सन्तोष गौतम
राजनीतिक संस्कारले राजनीतिको चारित्रिक, प्रवृत्तिगत र मनोवैज्ञानिक आयामलाई प्रतिविम्बित गर्दछ । एक अर्थमा यो व्यक्ति, समाज र राष्ट्रको राजनीतिक अस्तित्वको परिचायक पनि हो । यसअन्तर्गत कुनै समाजको वा देशको राज्यव्यवस्था र सरकारको कार्यपद्धतिबारेको मूल्यमान्यता, धारणा, बिश्वास र व्यबहार समेत पर्दछन् । राजनीतिशास्त्री बेनेटका अनुसार राजनीतिक संस्कार भनेको चश्माको शिशाजस्तै हो । हामीले चश्मा लगाएर संसार हेर्दा शिशालाई देख्दैनौं तर तिनीहरूद्वारा नै संसार देख्छौं । अर्को शब्दमा राजनीतिक संस्कारलाई त्यस्तो अवधारणागत र व्यावहारिक म्याट्रिक्सको रूपमा लिने गरिन्छ जसको जगमा राजनीतिक व्यवस्था अडिएको हुन्छ । यो राजनीतिक व्यवस्थाका विशेषताहरू, आममूल्य, भावना, धारणा र व्यवहारको समष्टि हो जसले नागरिकलाई सरकार वा व्यवस्थासँग जोड्ने काम गर्दछ । असल संस्कारले विधि र व्यवस्थाको सबलीकरण गर्दछ भने खराब संस्कारले व्यवस्थालाई कमजोर बनाउने र यसलाई जालझेलको खेलमा परिणत गर्ने काम गर्दछ ।
हाल विरोधको बजार अत्यन्तै सस्तो बनिरहेको छ । यहाँ नीति र नियतको विरोधभन्दा नियतवश गरिने विरोध व्यापक छ । थिति र विधि बिराउँदा, संयम र नियमका पर्खाल नाघ्दा, आचार र संस्कार भ्रष्ट हुँदा, सामाजिक आवश्यकता र नीतिगत व्यवस्था बिर्संदा सुधारको उद्देश्यले गरिने विरोध उपयुक्त हुन्छ । जनताको जीवनमा तात्विक परिवर्तन ल्याउन, लापरवाही, मनपरीतन्त्र, अनुशासनहीनता, भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, अकर्मण्यता, पक्षपातजस्ता खराब प्रवृत्तिविरुद्ध विविध स्वरूप, तह र स्तरबाट गरिने विविध शैलीको प्रहार नै सार्वजनिक विरोध हो । सकारात्मक उद्देश्य राखेर गरिने विरोधले उत्साहजनक नतिजा दिन सक्छ तर सङ्कीर्ण स्वार्थ पूरा गर्नका लागि गरिने विरोधले विकासमा नकारात्मक प्रभाव पारी व्यक्ति समाज र देशलाई दिग्भ्रमित पार्छ ।
व्यक्ति, परिवार र समाजलाई सही मार्गनिर्देश गर्न, गलत कार्य र प्रवृत्ति तथा विकृति र विसङ्गतिविरुद्धको आवाज भने बुलन्द भइरहनुपर्दछ । पथभ्रष्ट हुँदा समयमै सही मार्गमा फर्काउने काम गर्न सकिएमा त्यसबाट देश र समाजले चुकाउने मूल्य कम गर्न सकिन्छ । यसले सम्बन्धित व्यक्ति र निकायलाई अझ बढी जिम्मेवार र कर्तव्यपरायण बनाउनमा महŒवपूर्ण योगदान दिन सक्छ । अर्थात सोच, विधि, व्यवहार र शैलीमा सुधारका लागि विरोधले महŒवपूर्ण भूमिका निर्वाह गर्न सक्छ । व्यक्ति, संस्था वा निकायबाट नियतवश वा अञ्जानमा अनेक गल्ती हुने सम्भावना हुने गर्दछ । त्यसका लागि उपयुक्त खबरदारीले सचेत बनाउने र सुधार्ने कार्य गर्दछन् । जडसूत्रवादी, निरङ्कुश, भ्रष्ट, कर्तव्यविमुख, उदासीन र अनुत्तरदायी सोच र व्यवहार अनि नीति र क्रियाकलाप परिवर्तन गराउन विभिन्न दबाबमूलक कार्यक्रमको आवश्यकता पर्नु स्वाभाविक हो । यस्ता सार्वजनिक विरोधका कार्यक्रम प्रत्यक्ष रूपमा जनसरोकार र संवेदनशीलतासँग जोडिने हुँदा तिनीहरूको व्यापक जनसमर्थन हुने सम्भावना रहन्छ तर विरोधका लागि विरोध गर्ने र जनतालाई आफ्नो स्वार्थसिद्धिको माध्यममात्र बनाउन चाहने राजनीति स्वयं नै नाङ्गिएर जान्छ किनकि भ्रमको खेती टिकाउ हँुदैन ।
