logo
२०८१ माघ ११ शुक्रवार



सतर्कता फेरि सतर्कता (सम्पादकीय)

विचार/दृष्टिकोण |




युरोपलगायतका देशमा कोरोना भाइरस (कोभिड–१९) को दोस्रो संस्करणले जनजीवन प्रभावित छ । यसै हप्ताबाट भारतका महाराष्ट्र, मध्यप्रदेश, दिल्ली, गुजरातलगायतका राज्यस्थित विभिन्न सहरमा सङ्क्रमण बढेपछि कतिपय ती क्षेत्रमा लकडाउनसमेत गरिएको छ । भारतमा सङ्क्रमितको सङ्ख्या अस्वाभाविकरूपमा बढेपछि त्यसको दबाब र प्रभाव नेपालमा पर्ने देखिन्छ । लामो खुला सीमा, नागरिक स्तरमा हुने दिनहुँको आउजाउ, सामाजिक अन्तक्र्रियाका कारण भारतमा आउने यस्ता समस्याको प्रभाव नेपालमा पर्ने गर्छ । अवस्थाको मूल्याङ्कन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको जोखिम बढ्न सक्ने भएकाले भीडभाड हुने कुनै पनि किसिमका सभा, सम्मेलन नगर्न आग्रह गरेको छ । केही समययता सङ्क्रमणको घट्दो दर, खोपको प्रयोगजस्ता कारण सर्वसाधारणले विगतको कोरोना कहर बिर्सिएजस्तो देखिन्छ ।
भारतमा कोरोना सङ्क्रमणको दर बढेसँगै नेपाल उच्च जोखिममा पर्ने भएकाले सरकारले तत्कालै प्रभावकारी कदमको तयारी गरेको छ । पछिल्ला दिनमा कोरोनाबाट सुरक्षित रहन सामान्य होसियारी तथा सुरक्षात्मक विधि पनि अपनाइएको देखिँदैन । पहिलो लहरको कोरोना सङ्क्रमणका बेला कुन कुन सर्त र प्रावधान पूरा गरेर सार्वजनिक जीवन सुचारु गरिएको थियो भन्ने हेक्का आम नागरिकले बिर्सिएजस्तो देखिन्छ । सरकारले सार्वजनिक यातायातले पूरा गर्नुपर्ने स्वास्थ्य सुरक्षाका सर्त तोकेर यातायात सञ्चालनको अनुमति दिएको थियो तर त्यस्ता सर्त यात्रु तथा व्यवसायीले कति पालन गरेका छन् भन्ने स्पष्ट चित्र सार्वजनिक बसहरूमा देखिन्छ । यस्तो अवस्थामा आफू र परिवारका सदस्यको स्वास्थ्य सुरक्षाका लागि हरेक व्यक्तिले सुरक्षाका विधि अपनाउनै पर्छ । सरकारको निर्देशन र निर्णयभन्दा पनि आफँै सुरक्षित हुने सामान्य विधिमा नागरिकले ध्यान दिनैपर्छ । देशभर फागुपूर्णिमाजस्ता भीडभाड हुने खालका चाडवाड आउने क्रममा छन् । लामो समय रोकिएका कतिपय भीडभाडजन्य सार्वजनिक कार्य गर्नुपर्ने अवस्था पनि छ । विद्यार्थीको परीक्षाको तयारी छ । कतिपय यस्ता कार्यलाई पूर्णतः रोक्न सम्भव छैन तर अनावश्यक जुलुस, ¥याली, सभा, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड हुने व्यवसाय सञ्चालनमा सरोकारीहरू स्वयम् सचेत हुनपर्छ । हात धुने, मास्कको प्रयोग गर्ने र सामाजिक दूरी कायम गर्नेजस्ता जनस्वास्थ्यका सामान्य मापदण्ड पालनामा नागरिक आफँैले आफूलाई जिम्मेवार बनाउनुपर्छ ।
सरकारले खोप आयात तथा वितरणलाई सक्दो प्रभावकारी बनाएको छ । आफूले उत्पादन गर्न नसकेको अवस्थामा अनुदान, सहयोग वा खरिद नै खोप उपलब्धताको आधार हो । सरकारले यी काम गरिरहेको छ । नेपालको मागबमोजिम निश्चित परिमाणमा खोप दिन्छु भनेको उत्पादक कम्पनीले खोप पठाउन केही समय ढिला गरेको भए पनि सरकारले खोप र स्वास्थ्य सुरक्षाका सामाजिक विधि पालना गराउन उच्च प्राथमिकता दिएको छ । यसैका लागि नेपाल–भारत स्थल सीमा नाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्कलाई पूर्ववत् सक्रिय बनाइने भएको छ । सबै ७७ वटै स्थानीय प्रशासनलाई गृह मन्त्रालयमार्फत पत्र पठाउँदै उच्च सतर्कतामा रहन निर्देशन दिइएको छ । भारतबाट आउने नागरिकलाई लक्षण र सम्भावित जोखिमको आधारमा एन्टिजेन परीक्षण गरी सीमा नाका, स्थानीय तहमा वा होम क्वारेन्टाइनमा राख्ने निर्देशन दिइएको छ । जोखिम बढ्न सक्ने आँकलन गरेर १४ वटै सीमा नाकाका हेल्थ डेस्कलाई थप सक्रिय बनाइने भएको छ । सरकारको प्रयाससँगै कोरोनाको सम्भावित दोस्रो चरणको सङ्क्रमण नियन्त्रण गर्न नागरिक, सरकार तथा सम्बद्ध निकाय समस्याप्रति गम्भीर हुनुपर्छ ।
अहिले नै विगतको जस्तो बन्दाबन्दी (लकडाउन) गर्नुपर्ने स्थिति देखिएको छैन तर अवस्था त्यति सुरक्षित पनि छैन । यस्तो अवस्थामा नागरिक सतर्कताको विशेष महìव रहन्छ । सङ्क्रणको विद्यमान अवस्थाको गम्भीर मूल्याङ्कन गरेर बन्दाबन्दी गर्नेदेखि सार्वजनिक जीवनका गतिविधि सीमित गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले त्यस्तो अवस्था आउन नदिन नागरिकको सचेतनाले विशेष महìव राख्छ । विश्वका सम्पन्न भनिएका देशलाई पनि कोरोना महामारी नियन्त्रण गर्न धेरै कसरत गर्नुपरेको सन्दर्भमा सम्पूर्ण नेपाली स्थानीय उपचार विधि, स्थानीय औषधि तथा स्वास्थ्यसम्बन्धी आधारभूत सुरक्षा अपनाउन उदासिन हुनुहुँदैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?