logo
२०८२ असार ९ सोमवार



भ्रष्टाचार नियन्त्रणका लागि सदाचार

विचार/दृष्टिकोण |





डा. गोविन्दप्रसाद कुसुम

लोकसेवा आयोगले लिने दोस्रो चरणको मामिला प्रस्तुतीकरणसम्बन्धी परीक्षामा एक जना सहसचिवका उम्मेदवारले भने ‘कर्मचारीतन्त्रमा देखिने भ्रष्टाचारसम्बन्धी मामिलामा कर्मचारीको संलग्नता हुँदा कर्मचारीहरूको छवि धमिलो बनेको छ । यसका लागि लोकसेवा आयोगले सरकारी सेवाको प्रवेश बिन्दुमा त्यस्ता उम्मेदवारको सदाचार मनोविज्ञान कस्तो छ भनेर जाँच लिनुपर्छ ।’
शाखा अधिकृतको पदमा उम्मेदवार हुनेहरूमध्ये बहुसङ्ख्यकको रोजाइ राजस्व समूहमा जाने हुन्छ । मैले धेरैलाई सोधेको छु ‘तपाईंले राजस्व समूहमा जाने विषयलाई प्राथमिकतामा राख्नुको कारण के हो ?’ यसको चित्तबुझ्दो जवाफ कसैले दिएजस्तो मलाई लागेन । कसैले भने ‘मेरो विषय मिलेकाले राजस्वमा काम गर्न सजिलो हुन्छ ।’ तर विज्ञान, शिक्षा, समाजशास्त्र, सार्वजनिक प्रशासनका विषय लिएर स्नातकोत्तर गरेकाहरूले समेत राजस्व समूहमा जानका लागि प्राथमिकतासहित दरखास्त फाराम भरेका हुन्छन् । यहाँनेर व्यापार अर्थशास्त्र, गणित, कानुनजस्ता विषय लिएकाहरूको मात्र न्यूनतम शैक्षिक योग्यता पुगेको मानिन्छ । अरूको होइन तर पनि राजस्व समूहमा जान क्रेज उम्मेदवारहरूमा बढेको छ ।
अख्तियारको सक्रियता र मिडियाको खोजमूलक तथा तथ्यमा आधारित पत्रकारिताले आर्थिक अपचलन र अख्तियारप्राप्त व्यक्तिको अधिकारको दुरूपयोगको विषयलाई उजागर गरेको छ । यसबाट गैरकानुनी काम गर्नेका लागि हच्किनुपर्ने परिस्थिति बन्दै गएको छ तर एकातिरको भ्वाङ टाल्यो, अर्कोतिर प्वाल परिहाल्ने अवस्थामा कमी आउन सकेको छैन । भ्रष्टाचार नियन्त्रणको सवालमा हामीहरूलाई रटाएको र पढाएको विषयभन्दा बाहिर निस्केर हेर्न सकिरहेका छैनौँ । भ्रष्टाचार नियन्त्रणका लागि चाल्नुपर्ने कदमका रूपमा पारदर्शितालाई बढाउने, सूचनासम्मको पहुँचलाई सुनिश्चित गर्ने, नागरिकलाई सशक्तीकरण गर्ने, दण्डहीनताको अन्त्य र नागरिक रिपोर्टकार्ड बनाउने जस्ता सैद्धान्तिक विषयलाई संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, विश्व बैङ्क र एसियाली विकास बैङ्क जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले नेपालजस्तो मध्यम आय भएका देशलाई सुझाव र दबाब दुवै दिन्छन् । ती देशले यस्ता विषयलाई लागू गर्नेमा बढी जोड दिन्छन् । यी संस्थाहरूले सुझाव दिएका पक्षलाई लागू गर्नुपर्छ, त्यसमा दुईमत छैन तर यसका अतिरिक्त आफ्नो देशको संस्कार, संस्कृति र परम्परालाई पनि भ्रष्टाचार नियन्त्रणको सवालमा आबद्ध गराएर जानुपर्छ किन भन्दैनन् ?
