डा. पुनेश्वर केशरी
हेपाटाइटिसमा आयुर्वेदको प्रयोगभाइरल हेपाटाइटिस भन्नाले पाँच किसिमका भाइरसहरूले कलेजोमा गराउने तीव्र (एक्युट) तथा जीर्ण (क्रोनिक) किसिमको सङ्क्रामक स्थिति हो । यसमा हेपाटाइटिस ए, बी, सी, डी र इ पर्छन् । यसमध्ये हेपाटाइटिस ए र इ सङ्क्रमित खाना तथा पानीबाट सर्छ भने हेपाटाइटिस बी सङ्क्रमितको रगत, वीर्य तथा शरीरबाट निस्किने तरल पदार्थबाट सर्छ । हेपाटाइटिस सी रगतबाट सर्छ । हेपाटाइटिस डी र हेपाटाइटिस बी सँगसँगै भएको पाइन्छ । सङ्क्रमणहरूको यही समूहले विश्वभरि बर्सेनि लगभग चौध लाख मानिसको मृत्यु हुने गरेको छ । विश्वमा लगभग २९ करोड लाख व्यक्ति थाह नपाईकनै भाइरल हेपाटाइटिससँगै बाँचिरहेका छन् र रोगको समयमा उपचार नहुनाले ज्यान गुमाइरहेका छन् । कलेजोको यही सङ्क्रामक रोगको रोकथाम, निदान तथा उपचारबारे जनचेतना फैलाउनका लागि हरेक वर्ष जुलाई २८ मा विश्व हेपाटाइटिस दिवस मनाउने गरिन्छ ।
विश्व स्वास्थ्य सङ्गठनले अधिकारिक रूपमा मनाउने दिवसहरू, विश्व स्वास्थ्य दिवस, विश्व रक्तदाता दिवस, विश्व खोप सप्ताह, क्षयरोग दिवस, विश्व सूर्तीजन्यरहित दिवस, विश्व औलो दिवस र विश्व एड्स दिवससँगै यो पनि एउटा महŒवपूर्ण दिवस हो । हरेक वर्ष भिन्न नारासहित यो दिवस मनाउनेक्रममा सन् २०२० मा विश्व हेपाटाइटिस दिवसको नारा ‘हेपाटाइटिस फ्री फ्युचर’ रहेको छ । जुन मुख्य रूपले आमा तथा नवजात शिशुहरूमा हुने हेपाटाइटिस बीमा केन्द्रित हुनेछ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्म हेपाटाइटिसमुक्त विश्वका लागि क्रियाशील रहन सबै देशहरूलाई एकजुट भई कार्य गर्न अनुरोध गरेको छ । हाल लगभग १०० भन्दा बढी देशहरूले यो दिवसलाई आधिकारिता प्रदान गरी विविध कार्यक्रम गरी मनाउँछन् ।
दिवसको इतिहास र सान्दर्भिकता
प्रारम्भमा सन् २००४ अक्टोबर १ मा युरोपियन र केही मध्यपूर्वीय एसियाका बिरामीहरूले हेपाटाइटिस सी दिवस मनाएको देखिन्छ । त्यसपछि विभिन्न देशहरूमा विभिन्न मितिमा हेपाटाइटिस दिवस मनाउन थालिएपछि विश्व हेपाटाइटिस अलाइन्सले मे १८ मा विश्व हेपाटाइटिस दिवस मनाउने निर्णय गरेको थियो । यद्धपि, सन् २०१० मे महिनामा विश्व स्वास्थ्य महासभाको ६३औँ बैठकले जुलाई २८
(ब्लुमबर्गको जन्म दिवस) मा विश्व हेपाटाइटिस दिवस मनाउने निर्णय गर्यो । ब्लुमबर्गले हेपाटाइटिस बीको भाइरस खोज गरेका थिए ।
