पछिल्लो समय नेपालले विकास र समृद्धिका लागि गरेको लगानीका परिणाम देखिन थालेका छन् । कृषि तथा पशुपालनलाई सरकारले आत्मनिर्भर अर्थतन्त्र र रोजगारीको भरपर्दो क्षेत्र बनाउन ल्याएका विभिन्न कार्यक्रमको सफलतासँगै मुलुक धुलो दूध (एसएमपी), बटर (नौनी), मासु र अण्डामा आत्मनिर्भर भएको छ । केही वर्षअघिसम्म यस्ता खाद्यपदार्थ भारत तथा तेस्रो मुलुकबाट आयात गर्ने गरिन्थ्यो । कृषिका हरेक उत्पादनमा आत्मनिर्भर हुने लक्ष्य लिएको सरकारले हाल एसएमपी, बटर, मासु र अण्डामा आत्मनिर्भरता घोषणाको तयारी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपाल धुलो दूध, बटर, मासु, अण्डा उत्पादनमा आत्मनिर्भर रहेको औपचारिक घोषणा गर्ने तयारी गरेको छ । मुलुक क्रमशः कृषिजन्य विविध उत्पादनमा पनि आत्मनिर्भर हुने गरी सरकारले काम गरिरहेको छ । नेपालमा धुलो दूधको वार्षिक आवश्यकता तीनहजार मेट्रिक टन मात्र रहेको छ तर उत्पादन तीनहजार चार सय मेट्रिक टन भइरहेको बताइएको छ । आगामी दिन धुलो दूधको उत्पादन पाँचहजार मेट्रिक टन पु¥याउने र यसको उपभोक्ता तथा उपभोग क्षेत्र विस्तार गर्न सकिने देखिएको छ । अहिले मिठाई, डेरी, चकलेट तथा बिस्कुट उद्योगमा प्रयोग भइरहेको धुलो दूधको उपभोग आम उपभोक्ताले गर्ने गरी बजार विस्तारसँगै यसलाई जीविकोपार्जनको भरपर्दो आधार बनाउन सकिनेछ ।
फागुन मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालसँग तीनहजार ४५० मेट्रिक टन धुलो दूध र एकहजार ८६० मेट्रिक टन बटर मौज्दात छ । त्यसमध्ये दुग्ध विकास संस्थानसँग एकहजार ५० मेट्रिक टन धुलो दूध र पाँचसय ५० मेट्रिक टन बटर मौज्दात छ भने निजी क्षेत्रसँग दुईहजार चारसय मेट्रिक टन धुलो र एक हजार २९० मेट्रिक टन बटर मौज्दात छ । वार्षिक एक हजार दुई सय मेट्रिक टन उत्पादन हुने बटर त्यति नै परिमाणमा खपत हुने गरेको छ । केक, बेक तथा अन्य खाद्य पदार्थमा प्रयोग हुने बटर हाल न्यून परिमाणमा मात्र आयात गरिन्छ तर अबको केही समयमा नै यस्तो आयात विस्थापन गर्न सकिने सम्भावना देखिएको छ । हाल नेपालमा चारलाख ५० हजार मेट्रिक टन मासु उत्पादन हुन्छ । त्यसमध्ये ४६ प्रतिशत कुखुराको मासु छ । बाँकी अन्य पशुपन्छीबाट प्राप्त हुने गरेको छ । नेपालमा कुखुरा, खसी, सुँगुर÷बङ्गुर र राँगाको मासु बढी प्रयोग हुने भएकाले यिनै पशुपालनमा किसानलाई आकर्षित गर्न सकिन्छ । पछिल्ला दशकमा नेपालीहरूमा दुग्धपदार्थका अतिरिक्त माछामासु, हरियो तरकारी, फलफूल खाने बानीका साथ किसानले यस्ता पदार्थबाट उल्लेख्य आम्दानी प्राप्त गर्ने गरेको पाइन्छ । मुलुकमा मागभन्दा बढी अण्डा उत्पादन भइरहेको छ । हाल वार्षिक एक अर्ब ४० करोड अण्डा उत्पादन हुने गरेको पाइन्छ । साधारणतयाः प्रतिव्यक्ति वार्षिक न्यूनतम ४८ वटा खानुपर्छ तर नेपालमा प्रतिव्यक्ति ५४ वटा अण्डा खपत भएको पाइएकाले नेपालीको खाद्यगुणस्तरमा सुधार भएको हुनसक्छ तर यसको औपचारिक अध्ययन गर्नुपर्ने आवश्यकता छ । यस्ता खाद्यपदार्थमा नेपाल आत्मनिर्भर हँुदै गरेको अवस्थामा त्यसको दुःखद पाटोलाई पनि संवेदनशील भएर हेर्नुपर्छ । दूध उत्पादक किसानले दूध बेचेको पैसा चार–पाँच महिनासम्ममा पनि नपाउनु, कृषि तथा पशुपालनमा बीउ, मलखाद, आहार÷औषधि सहज उपलब्ध हुन नसक्नु, विश्वासिलो बीमा लागू नहुनु, मूल्य शृङ्खलाबारे उचित ध्यान नपुग्नेजस्ता समस्या कृषि तथा पशुपालनमा देखिएका छन् ।
वर्तमान सरकारले कृषिलाई रोजगारी, आम्दानी तथा कुल गार्हस्थ उत्पादनको विशेष क्षेत्र बनाउने लक्ष्यका साथ विभिन्न नीति तथा कार्यक्रम लागू गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशैभरिका किसानको विवरण तयार गरी विद्युतीय प्रणालीमा राख्ने तयारी गरेको छ । यसबाट किसानलाई परिचयपत्र, सुविधा तथा सम्मान प्रदान हुन सक्नेछ । यसैगरी, सरकारले दूध ढुवानी गर्ने गाडीलाई निर्वाध रूपमा चलाउन छुट्टै पहिचान हुने गरी रङ र चिह्न (लोगो) प्रदान गर्ने भएको छ । सो लोगोे अभ्यासको औपचारिक प्रारम्भ भएपछि दूध ढुवानी गर्ने गाडीलाई निर्वाध चल्ने वातावरण सुनिश्चित हुनेछ । भोगिएका समस्या र देखिएका सम्भावनाबीच उपयुक्त रणनीति अवलम्बन गरेर नेपालले यस क्षेत्रलाई समृद्धिको आधार बनाउन सक्छ ।