logo
२०८२ असार १० मंगलवार



व्यापार घाटाको अर्थशास्त्र (सम्पादकीय)

विचार/दृष्टिकोण |




आर्थिक वर्ष २०७६÷७७ को व्यापार घाटा अघिल्लो वर्षको तुलनामा दुई खर्ब २१ अर्ब रुपियाँले घटेको छ । भन्सार विभागका अनुसार आ.व. २०७५÷७६ मा १३ खर्ब २१ अर्ब रुपियाँ रहेको व्यापार घाटा २०७६÷७७ मा १६.७१ प्रतिशतले घटेर ११ खर्ब ६४ करोड रुपियाँ कायम भएको छ । गत आ.व.मा आयात १५.६३ प्रतिशतले घटेर समीक्षा अवधिमा ११ खर्ब ९६ अर्ब रुपियाँ पुगेको थियोे । अघिल्लो आ.व.मा नेपालले १४ खर्ब १८ अर्ब रुपियाँको वस्तु आयात गरेको थियो । व्यापार घाटा कम भएसँगै मुद्रा सञ्चिति पनि बढेको छ । आयातमा देखिएको करिब दुई खर्ब २२ अर्ब रुपियाँको अन्तरले एकातिर व्यापार घाटा कम गर्न योगदान दिएको छ भने अर्कोतिर विदेशी मुद्रा सञ्चिति बढाएको छ । अर्थ मन्त्रालयका अनुसार अहिले नेपालसँग करिब १३ खर्ब रुपियाँको विदेशी मुद्राको सञ्चिति छ, जुन एक वर्षको आयात धान्न पर्याप्त छ ।
साधारणतया व्यापार घाटा कम हुनु सन्तोषको विषय हो तर यसले मात्र मुलुकी अर्थतन्त्रको ग्राफ सकारात्मक बनाउँदैन । के कारणले व्यापार घाटा कम भएको हो भन्ने प्रश्नले यस सन्दर्भमा महŒव राख्दछ । व्यापार घाटा रोक्न नेपालले विभिन्न पहल गर्दै आएको भए पनि परिणाम सन्तोषजनक छैन । गत एक दशकमा नेपालको व्यापार घाटा छ गुनाले बढेको छ । आर्थिक वर्ष ०६५÷६६ मा दुई खर्ब १९ अर्ब रुपियाँ व्यापार घाटा रहेकोमा ०७५÷७६ सम्म आइपुग्दा करिब छ गुनाले बढेर १३ खर्ब २१ अर्ब रुपियाँ पुगेको छ । वैदेशिक व्यापारसँगै आयातको वृद्धिदर उच्च हुने तर निर्यात कम भएकाले यस्तो अवस्था आएको हो जसले गर्दा अन्तर्राष्ट्रिय, खासगरी छिमेकी मुलुकसँगको व्यापार घाटा उकालो लागेको हो । कमजोर उत्पादन क्षमताका कारण नेपालले निर्यातयोग्य वस्तुको विविधीकरण गर्न सकेको छैन । परम्परागत वस्तुहरूको सीमित निर्यातले बढ्दो आयातलाई सन्तुलित गर्न सकेको छैन । यस सन्दर्भमा नेपालले उपयुक्त नीति बनाउनुपर्ने आवश्यकता लामो समयदेखि औँल्याइएको छ ।
सोझो अर्थमा निर्यात बढाउने र आयात कम गरेर व्यापार घाटा कम गरिन्छ वा सन्तुलित गरिन्छ । नेपालका प्रयासहरूका कारण व्यापार घाटा कम भएको भए यसले मुलुकको समग्र अर्थतन्त्रमा दीर्घकालीन सुखद परिणाम दिनसक्छ तर कोरोना सङ्क्रमणका कारण जारी बन्दाबन्दीले अन्तर्राष्ट्रिय व्यापार प्रभावित भएको, नेपालले यसबखत आयात गर्न नसकेको, यसबखत आयात गर्न नसकिएका वस्तुको चाप कोरोनापछि बढ्ने हो भने यस अवधिमा देखिएको व्यापार घाटामा आएको कमी नितान्त प्राविधिक र क्षणिक मात्र हुनेछ । कोरोनाकै कारण बढ्दो आयात रोकिएका कारण व्यापार घाटामा सुधार आएको हो भने यो कृत्रिम सुखद मात्र हुनेछ । तर यसै अवधिमा नेपालले गर्ने निर्यातमा सामान्य वृद्धि भई बढ्दो व्यापार घाटा कम गर्न योगदान दिनुलाई सकारात्मक भन्न सकिन्छ । सारा विश्व बन्दाबन्दीमा रहेका बेला नेपालले वैदेशिक वस्तु आयात गर्न नसकेर वैदेशिक मुद्राको सञ्चिति बढेको वा व्यापारघाटा कम भएको हो भने आगामी दिनमा आयातमा वृद्धि गर्ने मात्र होइन व्यापार घाटा थप बढाउने र हालको वैदेशिक मुद्रा सञ्चितिमा ह्वात्तै ह्रास आउनेछ  ।
अर्थशास्त्रीहरूले विलासी वस्तुको आयातमा रोक लगाउँदै व्यापार घाटा कम गर्नुपर्ने सुझाउँदै आएका छन् । भारत र श्रीलङ्काले व्यापार घाटा कम गर्न सुन र मोटरसाइकलको आयात रोकेका उदाहरण यस सन्दर्भमा स्मरणीय हुनेछन् तर नेपालजस्तो आयातमा आधारित अर्थतन्त्र भएको मुलुकले आयातलाई राजस्व सङ्कलनको माध्यम बनाएर पनि अर्थतन्त्र सन्तुलित गर्नसक्छ । व्यापार घाटा कम भयो भन्दै हर्ष प्रकट गरिरहँदा त्यस अवधिमा राजस्व कति उठ्यो भनेर पनि तुलनात्मक अध्ययन गर्नुपर्छ । अर्कोतिर अमेरिकी डलरको भाउ बढेर अन्तर्राष्ट्रिय कारणले हुनसक्ने व्यापार घाटा कम गर्न त्यति सम्भव छैन । विलासी वस्तु, पेट्रोलियम पदार्थ, मोटर गाडीदेखि दैनिक उपभोग्य वस्तु दाल चामलको आयात बढिरहेको अवस्थामा नेपालले व्यापार सन्तुलनका लागि विशेष पहल थाल्नुपर्ने हुन्छ । नेपालका केही वस्तु विश्व बजारमा लोकप्रिय भए पनि तिनीहरूको उचित बजारीकरण गर्न नसक्नु जस्ता कारणको उचित उपचार आवश्यक छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?