आधुनिक अर्थशास्त्रमा बीमाले ठूलो महŒव राख्छ । बीमा मूलतः आर्थिक जोखिम हस्तान्तरण वा कम गर्ने उपाय हो । मानिस स्वयं र उसले सञ्चालन गरेका उद्यम सधैँ जोखिममा रहन्छन् । व्यवसायका सन्दर्भमा ‘नो रिस्क नो प्रोफिट’ अर्थात् जोखिम बिना नाफा सम्भव छैन भनिन्छ । जीवन, ठूलाठूला लगानी, सम्पत्ति, मेसिनरी आदिको जोखिम लिएर कुनै पनि व्यवसाय सम्भव नहुने भएकाले व्यवसाय सुरक्षण र मानवको जीवनका आर्थिक जोखिम हस्तान्तरण गर्न बीमा गर्ने प्रचलन बढ्दो छ ।
पछिल्लो समय बीमा बजारमा नयाँ अभ्यास, प्रयोग र सिद्धान्त प्रतिपादन भएका छन् । त्यसकारण बीमाका सुविधा, क्षेत्र तथा प्रतिफल र लगानीमा विविधीकरण भएको छ । आम सर्वसाधारणको ठूलो हिस्सालाई बीमा दायरामा ल्याउन सक्दा सरकारलाई पर्ने आर्थिक दायित्व हस्तान्तरण गर्न सकिन्छ । पछिल्ला समय जीवन र निर्जीवन बीमाभित्र स्वास्थ्य, कृषि, प्राकृतिक विपद् जोखिम न्यूनीकरणजस्ता बीमा लोकप्रिय हुँदैछन् । नेपालमा बीमा बजार अपेक्षाकृत बढेको छैन । नेपाल सरकारको लगानीमा २०२४ सालमा राष्ट्रिय बीमा संस्थान स्थापना भई सोही वर्षको फागुन ११ देखि निर्जीवन बीमा व्यवसाय सुरु गरेकाले बीमा व्यवसायको इतिहास खासै लामो छैन । २०२५ सालको राष्ट्रिय बीमा संस्थान ऐनअनुसार सञ्चालित राष्ट्रिय बीमा संस्थानले जीवन र निर्जीवन बीमा गर्दै आएकोमा जीवन र निर्जीवन बीमा एउटै संस्थाले सञ्चालन गर्न नपाउने २०४९ को व्यवस्थाअनुसार सरकारले राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभागलाई अलग संस्थाबाट सञ्चालन गर्ने निर्णय गरे अनुसार २०७१ जेठ २८ मा स्थापित कम्पनीले सोही वर्षको साउन १८ बाट निर्जीवन बीमा गर्दै आएको छ । हाल नेपालमा करिब दुई दर्जन जति बीमा कम्पनी (जीवन, निर्जीवन) क्रियाशील छन् । यसरी नै बीमितको सङ्ख्या पनि बढ्दो छ । वर्तमान सरकारले क्रमशः सबै नेपालीलाई बीमाको दायरामा ल्याउने कार्यक्रम ल्याएको छ ।
राष्ट्रिय बीमा कम्पनीले विभिन्न प्रदेश सरकारसँगको सहकार्यमा प्राकृतिक विपद् जोखिम न्यूनीकरण बीमा कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीले हालैमात्र कर्णाली प्रदेश सरकारसँगको सहकार्यमा त्यहाँका १७ लाख ७० हजार बासिन्दाको बीमा गरेको छ । सो बीमाअनुसार कर्णाली क्षेत्रमा बसोबास गर्दै आएका बासिन्दा कुनै पनि प्राकृतिक प्रकोपका कारण निधन भएमा जनही दुई लाख रुपियाँसम्मको बीमा प्रदान गरिनेछ । बाढी, पहिरो, आगलागी, भूकम्प, आँधीबेरी, चट्याङजस्ता प्रकोपबाट हुने मानवीय क्षतिमा यस्तो बीमा लाभप्रद हुनेछ ।
गत चैत १ गतेदेखि सुरु भएको कर्णालीवासीको बीमा कार्यक्रमबाट तीनवटा घटनाको बीमा दाबी भुक्तानी भइसकेको छ । हालैको वर्षा र विपद्का कारण मृत्यु भएकाको यथार्थ विवरण आधिकारिक निकायबाट प्राप्त भएपछि थप दाबीको पनि भुक्तानी गरिने कम्पनीले जनाएको छ । भुक्तानी सरलताले बीमा गर्न आउने नागरिकको सङ्ख्या बढ्नेछ जसबाट बीमा व्यवसाय सफलमात्र हुनेछैन सबै नागरिकलाई आर्थिक जोखिमबाट केही हदसम्म सुरक्षण प्रदान गर्न सकिनेछ तर नेपालमा बीमा दाबी प्रक्रिया सहज छैन । यसैगरी भुक्तानी सुरक्षणमा पनि बीमितलाई विश्वस्त बनाउन अझ धेरै पहल गर्नुपर्ने आवश्यकता छ । बीमा अभियान, सुविधाको विविधीकरण, करमा छुटजस्ता प्याकेज दिएर बीमालाई थप विस्तार गर्न सकिनेछ ।
कर्णाली प्रदेशबाट सुरु गरिएको विपद् जोखिम न्यूनीकरण बीमा मुलुकभर सञ्चालन गर्न सकिनेछ । अन्य प्रदेशका सरकारसँगको सहकार्यमा त्यहाँको भौगोलिक तथा हावापानीका आधारमा जोखिम पहिचान गरी यस्तो बीमा कार्यक्रम सञ्चालन गर्न सकिनेछ । बीमाले सरकारको समृद्धिको अभियानलाई मात्र सहयोग गर्नेछैन सामाजिक र आर्थिक स्वावलम्बनमा पनि योगदान दिनेछ । जीवन बीमाका अतिरिक्त स्वास्थ्य, कृषि, शिक्षा, सम्पत्ति, सामूहिक तथा अल्पकालीन, विकासका कार्यक्रमलाई बीमा अभियानमा जोड्न सकिए सरकारलाई क्रमशः सामाजिक सुरक्षाको दायित्व कम हुनेछ । कम्पनीहरूबीच बीमाका सन्दर्भमा विभिन्न योजना, स्किम तथा प्रलोभन देखाइने अस्वस्थ प्रतिस्पर्धा बढेको छ, जसबाट बीमितहरूलाई पूर्व घोषित प्रतिबद्धताअनुसार रकम भुक्तानी नगरिएका गुनासा छन् भने बनावटी दुर्घटना र दाबी गर्ने प्रवृत्ति पनि समस्याका रूपमा छन् । यस्ता समस्या र सम्भावनाबीच बीमालाई अझ धेरै जनस्तरमा पु¥याउनुपर्ने आवश्यकता छ ।