logo
२०८२ असार १० मंगलवार



तयारी गरौँ तर हतार नगरौँ

विचार/दृष्टिकोण |




प्रेमनारायण भुसाल

विद्यालय बन्द भएको चार महिना पूरा भइसकेको छ । चैत ११ गतेबाट बन्दाबन्दी सुरु भएको थियो । नेपाल सरकारले वैकल्पिक शिक्षण विधिहरू सञ्चालन गर्नका लागि निर्देशिका जारी गरिसकेपछि असार १ गतेबाट केही निजी विद्यालयले अनलाइन कक्षा पनि सुरू गरे । सहरी क्षेत्रका र सुविधासम्पन्न सीमित विद्यार्थीले अनलाइन कक्षामार्फत आंशिक रूपमै भए पनि पठनपाठन क्रियाकलापलाई अगाडि बढाए । शिक्षा मन्त्रालयको निर्देशनमा सुविधासम्पन्न र सुविधाविहीन सबैलाई समेट्नेगरी चार समूहमा विद्यार्थीलाई वर्गीकरण गरिएको थियो । बन्दाबन्दीको समयमा सबै वर्गका विद्यार्थीलाई कुनै न कुनै रूपमा सहयोग पुगोस् भन्ने उद्देश्यले स्थानीय निकायको संयोजनमा रेडियो, टेलिभिजन र अनलाइनका माध्यमबाट पठनपाठनमा सहजीकरण पनि गरियो । विदेशबाट नेपाल भित्रनेको सङ्ख्यामा कमी आउन थालेपछि र क्वारेन्टिनमा बसेकाहरूको सङ्ख्या घट्दै गएपछि भर्खरमात्र बन्दाबन्दी हटाई जनजीवनलाई सामान्यीकरण गर्ने प्रयास गरिएको छ भने सरकारले विद्यालय कहिलेबाट खुल्ने भन्ने निधो गर्न सकेको अवस्था छैन ।
पछिल्लो समयमा खुला सिमाना रहेको छिमेकी मुलुक भारत कोरोनाको ‘हटस्पट’ बनिरहेको छ भने नेपालमा सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गएको देखिन्छ । अनन्तकालसम्म बन्दाबन्दीलाई लम्बाउन नसकिने भएकाले सुरक्षित किसिमले बजार तथा यातायात सञ्चालन गर्ने निर्णय नेपाल सरकारले गरिसकेको छ । विद्यालय खोल्ने काम जोखिमपूर्ण हुन सक्ने भएकाले विद्यालय पुनः सञ्चालन कार्यविधि निर्माणमा मन्त्रालयले विभिन्न क्षेत्रका विज्ञहरूसँग परामर्श गरिरहेको छ । सुरक्षाका उपायहरू पहिचान गरी सावधानीपूर्वक नियमित र दैनिक क्रियाकलाप सञ्चालन गर्नैपर्छ । यस कुरामा कुनै विमति नभए पनि बल्दो बत्तीमा पुतलीले हामफालेजस्तै जानीजानी जोखिमसँग पौँठेजोरी खोज्ने काम भने कहीँ कतैबाट हुनुहुँदैन ।
विद्यालय बन्द भएको लामो समय भइसके पनि वर्तमान परिपे्रक्ष्यमा तुरुन्तै विद्यालय खोल्न सक्ने वातावरण निर्माण भएको छैन र पनि अबका दिनमा विद्यालय कसरी खोल्ने भन्ने विषयमा गहन छलफल गरी सुरक्षा उपायहरू अवलम्बन गर्दै आवश्यक योजना गर्नुपर्ने बेला भने भएको छ । यसो भन्नुको तात्पर्य सङ्क्रमणलाई बेवास्ता गरेर यस्तै अवस्थामा विद्यालय खोलौँ भन्नेचाहिँ होइन । तनहँु, कपिलवस्तु, झापा, गुल्मीलगायतका स्थानमा सरकारी आदेशको अवज्ञा गरी चलाइएका विद्यालय पनि जोखिमको वृद्धिसँगै बन्द गरिएका छन् । यस अवस्थामा विद्यार्थीलाई दुई÷चार दिनमात्र भए पनि विद्यालयमा ल्याउन पाए भर्ना तथा मासिक शुल्क उठाउन बाटो खुल्ने ध्येयका साथ विद्यालय चाँडो खोल्न हतारिने समूह पनि देखिएको छ ।
क्षणिक स्वार्थका लागि बालबालिकालाई जोखिममा पारेर व्यापार गर्ने दूषित मनसाय राख्नेलाई त निरुत्साहित गर्नैपर्छ । यसैले तुरुन्तै विद्यालय खोलिहाल्ने त होइन तर शिक्षकहरू निदाएर बस्ने अवस्था पनि नभएकाले अवस्था सामान्य हुनासाथ विद्यालय सञ्चालन गर्नका लागि आवश्यक तयारी गर्न भने ढिलाइ गर्न हुँदैन । सार्वजनिक विद्यालयका शिक्षकहरूलाई नेपाल सरकारले साउनको दोस्रो हप्तासम्म विद्यालयमा पुग्नुपर्ने निर्देशन जारी गरिसकेको अवस्थामा विद्यार्थी भर्ना र नियमित प्रशासनिक कार्यहरूसमेत सञ्चालन गर्न भदौ १ गतेको मिति तोकिइसकेको छ । यस शैक्षिक वर्षका तीन महिनाभन्दा बढी समय शिक्षण क्रियाकलापविनै बितिसकेकाले महामारीपछिको शिक्षा कस्तो हुने तथा पाठ्यक्रमको उद्देश्य कसरी पूर्ति गर्ने भन्ने विषयमा छलफल गरी शिक्षकले विद्यार्थीको सिकाइमा क्षति नपुग्नेगरी शिक्षण मोडालिटी बनाउनु आवश्यक हुन्छ । कुनै न कुनै तरिकाले विद्यार्थी र शिक्षकका बीचमा सम्बन्ध र सम्पर्क कायम गर्नका लागि हरेक स्थानीय तह तथा विद्यालयले निम्न विषयमा तयारी गर्नु
आवश्यक छ ।

