logo
२०८२ असार १० मंगलवार



सामाजिक मिडिया अमृत वा विष

विचार/दृष्टिकोण |




शरदचन्द्र पौडेल

सन् २०१० को जुनमा इजिप्टका गोनिमले जब फेसबुकमा अलेजेन्डेरियामा प्रहरीद्वारा यातना दिई मारिएका २९ वर्षीय खालिद सैयदको फोटो देखेर हामी “सबै खलिद सयद हौँ” भन्ने फेसबुक पेज सिर्जना गरे तब तीन दिनमै लाखौँ मानिसले यस्तै चासो शेयर गरे र होस्नी मुबारकको शासनविरुद्ध विकेन्द्रित अभियान सुरु भयो । प्रहरीले ११ दिन गोनिमलाई नजरबन्दमा राखेर छोडेको तीन दिनमै फेसबुकमार्फत एकत्रित भएका लाखौँ प्रदर्शनकारीले मुबारकको ३० वर्ष लामो सत्तालाई घुँडा टेकाए । फेसबुकले सत्ता परिवर्तन गराउन सहयोग ग¥यो ।
सन् २०१५ पेरिसमा आतङ्कवादी आक्रमण भयो । द्वितीय विश्वयुद्धपछिको सबैभन्दा ठूलो आक्रमणमा १३० जनाको मुत्यु भयो । आई.एस.आईले गरेको दाबी गरेको यो घटनामा परिचालित आत्मघाती सामाजिक मिडियामार्फत भर्ना गरेर प्रशिक्षित गरिएको र आक्रमण पनि यसैबाट समन्वय गरेर सञ्चालन गरिएको थियो । सामाजिक मिडिया विध्वंसको माध्यम बन्यो ।
यस सन्दर्भमा सामाजिक मिडिया के हो ? फाइदा बेफाइदा के के छन् ? र कसरी हानि कम गरेर लाभ बढाउन सकिन्छ ? भन्ने विषयको छलफल समीचीन हुनेदेखि प्रस्तुत गरिएको छ ।
सामाजिक मिडिया इन्टरनेटमा आधारित सञ्चारको एउटा विद्युतीय उपकरण हो । यसको माध्यमबाट तुरुन्तै विषयवस्तु सिर्जना गरेर सबैसँग शेयर गर्न सकिन्छ । यसका लागि कम्युटरमा आधारित अन्तरक्रियात्मक प्रविधिको उपयोग र यसैले सहजीकरण गरिन्छ । यस्तो सूचना, विचार, वृत्तिको चासो वा अरू कुनै प्रकारका अभिव्यक्तिको सिर्जना र शेयर भर्चुुअल समुदाय वा अन्य सामाजिक सञ्जालमार्फत गरिन्छ । यसमा विभिन्न प्रकारका वेबसाइटदेखि एप्सहरू समावेश भएका हुन्छन् ।
आजभोलि थुपै किसिमका सामाजिक मिडिया प्रचलनमा छन् । सोच, विचार वा अन्य चिजमा आफ्नो इच्छा र चासो मिल्ने अरू प्रयोगकर्तासँग जोड्न र आदानप्रदान गर्न विशिष्टीकृत फेसबुक वा ट्वीटर जस्ता सामाजिक सञ्जाल छन् । फोटो र भिडियो वितरण गर्न विशिष्टीकृत युट्युब, इन्स्टाग्राम जस्ता मिडिया सञ्जाल छन् । गहन छलफल गर्न सहयोग गर्ने रेन्डिट जस्तालाई छलफल सञ्जाल छन् । उत्पादन र सेवाको मूल्याङ्कन समावेश गर्ने ट्रिप एडभाइजर र येल्प जस्ता रिभ्यु सञ्जाल हुन् । व्यवसाय गर्नेका लागि व्यवसाय र सामाजिक मिडिया छन् ।
सन् १९९० बाट सुरु भएको इन्टरनेटको बितेको दुई दशकमा भएको विकास, विस्तार र बढेको गतिले उपयोगमा असाध्यै धेरै विविधता आएको छ । यही क्रममा इन्टरनेटमार्फत सूचना प्रवाह गर्ने कार्यमा पछिल्लो समयमा अभूतपूर्व वृद्धि भएको छ । सन् २००० मा सुरु भएको स्मार्ट फोनको विकासले फड्को मार्दै जाँदा र मानिसको पहँुच वृद्धि हुँदा सूचना प्रवाहमा इन्टरनेटको प्रयोग घातीय गतिमा भएको छ । सन् २००७ मा विकास भएको एप्स उपकरणले यसको दायरा सीमाविहीन बनाएको छ । यसबाट सामाजिक मिडियाको बजारमा असीमित विकास भएको छ । आज डेस्कटप, ल्यापटपभन्दा स्मार्टफोन सामाजिक मिडियाका लागि बढी प्रयोग भइरहेका छन् ।
