logo
२०८२ असार १० मंगलवार



विज्ञानको कसीमा जनैपूर्णिमा

विचार/दृष्टिकोण |




विष्णुप्रसाद पोखरेल

श्रावण शुक्ल पक्ष, श्रावण महिना, श्रवण नक्षत्रले युक्त श्रावणी, जनैपूर्णिमा । श्रावण शुक्ल पञ्चमी, हस्ता नक्षत्रले युक्त वा अयुक्त तिथिमा विधिपूर्वक गरिने स्नानलाई श्रावणीस्नान भनिन्छ । वर्षा ऋतुसँग सम्बद्ध पूर्णिमाका दिन ऋषिहरूको आराधना गरिने हुनाले यो पर्वलाई ऋषितर्पणी पनि भनिन्छ । पुरुषहरूले जानअन्जानमा वर्षभरि गरेका कृत्याकृत्यको प्रायश्चित्त, क्षमापूजा वा आत्मपूजा हो जनैपूर्णिमा । श्रावण शुक्ल चतुर्दशीका दिन चोखोनीतिका साथ मुण्डन गर्दै एक छाक खाई पूर्णिमाका दिन गुरु, शिष्य लगायतका अन्य व्यक्तिहरू सामूहिक रुपमा नदी, पोखरी, तलाउ, कुवा वा इनार आदि पवित्र जलाशयमा गई माटो, गोबर, भस्मका साथ कुश, दतिवन, बास्नादार फूल, दूबो प्रयोग गर्दै स्नान गर्दछन् । स्वास्थ्यविज्ञानका आधारमा उक्त स्नानमा आध्यात्मिकताका साथ निरोगिता र वैज्ञानिकता पाइन्छ । सामूहिक सहभागितामा तीर्थ प्रार्थनासहित विधिपूर्वक स्नान गरिने हुनाले श्रावणीस्नान भन्ने गरिन्छ । वैदिक कालदेखि नै व्यवहृत हुँदै आएको यो पर्व आफैँमा अनुशीलन र श्लाघनीय छ । यो पर्व विधिसम्मत तरिकाले अगाडि बढाउन यी विषयहरूलाई व्यवहारमा उतार्नुपर्ने हुन्छ ।

मुण्डन र क्षौरकर्म
शिखाको संरक्षणका साथ मुण्डन गर्दै नङ् काटी पवित्र भएर आध्यात्मिक कार्य सम्पादन गरिन्छ । मुण्डनले शिरोभागलाई फोहोर हुन नदिई लावण्य र स्वच्छता प्रदान गर्दै मस्तिष्कसहित सहस्रधारचक्र र टाउकोको कुरकुरे हड्डीको संरक्षण गर्ने रोमाधिपति शिखा र टुप्पीको संरक्षण र अन्य केश खौरिनुपर्ने अनिवार्यता यो विधिमा अपरिहार्य मानिन्छ ।

एकछाकी वा हविष्यान्न
चतुर्दशीका चोखोनीतिका साथ एकछाक बसी सात्विक भोजन गर्ने प्रचलन छ । सात्विक भोजन त्यसमा पनि सूर्य नअस्ताउँदै खाने र भोजनको प्रभावले सत्वभाव उत्पन्नका साथ कर्मेन्द्रिय र जनेन्द्रियहरूलाई नियन्त्रण गर्दै कर्मप्रतिको समर्पणभाव उत्पन्न गर्नका लागि हविष्यान्न ग्रहण गर्नु यसको महŒवपूर्ण पक्ष छ ।

मृत्तिकालेपन
पञ्चतत्व अन्तर्गत पर्ने पृथ्वी, अनेक गुणले युक्त माटो, सबै सृष्टिको कारक मृत्तिका शरीरमा लेपन गर्नाले सबै प्रकारका रोग र शोक नाश गरी आरोग्यता प्रदान गर्ने भएकाले माटोको प्रयोग गरी पृथ्वीलाई सम्मान प्रकट गर्ने काम गरिनुका साथै प्राकृतिक उपचारका रुपमा यो विधि अपनाइन्छ ।

गोमयलेपन
वर्षाऋतुमा पृथ्वी सस्यश्यामला हुने भएकाले पृथ्वीको गर्भमा रहेका औषधिहरू उम्रने, फुल्ने र फक्रिने भएको र गाईहरूले चरनका क्रममा यिनै औषधिहरू खाने र यिनीहरूबाट निःसृत दूध, दही, घिउ, गोबर र गहुँतलाई अमृतको संज्ञा दिइएको छ ।