मानसिक तयारी
मानव इतिहासमै पहिलोपटक चार महिनाको पट्यारलाग्दो बन्दाबन्दीमा घरभित्रै निसासिएर बसेका शिक्षक विद्यार्थीलाई सामान्य अवस्थामा फर्कनका लागि केही समय अवश्य लाग्छ ।
लामो समयसम्म विद्यार्थी घरमा बस्दा उनीहरूका आनीबानी र व्यवहारमा परिवर्तन आएको हुन्छ । अभिभावकको आम्दानीमा बन्दाबन्दीका कारण आएको गिरावट र यसैका कारण घरमा सिर्जना भएको असमझदारीका प्रत्यक्षदर्शी र केही हदसम्म दुव्र्यवहारको सिकारसमेत धेरै बालबालिका बनेका हुन सक्छन् । उनीहरूले विद्यालय खुल्दा विद्यालय जान रूचि नदेखाउने तथा अभिभावकले पनि घरेलु काममा संलग्न गराउने उद्देश्यले विद्यालय पठाउने कामलाई महŒव नदिन सक्छन् । अन्तर्राष्ट्रियस्तरमा गरिएको अध्ययनअनुसार महामारीका कारणले संसारभरिका करिब एक करोड विद्यार्थीले विद्यालय छोड्ने र बालविवाहका घटनामा वृद्धि हुने निष्कर्ष आएको छ । उक्त प्रक्षेपणले नेपालजस्तो गरिबीका चपेटामा रहेका देशका विद्यार्थीले विद्यालय छोड्ने सम्भावनालाई टड्कारो रूपमा देखाएको छ । यसैले अबको लगभग एक महिना विद्यार्थीलाई पढाइप्रति रुचि जगाउने, साथीभाइ र शिक्षकहरूसँग सम्पर्क गराउने, उनीहरूमा रहेको त्रास र एन्जाइटी निराकरण गर्ने काममा उपयोग गर्नुपर्छ । विद्यार्थीलाई सहज अवस्थामा अवतरण गराउनका लागि विद्यालयका शिक्षक र स्थानीय जनप्रतिनिधिको भूमिका महŒवपूर्ण हुन्छ ।
क्वारेन्टिनका रूपमा प्रयोग भएका विद्यालय खाली गरी अब सुरक्षित छन् भन्ने विश्वासिलो वातावरण सिर्जना गर्नुपर्छ । प्राथमिक मनोवैज्ञानिक उपचार र सङ्कटका अवस्थामा पाठ्यक्रमको पुनःसंरचना गर्ने किसिमका तालिम प्रदान गर्नुपर्छ । यसैले विद्यालय खोल्ने कामको पूर्वसर्तका रूपमा विद्यार्थी र शिक्षकलाई मानसिक रूपमा तयार गर्ने कामलाई महŒव दिनुपर्छ ।

