षा बोर्डको योजना के छ ? यस विषयमा विद्यार्थी अभिभावकलाई जानकारी गराइएको छ कि छैन ? जिम्मेवार निकायको यो गैर जिम्मेवारीपन र खेलवाडले विद्यार्थीको सिकाइ, सिकाइप्रति रुचि, संवेगात्मक तथा मानसिक स्वास्थ्यमा समेत असर पर्नसक्छ । त्यसैले यस्तो अवस्थामा छिटोभन्दा छिटो सरोकारवाला निकायले वैकल्पिक उपाय अपनाई उनीहरूको सिकाइको मूल्याङ्कन गरी स्तरोन्नति गर्न पहल गर्नुपर्ने देखिन्छ । यसका केही वैकल्पिक उपाय हुनसक्छन् । पहिलो आन्तरिक मूल्याङ्कन र कक्षा ११ को नतिजालाई आधार बनाउने, दोस्रो परीक्षालाई सम्बन्धित विद्यालयले स्वास्थ्य र सामाजिक दूरी कायम गर्दै स्पष्ट र निष्पक्ष परीक्षा सञ्चालन गर्न सकिन्छ । यसैगरी विद्यार्थीलाई पायक पर्ने विद्यालयमा शिक्षक र विद्यार्थीको स्वास्थ्यप्रति सचेत हुँदै परीक्षा सञ्चालन गर्नसक्ने विद्यालयलाई व्यवस्थित तवरले सञ्चालन गर्ने वातावरण मिलाउन सकिन्छ । कोभिड १९ को असरका आधारमा विभिन्न स्थानमा चरणबद्ध परीक्षा सञ्चालन गर्ने वा अनलाइनबाट परीक्षा सञ्चालन गर्न सकिन्छ ।
उल्लेखित तरिकालगायत अन्य कुनै वैकल्पिक बाटो अपनाएर यो असहज परिस्थितिमा कक्षा १२ का विद्यार्थीको मूल्याङ्कन गर्नुपर्ने देखिन्छ । अन्यथा झण्डै साढे चार लाख विद्यार्थीको भविष्य अन्योलमा पर्ने देखिन्छ र यसको मूल्य देशले लामो समयसम्म चुकाउनुपर्ने हुनसक्छ ।
(लेखक त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक हुनुहुन्छ ।)