भाइरल हेपाटाइटिस आजको समयमा एउटा जनस्वास्थ्य सङ्कटका रूपमा फैलिँदै गएको छ । खोपको विकास भइसके पनि विश्वभरि प्रतिवर्ष करिब ९ लाख व्यक्तिको मृत्यु हेपाटाइटिस बीका कारणले हुने गर्छ । त्यसैगरी, विश्वको कुल जनसङ्ख्याको करिब १० प्रतिशत हेपाटाइटिस बी र १९ प्रतिशत हेपाटाइटिस सीले ग्रसित छन् । ३२ करोड ५० लाख जनसङ्ख्या हेपाटाइटिस बी र सीले पीडित छन् । यस्तो भयावह रूपमा रहेको भाइरल हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउन, करोडौँको सङ्ख्यामा लुकेर रहेकाको पहिचान गरी उचित रोकथाम, उपचार तथा यसविरुद्ध एकजुट भई लड्न ठोस योजना बनाउन प्रेरित गर्ने उद्देश्यले विश्व हेपाटाइटिस दिवस मनाउने गरिन्छ ।
हेपाटाइटिस र आयुर्वेद
हेपाटाइटिस अर्थात् कलेजोको सङ्क्रमणलाई आयुर्वेदका संहिताहरूमा कामला रोगको नामले उल्लेख गरिएको पाइन्छ । आयुर्वेदअनुसार कामला रोगमा रोगीको आँखा, नङ, छाला, मुत्र आदि पहेँलो वर्णको हुन्छ । यसअनुसार कामलालाई भाइरल हेपाटाइटिसमा देखिने एक लक्षण जन्डिससँग समन्वय गर्न सकिन्छ । यद्यपि, जन्डिस लक्षणका रूपमा अरू रोगहरूमा पनि देखिन्छ । कामलालाई शाखागत, कोष्ठाश्रित, कुम्भकामला, हल्लिमक आदि विभिन्न भेद गरिएको छ । यसबाहेक आयुर्वेद संहिताहरूमा यकृत विकार, यकृतप्लीहोदर (हेपाटोस्प्लीनोमेगाली), जलोदर (एसाइटिस) आदि नामले कलेजोको रोगहरूको उल्लेख पाइन्छ । संहिताहरूमा कामला तथा यकृत विकारमा प्रयोग हुने अनेक एकल तथा मिश्रणयुक्त औषधिहरू उल्लेख गरिएको पाइन्छ । आयुर्वेदको विभिन्न संहितामा कामला तथा यकृत विकारमा प्रयोग हुने अनेकाँै औषधिहरू उल्लेख गरिएका छन् । आयुर्वेदमा मेटेरिया मेडिका भनिने मुख्य निघण्टु भावप्रकाश निघण्टुमा वर्णित ४२६ द्रव्यहरूमध्ये १६ औषधजन्य वनस्पति (द्रव्य) कामलाहर वा यकृतविकारहरका रूपमा, २३ वटा द्रव्य प्लिहाहर (स्प्लीन वा फियो रोगनाशक) र २३ वटा द्रव्य पाण्डुहर (एनिमिया रोगमा उपयोगी) द्रव्यका रूपमा उल्लेख गरिएको छ । हर्रा, गुर्जो, एरन्ड, घ्युकुमारी, इन्द्र वारुणी, द्रोणपुष्पी, शरपुङ्खा, द्राक्षा आदि कामलाहर द्रव्यहरूको उल्लेख भावप्रकाश निघण्टुमा पाइन्छ । यसबाहेक भुँइअमला, अमला, रोहितक, कटुकी, कालमेघ, जेठीमधु, टटेलो, काकमाची आदि प्रमुख औषधीय वनस्पतिहरू कामला वा यकृत विकारमा प्रभावकारी मानिन्छन् । विभिन्न आधुनिक अध्ययन अनुसन्धानहरूले यी औषधजन्य वनस्पतिहरू हेपाटाइटिस तथा अन्य कलेजो विकारहरूमा उपयोगी सिद्ध हुने देखाएको छ ।
