डा. अतीन्द्र दाहाल
इतिहासकै बलियो सरकारमा सत्तारोहण गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको जबर्जस्त अवतरणका लागि दबाबका प्रयास हँुदैछन् । प्रशस्त समयका बावजुद उहाँले सशक्त कार्यकारीका रूपमा ठोस काम गर्न सहज वातावरण नपाएको गुनासो गर्दै आउनुभएको छ । निकै महŒवाकाङ्क्षी सपना सुनाउने गर्नुभएका उहाँको दोस्रो सत्तारोहणपछि राष्ट्र«निर्माणमा स्वर्णिम सुरुवातको आशा थियो । ओलीका स्वप्नदर्शी घोषणाहरू नागरिकले गणतान्त्रिक शासनबाट गरेका आशासँग मिल्दाजुल्दा थिए । यद्यपि अपेक्षित तथा तात्विक परिवर्तन असहज बन्दै गर्दा राजनीतिक अकर्मण्यता र सत्तादोहनको अनियन्त्रित उन्माद पनि देखिन थालेका छन् । असौन्दर्यात्मक कचहरी बढ्दैछ ।
अमेरिकामा सन् १७८७, फ्रान्समा १७९१, अर्जेन्टिनामा १८५२, अस्ट्रियामा १९२०, बेल्जियममा १८३१, क्यानाडामा १८६७, डेनमार्कमा १८४९ मा संविधान बनेपछि आएको जस्तो सकारात्मक परिवर्तन हामीकहाँ देखिएन । नागरिकहरू देशको र आफ्नो भविष्यप्रति सकारात्मक कम अनि नकारात्मक बढी हुनुपर्दैछ । तीन दशक पहिले सोभियत सङ्घको विभाजन तथा बर्लिनको पर्खाल भत्किएर जर्मनीको एकीकरणपछि संसारको राजनीतिक मानचित्र फेरिएको आभास भयो । त्यसैलाई आधार बनाएर विख्यात चिन्तक फ्रान्सिस फुकुयामाले ‘इन्ड अफ द हिस्ट्री एन्ड लास्ट मिन’ पुस्तक लेख्नुभयो । संसारमा शक्तिकेन्द्रको समीकरण र शीतयुद्घको अवस्थामाथि नयाँ भविष्य आँकलन भयो तर त्यो गलत सावित भयो, अहिले हाम्रो अवस्था पनि त्यस्तै छ । सरकारले राम्रो काम गर्न नसकेको आरोप छ । नयाँ व्यक्तिले सरकारको नेतृत्व गर्नुपर्ने भन्दै आन्तरिक विरोध चुलिएको छ तर यो मूल सत्यलाई यहाँ नियोजित हिसाबमा बेवास्ता गर्न खोजिँदैछ कि पात्रको परिवर्तनले समस्या सुल्झिँदैन, पद्घतिको परिवर्तनले मात्र त्यो सम्भव हुन्छ । नागरिकको मुख्य आशा सरकार हैन, संस्कारको परिवर्तन होे । सरकार त निरन्तर फेरिएकै छन् ।
फेरिएका सरकारहरू
समुन्नत राष्ट्र निर्माणमा समर्पण भन्दै २००७, २०१७, २०३६, २०४६ र २०६२÷६३ मा विभिन्न राजनीतिक परिवर्तन÷क्रान्तिहरू भए । यद्यपि देशमा शासक र शासितबीचको खाडल जस्ताको तस्तै रह्यो । समुन्नत राष्ट्रनिर्माणको सपना पूरा भएन । राष्ट्रनिर्माणका सवालमा सरकारका दुई कार्य हुन्छन् ः एउटा सामन्य नियमित कार्य र दोस्रो अपेक्षित कार्य । हाम्रा सरकारहरूले अपेक्षित कार्य गर्न सकेनन्, खालि नियमित कार्यमा नै अल्झिरहे ।
देशको प्रशासन चलेको आभास गराउनु, कार्यकारी संस्थाको रूपमा हुनुपर्ने औपचारिक कार्यहरू सञ्चालन गर्नु नियमित कार्य हुन् । चुनाव हुनु, सरकार गठन÷विघटन हुनु अनि राजनीतिक सघनता देखिने धर्ना, जुलुस, आन्दोलन, नाराबाजी तथा भाषणहरू हुनु यसका पक्ष हुन् । विगतमा जति सरकार बने पनि संस्कारचाहिँ फेरिएन । हाकिम फेरिए हुकुम र हैकम फेरिएन, शासक फेरिए शासन फेरिएन, खुकुरी फेरिए प्रहार फेरिएन, साहु फेरिए शैली फेरिएन, व्याधा फेरिए तीर फेरिएन, पात्र फेरिए पद्घति फेरिएन, अचानो फेरियो यद्यपि चोट फेरिएन । अहिलेको सरकारलाई यस्तै जन्जिरमा फस्न नदिन माउ पार्टीले सहजीकरण गर्नुपथ्र्यो । सरकारलाई नयाँ सफलताको उचाइमा पु¥याउने बाटो देखाउनुपथ्र्यो, संस्कार फेर्नुपथ्र्यो ।
