कोभिड–१९ (कोरोना) सङ्क्रमणका कारण गत सन् २०२० भर नकारात्मक असर देखिएको नेपालको पर्यटन व्यवसायमा यस वर्ष सुधार हुने उच्च सम्भावना देखिएको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी यस अवधिमा २० लाख पर्यटक भिœयाउने लक्ष्यसाथ काम गरेको भए पनि कोरोना सङ्क्रमणले त्यसो हुन सम्भव भएन । बाह्य तथा आन्तरिक उडान, स्थल यातायातलगायत सार्वजनिक गतिविधि बन्दाबन्दी (लकडाउन) गर्नुपरेको अवस्थामा पर्यटन तथा समग्र आर्थिक क्षेत्र प्रभावित हुनु स्वाभाविकै थियो । यति हुँदाहुँदै पनि परिस्थिति सामना गर्न अपनाएका अल्पकालीन तथा दीर्घकालीन उपायका कारण यस वर्ष नेपालको पर्यटन पुरानै लयमा फर्कने सम्भावना देखिएको हो । नेपालको पर्वतारोहणमा मुख्य मौसम मानिने वसन्त यामका लागि उत्साहजनक रूपमा बुकिङ (नाम दर्ता गराउनेक्रम) चलिरहेको पाइएको छ । अहिलेसम्म वसन्त याममा सगरमाथा आरोहणका लागि तीन सय आरोहीले नाम दर्ता गरिसक्नुलाई उत्साहजनक भन्नुपर्छ । नेपालले पर्यटन व्यवसायमा लगानी वृद्धि गर्दै आएकाले पनि पर्यटन आगमन बढेसँगै पर्यटन व्यवसायले उद्योगको हैसियत लिन सक्ने सम्भावना देखिएको छ । पछिल्लो समयमा ठूला तारे होटलदेखि लज, रिसोर्ट, घरवास (होमस्टे) पर्यटनमा लगानी र गतिविधि बढाइएको छ । सन् २०२० भित्र नेपालमा स्टार होटलका चार हजारभन्दा बढी कक्ष (रुम) थपिएका छन् । पर्यापर्यटनमा आकर्षण बढ्दो छ भने पर्यटनका नयाँ–नयाँ सम्भावना पहिल्याई लगानी गरिएको छ, जसले नेपालको पर्यटनलाई उकास्न सहयोग गरेका छन् ।
यसैबीच, नेपाल सरकार तथा पर्यटन व्यवसायीले पर्यटकलाई प्रदान गरिने सुविधा तथा आतिथ्यमा विशेष मापदण्ड अपनाउने भएका छन् । सरकारले मौलिक खाना प्रचार–प्रसारका लागि चार र पाँचतारे होटलमा नेपाली खानाको छुट्टै स्टल राख्नुपर्ने व्यवस्था गरेको छ । होटल, लज, रेष्टुराँ, बार तथा पथप्रदर्शक नियमावली–२०३८ मा समसामयिक परिमार्जन गर्दै सरकारले एकतारेदेखि पाँचतारे डिलक्स स्तरसम्मका होटल र पर्यटक आवास (रिसोर्ट)का सम्बन्धमा यस्तो व्यवस्था गरेको छ । यसैगरी, पर्यटकलाई उपलब्ध गराउनुपर्नेे विभिन्न भौतिक तथा प्राविधिक सुविधा, सुरक्षा, मनोरञ्जन, भवन तथा कोठाको गुणस्तर, खानाका गुणस्तर, आतिथ्यका तौरतरिकाबारे पनि सरकारले मापदण्ड बनाएको छ, जसलाई पर्यटन व्यवसायीले सकारात्मक भन्दै सहयोग गर्ने भएका छन् । यस्तो सहकार्यले नेपालको पर्यटनको विकासमा उल्लेख्य योगदान दिनेछ । एक अध्ययनअनुसार ३० देखि ३५ प्रतिशत पर्यटकले विभिन्न देशका मौलिक खानाको स्वाद लिनकै लागि ती देशको भ्रमण गर्ने गरेको पाइएको छ । कतिपयले यस्ता खानाबारे अध्ययन, अनुसन्धान र लेख लेखनी गरेका पनि पाइन्छ । कतिपय खानाले विश्वमै विशेष पहिचान बनाएका छन् । इटालियन, इन्डियन, चाइनिज, कोरियन खानाले कुनै देशको खानाभन्दा पनि विश्वकै परिकार बन्ने अवसर पाएका छन् ।
नेपालका करिब दुई दर्जनजति मौलिक खानाको अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न सकिने जानकारले बताएका छन् । खानाको मात्र प्रवद्र्धन नभएर आहारविहारको मौलिक नेपाली परम्परा पनि प्रचार गर्न सकिने छ । ‘भोजनान्ते विषम् प्रदम’ भनेर खानाको तत्कालपछि खाइने पानीलाई ‘विष’ भन्ने नेपाली मान्यतामा रहेको वैज्ञानिक पक्षको प्रचार गरेर नेपालले खाना र त्यसको तरिकाबारे जानकारी दिन सक्छ । यस्तै ‘अभूतो बदरी पथ्यम्ः भूतो पथ्यम् च कर्कटी’ भन्नुको वैज्ञानिक कारण खोजी तथा प्रचार गर्न सक्छ । नेपाली खानामात्र होइन, यहाँका हरेक सागपात खाने चलन र त्यसको समय छ । निगुरो, सिप्लीकान, लुँडेको साग, कर्कलो वा बेथेका सागमा पाइने पोषण तŒवबारे उनीहरूलाई आयुर्वेदीय जानकारी दिन सकिनेछ । स्वदेशी खानाको प्रचार–प्रसारका लागि विभिन्न देशले विशेष मेला, कार्यक्रम तथा अनौपचारिक तरिका अपनाउने गरेका छन् । सन् १९६० मा भारतले भारतीय हवाई सेवामा मौलिक खाना राखेर गरेको प्रचारले भारतीय खानाको प्रवद्र्धनमा सहयोग पुगेको त्यहाँका जानकारले बताएका छन् । नेपालले पनि अन्तर्राष्ट्रिय समुदायमा नेपाली मौलिक खानाको प्रवद्र्धनबाट बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्न सक्ने सम्भावनाबारे विभिन्न कोणबाट खोजी तथा अनुसन्धान गर्दै निष्कर्ष अवलम्बन गर्न सक्छ, जसबाट व्यवसायसँगै संस्कृतिको विस्तार पनि होस् ।