अव्यवस्थित बसोवास, वन फडानी, अवैज्ञानिक विकास संरचना निर्माणलगायतका कारण नेपालका कतिपय बस्तीमा पानीको ठूलो समस्या हुने गरेको छ । वर्षायाममा जसोतसो व्यवहार चले पनि हिँउदमा राजधानीलगायतका घनाबस्तीमा खानेपानी समस्या आउने गरेको छ । राजधानी उपत्यकामा मेलम्चीको पानी ल्याएपछि समस्याको दीर्घकालीन समाधान हुने विश्वास छ भने अन्य कतिपय सहरमा यस्ता समस्या समाधानका लागि ठूलो लगानी र समय लाग्ने अवस्था छ । पहाडकी रानी भनिने पाल्पाको तानसेन धोइपखाली त के, खानेपानीकै अभावले छटपटिएको छ । तानसेनको माथिल्लो भागमा पानीको ठूलो स्रोत नभएको, तराई वा उपत्यकामा जस्तो जमिनमुनिबाट पानी निकाल्न नमिल्ने तर बजार विस्तार तीव्र गतिमा हुँदै गरेकाले खानेपानी समस्या विकराल बन्यो । उ जमानाको सीमित जनसङ्ख्यालाई पु¥याएको होलाङ्दी धारा कुवाले धानेन । अन्तिम उपायका रूपमा कालीगण्डकी लिफ्टिङ खानेपानी आयोजनाअन्तर्गतको पहिलो चरणको काम सकिएपछि भने तानसेनवासीको तिर्सना मेटिने विश्वास जागेको छ । आयोजनाको पहिलो चरणअन्तर्गत छ वटा स्टेसनमार्फत एकहजार ४४ मिटर उचाइमा रहेको बतासेडाँडाको ट्याङ्कीमा पानी ल्याइएको छ । छ वटा पम्पस्टेसन, पाँच वटा ट्याङ्की निर्माण, पम्प हाउस पाइप विस्तार, विद्युत् विस्तारका काम पनि सकिएकाले यहाँको पानी प्रतीक्षा लामो हुने छैन ।
बस्तीको माथिल्लो भागमा पानीको स्रोत नभएपछि लिफ्ट पानी ल्याउनु नै प्रमुख विकल्प हुनेछ । तर यसरी ल्याइएको पानी महँगो मात्र नभई बिजुली वितरणमा हुने अनियमितता तथा पटकपटक बिग्रने कारण धेरै स्थानमा यस्ता आयोजनाको सफलतामा प्रश्न पनि उठाइएका छन् । यस्ता आयोजनाको प्रभावकारी परिचालन र अधिकतम लाभ लिन उपभोक्ताको विशेष सहभागिता र सक्रियता आवश्यक हुन्छ । सङ्घीय सरकारको ९० र स्थानीयको १० प्रतिशत लगानीमा निर्मित करिब ४० करोडको आयोजनाले ५० हजार जनसङ्ख्याको दैनिक ३५ लाख लिटर पानीको आवश्यकता पूर्ति गर्ने बताइएको छ, जसबाट तानसेनको पानीकहर व्यवस्थापन हुनेछ । तर यसलाई उपभोक्ताहरूले आफ्नो आयोजना सम्झेर मर्मत सम्भार, प्राप्त पानीको सदुपयोगमा विशेष
ध्यान दिनुपर्छ ।
तानसेनको शिक्षा लिएर यस्ता क्षेत्रमा पक्की घर बनाउँदा पानी भण्डारण, आकाशे पानी सङ्कलन गर्न मिल्ने गरी संरचना बनाउन सरकारी संयन्त्र वा सम्बद्ध नागरिकले ध्यान दिनुपर्छ । नेपालजस्तो वर्षा हुने देशमा पानीको समस्या होइन पानी व्यवस्थापनको समस्या छ भन्ने बुझ्नुपर्छ । तीन चार दशकअघि राजधानी उपत्यकामा घरमा पानी ट्याङ्की बनाउने चलन थिएन । अहिले घर बनाउने भन्नेबित्तिकै अन्डरग्राउण्ड (भूमिगत) पानी ट्याङ्की निर्माणको सन्दर्भ जोडिन्छ । उच्च पहाडी बस्तीमा पानी भण्डार गर्ने गरी व्यक्तिगत तथा सार्वजनिक ट्याङ्की निर्माण त्यहाँको पानी समस्या समाधानको भरपर्दो विकल्प हुनेछ । यसका लागि घर तथा संरचना भूकम्प प्रतिरोधी र अन्य प्रकारले जोखिममुक्त हुनुपर्ने आवश्यकता बिर्सन हुँदैन तर प्रत्येक घरमा पानी सङ्कलन गर्नुपर्ने आवश्यकता बिर्सन हुँदैन । वर्षाभरि डाँडाबाट पानी बगेर पहिरो जानु, हिउँदभरि तिनै डाँडा सुक्नुलाई पानीको समस्या भन्न मिल्दैन । यो त पानीको व्यवस्थापन गर्न नसकिएको अवस्था हो ।
सल्यानको दार्मा गाउँपालिकामा निर्मित पँधेरीखोला–मलिक्चा लिफ्टबाट उपभोक्ताले खानेपानी पाएका छन् । डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर ५ र ६ मा पानी पु¥याउन सुर्नया गाड (खोला) को पानी यसरी नै तानिने भएको छ । सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका १०, ११ र १२ मा रहेको पानी समस्या समाधान गर्न लिफ्ट आयोजना सञ्चालनमा ल्याइने तयारी गरिएको छ । यस्तै प्युठानको प्रसिद्ध धार्मिकस्थल स्वर्गद्धारीमा रहेको खानेपानीको समस्या समाधानका लागि माडी नदीको पानी तान्ने तयारी गरिएको छ । अन्य विभिन्न स्थानमा पनि पछिल्ला वर्षदेखि सानो ठूलो लगानीमा खोलाको पानी तान्ने प्रविधि र प्रवृत्ति बढेको छ । यो नै स्थानीय क्षेत्रमा पानी समस्याको समाधान गर्ने तत्कालीन प्रमुख विकल्प हुनसक्छ । तर खोला प्रदूषित गर्नु हुँदैन । उपत्यका वा तराईका कित्ताकित्तामा पम्पसेटबाट पानी तानेर स्रोत नै सुकाउनु हुँदैन । बढ्दो जनसङ्ख्याको आवश्यकताका लागि पानी पु¥याउनुपर्ने चुनौती कालान्तरमा प्रमुख समस्या हुनेमा अहिले नै सचेत भएर त्यसअनुसारका तयारी गर्नुपर्छ । á