नफेरिएको संस्कार
सरकारको दोस्रो तर प्रमुख पक्ष अपेक्षित कार्य (एक्सपेक्टेड फङ्सन) सम्पादन हो । सम्पूर्ण नागरिकको इच्छा उनीहरूको जीवनसँग सम्बन्धित हुन्छ । आर्थिक विकास गर्नु, रोजगारी सिर्जना गर्नु, आवश्यक सुविधा र विकासका पूर्वाधारहरूको द्रुततर अनि सर्वत्र विकास गर्नु, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सञ्चार जस्ता भौतिक आधारलाई जनताको पहुँच सहज हुनेगरी सुनिश्चित गर्नु जस्ता कुराले जनताले सरकारप्रति प्रकट गर्ने सद्भाव प्रवद्र्धन गर्दछ । सांस्कृतिक र सामाजिक समन्वयलाई अझ बलियो बलियो गर्नु अनि सम्पूर्ण जाति र प्रजातिको समतामूलक समानतामा जोड दिनु सरकारको अर्को पक्ष हो । आर्थिक विकास र गुणस्तरीय जीवनका सूचाङ्कमा आमूल सकारात्मक परिवर्तन आवश्यक हुन्छ । लेखक नोम चोम्स्कीकोे पुस्तक ‘फेल्ड स्टेट’ले पनि यही तर्क दिन्छ । पछिल्लोपटक तीव्र विकासलाई पछ्याएका विशेष गरी एसियाली अधिकांश देशका सरकारमा अपेक्षित कार्यसम्पादन कौशल उल्लेख्य देखिन्छ ।
केवल नाम अनि सरकार फेर्दैमा र शब्दको फजुल खर्च गर्दैमा राष्ट्रको नयाँ स्वरूप बन्दैन । नागरिकलाई नाम होइन काम चाहिएको हो । प्रसिद्ध पुस्तक ‘डेमोक्रेसी ः द गड द्याट फेल्ड’का लेखक ह्यान ह्यामर हिप्स रोजगारी निर्माण, गरिबी निराकरण, पूर्वाधार विकास र नागरिकको सामाजिक सुरक्षा बढोत्तरीमा असफल भएकै कारण थुप्रै देशमा प्रजातान्त्रिक सरकार असफल भएका उदाहरण दिन्छन् । यसका लागि दलले पात्र हैन पद्घति फेर्ने कुरामा लाग्नुपर्छ ।
परिवर्तनहरूले शासक बनाउने वा शासक बनेकाहरूका लागि मात्र अपेक्षित कार्यसम्पादन गरे । पुराना वा नयाँ रूपमा जन्मिएका शासकहरूको जीवन र जगत् परिवर्तन भयो तर दुनियाँ संलग्न शासित वर्गमा सरकारको तर्फबाट गरिनुपर्ने अपेक्षित कार्य भने पूरा भएनन् । निमुखा र सामान्य नागरिकको नजरमा सरकार कहिल्यै नियमित कार्यसम्पादन गर्नेभन्दा माथि उठेन । जनताको दिनचर्या र जीवनस्तरसँग सम्बन्धित अपेक्षित कार्य गर्न सफल भएन । नागरिकहरू अझ कमजोर, असुरक्षित र त्रसित बन्दै रहनुप¥यो । चीनले पछिल्लो २० वर्षमा ६६० मिलियन (६६ करोड) मानिसलाई गरिबीको रेखाबाट माथि उचालेको तथ्याङ्क बाहिरिएको छ । कतार, कुवेत, संयुक्त अरब इमिरेट्स (दुबई) जस्ता देशको विकासलाई मानवनिर्मित स्वर्गको संज्ञा दिइन्छ । कारण त्यहाँ जो÷जहिलेसुकै सत्तामा आए पनि देशको विकास एउटैमात्र पहिलो मन्त्र बनाएको देखिन्छ तर हाम्रो राजनीति चाहिँ पदको लफडाबाजीमा मात्र प्रयोग हुँदैछ र भइरहेछ ।