सामाजिक मिडिया नियमित मिडियाभन्दा नितान्त भिन्न छ । पछिल्ला वर्गका पत्रपत्रिका, टेलिभिजन, रेडियो आदिले एकतर्फी सूचना पस्कन्छन् । उपभोक्ता ग्रहणकर्ता मात्र बन्दछन् । सामाजिक मिडियामा संवाद दुईतर्फी हुन्छ, उत्पादक र प्रयोगकर्ता दुवैले तत्कालै संवाद वा अन्तरक्रिया गर्न सक्छन् । नियमित मिडियामा विषयवस्तुको सिर्जना पेशेवर समुदायले गरेको हुन्छ भने यसमा प्रयोगकर्ता सबै नै सर्जक हुन्छन् । सामाजिक मिडियाको गति नियमितको भन्दा अत्यन्तै तीव्र हुन्छ । अर्को महŒवपूर्ण फरक त यसको विषयवस्तु एकदम विस्तृत र सेन्सरविहीन हुन्छ । केही सीमितता भए पनि नियमित मिडियाको तुलनामा एकदम न्यून हुन्छ ।
नेपाल टेलिकमका अनुसार नेपालमा मोबाइल फोनको सङ्ख्या तीन करोड ८० लाख (२०१८) छ । सन् २०२० सम्म नेपालमा स्मार्टफोन फोन गर्नेको सङ्ख्या ६० प्रतिशत पुग्ने अनुमान छ । अर्थात् स्मार्टफोन दुई करोडभन्दा बढी हुनेछ । विस्तार भइरहेको स्मार्टफोनको बजार, इन्टरनेट सेवाप्रदायक र प्रयोगकर्ताको विस्तार र डेटा प्रयोगको सुविधाले गर्दा स्मार्टफोन प्रयोग गर्ने सबै नै सामाजिक मिडियामा संलग्न छन् । सरसर्ती हेर्दा पनि सबै उमेर समूह साना बच्चादेखि वृद्धवृद्धाले दैनिक समयको धेरै हिस्सा सामाजिक मिडियामा बिताएको पाइन्छ । यो प्रवृत्ति दिनदिनै बढ्दै गएको पनि देखिन्छ । यसको प्रयोग गर्न आवश्यक सीप र खर्च पनि नगण्य छ । इन्टरनेटमा पहुँच भएका जो केहीले सामाजिक मिडियाको एकाउन्ट लिन सक्छन् र यो एकाउन्टमार्फत आफूलाई मन लागेका विषय छानेर आफ्नो प्रोफाइल वा पेज भिजिट गर्ने जो कोहीसँग एकैपटक शेयर गर्न सक्छन् ।
सामाजिक मिडियाका थुप्रै फाइदा टिपोट गर्न सकिन्छ । यसले व्यक्ति व्यक्तिबीचको प्रत्यक्ष अन्तरक्रियालाई सम्भव बनाई सम्बन्ध सुदृढ गर्न मद्दत गर्दछ । सञ्चारलाई एकदम छिटो बनाइदिन्छ । प्रत्यक्ष देखिँदा करुणा र सहानुभूति सिर्जना गर्दछ । अभियानमा संलग्न हुन सजिलो पारेर राजनीतिक वा सामाजिक परिवर्तनको संवाहक बन्छ । एक्लिएका ज्येष्ठ नागरिकको एकाकीपन हटाउन मद्दत गर्दछ । सङ्कटका बेला जनस्वास्थ्य र सुरक्षाका सूचना छिटो र प्रभावकारी रूपमा प्रवाह गर्न सहयोग गर्दछ । सामाजिक विसङ्गति हटाएर चिन्ता र डिपे्रसन कम गर्न मद्दत गर्दछ । शैक्षिक अनुसन्धान र व्यक्तित्व विकासमा सघाउँछ । समान चासो र सरोकार भएकाको हित अभिवृद्धि गर्दछ । काम खोज्न वा उपयुक्त व्यक्ति खोज्न मद्दत गर्दछ । क्षमता देखाउने र प्रेरणा बन्ने अवसर दिन्छ । स्वस्थ जीवन बाँच्न मद्दत गर्दछ । रमाउने ठाउँ दिन्छ ।
