सन्तोष गौतम
सम्भावना नै सम्भावनाको वर्तमान समयमा हरेक देशका नागरिक आफ्नो बहुआयामिक रूपान्तरणको प्रयासमा विश्वका कुनाकाप्चामा पुगेका छन् । ह्याजÞेल मार्कस र पाउलो नुरियसको ‘पसिबल सेल्फ’ को अवधारणामा व्यक्त भएजस्तै व्यक्तिमा के बन्ने सम्भावना छ, के बन्न चाहन्छ र के बन्ने भय छ लगायतका कुराले उसलाई डो¥याउने गर्दछन् । मान्छे सम्भावनाको गगनमा विचरण गर्ने र उपलब्धिका नयाँ उचाइ प्राप्त गर्ने दिशामा सधैँ अग्रसर रहन्छ । त्यसैले मान्छे तिनै ‘पसिबल सेल्भ्स’का सम्भावनालाई पछ्याउँदै वृद्धिका धेरैभन्दा धेरै अवसरको खोजीमा विश्वका विभिन्न भूभागमा पुग्ने गर्दछ । तसर्थ आफ्ना नागरिकहाई देशभित्रै सम्भव भएसम्म अवसर उपलब्ध गराउनुका अतिरिक्त भूगोलका विभिन्न भागमा रहेका आफ्ना नागरिकलाई सरकारका विभिन्न नीति र कार्यक्रमद्वारा समेटी उनीहरूका सवालको सम्बोधन गर्ने र उनीहरूका ज्ञान, सीप र पुँजीलाई राष्ट्रहितमा उपयोग गर्ने नीति विश्वका धेरै देशले लिएको देखिन्छ ।
चीन, भारत, ताइवान, मेक्सिको, दक्षिण कोरिया, दक्षिण अफ्रिकालगायत देशले विगतदेखि प्रतिभा प्राप्ति र सदुपयोगका लागि अवलम्बन गरेका नीति र कार्यक्रम धेरै हदसम्म सफल प्रमाणित भए । यी देशले व्यवसायमैत्री नीतिको प्रवद्र्धनद्वारा उद्यमीहरूलाई देशमै रहन र प्रवासमा रहेकालाई स्वदेश फर्कन प्रेरित गर्ने प्रयास गरे । ती प्रयास परिणाममुखी पनि रहे । समग्रमा प्रवासी विज्ञहरूसँग नेटवर्किङ गर्ने, आकर्षक सुविधा प्रस्ताव गरी स्वदेश फर्किन आह्वान गर्ने, प्रवासी विज्ञहरूको डेटाबेस तयार र व्यवस्थापन गर्ने र देशमा रहेका आकर्षक अवसरबारे जानकारी विश्वका कुनाकाप्चामा रहेका विज्ञहरूसमक्ष पु¥याउने अनि स्वदेश आगमनमा विविध छुट उपलब्ध गराउनेलगायतका कदम यी देशले चाले । त्यसैगरी आफ्नो उच्चशिक्षाको सबलीकरण गर्ने तथा बाहिर रहेका प्रतिभालाई या त फर्काउने या कुनै न कुनै हिसाबले राष्ट्रहितसँग जोड्ने नीति यी देशले लिएको देखिन्छ । यी राष्ट्रहरूको अध्ययन गर्दा फर्कन चाहनेहरूले प्राप्त गर्ने अवसर र सुविधाका अतिरिक्त ती प्रतिभाहरूबारेको नकारात्मक प्रतिक्रिया, उनीहरूले भोग्ने ‘रिभर्स कल्चरल सक’, ‘क्रस कल्चरल रिएडजस्टमेन्ट’मा समस्या, अपूर्ण आकाङ्क्षालगायतका सवालले पनि उनीहरूको स्वदेश फिर्तीमा प्रभाव पारेको देखिन्छ ।
नेपाल सरकारले पनि सुखी नेपाली समृद्ध नेपालको सपना साकार पार्न हरसम्भव प्रयास गरिरहेको छ । एकातिर देशको बहुआयामिक रूपान्तरणका विविध पहलमा देशभित्रै राष्ट्रिय प्रतिभाको भूमिका र संलग्नता सुनिश्चित गर्ने प्रयास भइरहेको छ भने अर्कोतिर प्रवासी नेपालीको ज्ञान, सीप, क्षमता र पुँजीलाई पनि राष्ट्रहितमा सदुपयोग गर्ने कार्य योजनाबद्ध रूपमा अगाडि बढाइएको छ । यही प्रयासअन्तर्गत परराष्ट्र मन्त्रालय नीति, योजना, विकास कूटनीति तथा विदेशमा रहेका नेपालीसम्बन्धी