logo
२०८२ असार १० मंगलवार



बढ्दैछन् बाघ

विचार/दृष्टिकोण |




शिवराज भट्ट

बाघको वासस्थान र सङ्ख्यामा तीव्र गिरावट आएपछि बाघ पाइने १३ राष्ट्र, संरक्षण साझेदार तथा दातृ निकायहरू एकजुट भई सन् २०१० देखि बाघको सङ्ख्या दोब्बर पार्न जुटेका छन् । यो यात्राले सन् २००९ मा काठमाडौँमा आयोजित विश्व बाघ कार्यशाला, सन् २०१० मा थाइल्यान्डमा आयोजित मन्त्रिस्तरीय कार्यशाला हुँदै सन् २०१० मा रुसको सेन्ट पिटसबर्गमा भएको राष्ट्राध्यक्षहरूको बैठकबाट मूर्तरूप लियो ।
सन् २०२० सम्म आइपुग्दा यो यात्राले एक दशक पार गरेको छ । बाघ संरक्षणका लागि चेतना जगाउने उद्देश्यले सुरु गरिएको विश्व बाघ दिवस वा अन्तर्राष्ट्रिय बाघ दिवसले बाघ संरक्षणका लागि आवश्यक वासस्थान, आहारा प्रजाति, चोरी शिकारी तथा अवैध व्यापार नियन्त्रण र बाघ, मानव द्वन्द्व सबैलाई समेटेको छ । थाइल्यान्डमा भएको बाघ पाइने राष्ट्रका मन्त्रिस्तरीय बैठकमा जुलाई २९ मा विश्व बाघ दिवस मनाउनेबारे छलफल भएको थियो । लगत्तै सोही वर्षको नोभेम्बरमा रुसमा भएको राष्ट्राध्यक्षहरूको बैठकले जुलाई २९ लाई विश्व बाघ दिवसको रूपमा मनाउने निर्णय ग¥यो ।

ऐतिहासिक निर्णय
सन् २०११ को जुलाई २९ देखि बाघ पाइने १३ देशमा विविध प्रकारले बाघ दिवस मनाइँदै आइए अनुरूप नेपालमा समेत प्रत्येक वर्ष यो दिवस मनाइँदैछ । दिवस मनाउने सन्दर्भमा नेपालले सुरुमा अर्थात् २०११ मा वासस्थान, आहारा प्रजाति, चोरीशिकारी तथा अवैध व्यापार र बाघ, मानव द्वन्द्व आदिका बारेमा चेतना जगाउने हिसाबले सुरु गरेपछिका वर्षहरूमा यो अवसर पारेर दीर्घकालीन प्रभाव पर्ने केही ठोस निर्णयसमेत भए । सन्् २०१९ मा राष्ट्रियस्तरको कार्यक्रम बाँके राष्ट्रिय निकुञ्जमा गरिएको थियो भने बाँकी आठ वर्षका कार्यक्रम काठमाडौँमा भएका थिए । बाघको सङ्ख्या दोब्बर गर्न र प्रत्येक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाउने विश्वव्यापी प्रतिबद्धतापछि सन् २०१० मा नेपालले ठूलो निर्णय गरी आफ्नो पूर्ण प्रतिबद्धता विश्वसमक्ष राख्यो । बाघ संरक्षणको कार्यलाई नीतिगत निर्देशन दिने र सबै सरोकारवालाको समन्वय प्रभावकारी बनाउन प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय बाघ संरक्षण समन्वय समिति गठन गरियो । विश्व बाघ दिवसकै उपलक्ष्यमा बसेको यो बैठकले बाघ संरक्षणका लागि छुट्टै एक करोड रुपियाँ विनियोजन ग¥यो । यसलगत्तै सन् २०११ मा चोरीशिकारी नियन्त्रणलाई थप प्रभावकारी बनाउन कानुन कार्यान्वयन गर्ने सबै निकाय समेटी केन्द्रदेखि जिल्लासम्म समन्वयका लागि केन्द्रमा राष्ट्रिय वन्यजन्तु अपराध नियन्त्रण समन्वय समिति एवं जिल्लामा वन्यजन्तु अपराध नियन्त्रण समिति एकाइ गठन गर्ने ऐतिहासिक निर्णय ग¥यो ।