अधिकांश आविष्कारमा निरपेक्ष फाइदाको मात्र कुनै चिज हुँदैन । यसका पनि बेफाइदा यसप्रकार औँल्याउन सकिन्छ । यसमा एकपटक राखेको चिज मेटाउन सकिँदैन, गल्ती भइहाले पनि सच्याउन सकिँदैन । कतिपय अवस्थामा सेना, पत्रकार वा अभियन्ताहरूको काममा सङ्कट उत्पन्न गर्नसक्छ । अत्यधिक प्रयोगले व्यक्तित्व वा दिमागमा खराबी उत्पन्न गर्नसक्छ । विद्यार्थीको पढाइ बिग्रिन्छ । सामाजिक सम्बन्ध बिगारेर र केटाकेटीमा चिन्ता, डर वा डिप्रेसन बढाउँदै आत्महत्यासम्म पु¥याउन सक्छ । अत्यधिक प्रयोगले समय बर्बाद हुन्छ । काम छुट्छ वा पछि पर्दछ । आफ्नो निर्णयलाई शङ्का गर्नुपर्ने बनाउँछ । उत्पादकत्व घट्छ । अपराधीले अपराध गर्न वा बढाउन उपयोग गर्छन् । व्यक्तिगत गोप्यता अतिक्रमणमा पर्दछ । यौनजन्य सन्देश वा फोटो वा तबिस्र शेयर गर्दा प्रतिशोध वा कानुनी कारबाहीको अवस्था आउन सक्छ । लत बन्न सक्छ । अरुले के के न गरिसके मैले केही गर्न सकिनँ भनेर डर थपिदिन्छ । सूचनाको डङ्गुरमा पुरिइन्छ । हिंसा बढाउँछ । तौल बढ्ने र अरू स्वास्थसम्बन्धी समस्या देखा पर्दछ । लतले परिवारबाट अलग अलग बनाइदिन्छ ।
हामीले सामाजिक मिडियाको प्रयोग कसरी गर्छौं भन्ने कुराले फाइदा वा बेफाइदाको परिमाण निर्धारण गर्दछ । फाइदा लाभदायक हुन्छ भने बेफाइदा हानिकारक । इन्टरनेटले सूचना अभाव मेटाएको छ तर राम्रो सूचनाको छनोट चुनौती बनेको छ । यसमा परिपक्वभन्दा पहिलो र स्मार्ट हुन छिटो सूचना दिइन्छ । सन्देश वा सूचना तथ्य र विवेकमा भन्दा भावनात्मक बढी हुन्छन् । फेरि प्रतिक्रियात्मक सन्देशमा विवेकभन्दा आवेगको अंश बढी हुन्छ । शब्दको सीमितताले झट्ट निष्कर्ष निकालिएको हुन्छ । यसर्थ सूचना, सन्देश वा सामग्रीलाई शङ्का गर्दै ग्रहण गर्नुपर्दछ । अपुष्टलाई आधिकारिक मान्नु जोखिमयुक्त हुन्छ ।
स्वअनुशासन गाह्रो विषय हो । फेरि सबैको दृष्टिकोण पनि समान हुँदैन । विचार वा सूचना प्रवाह गर्दा जिम्मेवारीपूर्वक र अरूको भावनामा चोट नपुग्ने हुनुपर्दछ । चर्चित हुनकै लागि तोडमरोड गर्ने र अरूलाई हानि वा क्षति पु¥याउने प्रवृत्ति त झन् घातक हुन्छ । अरूलाई होच्याएर आफू जाती हुन खोज्ने प्रवृत्ति ठीक हँुदैन । यसको अम्मली बनेर समय बर्बाद गर्नहुँदैन ।
केटाकेटीमा पढाइमा ध्यान नजाने र असामाजिक प्रवृत्ति बढ्दा सफलताका ढोका बन्द हुन सक्छन् । उनीहरू संलग्न नभएको उत्तम नभए पनि सीमित र निगरानीसहितको संलग्नता मात्र उचित हुन्छ । यसमा धेरै समय खर्चिनेमा गर्व गर्नुहँुदैन । बढी सक्रिय वा स्मार्ट देखाउन बढी व्यक्तिगत सूचना प्रवेश गराउँदा शत्रु आमन्त्रण गर्ने र नियन्त्रणको साँचो अरूलाई सुम्पने हुन्छ । यो व्यक्तिगत विकास र प्रगतिको अवरोधक हुन्छ । यसलाई मनोरञ्जनभन्दा अध्ययन अनुसन्धानमा लगाउँदा ज्ञान र सीपको खाडल कम गरेर प्रतिस्पर्धी बन्न सकिन्छ, सक्षमता प्रस्फुटन गर्न सकिन्छ भने सहयोग र शेयरको असीमित अवसर उपयोग गर्दै व्यक्तिगत र व्यावसायिक विकास गर्न सकिन्छ ।
सामाजिक मिडियाबाट राजहंसले जस्तै दूध लिएर पानी छोड्न सक्नुपर्दछ । यसले सिर्जना गरेको अवसरलाई राम्रोका लागि उपयोग गरौँ न कि खराबी हासिल गर्न । छानेर र अड्कलेर प्रयोग गरी लाभान्वित बनौँ, जीवन समृृद्ध बनाऔँ । यसलाई व्यक्तित्व र विकासको हतियार बनाऔँ, खराबीको सञ्चारको साधन नबनौँ ।

(लेखक नेपाल सरकारका पूर्वसचिव हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?