हाम्रो हिन्दु र बौद्धधर्मले जहिले पनि भ्रष्टाचारजन्य कार्यलाई पापको रूपमा हेर्छ । महर्षि पतञ्जलिले पाँचवटा मूल्यको बारेमा भनेका छन् अहिंसा, सत्य, ब्रह्मचर्य, अस्तेय (चोरी नगर्ने) र अपरिग्रह (कुनै प्रकारको उपहार नलिने) । भगवान् बुद्धले शील (सदाचारका तत्व), समाधि, कामा, विपाका, धम्म आदि शब्दको माध्यमबाट समाज सदाचारले भरिएको हुनुपर्ने कुरामा ‘अत्थाङ्गिका माग्गा’ (आठवटा मूल बाटो) मार्फत भन्नुभएको छ ।
हिन्दू र बौद्धदर्शनले भ्रष्टाचारको काम गैरकानुनी मात्र होइन, दुःख र कष्टले भरिपूर्ण पाप कार्यको हो भनेको छ । जबसम्म यस्ता विषयलाई प्राथमिक शिक्षादेखि कलेजस्तरसम्मको शिक्षामा अनिवार्य रूपमा पढ्नैपर्ने विषयको रूपमा स्थापित गरिँदैन, तबसम्म अन्तर्राष्ट्रिय संस्थाहरूले सुझाव र दबाब दिएका विषयलाई मात्र कार्यान्वयन गरेर भ्रष्टाचारमा उल्लेखनीय रूपमा कमी आउँछ भन्न सकिन्न । किनकि कुनै पनि किसिमको भ्रष्टाचार गर्नुहुँदैन भन्ने ज्ञान जबसम्म अन्तरात्मादेखि आउँदैन तबसम्म व्यक्तिको मनोविज्ञानमा परिवर्तन आउँदैन । दुई अढाई दशकदेखि नेपालको संस्कृति, संस्कार र परम्परा उपर बाह्य संस्कृति, परम्परा र संस्कारले आक्रमण गरेको छ । पैसाको वैभवभित्र मात्र कर्मचारी र राजनीतिक कार्यकर्ताको वृत्तिविकास सम्भव हुन्छ भन्ने मान्यताले जरो गाड्दै जानुलाई के भन्ने ? परम्परागत संस्कृति र संस्कारले यो मान्यतालई बोकेको छैन हामीकहाँ, तर बढ्दैछ ।
कर्मचारीले जागिर खाएको केही वर्षभित्रै काठमाडौँमा घर घडेरी जोड्न खोज्नु, कार्यकर्ता परिचालन गर्न र निर्वाचनमा भएको खर्च उकासेर अर्को चुनावमा हुने खर्चको जोहो गर्नेतर्फ राजनीतिक नेता कार्यकर्ता लाग्नुलाई उक्त घेराभन्दा बाहिर रहेका आम नागरिकले कसरी बुझ्ने ? राजनीतिलाई सेवा भन्ने कि व्यवसाय ? कतिपय राजनीति गर्नेहरूले कुनै विषयसँग सम्बन्धित फाराम भर्नुप¥यो भने राजनीतिलाई पेशा व्यवसाय भनेर लेख्नुहुन्छ । किन ? के राजनीतिको पेशा व्यवसाय हो ? व्यवसाय हो भने पैसा लेनदेनको कुरा उठिहाल्छ । त्यस्तो लेनदेन व्यापारीले मात्र गर्छन् । त्यसैले जबसम्म राजनीति गर्नेले आफ्नो पेशालाई सेवाको रूपमा स्वीकार्दैनन्, भ्रष्टाचार नियन्त्रण गर्न गाह्रो पर्छ ।
भ्रष्टाचारलाई सामान्यतः अभाव र गरिबीसँग जोड्ने गरिन्छ । त्यो मात्रै सत्य होइन । हो, अभावका कारणले कर्मचारी वा अन्य पदमा रहनेहरूले घूस लिने दिने गर्लान् तर जबसम्म लोभ र लालसा मान्छेभित्र रहिरहन्छ, मानिस भ्रष्टाचारजन्य कार्य गर्न छोड्दैन । त्यही भएर सम्पन्न परिवारको पदासीन व्यक्तिले समेत यस्तो गैर कानुनी कार्य गर्न डर मान्दैनन् । अर्को कुरा हो, हामी कस्तो समाजका उत्पादन हौँ, त्यसले पनि भ्रष्टाचार गर्ने नगर्नेतर्फ मान्छेलाई निर्णयमा पुग्न सघाउँछ । जुन समाजभित्र पैसा र यसको शक्तिलाई महŒव दिइन्छ, त्यस समाजबाट निस्केको कर्मचारी, राजनीतिक कार्यकर्ता, निजीक्षेत्रको व्यापारी वा अन्य क्षेत्रको व्यक्तिसमेत जसरी हुन्छ पैसा कमाउनुपर्छ भन्नेमा लाग्छ । यसले भ्रष्टाचारलाई आमन्त्रण गर्छ । त्यही भएर समाजले जब सदाचार, मूल्यमान्यता र नैतिकतालाई महŒव दिन्छ, भ्रष्टाचारजन्य कार्यमा कमी आउँछ ।
एउटा अध्ययनले देखाएको छ अमेरिकाको न्युयोर्क सहरमा ती कूटनीतिज्ञहरूले सबभन्दा बढी पार्किङ कानुन उल्लङ्घन गरेको पाइयो जो भ्रष्टाचारको इन्डेक्समा सबैभन्दा माथि रहेका देशबाट आएका थिए ।