हरेक वर्षको उल्लास
बाघ संरक्षणका लागि गरिएका प्रयास, स्थानीयको सहभागिता, संरक्षण साझेदारहरूको हातेमालोको फलस्वरूप सन् २०१३ को बाघ संरक्षण दिवस बाघको राष्ट्रिय गणना सार्वजनिक गर्दै मनाइयो । सो वर्ष बाघको सङ्ख्या ६३ प्रतिशतले वृद्धि (१२१ बाट १९८) भएको छ ।
विभिन्न वर्षमा बाघ संरक्षणका लागि जनचेतना जगाउन तथा समन्वय बढाउन विविध कार्य गरिँदै आएको छ । सन् २०१४ मा युवालाई विशेष ध्यान दिई भनियो, ‘आई इन टाइगर इज यु ।’ उक्त कार्यक्रममा काठमाडौँका युवा (द जेनेरेशन ग्रीनका सदस्य) को व्यापक सहभागिता थियो । सन २०१५ मा भने क्याम्पसका विद्यार्थीबीच विविध प्रतिस्पर्धामार्फत चेतना जगाउने काम गरिएको थियो । सन् २०१६ मा युवालाई विभिन्न क्षेत्रका विज्ञहरूलाई जिज्ञासा राख्ने अवसर प्रदान गरिएको थियो । जसमा बाघ संरक्षणसँग सम्बन्धित विज्ञान तथा पारिस्थितिकीय प्रणाली, संरक्षित क्षेत्र आसपासमा बस्ने आमसमुदाय, राजस्व, आयआर्जन तथा रोजगारीबारे बृहत् छलफल गरियो ।
सन् २०१७ मा बाघ संरक्षण र जैविक विविधताबारे चेतना जगाउने काम भएको थियो । बाघको संरक्षण गर्दा यसका आहारा प्रजातिको संरक्षण गर्नुपर्ने, त्यसका लागि घाँसपात र अन्य वनस्पतिको संरक्षण गर्दा समस्त वन, माटो र पर्यावरणकै जगेर्ना हुँदा वरपर बस्ने समग्र मानिसलाई लाभ पुग्छ । त्यसैले बाघ संरक्षण गर्दा हामी आफ्नै संरक्षण गरिरहेका हुन्छौँ भन्ने जानकारी यस वर्ष गराइएको थियो । सन् २०१८ को नारा ‘समृद्धिका लागि बाघ संरक्षण’ अनुरूप बाघ संरक्षणबाट कसरी समृद्धि हासिल गर्ने भन्नेबारे विविध कार्यक्रम समेटी दिवस मनाइएको थियो ।
राष्ट्रिस्तरको एउटा मात्रै कार्यक्रम काठमाडौँ बाहिर सन् २०१९ मा बाँके राष्ट्रिय निकुञ्जमा आयोजना गरिएको थियो । वास्तवमा बाँके राष्ट्रिय निकुञ्जमा बाघ दोब्बर गर्ने प्रतिबद्धता पूरा गर्न सन् २०१० मा सबैभन्दा कान्छो निकुञ्जका रूपमा घोषणा गरिएको थियो । सन् २००९ को बाघको गणनामा बाँकेमा एउटा बाघ थिएन भने निकुञ्ज घोषणापछिको संरक्षण र सुरक्षाका विविध कार्यले हाल बाँकेमा २० वटा बाघ छन् । यो निकुञ्ज पश्चिममा बर्दिया निकुञ्जसँग जोडिएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज बाँकेमा बाघ भिœयाउन राम्रो स्रोतको रूपमा छ । बाँकेमा बाघलगायत अन्य वन्यजन्तुको सङ्ख्या वृद्धि हुँदा यहाँ पर्यटन विकासलाई सँगसँगै लैजानुपर्छ भन्दै सो वर्षको ‘पर्यापर्यटनका लागि बाघ संरक्षण’ को नारासहित विभिन्न कार्यक्रम गरिएको थियो ।

निष्कर्ष
नेपाल हाल बाघको सङ्ख्या दोब्बर पु¥याउने सँघारमा छ । सन् २००९ मा १२१ वटा बाघ पाइएकोमा नेपालले सन् २०२२ सम्ममा उक्त सङ्ख्या २५० पु¥याउने प्रतिबद्धता जनाएकोमा सन् २०१८ को नतिजाअनुसार नेपालमा २३५ वटा बाघ छन् । हाम्रो साझा प्रयास जारी रहे समयमै बाघको सङ्ख्या दोब्बर हुने निश्चित छ । अहिलेको विषम परिस्थितिममा विश्व बाघ दिवस मनाउने क्रममा विगतमा झैँ व्यापक उपस्थिति हुने देखिँदैन । यद्यपि हाम्रो सफलतालाई मनाउने र प्रतिबद्धतामा ऐक्यबद्धता जनाउन सबै जुट्नुपर्छ ।
बाघ पाइने क्षेत्र विद्यमान महामारीका कारण अचानक वृद्धि भएको जनघनत्व र त्यसबाट हाल बाघलगायत वन्यजन्तुको वासस्थानमा परिरहेको असर कम गर्नु र स्थानीयको रोजगारी तथा आयआर्जनमा जोड दिनु आजको टड्कारो आवश्यकता हो ।
(लेखक डब्लुडब्लुएफ नेपालका कार्यक्रम निर्देशक हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?