logo
२०८२ असार १० मंगलवार



लगानीका निम्ति खुल्दै अवसर

विचार/दृष्टिकोण |




जुनारबाबु बस्नेत

अहिले कोरोना भाइरस (कोभिड १९)ले संसारको अर्थतन्त्रलाई च्यापिरहेको छ । बेरोजगारी बढिरहेको छ । संसारकै अर्थतन्त्र सङ्कुचनमा गइरहेको छ । अनुत्पादक लगानी बढ्दो छ । विश्व बजारमा सुुनको भाउ उकालो लाग्दै छ । लगानीको वातावरण नहुँदा मानिस स्थिर सम्पत्तिमा लगाउँछन् । सुनमा लगानी गर्छन् । एक प्रकारले विश्व अर्थतन्त्रमा कालो बादल मडारिरहेको छ । भनिन्छ, कालो बादलमा पनि चाँदीको घेरा हुन्छ । अहिले नेपाली अर्थतन्त्र भने कालो बादलभित्रको चाँदीको घेराको अवस्थामा छ ।
चालू आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैङ्कले जारी गरेको मौद्रिक नीतिले लगानीका लागि उपयुक्त मार्ग प्रशस्त गरिदिएको छ । कोरोनाले खडा गरेको चुनौतीमा नेपाली अर्थतन्त्रमा अवसर सिर्जना भइरहेको छ । राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत साँवा र ब्याज बुझाउन सययावधि थप गरेसँगै लगानीकर्ता तनावबाट मुक्त भएका छन्  । यो पटकको मौद्रिक नीतिले सबै क्षेत्रलाई लगभग सन्तुष्ट बनायो । यहाँसम्म प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पनि सन्तुष्ट देखियो । पार्टीले मौद्रिक नीतिमा समावेश गर्न दिइएका सबैजसो सुझाव केन्द्रीय बैङ्कले ग्रहण गरेको प्रतिक्रिया बाहिर आयो ।
यो पटकको बजेटले धेरै कुरामा सबैको चित्त बुझाउन सकेन । अर्थमन्त्रीलाई सबै क्षेत्रको चित्त बुझाउन कठिन पनि हुन्छ । कोरोनाबाट मुलुकलाई बचाउन गरिएको बन्दाबन्दीबाट अर्थतन्त्र थिलथिलो भएका बेला आएको बजेटको समय सबैको चित्त बुझाउने बेला थिएन ।
राजस्व असाध्यै घटेको बेला अघिल्लो आर्थिक वर्षभन्दा बजेटको आकार घटाउनुुपर्ने बाध्यता थियो । कतिपय अवस्थामा सैद्धान्तिक समस्यासमेत हुँदा बजेट चाहेजति उदार हुन नसक्नु स्वभाविक हो । यो कुरा सत्तारुढ पार्टीमा देखिएको असन्तुष्टिले पनि प्रतिविम्बित गरेकै हो तर बजेटमा पूरा हुन नसकेका कतिपय प्रावधान मौद्रिक नीतिले पूरा गरिदिएको छ । लगानीकर्तालाई हौसला बढाएको छ ।
आखिर बजेटले लिएका आर्थिक नीतिलाई पूरा गराउने कर्तव्य हो हो मौद्रिक नीतिको । यसले बजेटले लिएको बृहत् नीतिहरूकै पृष्ठपोषण गर्ने हो । व्यावसायिक वातावरण सुुधार गर्नका लागि मार्ग प्रशस्त गर्ने हो । यो काम मौद्रिक नीतिले गरेको छ । लगानीका लागि अवसरको विवेचना गर्दा मौद्रिक नीतिलाई समयले पनि साथ दिएको छ । यतिबेला बैङ्क तथा वित्तीय संस्थामा तरलता मौजुद छ । केन्द्रीय बैङ्कले बैङ्क तथा वित्तीय बजारबाट तरलता प्रशोचन गर्नुपर्ने अवस्था आएको छ । यो तरलतासँगै बैङ्क तथा वित्तीय संस्थाहरू कर्जामा ब्याजदर क्रमशः घट्दै गइरहेको छ । घट्दो लगानीका लागि शुभ दिन हो ।
ब्याजदर लगभग एकल विन्दुमा आइरहेको छ । कर्जाको ब्याजदर तल आउनु भनेको लगानीका लागि साधन सरल हुुनु हो । कतिपय बैङ्क तथा वित्तीय संस्थाले कम्तीमा एक वर्ष ब्याजदर स्थिर हुने भन्दै एकल बिन्दुमा झार्न थालेका छन् । यो लगानी गर्नका लागि ब्याजदरका हिसाबले उपयुक्त समय हो । न्यून ब्याजदरमा लगानीको साधन जुट्ने अवसर इतिहासमा विरलै आउँछ । अहिले आएको छ । न्यून ब्याजदरमा लगानी विविधीकरण गर्ने अवसर बैङ्क तथा वित्तीय संस्थाले प्राप्त गरेका छन् भने लगानीकर्ता उद्यम गर्नका लागि बैङ्क तथा वित्तीय संस्थाको अनेक ‘अफर’बाट लाभान्वित हुने अवसर पनि मिलेको छ ।