भौतिक तयारी
विद्यालय खोल्नुभन्दा अगाडि विद्यार्थीलाई आवश्यक पर्ने पाठ्यपुस्तक सहज रूपमा उपलब्ध गराउने वातावरण मिलाउनुपर्छ । विद्यालय पूर्ण सुरक्षित छ भन्ने कुरालाई प्रत्याभूत गर्नका लागि विद्यालयको सरसफाइ र निर्मलीकरणको काम सम्पन्न गर्नुपर्छ । पर्याप्त मात्रामा स्यानिटाइजर, साबुनपानी र मास्ककोे व्यवस्था विद्यालयमा उपलब्ध गराउनुपर्छ । भौतिक दूरी कायम गरेर विद्यार्थीलाई पठनपाठन क्रियाकलापमा संलग्न गराउनका लागि आवश्यक योजना तथा त्यसका लागि पूर्वाधारको व्यवस्थापन विद्यालय खोल्नुभन्दा अगावै गर्नुपर्छ ।
निजी विद्यालयका हकमा उपर्युक्त व्यवस्थाका अतिरिक्त शिक्षक कर्मचारीका आधारभूत आवश्यकता पूरा गर्नका लागि पारिश्रमिक उपलब्ध गराउनुपर्छ । अन्यथा आर्थिक, पारिवारिक र वैयक्तिक समस्याले ग्रस्त भएका शिक्षकको शिक्षण सिकाइ क्रियाकलापमा रचनात्मकभन्दा उनीहरू स्वयम्को तनाव र निराशा पोखिने
सम्भावना रहन्छ ।

