logo
२०८२ असार १० मंगलवार



नाग पुज्ने संस्कृति

विचार/दृष्टिकोण |




झरेन्द्र बराल

विविधतायुक्त नेपाली समाज र संस्कृतिले मानवसंस्कृतिबाहेक जीवजन्तु, पशुपक्षीको पूजाआजाको परम्परालाई समेत विशिष्ट महŒव दिएको छ । यस्ता जीवजन्तुको पूजाआजाका पछाडि धार्मिक, साँस्कृतिक, ऐतिहासिक तथा सामाजिक महŒव रहिआएको छ ।
पशुपक्षीको पूजा गर्नेक्रममा नागपञ्चमीमा नाग (सर्प)को पूजा गरिन्छ । घरघरका ढोकामा नागको तस्बिरहरू विधिपूर्वक पूजा गरेर टाँस्ने चलन छ । जसले गर्दा वर्षभरि घरमा नागले दुःख दिँदैनन् भन्ने विश्वास रहिआएको छ । नाग अर्थात् सर्पको सम्बन्ध पानी तथा जमिनसँग जोडेर पनि हेर्न सकिन्छ । नाग रिसाए भने पानीको अभाव हुन्छ । पानीविना जीवहरू बाँच्न नसक्ने ठानेर हिन्दु धर्ममा नागलाई सर्पहरूका राजा मानिन्छ । यस्तै नाग रिसाई घर छाडी गएमा घरको जग नै पल्टिने वा घरमा दुःख दिने ठानी घरको जग हाल्दा पनि नाग पूजा गर्ने चलन छ । समयमा नै वर्षा होस् र यस्तो समयमा बाढीबाट जनधनको क्षति नहोस् भन्ने उद्देश्यले नागको पूजा गरेर नागपञ्चमी मनाउने प्रचलन छ ।
हिन्दुहरूले नागलाई वैदिक देवता शिव र विष्णुका रूपमा परम्परादेखि पुज्ने गर्दछन् । भगवान् शिवले नागको माला लगाएका छन् भने विष्णु जलमाथि शेषनागको शøयामा फणको छाता ओढेर सुतेको अवस्थामा हुन्छन् । विश्वको ऐतिहासिक सभ्यता सिन्घुघाँटी सभ्यतालाई हेर्ने हो भने त्यहाँ उत्खननबाट प्राप्त मुद्रामा एउटा पुजारीले नागको पूजा गरिरहेको चित्र पाइएको छ । यस्तै एउटा जन्तरमाथि चित्रमा नागलाई वेदमाथि देखाइएको छ । यसबाट पनि नागराजाको प्राचीनताबारे जान्न सकिन्छ ।
नागपञ्चमीको ज्यादै लामो प्राचीनता तथा ऐतिहासिकता रहेको छ । पौराणिककालबाटै काठमाडौँ उपत्यका पहिले एउटा ठूलो पोखरीका रूपमा थियो, जसमा नागहरू बस्थे भनी लोकप्रसिद्धि छ । किसानका परिवारलाई मृत्युको मुखबाट बचाएको कथा पनि छ ।
यस्तैगरी विभिन्न पुराणहरूमा नाग पूजा गर्नाले सुख समृद्धि पाउनुका साथै उनीहरूलाई दूधपान गराउनाले सर्पदंशबाट असामयिक मृत्युबाट जागिन सकिने उल्लेख छ । वराह पुराणलाई उद्धृत गर्दै उल्लेख गरिएको एक स्रोतका अनुसार ब्रह्माका दस मानसपुत्रमध्येका जेठा छोराको नाम मरीचिका कश्यप थियो, उनले दक्षकी छोरी कदू र विनतासँग विवाह गरे । त्यसपछि कदूको गर्भबाट अनन्त, वासुकी, पद्म, महापद्म, कम्बल, कर्कोटक, शङ्ख आदि नागजातिका छोराहरू जन्मे । भूमिमा विशेष देवताका रूपमा नागलाई मान्दै भूमिमा गाडेर राखिएको धनमाथि बसेर सोको रक्षा गर्ने नागलाई प्रसन्न तुल्याउन सकेमा मात्र उक्त धन प्राप्त गर्ने लोकविश्वास रहिआएको छ । पानी बर्साउनमा, मेघ र अग्निबाट रक्षा दिएर शान्ति ल्याउनमा नागको विशेष भूमिका रहने कुरा स्रोतहरूमा चर्चा छ ।
बाह्रवटा नागहरू ः अनन्त, वासुकी, पद्म, शेष, कुलिर, कर्कोटक, अश्वतर, तक्षक, पिङ्गल, शङ्ख, गोमन र महापद्म छन् । लोकमान्यतामा नागहरूको सम्बन्ध जल र जलाशयहरूमा रहेको पाइन्छ । हरेक ताल, पोखरी, तथा जलाशयमा अलग–अलग नागदेवता हुन्छन् ।
नागकै सम्बन्धमा विभिन्न कथाहरू पाइन्छन्, एक कथा नाग र गरुडको सङ्घर्षसँग सम्बन्धित छ भने अर्को जनमेजयको नागयज्ञसँग जोडिएकोे छ, जसमा सनातन धर्म र संस्कृतिमा सबैको अस्तित्व सम्मानजनक भएकाले सर्पहरूलाई मारेर बदला लिनु विपरीत कार्य हो भनिएको छ ।
भगवान् शङ्करले सदासर्वदा सर्पको माला नै लगाई सर्पप्रति सम्मान गरेको प्रस्ट हुन्छ । त्यस्तै गुरु गोरखनाथले नौ नागको आसनमा बसी १२ वर्षसम्म तपस्या गरेकोजस्ता अनेकाँै प्रसङ्गहरू पाइन्छन् ।
विश्वमा सबैभन्दा मूल्यवान रहेको मणि शिरमा धारण गर्ने अक्षय खजना पनि नागसँगै हुन्छ । वेद, पुराण, उपनिषद्हरूमा नाग गरिमाको चर्चा पाइनुका साथै शेषनागले त पृथ्वीलाई नै धारण गरेको प्रसङ्ग पनि प्रसिद्ध छ ।
ज्योतिषशास्त्रीय मान्यताअनुसार पनि विभिन्न रोग, दोष निवारणका लागि नागपञ्चमीको दिन काल सर्पदोष निवारणसम्बन्धी पूजाआजा गर्ने चलन छ । यस दिन खेतमा खनजोत गर्दा सर्पहरू मर्दछन् भन्ने मान्यताले गर्दा जमिन खन्ने जोत्ने कार्य गर्नुहुँदैन भन्ने जनविश्वास रहिआएको छ । कृषि र वर्षासँग पनि नागको (सर्प) को समन्वय भएकाले यस्ता पर्वहरूमा प्रकृतिमा रहेका जीवहरूको पनि पूजाआजा गरी पृथ्वीमा सबैको सहअस्तित्व स्वीकार्नु नेपाली संस्कृतिको विशेषता र मौलिकता हो, जसले प्रकृति र संस्कृतिबीच समन्वय स्थापित गरेको छ ।

(लेखक इतिहास तथा संस्कृतिका अध्यापक हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?