नेपाल र बङ्गलादेशबीच प्राचीनकालदेखि सौहार्द सम्बन्ध रहँदै आएको छ । सीमा जोडिएका भारत र चीनपछि सबैभन्दा नजिक (करिब ३० किमी दूरी) को छिमेकी मात्र नभएर नेपाल र बङ्गलादेशबीच व्यापार, पारवहन, लगानी, पर्यटनको बलियो सम्बन्ध छ । प्राचीनकालदेखि नै सामाजिक–सांस्कृतिक सम्बन्ध रहेको
नेपाल– बङ्गलादेशबीच समायानुकूल आधुनिक सम्बन्ध प्रगाढ हुँदैछ । विशाल भारतअन्तर्गत ब्रिटिस शासनबाट पाकिस्तान स्वतन्त्र हुँदा (सन् १९४७) पूर्वी पाकिस्तानको रूपमा स्वतन्त्र भएको बङ्गलादेश राष्ट्रपिता सेख मुजिबुर रहमानको नेतृत्वमा २६ मार्च १९७१ देखि स्वतन्त्र राष्ट्रका रूपमा उदाएको हो । नेपालले बङ्गलादेशको स्वतन्त्रता सङ्ग्राममा
नैतिक सहयोग गरेकामा त्यहाँका नेताहरू जानकार हुनुहुन्छ । स्वतन्त्र बङ्गलादेशलाई नेपालले १६ जनवरी १९७२ मा मान्यता दिएको थियो र ढाकामा सन् १९७२ मा राजदूतावास स्थापना ग¥यो । बङ्गलादेशले पनि काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेको छ । सन् १९७८ मा नेपाल–बङ्गलादेशबीच संयुक्त आर्थिक आयोगको स्थापना भयो । आम नेपाली बङ्गलादेशलाई सहिष्णुहरूको देश भनेर चिन्छन् । गार्मेन्ट र उच्च प्राविधिक शिक्षाका लागि नेपाली विद्यार्थीको रोजाइमै पर्छ बङ्गलादेश । राजनीतिक रूपमा पनि नेपाल र बङ्गलादेश दुवै देशले विभिन्न आरोह अवरोहपछि सन् १९९० पछि संसदीय प्रजातान्त्रिक शासन व्यवस्थामार्फत जनताका उर्लिंदा आकाङ्क्षा पूरा गर्दै आएका छन् । पछिल्ला वर्ष बङ्गलादेशले विश्व तथा दक्षिण एसियाको तुलनामा उल्लेख्य
अङ्कसहितको आर्थिक वृद्धिदर हासिल गरेको छ । गत तीन वर्षमा यस्तो दर औसतमा सात प्रतिशतको हाराहारी रहेको छ ।
नेपाल–बङ्गलादेशबीच अति सौहार्द सम्बन्ध रहँदारहँदै पनि लामो समयपछि राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँको भ्रमण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले बङ्गलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा गर्नुभएको दुई दिने भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटघाट, सम्झौता÷समझदारीको कार्यान्वयन र समायानुकूल सम्बन्ध विस्तारमा आगामी दिन दुवै मुलुकले राजनीतिक तथा प्रशासनिक तहबाट निरन्तर पहल गर्नुपर्नेछ ।
नेपाल–बङ्गलादेशबीच सम्पन्न सम्झौता÷समझदारीबाट दुई देशबीचको बहुआयामिक सम्बन्ध थप उचाइमा पु¥याउन आगामी दिनका पहल निर्णायक हुनेछन् ।
राष्ट्रपति भण्डारीले बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु सेख मुजिबुर रहमानको जन्मशताब्दी समारोह तथा बङ्गलादेश स्वतन्त्रताको स्वर्णजयन्ती समारोहलाई सोमबार ढाकामा सम्बोधन गर्दै बङ्गलादेशको स्वतन्त्रता तथा भौगोलिक अखण्डताप्रति नेपालका तर्फबाट सम्मान प्रकट गर्नुभएको छ । नेपाल तथा बङ्गलादेशका उच्चस्तरीय भेटघाट, संवाद र सम्पन्न समझदारीले आगामी दिन यी दुई देशलाई अझ नजिक ल्याउने मात्र नभई क्षेत्रीय शान्ति र समृद्धिमा सहयोग दिन सक्नेछन् । राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा नेपाल र बङ्गलादेशबीच पर्यटन, स्यानिटेसन, सांस्कृतिक आदानप्रदान तथा रेल्वे रुटसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । राष्ट्रपति भण्डारी तथा उहाँका बङ्गलादेशी समकक्षी हमिदको उपस्थितिमा सम्पन्न सम्झौताको कार्यान्वयनले दुवै देशमा विकासका थप सम्भावना खुल्नेछन् । दुवै देशले अबको ध्यान सम्पन्न समझदारीको कार्यान्वयनमा केन्द्रित गर्नुपर्नेछ । पर्यटनमा दुवै देशले मिलेर काम गर्न सक्नेछन् । आर्थिक सम्पन्नता हासिल गर्दै गरेको बङ्गलादेशका पर्यटकले नेपाललाई गन्तव्य बनाउने र लगानीको वातावरण सिर्जना गर्न दुवै देशले विशेष पहल गर्न सक्नेछन् । सांस्कृतिक आदानप्रदान २०२२–२०२५ सम्बन्धी सम्झौताले दुई देशबीचको पर्यटन विकासका नयाँ ढोका खोल्न सहयोग पुग्ने छ । कृषि तथा पशुपन्छीमा प्रयोग हुने विषादी स्यानिटरी र फाइटो–स्यानिटरी विषयक सम्झौताले नेपालको सम्बन्धित क्षेत्र लाभान्वित हुनेछ । यस्तै रोहनपुर–सिंहबाद रेल्वे रुटमा नेपालको पहुँच पु¥याउन सकिए नेपालको कनेक्टिभिटीमा वृद्धि हुनेछ ।
नेपालले बङ्गलादेशका चितगाउँ, मोङ्ला बन्दरगाह र विमानस्थलको गर्ने प्रयोग तथा नेपाल, बङ्गलादेश र भारतको संयुक्त सहकार्यमा नेपालको जलस्रोतको उपयोग गरी जलविद्युत् केन्द्र स्थापना गर्न दुवै देशले विशेष पहल गर्नुपर्नेछ । बङ्गलादेशले नेपालको विद्युत्को खरिदमा मात्र नभएर नेपालमा जलविद्युत् परियोजनामा लगानी गर्न सक्छ भने नेपालले बङ्गलादेशको प्राकृतिक ग्यासको उपयोगमा सहज हुनेगरी पूर्वाधार निर्माण गर्न सक्छ । नेपाल र बङ्गलादेश मानव संशाधन, इतिहास, सभ्यता र संस्कृतिमा दुवै देश धनी रहेकाले आपसी सम्बन्धलाई यिनै आधारशिलाबाट बलियो बनाउन सकिनेछ ।