औषधजन्य वनस्पतिहरूमा पाइने सक्रिय फाइटोकन्स्टिच्युएन्टहरू फ्लेवोन्वाइड्स, टरपेन्वाइड्स, पोलिफेनोल्स्, क्यारोटेन्वाइड्सजस्ता तŒवहरूले तथा एन्टिअक्सिडेन्ट तŒवहरू हेपाटोप्रोटेक्टिभ वा कलेजोलाई सुरक्षित गर्ने कार्य गर्छ । हेपाटोप्रोटेक्टिभ एक्टिभिटी भएका १०० भन्दा बढी औषधजन्य वनस्पतिहरू उपलब्ध छन् । औषधीजन्य वनस्पतिहरूमा पाइने क्वरसेटिन र रुटिन भन्ने सक्रिय तŒवले हेपाटाइटिस सी भाइरसको सङ्ख्यात्मक वृद्धिलाई रोक्छ । त्यसैगरी द्राइटरपेन्वाइड्स, ओलियानोलिक एसिड र युरसोलिक एसिडले पनि हेपाटाइटिस सीको सङ्क्रमकतालाई कम गर्दछ । बाइकालिन भन्ने फाइटोकन्स्टिच्युएन्टले हेपाटाइटिस बी भाइरसको भाइरल प्रोटिन र डीएनएको संश्लेषणलाई रोक्छ ।
भुँइअमलाको हेपाटाइटिस बी भाइरसविरुद्धको प्रयोग प्रयोगशालामा, जनावर तथा मानवमा समेत गरिएको विभिन्न अध्ययन अनुसन्धानले प्रमाणित गरिसकेको छ । डा. बारुच ब्लुमबर्ग, जसले सन् १९६५ मा हेपाटाइटिस बी भाइरस पत्ता लगाए । उनी सम्मिलित र सन् १९८७ मा प्रकाशित एउटा इन भिद्रो र इन भिभो (प्रयोगशाला र जनावरमा) अनुसन्धानले समेत भुँइअमलाको एउटा प्रजाति फाइलेन्थ्स निरुरीले हेपाटाइटिस बी भाइरसको सरफेस एन्टिजेन र डीएनए पोलिमरेज एक्टिभिटीलाई हटाई हेपाटाइटिस बीविरुद्ध प्रभावकारी भएको देखियो । त्यसैगरी, भुँइअमलाको अर्को प्रजाति फाइलेन्थिस एमारसको त्यागराजन र टिमद्वारा गरिएको क्लिनिकल द्रायलमा समेत हेपाटाइटिस बी सङ्क्रमित व्यक्तिहरूको रगतबाट हेपाटाइटिस बी सरफेस एन्टिजेन नरहेको देखियो । एउटा अर्को अध्ययनअनुसार भुँइअमलाको प्रजातिहरूमध्ये फाइलेन्थस युरिनेरियाको प्रभावकारिता बढी देखियो ।
हेपाटाइटिस सीको सन्दर्भमा बबुल, जेठीमधु, ज्वानो, ल्वाङ, चव्य, सिलिमेरिन आदिमा गरिएको अध्ययन अनुसन्धानले यिनीहरूको प्रभावकारिता सिद्ध गरेको छ । एउटा अध्ययनअनुसार जेठीमधुमा पाइने ग्लाइसेरिजिन तŒवले हेपाटाइटिस सीको सङ्क्रामक टुक्राहरूलाई बढ्नबाट रोक्छ र पूर्ण आकारको हेपाटाइटिस सी भाइरस र यसको कोर जिनलाई रोक्ने कार्य गर्दछ ।
