मीना बज्राचार्य
वर्षैपिच्छे पाटनमा वैशाख शुक्ल प्रतिपदादेखि विश्वकै लामो रथजात्रा मत्स्येन्द्रनाथको जात्रा सुरु हुन्छ । मच्छिन्द्रनाथको रथसँगै मीननाथको रथजात्रा पनि सुरु हुन्छ । ३२ हात लामो मत्स्येन्द्रनाथको रथभन्दा अलि सानो गरी मीननाथको रथ निर्माण गरिन्छ भने दुवै रथमा चार भैरवको प्रतीक स्वरूप चारवटा पाङ्ग्रा र नागको प्रतीक स्वरूप लामो काठ राखिन्छ । जसलाई स्थानीय भासामा धोँमा भनिन्छ । त्यस्तै सबैभन्दा माथिको टुप्पोमा आदिबुद्ध बज्रसत्व विराजमान भएको भुवनको प्रतीकात्मक स्वरूप बाय्म्वः राखिन्छ । त्यसपछि ध्वजा र पताकाले सजाइन्छ । यसरी निर्माण गरेको मत्स्येन्द्र अर्थात् मच्छिन्द्रनाथ र मीननाथको रथ सँगसँगै तान्नुपर्ने परम्परा चलिआएको छ । तर, जति चर्चा रातो मच्छिन्द्रनाथ रथजात्राको हुन्छ, त्यति मीननाथको चर्चा भएको पाइँदैन ।
रातो मच्छिन्द्रनाथको रथ ललितपुरको पुल्चोकमा तयार गरिन्छ भने मीननाथको रथ सो देवताको मन्दिर रहेको टङ्गल हिटीको परिसरमा गरिन्छ । रथयात्रा आरम्भ हुने दिन पहिला पाटनको टङ्गलमा निर्माण गरिएको मीननाथको रथ तानेर पुल्चोकमा लगिन्छ । त्यसपछि मीननाथको रथ अघि–अघि र मच्छिन्द्रनाथको रथ पछि–पछि तानेर पहिलो दिन गाःबहालमा पु¥याइन्छ । यसो गर्नुका कारण रातो मच्छिन्द्रनाथभन्दा धेरै वर्ष पहिलादेखि मीननाथको रथजात्रा गर्ने परम्परा चलिआएको थियो भन्ने धार्मिक विश्वास छ भने मच्छिन्द्रनाथ दक्षिण भारतको कामारु कामाक्षबाट ल्याइएका पाहुना भएकाले नेपालमण्डलमै अवस्थित मीननाथले स्वागत गर्न गएको भन्ने भनाइ छ ।
परापूर्वकालमा नेपालमण्डलका धर्मात्मा राजा शिवदेवका छोरा वृषदेवले मीननाथको प्रतिमूर्ति निर्माण गरी नित्यपूजा गर्ने परम्परा चलाएका थिए भने उनकै भाइ बालार्चनको राज्यकालमा मीननाथको अलग्गै विहार निर्माण गरी रथ तान्ने परम्परा चलाएको भन्ने वंशावलीहरूमा उल्लेख पाइन्छ । कथाअनुसार एक दिन राजा वृषदेव दिनहुँजस्तो नित्यकर्म गरी फर्कंदै गर्दा आफ्नो दरबारमा पुग्नासाथ बिसन्चो भई बेहोश भएर ढले । त्यसैबेला वृषदेवलाई यमदूतहरूले आकाशमार्गबाट यमलोकमा ल्याइपु¥याए । वृषदेवको होश खुल्दा आफूलाई नरकलोकमा पाए ।
एकछिन नरकलोकको गन्धसँगै त्यहाँका पापीहरू र श्रुचिमुख प्रेतहरूको डरलाग्दो चिच्चाहटको आवाज बिस्तारै कम हुँदै गयो र स्वच्छ बासनादार हावा चल्न थाल्यो । त्यसपछि बिस्तारै आँखा खोल्दा अचानक तेज रश्मीका साथ वायुवेगबाट एक दिव्य पुरुष प्रकट भए । यो सब दृश्य हेरिरहेका राजा वृषदेव यी दिव्य पुरुष तिनै जटाधारी पद्मपाणि लोकेश्वरको प्रताप देखेर अचम्मित भए । त्यसैबेला चित्रगुप्तले वृषदेवको धर्म र अधर्म खाता पल्टाई हेर्दा अझ आयु बाँकी रहेको खबर सुनाए । यो खबर सुन्नासाथ वृषदेवलाई मत्र्यलोकमा तुरुन्त पु¥याइयो । यता दाहसंस्कार गर्न तयारी गरिरहेको राजा वृषदेव अचानक जुरुक्क उठेको देखेर सबैजना दङ्ग भए । राजाले आफूले दर्शन गरेको श्री जटाधारी पद्मपाणि लोकेश्वर मीननाथका बारेमा बेलिविस्तार सुनाए । सबै प्रजा र भाइभारदारहरूको इच्छाअनुसार मीननाथको प्रतिमा बनाउन लगाएर विधिवत् नित्य पूजा गर्ने परम्परा चलाए ।
