logo
२०८१ माघ ११ शुक्रवार



मिर्गौलाको सुरक्षा (सम्पादकीय)

विचार/दृष्टिकोण |




प्राणी तथा वनस्पतिमा कुनै पनि रोग सानो कारणले सुरु हुन सक्छ र भयानक बन्ने गर्छ । मानिसलाई लाग्ने कतिपय रोगको पूर्वसङ्केत पाइन्छ । कतिपयलाई व्यक्तिगत आहार–विहार, जीवनशैलीले निर्मूल वा कम गर्न सकिन्छ । कतिपय रोग मानिसको नियन्त्रणमा रहँदैनन् । मानिसले विज्ञान र प्रविधिको यत्रो चमत्कार गर्दा पनि उसलाई लाग्ने रोगलाई पूर्णतः पराजित गर्न सकेको छैन किनकि रोग लाग्नु पनि एउटा प्राकृतिक घटना नै हो । मानिसले यस्ता कतिपय प्राकृतिक घटनालाई नियन्त्रण गर्न सक्दैन, यदि सक्थ्यो भने ऊ अमर बन्न सक्थ्यो । उसलाई प्रकृतिले सबै कुरा दिएको छ तर अमर हुने सामथ्र्य दिएको छैन । र त मानिस अनेकौँ पक्षमा सफल हुँदाहुँदै पनि रोग र मृत्युमा पराजित छ । हुन त विज्ञान वा आध्यात्मिकको स्कुल अफ थट
(चिन्तन)ले पनि जन्म र मृत्युलाई सन्तुलन गर्न प्रकृतिले विशिष्ट बाटो लिएको स्वीकार गर्छ, जसमध्ये रोग पनि एउटा बाटो हो । भारतीय उपमहाद्वीपमा प्रचलित प्राचीन चिकित्सा प्रणाली आयुर्वेदले रोगको उपचारभन्दा स्वस्थ जीवनशैलीलाई महŒव दिन्छ । आयुर्वेदका अनुसार मानव शरीर दोष, धातु, मल र अग्निजस्ता चारवटा मूल तŒवले बनेको छ । प्राचीन समाजमा बाथ, पित्त, कफजस्ता त्रिदोष (रोग) र त्रिफला (हर्रो एक भाग, बर्रो दुई भाग र अमला तीन भागको मिश्रणमा बनाइएको आयुर्वेदिक औषधि)लाई नै स्वस्थ मानव जीवनको आधार मानिन्थ्यो । क्रमशः रोग पनि बढ्दै गए र औषधि पनि बढ्दै गए भन्ने आमविश्वास समाजमा व्याप्त छ । भौतिक तथा चिकित्साविज्ञानमा भएको विकासले पनि नयाँ–नयाँ रोगको पहिचान भएका छन् । विभिन्नमध्ये पछिल्ला दशक नेपालमा मिर्गौला रोगको व्यापक विस्तार भएको तथ्याङ्कले देखाएका छन् ।
मिर्गौला रोग सबै उमेर समूहकालाई हुने गरे पनि सक्रिय उमेर समूहका व्यक्तिमा लाग्ने यस्तो रोगले बहुआयामिक प्रभाव पार्ने गरेको छ । नेपाल सरकारले मिर्गौला रोगीको उपचारमा उल्लेख्य सहयोग गर्दै आएको छ तर विभिन्न कारण मिर्गौलासम्बन्धी समस्या भएका र मिर्गौला फेल हुने बिरामीको दर (सङ्ख्या) नियन्त्रण गर्न सकिएको छैन । नेपालमा बर्सेनि तीन हजार पाँच सयजनाको मिर्गौला खराब हुने गरेको अनुमान गरिएको छ र यो दर बढ्दो छ । उच्च रक्तचाप, खानपानमा लापरबाही, नियमित स्वास्थ्य परीक्षण नगर्ने बानीले मिर्गौलामा जटिल समस्या आउने गरेका छन् । पिसाबमा हुने क्रिटिनाइनको मात्राको नियमित परीक्षण गराउन सक्दामात्रै पनि मिर्गौलाको प्रारम्भिक रोगबारे जानकारी भई होशियारी अपनाउन सकिनेछ तर १५० देखि ५०० रुपियाँमा गर्न सकिने यस्तो परीक्षणमा ध्यान नदिने प्रवृत्तिले महँगोमा उपचार गर्नुपर्ने बाध्यता आउनेमा नागरिकलाई सचेत बनाउन सकिएको छैन ।
सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम देशभर ५० भन्दा बढी जिल्लामा कार्यान्वयन गरिएको छ । सन् २००८ मा पहिलोपटक त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु भएपछि यस्ता धेरै बिरामीले स्वदेशमै उपचार पाएका छन् । हाल वीर अस्पताल, मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुर र ग्रान्डी इन्टरनेसनल अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध छ ।
सेवा विस्तारले बिरामीले सुविधा पाएका छन् तर यो महँगो उपचार विधि भएकाले आमनागरिकका लागि अझै पनि मिर्गौलाको उपचार सहज छैन । कुनै पनि रोगको उपचार वा नागरिकको स्वास्थ्यको सम्पूर्ण जिम्मेवारी निरपेक्ष रूपमा राज्यले लिन सक्दैन । आफूले खाएका खानेकुरा वा अपनाएका जीवनशैलीले मेरो स्वास्थ्यलाई के गर्छ भन्ने हेक्का हरेक नागरिकले राख्नुपर्छ । नेपालका कतिपय कार्यालयले स्वास्थ्य परीक्षण तथा उपचार खर्चबापत वार्षिक निश्चित रकम कर्मचारीलाई उपलब्ध गराउने गरेका छन् तर त्यस्तो रकम अन्यत्रै खर्च गर्ने, त्यतिमात्र होइन त्यस्ता रकम मदिरा, चुरोट र अस्वस्थकर खानामा खर्चने अनि ठूलै रोग लागेपछि सरकारले उपचार गरिदिनुपर्नेजस्तो एकोहोरो रोटी पाक्दैन भन्ने नागरिकलाई सचेत बनाउनैपर्छ । कर्मचारीलाई यसरी सिधै रकम उपलब्ध गराउनुभन्दा वर्षमा एकपटक आधारभूत स्वास्थ्य परीक्षण गर्नैपर्ने र त्यस्तो रकम सरकारले अस्पताललाई उपलब्ध गराउने विधि कार्यान्वयन गरेर नियमित स्वास्थ्य परीक्षणको संस्कृति बसाउन सक्नुपर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?