लगानीका लागि सस्तोदरमा पुँजी मिलेर मात्र हुुँदैन । काम गर्ने श्रमिक पनि कम ज्यालामा हुुनुपर्छ । सायद अहिले जनशक्तिका हिसाबले पनि लगानीका निम्ति अब्बल समय आएको छ । देशभित्रै बेरोजगारी थियो, कोरोनाले थप भएको छ । सहरमा थुप्रिएको जनशक्ति कोरोनाकै कारण देशभरि छरिएको छ । देशभित्र रहेको जनशक्ति सहरकेन्द्रित मात्र नभई गाउँ र सहरोन्मुख गाउँमा समेत पुगेको छ । उद्यम व्यवसायलाई सहरमै केन्द्रित गर्नुपर्ने बाध्यता छैन । यातायात र ऊर्जाको पहुँचले गाउँ तथा सहरोन्मुख गाउँमा पनि पूर्वाधार विस्तार हुँदैछ । सस्तो पुँजीसँगै उपयुक्त ज्यालामा श्रमिक पाउने अवस्था छ । यस्तो अवसर देशभर प्राप्त छ ।
देशभित्रमात्र होइन बाहिरबाट पनि जनशक्ति आइरहेका छन् । भारतबाट झण्डै तीन लाख नेपाली भित्रिएका छन् भने तेस्रो मुलुकबाट पनि स्वदेश आइरहेका छन् । उनीहरू कतिपयले केही पुँजी साथमै ल्याएका छन् भने सँगै सीप र दक्षता पनि बोकेर आएका छन् । उनीहरू कतिपय आफैँ श्रमिक भएर पनि साना तथा मझौला उद्यममा हात हाल्न सक्ने अवस्था छ । त्यस्तो जनशक्तिको प्रयोगले उत्पादन र उत्पादकत्व बढ्न् अवस्था पनि सिर्जना भएको छ । देशभित्रै उपभोग गर्न सक्ने वस्तु तथा सेवा उत्पादन गर्न लगानी गर्ने अवस्था छ । कृषि र कृषिसम्बद्ध साना तथा मझौला उद्यम व्यवसायले उत्पादन गर्ने वस्तु र सेवाले आयात प्रतिस्थापन गर्न सक्ने अवस्था सिर्जना हुँदैछ ।
पुँजी र जनशक्तिसँगै अर्को अवसर ऊर्जा हो । केही वर्ष अघिसम्म दिनको १४÷१६ घण्टा विद्युत् कटौती भोग्न बाध्य नेपालले यताका केही वर्षदेखि त्यसमा आमूल सुधार ल्याएको छ । अब उज्यालो अवस्थाबाट अझ अगाडि जाने अवस्था सिर्जना भएको छ । एकै वर्षभित्रै झण्डै एक हजार पाँचसय मेगावाट थप विद्युत् उत्पादन हुुँदैछ । तीनचार वर्षमा पाँच, छ हजार मेगावाट विद्युत् थप हुने अवस्था छ । पर्याप्त विद्युत् निर्यातका लागि तत्कालै पूर्वाधार विस्तार भइसकेको छैन । देशभित्रै प्रसारण लाइन बनाउन सकियो भने ऊर्जा प्रशस्त छ र उर्जाको महसुलसमेत घट्न सक्ने अवस्था सिर्जना हुुँदैछ । ऊर्जामा लगानी गर्नेका लागि यो सुखद सङ्केत होइन तर आम लगानीकर्ताका लागि भने उत्साहजनक अवस्था हो ।
नेपाली अर्थतन्त्रले बन्द, हडताल, श्रमिक तनाव आदिबाट विगतमा ज्यादै पिरोलिएको थियो । अहिले त्यो अवस्था छैन । उद्यमी र श्रमिकको सम्बन्ध विस्तारै सुधार आएको छ । यो लगानीकर्ताका लागि सुअवसर हो । लगानीका लागि यस्ता अनेकौँ सुविस्ता विद्यमान छन् तर यी सुविस्ता आउँदैमा आफैँ लगानी हुने होइन । लगानीका लागि उद्यमशीलता अपरिहार्य सर्त हो । त्यसका लागि चुनौतीको सामना गर्न सक्ने साहस र नीति जरुरी छ । इमानदार प्रयासको खाँचो छ । उद्यम गर्नुभन्दा बाहिरबाट समान ल्याएर नाफा खाने दलाली प्रवृत्तिबाट भने मुक्तिको जरुरत छ ।
लगानीकर्ताका नाममा बैङ्क तथा वित्तीय संस्था डुबाउने प्रवृत्ति पनि यदाकदा नदेखिने होइन । लगानीकर्ताका इमानदारी, राज्य संयन्त्रले प्रवाह गर्ने सुशासन, देशलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ अगाडि बढाउने अठोट अहिलेका अपरिहार्य सर्त हुन् । सिमेन्ट र छडजस्ता वस्तुमा देश क्रमशः आत्मनिर्भर हुँदैछ भलै तिनका कतिपय कच्चापदार्थ बाहिरबाट आउँछन् ।
देशभित्रै लगानी गर्नुुपर्ने धेरै क्षेत्र छन् । धाराबाथरुम, सजावट, फर्निचर, वासिङ मेसिन, भान्साका इलेक्ट्रिक सरसामान आदिमा देशको ठूलो धनराशि बाहिर गइरहेको छ । तिनको उद्योग देशभित्र लगाउने आन्तरिक तथा बाह्य लगानी अबको आवश्यकता हो । यी ठूला लगानीसँगै अनेकौँ साना तथा मझौला उद्यममा लगानी केन्द्रित हुनु जरुरी छ । तीन तहकै सरकारबीच यसमा समन्वयको आवश्यकता छ । यो प्रतिकूल समयमा पनि लगानीका लागि बन्दै गरेको अनुकूल समयको सदुपयोग नै आर्थिक समृद्धितर्फ अगाडि बढ्ने बाटो हो ।
(लेखक गोरखापत्रका कार्यकारी सम्पादक हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?