राजा वृषदेव निःसन्तान थिए । उनकोे देहावसानपछि उनकै भाइ बालार्चनले राज्य सम्हाले । तर, बालार्चन दाजुजस्तो धर्मपरायण हुन सकेनन् । त्यसको फलस्वरूप वटुकभैरव कोप भएर बिरालोको रूप लिई त्यस राज्यमा भएका सबै स–साना दूधे बालबालिकालाई लगेर गायब गर्न थाले । यस घटनाले आजित भएका जनता अन्तै बसाइँ सर्न थाले । त्यसपछि राजा बालार्चनको जीवनमा परिवर्तन आउन थाल्यो । बालार्चन त्यो ठाउँलाई छाडेर टङ्गल टोलमा अवस्थित लिच्छिविकालीन राजा मानदेव संस्कारित चक्रवर्ण महाविहारमा बस्न आए । त्यसपछि आफ्नो दाजुले चलाएको परम्पराअनुसार पद्मपाणिको मूर्तिलाई उक्त स्थानमा ल्याई प्रतिस्थापन गरी दिनहुँ नित्यपूजा गर्न थाले । यसैक्रमा एक दिन मीननाथ सपनामा आइदिएको आज्ञाअनुसार बालार्चनले विहारको निर्माण गरी मीननाथलाई त्यहीँ स्थापना गरे । वर्षको एकचोटि मीननाथको रथ बनाई विभिन्न ठाउँमा परिक्रमा गरी जात्रा मनाउने परम्परा चलाए ।
मत्स्येन्द्रनाथको रथ स्वरूपकै अर्को सानो रथ भएकाले गैरनेवारहरूले यसलाई मीननाथ भन्न थाले । मत्स्येन्द्रनाथ र मीननाथको अर्थ संस्कृत भाषाबाट एउटै हुन्छ, माछाको अधिपति अर्थात् माछाको देवता । त्यसबेला मीननाथको रथजात्रासँगै अरू छवटा देवदेवीहरूको रथजात्रा गरिन्थ्यो । यसको धेरै वर्षपछि नेपालमण्डलमा जब १२ वर्षसम्म वर्षा नभई अनिकाल भयो । जब मत्स्येन्द्रनाथलाई नेपालमण्डलमा ल्याइयो, त्यसपछि वर्षा भई सहकाल भयो । यसले गर्दा मत्स्येन्द्रनाथलाई ३२ हातको रथ बनाई पाटनको विभिन्न ठाउँमा परिक्रमा गरी धुमधामले जात्रा मनाउन थालियो । यसले गर्दा पहिलादेखि मनाउँदै आइरहेको रथजात्राहरू छाँयामा पर्न थाले । पछि तान्त्रिक बन्धुदत्तले सबै देवदेवताहरूलाई एउटा मत्स्येन्द्रनाथको रथमा समावेश गर्नेगरी समाधियोगको साधना गरे । सबै देवदेवता समावेश भए तर मीननाथ भने समावेश भएनन् र कोप भई अपसगुनका घटना हुन थाले । यसका कारण जान्न बन्धुदत्तले ध्यानदृष्टिले हेर्दा मीननाथले आकाशवाणीमार्फत आज्ञा दिए, ‘हे बन्धुदत्त ! सबै देवदेवीहरूलाई एकैठाउँमा समावेश गरी रथ निर्माणको काम गर्न लागेकोमा म अत्यन्त खुसी छु तर परम्परादेखि चलिआएको मेरो रथजात्रालाई भने यथावत् रूपले चलाएमा अनिष्टबाट मुक्त भई सबैको कल्याण हुनेछ ।’
मीननाथको आकाशवाणी सुनेर बन्धुदत्त बज्राचार्यले करुणामय मत्स्येन्द्रनाथको रथजात्रा सँगसँगै मीननाथको पनि रथजात्रा सञ्चालन गर्ने परम्परा चलाए । जुन अहिलेसम्म भव्य रूपमा नेपालको मौलिक जात्राका रूपमा मनाउँदै आइरहेको छ । यसबाट पनि प्रमाणित हुन्छ कि मीननाथको रथजात्रा मत्स्येन्द्र अर्थात् मच्छिन्द्रनाथको रथजात्राभन्दा धेरै पहिलेदेखि चलिआएको हो । मत्स्येन्द्रनाथ र मीननाथको अर्थ एउटै भएका कारणले पनि यी दुवै देवता एउटै हुन् भनेर विश्वास गर्ने एकथरी छन् भने मीननाथ मच्छिन्द्रनाथका पिता हुन् भन्ने अर्कोथरी छन् ।
(लेखक साहित्यकार हुनुहुन्छ ।)