महाशाखाको एक एकाइको रूपमा स्थापित ‘ब्रेन गेन सेन्टर’ले देशबाहिर विभिन्न क्षमतामा काम गरिरहेका प्रतिभाशाली नेपालीलाई राष्ट्रहितसँग जोड्ने प्रयास गरिरहेको छ । प्रवासमै बसेर नेपाललाई विभिन्न प्रकारले सहयोग गर्न चाहने, बिदामा आउँदा विभिन्न हिसाबले स्वदेशको भलाइसँग जोडिन चाहने, केही समयको ‘मिसन’ लिएर नेपाल आउन चाहने वा सधैँका लागि नेपाल फर्कन चाहने विज्ञहरूलाई क्षमता अनुकूलका विभिन्न समूहमा विभाजन गरी उहाँहरूको विज्ञतालाई राज्यका विभिन्न निकायसँगको समन्वयमा राष्ट्रिय आवश्यकता र राष्ट्रहितसँग जोड्ने, अभिलेख राख्ने र योगदानको उचित कदर गर्ने कार्य गर्दै आइरहेको छ । यसको डेटाबेसमा आफ्नो विवरण प्रविष्ट गरेर सेन्टरमा आबद्ध हुने प्रवासी नेपाली विज्ञहरूको सङ्ख्या ९३० नाघिसकेको छ । उल्लेख्य सङ्ख्यामा विज्ञहरूले यसका सामाजिक सञ्जालमार्फत आफ्ना विज्ञता, कार्य र योजना सार्वजनिक गरेर आपसी सहकार्यका र स्वदेशका बिभिन्न निकायसँगको सहकार्यका द्वार खोल्ने कार्य गर्नुभएको छ ।
‘प्रोएक्टिभ’ तर जिम्मेवार र परिपक्व कूटनीतिको माध्यमद्वारा एक्काइसौँ शताब्दीको विश्व परिवेशमा नेपालको उपस्थितिलाई सबल बनाउन र विश्व शक्ति संरचनाबाट नेपाललाई अधिकाधिक लाभान्वित गराउन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको सुझबुझपूर्ण, परिपक्व र इमानदार नेतृत्वमा मन्त्रालय लागिरहेको छ । उहाँकै सोच र पहलमा स्थापित, प्रत्यक्ष मार्गदर्शन र संरक्षकत्वमा सञ्चालित ब्रेन गेन सेन्टरद्वारा प्रवासी नेपाली विज्ञहरूलाई राष्ट्रहितसँग जोड्ने प्रयासअन्तर्गत स्वदेश र विदेशमा रहेका विभिन्न विषयगत विज्ञहरूका बीचमा अन्तरक्रिया गराई ‘भिजिबिलिटी’ र ‘कनेक्टिभिटी’ वृद्धि गर्दै सहकार्यको प्रवद्र्धन गर्ने उद्देश्यले वेबिनारसिरिज (अन्तरक्रिया शृङ्खला) को आयोजना गरिएको थियो । साप्ताहिक रूपमा विभिन्न विषयमा आयोजना गरिएका वेबिनारसिरिजका लागि स्वदेश र विदेशमा विभिन्न भूमिकामा कार्यरत सम्बन्धित विषयका नेपाली विज्ञहरूबाट प्यानालिस्टहरूको छनोट गरिएको थियो । सिरिजमा सहभागिताका लागि धेरै विज्ञहरू उत्साही देखिनुभएको छ । छलफलका विषय र विज्ञहरूको विज्ञता, योगदान, उपलब्धि आदिका आधारमा क्रमैसँग उहाँहरूलाई आगामी वेविनारमा सहभागी हुन अनुरोध गर्ने योजना सेन्टरले बनाएको छ । प्रवासी नेपाली विज्ञ तथा स्वदेशी विज्ञ एवं निकायहरूका बीचमा अझ सबल र प्रभावकारी सहकार्यका सम्भावनाको खोजी गर्ने नीति यसले लिएको छ ।