स्वीडेनलाई ट्रान्सपरेन्सी इन्टरनेसनलको सीपीआई २०१९ ले भ्रष्टाचार नगर्ने मुलुकको चौथो नम्बरमा राख्यो । स्वीडेनको समाजमा एउटा शब्द प्रचलित छ जान्तेलागेन । यसको अर्थ हो, तिमीले आफूलाई अरूभन्दा असल छु भन्ने नठान । यो विनम्रताको अर्थ हो । मूल्य र मान्यताप्रति प्रतिबद्ध रहिरहनुपर्छ भनी सिकाउने एउटा शब्द हो । सम्भ्रान्त छु भन्ने कहिल्यै नसम्झ भनेर मेहनत अनि परिश्रम गर्न उत्प्रेरित गर्ने मनोवैज्ञानिक ऊर्जा हो यो । यो एउटा विचार हो । यद्यपि यो राज्यको कानुन होइन, तर आम नागरिकले राज्यको कानुनभन्दा बढी मान्छन् । किनकि राज्यको कानुन संशोधन हुन्छ । यो संशोधन हुँदैन ।
स्वीडेनको यो सामाजिक मूल्यमान्यतालाई हाम्रो समाजले बुझ्नुपर्छ । यद्यपि नेपाली समाजले घूस लिनेदिने दुवै अपराधी हुन् भन्ने मान्यता सयौँ वर्ष अगाडिदेखि मान्दै आएको छ । सादा जीवन उच्च विचारलाई शिक्षाको पहिलो पाठका रूपमा लिइन्थ्यो । उत्तम खेती मध्यम व्यापार भनेर कृषि अर्थतन्त्रको विकास गर्नुपर्नेमा समाजले जोड दिने गथ्र्यो ।
यो सामाजिक मान्यतामा ह्रास आएकै कारणले परनिर्भरता अत्यधिक मात्रामा बढ्यो, जसको कारणले आफ्नो खेतबारी बाँझो हुने र खाद्यान्नमा विदेशको भर पर्नुपर्ने अवस्था आयो । नेपाली समाजको पुरानो मान्यता र संस्कारलाई बिर्सिंदै गएकोले पनि भ्रष्टाचारजन्य कार्य गर्नका लागि मानिस उद्यत हुने गर्छन् ।
नेपालले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने सन्दर्भमा सामाजिक असल रीतिथिति र मूल्यमान्यतालाई व्यवहारमा लागू गराउनु जरुरी छ । यसले ट्रान्सपरेन्सी इन्टरनेसनलको सीपीआई २०१९ मा नेपाल १८० मध्ये ११३औँ राष्ट्र बनेकोमा सकारात्मक सूचक विकसित हुँदै भ्रष्टाचार नहुने मुलुकको अग्रस्थानमा उक्लिन मद्दत गर्नेछ । भ्रष्टाचार सामाजिक अभ्यास बनेको सन्दर्भमा सदाचारयुक्त राष्ट्रवाद (इथिकल नेस्नलिज्म)को आवश्यकता देखिएको छ । जसरी नेपालको स्वाधीनता, सम्प्रभुता, अक्षुण्णता र राष्ट्रिय एकतामा नेपालको राष्ट्रवाद झल्किन्छ, त्यसैगरी सदाचारलाई राष्ट्रवादका रूपमा समाजले बुझ्नु जरुरी छ । सदाचारको यो विषय नेपालको प्रशासनसँग मात्र गाँसिएको छैन यो विषय राजनीतिसँग पनि उत्तिकै गाँसिएको छ । साथै हरेक प्रकारको व्यापार व्यवसाय, धर्मकर्म, शिक्षादीक्षा सबै क्षेत्रमा सदाचारको सान्निध्य छ तर अहिले कुनै पनि पेसा व्यवसाय वा सेवा गर्ने संस्था वा व्यक्तिलाई प्रश्न ग¥यो तपाईंको प्रोफेसनल इथिक के हो ? सायद धेरैबाट यो प्रश्नको जवाफ सजिलोसँग आउँदैन ।
यहाँनेर भारतका पूर्वराट्रपति ए.पी.जे.अब्दुल कलामले भनेको विचारलाई राख्न उपयुक्त होला । उहाँले भन्नुभएको थियो ‘ कुनै देशलाई भ्रष्टाचारबाट मुक्त गर्नुछ र सुन्दर दिमागहरू भएको राष्ट्रको रूपमा रूपान्तरित हुनु छ भने, मैले ठोस रूपमा महसुस गरेको छु कि त्यहाँ तीनजना प्रमुख सामाजिक सदस्य हुनुहुन्छ, जसले केही परिवर्तन गरेर देखाउन सक्नुहुन्छ, उहाँहरू हो, बुबा, आमा र शिक्षक ।’ हो, परिवार र शिक्षा दिने गुरुहरूबाटै हामीले असल चरित्र र सदाचारयुक्त व्यवहारको निर्माण गरिएको नयाँ पुस्ताको सिर्जना गर्न सक्छौँ ।
(लेखक लोकसेवा आयोगका पूर्वसदस्य हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?