भस्मलेपन
संसारका यावत् भौतिक पदार्थ जे जति छन् ती सबै अग्निका माध्यमबाट भस्मीभूत हुँदै ब्रह्माण्डमा लीन हुने भएको र अग्नि तेज र भस्मको एकाङ्कीभाव सम्बन्ध हुन्छ । जीवनपर्यन्त शारीरिक ऊर्जालाई कायम राख्दै अन्त्यमा शरीर शून्यतामा विलीन हुन पुग्छ, त्यसको सार नै भस्मलेपन हो ।
हाम्रा ऋषिमुनि तथा पूर्वजहरूले चाडपर्व मनाउने र यसमा प्रयोग हुने सामग्रीहरूको सोधखोज लामो समयदेखिको अनुसन्धान र साधनाका माध्यमबाट विधिविज्ञानको विकास गरेका हुन् । यहाँ प्रयोग गरिएका सामग्रीहरूको उपादेयता कहाँसम्म र कति छ भन्ने विषय आयुर्वेद र यो क्षेत्रमा लागेका अनुसन्धाताले प्रष्ट पारेका छन् । स्वास्थ्यविज्ञानसँग सम्बन्धित यो पर्व विशेष पर्वका रुपमा स्थापित छ ।
प्रातःकालीन स्नानपछि गुरु शिष्यसहित समाजमा रहेका व्यक्तिहरूको सामूहिक सहभागितामा यज्ञोपवीत तथा रक्षाबन्धनको विधिपूर्वक वैदिक तथा पौराणिक मन्त्रहरूद्वारा पूजाआजा गरिन्छ । कपासलाई काँचो धागोमा परिणत गरी धागोबाट बनाइने जनैको त्यान्द्रोलाई किन यति धेरै प्राथमिकता दिइन्छ भन्ने प्रश्न उठाइनु स्वभाविक हो तर यसलाई भौतिकताका दृष्टिले हेर्दा यसको महत्ता सोचेजस्तो कमजोर छैन । धार्मिक तथा वैज्ञानिक महत्ताका साथ हेर्ने हो भने यसको गरिमा र महिमा विशाल छ ।
समाजमा रहेका सबै तह र तप्काका हिन्दु धर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने अनुयायीलाई रक्षासूत्रले हातमा बाँधी सबैमा एकरुपता र समभाव कायम गरी एकै सूत्रमा बाँध्ने पवित्र पर्व हो– जनैपूर्णिमा । यज्ञोपवीतलाई किन यति महत्ता दिइन्छ ? यस सम्बन्धमा हाम्रो प्राच्यविधाले धार्मिक र वैज्ञानिक आधारमा कसरी वर्णन गरेका छन् भन्ने विषय बुझ्न जरुरी छ । अग्निका उपासक होताहरूले यज्ञपुरुषका रुपमा भगवान् विष्णुलाई लिएका छन् भने त्यही यज्ञबाट संस्कार गरिएको उपवीत सूत्र विशेषलाई यज्ञोपवीत जनै भनिएको हो ।
हातका चार औँलाको मूल भागमा दुई डोराले युक्त ९६ फन्का छयानब्बे नामको उच्चारण गर्नुपर्दछ । उक्त धागोलाई पुनः तीन डोरामा परिणत गरी बाट्नुपर्ने हुन्छ । यसरी बाटिएको धागोलाई तेब्बर पारी बाट्दा नौ डोराको हुन पुग्छ । यी नौ डोरामा ॐकारादि गरिएका नौवटा देवताको आह्वानपूर्वक पञ्चशिखामा ब्रह्मादि गरिएका देवतालाई न्यास गरिन्छ भने तीनसुते धागोमा ब्रह्मा, विष्णु र शिवको पूजन गर्नुपर्दछ । जनैको लम्बाइ बायाँ काँधदेखि नाभि र नाइटो हुँदै कम्मरसम्मको हुनुपर्दछ । लामोमा कम्मरभन्दा तल र छोटोमा नाभिभन्दा माथि हुनुहुँदैन । प्रातःकालीन समयमा यी माथिका प्रक्रियालाई आत्मसात् गर्दै निर्माण गरिएको जनै शुद्ध र परिष्कृत हुन पुग्छ ।

(लेखक नेपाल वेदविद्याश्रम गौशाला, काठमाडौँमा आबद्ध हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?