भूमण्डलीकरणको युग एकातिर विश्वव्यापी प्रतिस्पर्धाको युग हो भने अर्कोतिर सहकार्यको, तर प्रतिस्पर्धामा खरो उत्रिन होस् वा सहकार्यबाट अधिकाधिक लाभान्वित हुन, आफ्नो गुणस्तर र तयारीलाई सधैँ उच्चस्तरको र चुस्त दुरुस्त राख्नु आवश्यक छ । प्रवासमा रहेर पनि विविध माध्यमद्वारा व्यक्तिगत र सङ्गठित रूपमा नेपालको उच् शिक्षा, कृषि र स्वास्थ्यलगायतका क्षेत्रको विकासमा सघाउ पु¥याउने विज्ञहरूले गत वेबिनारसिरिजमा केही सकारात्मक कथ्य र उल्लेखनीय दृष्टान्त प्रस्तुत गर्नुभएको थियो । पहिलो वेविनारमा समग्र शिक्षाक्षेत्रको उत्थानका लागि शिक्षण र अनुसन्धानका क्षेत्रमा भएका सहकार्यका केही उल्लेखनीय उदाहरण शिक्षाक्षेत्रका विज्ञहरूले प्रस्तुत गर्नुभयो । खासगरी अनुसन्धानलाई यसको सङ्कीर्ण घेराबाट बाहिर ल्याएर जीवनका विविध क्षेत्रमा सार्थक प्रभावको र दिगो रूपान्तरणको माध्यम बनाउनुपर्ने कुरामा विज्ञहरूले जोड दिनुभएको थियो । दोस्रो वेविनारमा विश्वव्यापी महामारीको रूपमा रहेको कोभिड १९ सङ्क्रमणको परिप्रेक्ष्यमा हाम्रो स्वास्थ्य क्षेत्रको सबलताका लागि के कस्ता उपाय अवलम्बन गर्नु उपयुक्त होला भन्ने बारेका बहस स्वास्थ्यक्षेत्रका विज्ञबाट प्रस्तुत भयो । तेस्रो वेबिनारसहकार्यका सम्भाव्य मोडेलहरू र आगामी सहकार्यका लागि प्राप्त भएका शिक्षामा केन्द्रित थियो । शृङ्खलाको अन्तिम तथा चौथो वेबिनारकृषिक्षेत्रको विविधीकरण र रूपान्तरणद्वारा राष्ट्रमा बृहत् रोजगारीका अवसर सिर्जनाका उपायमा केन्द्रित रह्यो । खासगरी कोभिड १९ सङ्क्रमणका बहुआयामिक प्रभावको उपज धेरैजना प्रवासी नेपालीले रोजगारी गुमाउन सक्ने परिवेशमा देशभित्रै यस्ता अवसर सिर्जनाको सम्भाव्यताबारे विज्ञहरूले बहस गर्नुभएको थियो ।
हालसम्मका वेबिनारसिरिजमा प्रवासी र स्थानीय विज्ञहरूको बीचमा भएका सहकार्यका प्रभावकारी मोडेलहरू, अभ्यास वा उदाहरणबारे अर्थात् विविध क्षेत्र, तह र स्तरमा तथा विविध परिस्थितिमा कस्ता प्रकृति, शैली वा पद्धतिका सहकार्य उपयुक्त हुँदारहेछन् र आगामी सहकार्यका लागि के कस्ता शिक्षा प्राप्त भएका छन् भन्नेबारे बहस गरिएको थियो । यी बहसहरू के भएन र के गर्न सकिँदैन भन्नेतर्फ केन्द्रित नभएर जटिलता र कठिनाइबीच के कस्ता उपलब्धि हासिल भएका छन् र सम्भाव्यता के कस्ता छन् अनि राष्ट्रहित निम्ति सहकार्यलाई कसरी सबल र प्रभावकारी बनाउन सकिन्छ भन्नेमा केन्द्रित थिए । सकारात्मक कथ्यले धेरैलाई सहकार्य र योगदानका लागि प्रेरित गर्न सक्छन् । वेविनारमा प्रस्तुत अनुभव र दृष्टान्त सम्बन्धित निकायसम्म पु¥याएर ती क्षेत्रको सुधारमा थोरै भए पनि योगदान दिने सेन्टरको योजना छ ।
राष्ट्र र राष्ट्रियताको पुरातन अवधारणामा परिवर्तन आइसकेको छ । राष्ट्रको भौगोलिक सीमा बाहिर रहेका नागरिकका सरोकारका सवालहरूको सही सम्बोधन गरेमा र राष्ट्रनिर्माणको अभियानमा उपयुक्त भूमिका दिएमा राष्ट्रले आशातित गति र दिशा प्राप्त गर्न सक्छ । त्यही प्रवासमा रहेको राष्ट्रलाई, त्यहाँ रहेको राष्ट्रियता र देशप्रेमलाई उचित सम्मान गर्दै प्रवासी नेपाली विज्ञहरूलाई राष्ट्रनिर्माणको अभियानसँग जोड्ने प्रयास ब्रेन गेन सेन्टरले गरिरहेको छ ।
(लेखक परराष्ट्र मन्त्रालयको ब्रेन गेन सेन्टरका विज्ञ हुनुहुन्छ ।)