आयुर्वेद संहिताहरूमा कामला तथा यकृत विकारहरूका लागि एकल औषधिय वनस्पतिहरूको साथै विभिन्न मिश्रणहरूको पनि उल्लेख छ , जस्तै रोहितक घृत, दाडिम घृत, आरोग्यवद्र्धिनी वटी, नवायस मन्डुर, त्रिफला चूर्ण, रोहितक्यादि चुर्ण, फलत्रिकादि क्वाथ आदि । त्यसैगरी, आयुर्वेदका विभिन्न पेटेन्ट औषधिहरू पनि हेपाटाइटिसमा प्रयोग गरिन्छन् । यस्ता औषधिहरूमध्ये कतिपयको आधुनिक अध्ययन अनुसन्धानले समेत पुष्टि गरिसकेको छ । आरोग्यवद्र्धिनी वटी, तथा केही पेटेन्ट लिभर सिरप र ट्याब्लेटहरूले भाइरल हेपाटाइटिसको एक्युट वा तीव्र अवस्थामा समेत प्रभावकारी रहेको नयाँ अध्ययन अनुसन्धानहरूले पुष्टिसमेत गरेको छ ।
आयुर्वेद औषधि सुरक्षित छन्
सबै आयुर्वेद औषधिहरू साइड इफेक्ट वा दुष्प्रभावरहित हुन्छन् भन्ने आमजनसमुदायमा धारणा रहेको पाइन्छ तर अन्य चिकित्सा प्रणालीका औषधिहरू जस्तै सबै आयुर्वेद औषधिहरू तथा सबै औषधिजन्य वनस्पति वा जडीबुटीहरू कलेजोका लागि सुरक्षित हुन्छन् भन्ने चाहिँ होइन । विभिन्न औषधिहरूको मिश्रणयुक्त प्रिस्क्रिप्सन, बहुजडीबुटीहरूको मिश्रण तथा केही एकल जडीबुटीहरूको लामो समयसम्मको प्रयोगले कलेजोलाई बिगार्न सक्छ । केही अध्ययनहरूले बाकुची, नीम, कावा, खयर, मन्डुकपर्णी, कनेर आदिको विभिन्न रूपमा लामो समयसम्मको प्रयोगले हेपाटोटक्सिसिटी वा कलेजो बिग्रिने भनी देखाएको छ । उचित शोधन तथा मारणविना प्रयोग गरिएको रस औषधिहरूको प्रयोग, राम्ररी शोधन नगरिएको विष, उपविष वर्गका औषधिहरू, कीटनाशकको अत्यधिक प्रयोग गरिएका औषधजन्य वनस्पतिहरू आदिको प्रयोगले पनि कलेजोमा खराब असर पु¥याउन सक्दछ । तसर्थ, कुनै पनि आयुर्वेद औषधिहरू आयुर्वेद चिकित्सकको उचित परामर्श लिएरमात्र सेवन गर्नुपर्छ ।
सारांश
भाइरल हेपाटाइटिस विश्वका लागि एउटा प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको छ । हेपाटाइटिस ए र बीविरुद्धको खोप प्रचलनमा रहे पनि सबै किसिमको भाइरल हेपाटाइटिसबाट विश्वलाई मुक्त गर्न आयुर्वेदलगायत अन्य वैकल्पिक चिकित्सा पद्धतिको पनि उचित प्रयोग आजको आवश्यकता हो । हुन त आयुर्वेद औषधिहरू समयको कसीमा खारिएको मानवले सदीयाँैदेखि प्रयोगमा ल्याएको भए पनि आजको विज्ञानको भाषामा बुझ्न आयुर्वेद चिकित्सा पद्धतिमा प्रयोग हुने हेपाटोप्रोटेक्टिभ औषधिहरूको व्यापक अनुसन्धान हुन आवश्यक छ । यसका लागि अहिलेसम्म जनावरमा गरिएका अनुसन्धानलाई आधार मानी गोल्ड स्टैन्डर्ड मानिने रैन्डोमाइज्ड क्लिनिकल द्रायलको दायरा बढाउन
आवश्यक छ ।
(लेखक आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा कार्यरत हुनुहुन्छ ।)