शैक्षिक तयारी
यस शैक्षिक वर्षको लगभग आधाआधी समय विद्यार्थी विद्यालयबाहिर रहने अवस्था देखिन्छ । विद्यालय खोल्नासाथ सबै विद्यालयमा सम्पूर्ण विद्यार्थी एकैपटक उपस्थित हुने वातावरण मिलाउनसमेत कठिनाइ हुने भएकाले आलोपालो विधिबाट आंशिक रूपमा मात्र विद्यार्थीलाई पठनपाठन गराउने प्रबन्ध गर्नुपर्छ । महामारी सामान्य अवस्थामा फर्कियो भनी विद्यालय सञ्चालन गरेका इटालीलगायतका धेरै देशले पुनः विद्यालय बन्द गरेका समाचार सार्वजनिक भएका छन् । सार्वजनिक यातायात, बजार र विद्यालय खोल्दा हाम्रोमा पनि सङ्क्रमण पुनः बढ्न सक्ने शङ्का जनस्वास्थ्यविद्हरूले गर्न थालेका छन् । यस कुरालाई ध्यान दिएर आगामी दिनमा सङ्क्रमणको अवस्था हेरी जुनसुकै समयमा विद्यालय बन्द गर्नका लागि समेत पूर्वतयारी गरी कार्यक्रम तय गर्नुपर्छ । सरकारले विद्यार्थी भर्ना र परीक्षालगायतका कामहरूका लागि भदौ १ गतेबाट मात्र विद्यालय खुला गर्नु तथा शिक्षकलाई साउनको दोस्रो हप्तासम्ममा विद्यालयमा उपस्थित हुनका लागि निर्देशन दिनुको तात्पर्य पठनपाठन कसरी सुरू गर्ने र के–कसरी पढाउने भन्ने विषयमा शिक्षकले शैक्षिक योजना तयार गरून् भन्ने हो ।
विद्यालय सञ्चालन गर्ने खास मिति नतोकिएको भए पनि साउन महिनाभरिको अवस्थालाई हेरेर स्थानीय तहको सिफारिसमा विद्यालय बिस्तारै खोल्ने योजनामा सरकार देखिन्छ । सरकारले पनि आगामी दिनमा पठनपाठन गरिने विषय र पाठ्यक्रमको पुनःसंरचनाका कार्यलाई तीव्रता दिनुपर्छ । भारतीय केन्द्रीय शिक्षा बोर्डले सीबीएसईको पाठ्यक्रम २० प्रतिशत घटाउने निर्णय गरिसकेको छ । यसैले केही समयपछि वा दसैँ–तिहारपछि शिक्षक–शिक्षिकाले विद्यालय खुल्नासाथ छुटेका सबै कुरा पढाएर सिध्याउने उद्देश्यले रफ्तारमा ‘कोर्स’ बढाउने काम गर्नुहुँदैन । यस असामान्य परिस्थितिमा २२० दिन विद्यालय लगाउनुपर्ने र १८० दिन नियमित पढाइ भएकै हुनुपर्ने भन्ने व्यवस्थामा परिवर्तन गरी सरकारले सामयिक र व्यावहारिक निर्णय लिन आवश्यक छ । कक्षाकोठामा विषयवस्तुको पठनपाठनभन्दा अवधारणा निर्माण गर्ने किसिमको विधि आत्मसात् गरी शिक्षण गर्नु उपयुक्त हुन्छ । यस सन्दर्भमा पाठ्यपुस्तक साध्य नभई, साधनमात्र हो भन्ने कुरालाई मनन गरेर पाठ्यक्रमको उद्देश्यअनुरूप पाठ्यवस्तुको पुनर्योजना गर्नुपर्छ ।
नेपाल सरकारले भदौ १ पछि भर्ना र प्रशासनिक कार्य सञ्चालन गर्ने भनी निर्देशन दिँदा महामारीको प्रभाव नपरेको क्षेत्र र उच्च हिमाली भू–भागको शैक्षिक परिपाटीलाई ध्यान दिन सकेको देखिँदैन । उच्च हिमाली क्षेत्रमा फागुनबाट नयाँ सत्र सुरू भई मङ्सिरमा सत्र पूरा हुन्छ । यी क्षेत्रका विद्यालयमा विद्यार्थीको सङ्ख्या धेरै नहुने भएकाले भौतिक दूरी कायम गर्नसमेत सजिलो हुन्छ । यसैले प्रदेश र स्थानीय निकायसँगको सहकार्यमा यी क्षेत्रका विद्यालयहरू तुरून्तै सञ्चालन नगरिए शैक्षिक सत्र नै खेर जाने सम्भावना बढ्छ । प्रदेशहरूले आ–आफ्नै किसिमले कार्यक्रम तयार गर्नुभन्दा केन्द्र सरकारले यी विषयलाई समेत समेटेर एकीकृत निर्देशिका जारी गरेमा कार्यान्वयनका लागि सहज वातावारण सिर्जना
हुन सक्छ ।
कम्तीमा साउन र भदौ महिनाभरमा आफ्ना विद्यार्थीको अवस्थाबारे जानकारी लिई विद्यार्थीसँग सम्पर्क कायम गर्ने, उनीहरूलाई पाठ्यपुस्तक उपलब्ध गराउने तथा विद्यालयमा ल्याउनका लागि मानसिक रूपमा तयार पार्ने काममा शिक्षक लाग्नुपर्छ । विद्यार्थीलाई विद्यालयप्रति आकर्षित गर्नका लागि अभिभावक तथा स्थानीय निकायले आ–आफ्नो क्षेत्रबाट विद्यालयलाई सघाउनुपर्छ । भदौ १ गतेबाट भर्ना तथा प्रशासनिक कार्य सञ्चालन गर्ने हो भनी साउन महिनाका सबै दिनहरू त्यत्तिकै खेर फाल्नुहुँदैन । यथासम्भव छिटो विद्यालय सञ्चालनका लागि शिक्षक तथा विद्यालयले शिक्षक विद्यार्थीको मानसिक, भौतिक र शैक्षिक तयारीका कामलाई योजनाबद्ध र द्रुत रूपमा अगाडि बढाउनुपर्छ । अहिले विद्यालय खोल्नका लागि पूर्वतयारी गरौँ तर हतारमा खोलेर महामारीको जोखिम नबढाऔँ ।
(लेखक मनोवैज्ञानिक परामर्शदाता हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?