बहुप्रतिक्षित मेलम्ची खोलाको पानी काठमाडौँ ल्याइएसँगै कथाजस्तो लाग्ने कल्पना साकार भएको छ । करिब २७ किलोमिटर सुरुङ मार्ग हुँदै सिन्धुपाल्चोकको मेलम्ची खोला सुन्दरीजलमा मिसिएको छ । यो सफलतासँगै उता मेलम्ची निस्प्रयोजन बग्ने, यता काठमाडौँ तिर्खाउने समयको कठोर कथा व्यथाको अन्त्य हुने भएको छ । काठमाडौँका धारामा देखिने रित्ता भाँडाका लस्करलाई विम्ब र प्रतीक बनाएर कतिपय सर्जकले कविता सिर्जना गरेका छन् । धेरैले धेरै बोलेका छन्, लेखेका छन् । काठमाडौँको तिर्खा समाचार र विचार बनेका छन् । त्यसो त मेलम्चीको पानी तथा काठमाडौँको तिर्खालाई सुखद संयोगमा परिणत गर्न सकिन्छ र गर्नुपर्छ भन्नुहुने सन्त नेता पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र उहाँका विचारमाथि निर्मम ठट्टा भएका थिए, हँसिमजाक भए तर मेलम्ची खोलाको पानी सुरुङ हुँदै २०७७ फागुन २२ मा सुन्दरीजल ल्याइएपछि नेपालले गरेको एउटा दीर्घ प्रतिज्ञा र प्रतीक्षा पूरा हुँदैछ । दूरद्रष्टाले देखेका सबै सम्भाव्य कल्पना, सपना हँसिमजाकमा उडाइनु अनुचित छ भन्ने पनि पुष्टि भएको छ ।
सुन्दरीजलमा मेलम्चीलाई गरिएको स्वागत विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्यासको धैर्य अब लामो नहुने विचार व्यक्त गर्नुभयो । उहाँले सुन्दरीजलमा मेलम्चीजल मिसाउनु भएको छ अर्थात् सिन्धुपाल्चोक र काठमाडौँबीच जलको साइनोलाई औपचारिकता दिनुभएको छ । तिर्खा र पानीबीच समन्वय गर्नुभएको छ । नेपालीमा एउटा उखान प्रचलित छ– १२ वर्षमा खोला फर्कन्छ । भिन्न सन्दर्भमा सही, निर्माण थालिएको १२ वर्षपछि विभिन्न व्यवधान, अनिश्चय र अनिष्ट पार गर्दै सुरुङबाट ल्याइएको मेलम्चीको पानी सुन्दरीजल ट्याङ्कीमा भरिएको छ । बागमतीमा मिसिएको छ । गत असारमा सुरुङ परीक्षणका क्रममा पानी भर्दा (होल्ड गर्दा) हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट ९ नं १७० फुटेकाले काठमाडौँमा पानी ल्याउने समय केही लम्बिएको थियो । त्यसपछि पुनर्निर्माण, निरीक्षण र परीक्षणपछि सुरुङमा पानी भर्न उपयुक्त देखिएसँगै मेलम्चीले औपचारिक रूपमा काठमाडौँ प्रवेश पाएको छ । गत फागुन १० गते मेलम्चीको मुहानदेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङमा पानी थुनेर (होल्डिङ) गरिएको परीक्षणको सफलतापछि सम्बद्ध पक्षमा उत्साह र उपभोक्तामा आशा जागेको छ । काठमाडौँमा पाइप विस्तारको अधिकांश कार्य सम्पन्न भइसकेको बताइएको अवस्थामा उपत्यकावासीले मेलम्चीको पानी उपभोग गर्न नयाँ वर्ष २०७८ सम्म पनि कुर्नु नपर्ने अवस्था छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेर सुरुङमा पानी परीक्षण गरेपछि उपत्यकामा पानी ल्याइएकाले अब काठमाडौँमा गरिने पानी वितरण कार्यमा मुख्य ध्यान दिनुपर्ने हुन्छ ।
कुनै जमाना पानीलाई सम्पत्तिका रूपमा स्वीकार गरिदैनथ्यो । पछिल्ला शताब्दीमा पानी ठूलो सम्पत्ति बन्दैछ । यसको छुट्टै अर्थशास्त्र र राजनीतिशास्त्र स्थापित हुँदैछ । कूटनीति बन्दैछ पानी । यस परिवेशमा पानीको सदुपयोग गर्नु भनेको पानी उत्पत्ति गर्नुजस्तै हो । मेलम्चीको पानी काठमाडौँमा प्रयोग गरिएपछि सीधै नाली वा ढलबाट उपत्यका बाहिरिने अवस्था आउनु हुँदैन । काठमाडौँवासीको मात्र होइन, काठमाडौँको प्यास पनि यसले मेटाउनुपर्छ । यसले आँतको मात्र होइन माटोको पनि तिर्खा मेट्नुपर्छ । काठमाडौँ उपत्यकाको घट्दो भौगर्भिक पानीको सतह सन्तुलन गर्न उपत्यकाका धारामा कुनै दिन ‘पानी बिदा’ (वाटर होलिडे) गरेर जमिनमा पानी भरण (इन्जेक्ट) गर्नुपर्ने अवधारणाको प्राविधिक पक्षमा अध्ययन अनुसन्धान गर्नु आवश्यक छ । अर्कोतिर मेलम्चीको मुख्य बाँधको तल्लो तटीय क्षेत्रको पानी–आवश्यकतालाई पनि ध्यान दिनुपर्छ । मेलम्चीको फाँट, त्यहाँका जलचर र मान्छेले पनि आवश्यक मात्रामा पानी पाउनुपर्छ । यसका लागि काठमाडौँमा पानीको वितरणमा सामाजिक न्याय तथा शुल्कमा विश्वसनीयता कायम हुनुपर्छ । ‘चुहावट’ नेपालको सर्वक्षेत्रीय समस्या भएकाले यता पनि ध्यान दिनुपर्छ । साथै, काठमाडौँका पनि उपभोक्ता अनावश्यक एक लोटा पानी फाल्दा मेलम्चीको एक आँत र जमिन तिर्खाउन सक्छ भन्नेमा संवेदनशील हुनुपर्छ । एङ्लो–अमेरिकी चर्चित कवि वाइस्टन ह्यु ओडेन (१९०७–१९७३) ले पानीको महìव दर्शाउँदै एक सन्दर्भमा भन्नुभएको ‘प्रेमबिना लाखौँ बाँचेका छन् तर पानीबिना कोही पनि’ वाक्यप्रति पानीका सरोकारी सचेत हुनुपर्छ ।