अहिलेसमेत ओलीको बहिर्गमनका लागि रोदन व्यक्त गर्दै गर्दा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका आकाङ्क्षी भनिएका अन्य कोहीसँग देशहित र नागरिक भलाइमा यसरी काम गर्नेछु भन्ने योजना छैन । अबको पाँच, १० वा १५ वर्षमा देशको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक परिवर्तन कुन गति र आयतनमा हुन्छ भन्ने आँकलन छैन । विरोधी नेता वा उहाँहरूको वादसँग के योजना छन् जसले ‘किसानको आय प्रतिव्यक्ति ५० हजार डलर होस् ? व्यापार नाफा होस्, साक्षरता सय होस्, औसत आयु ८० बनोस्, कर्मचारी नागरिकका सहयोगी बनुन् । शिक्षा, स्वास्थ्य सुलभ, सहज र गुणस्तरीय हुन् । रोजगारी तथा विकास निर्माणले गति लिओस् । नयाँ उद्योग खुलुन्, सबैमा देशपे्रम जागोस् । नेपाल न्यून भ्रष्टाचार हुने पाँच वा दश प्रथममा पर्न सकोस्’ । न त यस्तो सोच छ न त शक्ति । योजना, क्षमता र इच्छाशक्तिका हिसाबले ओलीको विरोध गर्ने अहिलेका अधिकांश नेता परीक्षण र असफल भएका पात्र हुनुहुन्छ ।
प्रशस्त आर्थिक विकास अनि अपेक्षित काम गर्नसके नागरिकमा सरकारप्रति स्वतः सम्मान र आदर निर्माण हुन्छ । राजनीतिक र प्रशासनिक गतिविधिले मात्र सरकारको सफलता र देशको प्रगति सम्भव रहँदैन । देश र नागरिकप्रति उत्तरदायी हुने सरकारहरूले ‘सरभाइभल फङ्सन’बाट माथि उठी ‘एक्सपेक्टेड फङ्सन’ गर्नुपर्छ । नेतृत्वसँगै नियत, व्यवस्थासँगै अवस्था अनि सत्तासँगै सोच बदलिए मात्र सरकार परिवर्तनको सार्थकता रहन्छ । शिक्षा, स्वास्थ्य, रोजगारी, पँुजी पलायन वा प्रवद्र्धन, सामाजिक सुरक्षा, आन्तरिक–सामाजिक मानव सद्भाव, सहायता, शान्तिसुरक्षा अनि अमनचैन, सडक, सञ्चार, विद्युत् र विकास जस्ता आवश्यक पक्षमा सघन सकारात्मक सुधार ल्याउनुपर्छ । भोकमरी, महामारी, बेथिति, सामाजिक अपराध, मानवीय विचलनलाई पूर्ण उन्मूलन गर्नुपर्छ । तत्कालीन आवश्यकता र दीर्घकालीन विकासका छुट्टाछुट्टै आयोजनाहरू रफ्तारमा सञ्चालन हुनुपर्छ । भाषणमा हैन, व्यवहारमा नै सिङ्गापुर र स्वीटजरल्याण्ड बनाउने ल्याकत देखाउनुपर्छ, तर अहिले पनि सरकार परिवर्तनका शृङ्खलाहरूमा नागरिक हित अनि समर्पणभन्दा सत्ता र शक्तिको लोलुपता नै बढी देखिन्छ । कसैलाई हटाएर आउन चाहनेहरू पनि देश बनाउन हैन, आफू बन्न आउँदैछन् । जनताका लागि लड्न नभई, जनता लडाउन उद्यत छन् ।
सरकार फेर्दैमा देश किमार्थ बनिहाल्दैन । परिवर्तन चाहे दलहरूले प्रत्येक वर्ष नयाँ सरकार हैन, नागरिकप्रति पूर्ण समर्पित राजनीतिक संस्कार निर्माण गर्नुपर्छ । २०÷३० वर्ष देशलाई बलियो स्थिरता दिनुपर्छ । विज्ञ तथा सरोकारवालाको घनीभूत छलफलबाट योजना बनाएर देशको आर्थिक, सामाजिक÷नैतिक, मनोवैज्ञानिक तथा भौतिक विकासमा विशाल फड्को मार्नुपर्छ । सुस्पष्ट कार्ययोजनासाथ काम गर्नुपर्छ । अब पात्र हैन, पद्घति फेर्दामात्र देशमा प्रगति हुन्छ । नेकपाले यस्तो ल्याकत र तयारी देखाउनुपर्छ कि उसले सरकार हैन, संस्कार फेर्न चाहन्छ, पात्र हैन, पद्घति बदल्न चाहन्छ । नत्र यो लडाइँ अरूलाई रमिता र नेकपा स्वयंलाई विनाशको बाटोबाहेक केही प्रमाणित हँुदैन ।
(लेखक प्राध्यापन गर्नुहुन्छ ।)