विरोध राजनीतिको एक अवयव र यसलाई जीवन्त राख्ने ऊर्जा हो । सभ्य साङ्केतिक विरोधदेखि उग्र हिंसात्मक आन्दोलनसम्म विरोधका अनेक विधि र स्वरूप देखिन्छन् । राज्य नै तहसनहस बनाउने हत्या, हिंसा र आगजनीसहितको द्वन्द्व होस् वा सभ्य शिष्ट शैलीमा असहमति जनाउने काम होस् त्यसले प्रकट गर्ने त विरोध नै हो तर यसमा विचार गर्नुपर्ने कुरा विरोधको मूल्य र प्राप्ति हो । ठूलो मूल्य चुकाएर गरिने विरोधबाट हुने नगण्य प्राप्तिको के अर्थ ? फगत आफ्नो उपस्थिति देखाउन र पानी धमिल्याउन गरिने विरोधले हाम्रो समाजलाई कता लैजाला ? गोरु पिट्नकै लागि हलो अड्काउने काम गरेको अहिलेको सचेत समाजले नबुझ्ला र ? चर्को आवाजभित्रको मलिन तर्क र त्यसभित्र लुकेको घिनलाग्दो स्वार्थ ढिलोचाँडो बाहिर आउनेमा शङ्का गर्नुपर्ला र ?
हरेक घटना र परिस्थितिलाई आफ्नो राजनीतिक अभीष्ट पूरा गर्ने अवसरका रूपमा लिने प्रवृत्तिले जन्माउने निम्न स्तरको विरोधले एक सामाजिक सङ्क्रमणको रूप धारण गरको छ । आफ्नो दुनो सोझ्याउन अरूको चरित्रहत्या गर्न गिरोह नै बनाएर योजनाबद्ध रूपमा लाग्ने प्रवृत्तिको परिणामस्वरूप देश दीर्घ सङ्क्रमणबाट आक्रान्त बनेको प्रतीत हँुदैछ । यस्तो देखिंदैछ– राजनीति त अरू केही नभएर आफ्नो स्वार्थ पूरा गर्न विरोध र चलखेलका शिल्पी तयार र परिचालित गर्ने धृष्टताको दोस्रो नाम हो । यसको विषाक्त चङ्गुलबाट देशले मुक्ति पाउनैपर्दछ । होइन भने ‘कहिले सासूको पालो त कहिले बुहारीको पालो’ गर्दै विरोध र नकारात्मक द्वन्द्वको दीर्घकालीन भुमरीमा समाज र देश फसिरहने सम्भावना रहन्छ ।
असल संस्कारले नै राजनीतिक व्यवस्थाको सबलीकरण गर्न र यसलाई परिणाममुखी बनाउन सक्छ र संस्कारसहितको राजनीतिले नै जनअपेक्षाहरूको उपयुक्त सम्बोधन गर्न सक्छ । अनि विधि र पद्धतिभित्र रहेर बहुजन हिताय बहुजन सुखायको भावले गरिने विरोधले कुनै पनि व्यवस्थालाई गतिशील र परिणाममुखी बनाउनमा निश्चय नै योगदान दिन सक्छन् तर विधि, थिति र नीतिलाई कुल्चिएर गरिने राजनीति र त्यस्तै निकृष्ट राजनीतिक अभीष्ट पूरा गर्न गरिने विरोधले व्यक्ति, समाज र देशको रूपान्तरण गर्न सक्दैन । चर्को र अतिवादी विरोधका पछाडि क्षणिक रूपमा भीड देखिए पनि जनमतको दिगोपन विचारको दिशा, ओझ, तौल र प्रभावकारितामा निर्भर गर्दछ ।
तसर्थ कुनै पनि कुराको विरोध गर्नुपूर्व विरोधको मूल्य र प्राप्ति अनि त्यसले प्रतिविम्बित गर्ने आफ्नै चरित्रबारे ध्यान दिनु आवश्यक छ । अन्यथा हिलो छ्यापाछ्यापमा नै हाम्रो ऊर्जा र समय खर्च हुनगई सामाजिक रूपान्तरणको अभियान गतिहीन र दिशाहीन बन्नपुग्छ । त्यसैले संस्कारसहितको राजनीति नै आजको आवश्यकता हो ।
(लेखक त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्दै हुनुहुन्छ ।)