logo
२०८१ माघ १० बिहीवार



सबैलाई वित्तीय साक्षरता

विचार/दृष्टिकोण |




दीपा पोखरेल

मुलुकको आर्थिक समृद्धिको पहिलो आधार वित्तीय साक्षरता हो । वित्तीय परनिर्भरताबाट वित्तीय स्वनिर्भरतासम्म पु‍¥याउने माध्यम यही वित्तीय साक्षरता हो । प्रत्येक नागरिकलाई सुलभ तरिकाले वित्तीय सेवाको पहुँच पु¥याउनु वित्तीय साक्षरताको उद्देश्य हो । वित्तीय शिक्षाले कुनै पनि व्यक्तिसँग भएको आर्थिक वा वित्तीय स्रोत–साधनको प्रभावकारी एवं मितव्ययी उपयोग गर्ने ज्ञानसमेत प्रदान गर्छ । वित्तीय समावेशीकरणको सामान्य अर्थ सबैका लागि वित्तीय सेवा भन्ने हुन्छ ।
वित्तीय समावेशीकरणले क्षेत्र, लिङ्ग, वर्ण, जात आदिका आधारमा कुनै भेदभाव नगरी समानरूपमा वित्तीय संस्थाहरूबाट औपचारिक वित्तीय सेवा पु¥याउनुपर्ने दृष्टिकोण राख्छ ।
सीमित स्रोत र साधनको कुशल उपयोग गरी आयमूलक क्षेत्रमा लगानी गर्नु, वित्तीय लक्ष्य निर्धारण गर्न, बचत गर्न, ऋण लिन, वित्तीय जोखिमबाट जोगिन वित्तीय साक्षरताले सिकाउँछ । आय आर्जन गरी बचत गर्न, बचत रकम लगानी गर्ने ज्ञान र सीप भएमा आर्थिक उन्नति गर्न सकिन्छ । वित्तीय साक्षरताभित्र बैंकिङ साक्षरता, बीमा साक्षरता, सेयर साक्षरता आदि पनि पर्छन् । वित्तीय चेतना भएका व्यक्तिले नै ऋण लिई उद्यमशीलता प्रवद्र्धन गर्न सक्छन् । ऋण लिन उपयुक्त बैंक छान्ने कार्यमा वित्तीय साक्षरताले मद्दत गर्छ । उद्यमशीलताकै कारण देशमा उद्योग व्यवसायमा वृद्धि भई व्यापार घाटा पनि कम गर्न मद्दत गर्छ । तसर्थ वित्तीय साक्षरता बचतसँग मात्र सम्बद्ध नभई देशको सम्पूर्ण आर्थिक क्रियाकलापमा केन्द्रित हुन्छ र हुनुपर्छ ।

नेपालको प्रयास
विश्वमा अहिले करबि दुई अर्ब ५० करोड जनता बैंकिङ तथा वित्तीय सेवाको पहुँचबाहिर रहेको अनुमान छ । त्यसैगरी, विश्वभरका करिब दुई अर्ब २० करोड बालबालिकामध्ये करबि एक अर्ब बालबालिका अहिले पनि निरपेक्ष गरिबीको रेखामुनि छन् । हालसम्म एक प्रतिशतभन्दा कम बालबालिकामात्र वित्तीय साक्षरता र वित्तीय समावेशीकरणको दायरामा आएका छन् । १५ देखि २५ वर्ष उमेर समूहका युवामध्ये करिब ४० प्रतिशतको मात्र बैंक तथा वित्तीय संस्थामा खाता रहेको पाइएको छ  ।
वित्तीय साक्षरताको बढ्दो आवश्यकता र महत्वले गर्दा पछिल्ला वर्षहरूमा नीति निर्माता, वित्तीय एवं सहकारी संस्थाहरू, बीमा संस्थाहरूले पनि वित्तीय साक्षरता अभियानमा योगदान दिँदै आएका छन् ।
वित्तीय पहुँच विस्तार, गरीब, विपन्न समुदायमा लघुवित्तको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, संयुक्त राष्ट्रसङ्घीय पुँजी विकास कोषको प्राविधिक तथा अनुदान सहयोगमा वित्तीय पहुँच कार्यक्रम सन् २०१३ मा शुरु भएको थियो । यो कार्यक्रमले नयाँ सदस्यहरू बनाउने, सेवाप्रदायकलाई प्रशिक्षण, वित्तीय साक्षरता प्रवद्र्धन, बचत, कर्जा, रेमिट्यान्स (विप्रेषण), बीमा, लघुकर्जा विस्तार गर्न सञ्चार माध्यममार्फत जानकारीमूलक सन्देशहरू प्रसारण गरिनुका साथै नेपाल राष्ट्र बैंकले पनि विभिन्न माध्यममार्फत वित्तीय चेतना प्रवद्र्धन गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले वित्तीय चेतना अभिवृद्धि कार्यक्रम र विद्यार्थीसँग नेपाल राष्ट्र बैंक कार्यक्रमहरू नियमितरूपमा गरिरहेको छ । नेशनल बैंकिङ ट्रेनिङ इन्स्टिच्युटले पनि वित्तीय साक्षरता प्रबद्र्धन गर्न विभिन्न कार्यक्रम गरिरहेको छ ।
हाल वित्तीय साक्षरता गाउँ बस्तीसम्म पनि पुग्न थालेको छ । विभिन्न सङ्घसंस्थाले बेलाबखतमा वित्तीय साक्षरताका तालिम सञ्चालन गर्ने, रेडियो, टेलिभिजन आदि माध्यमबाट वित्तीय साक्षरताका सन्देश विस्तार गर्ने, समुदायस्तरमा नै पुगेर कक्षा सञ्चालन गर्ने, गृह परामर्श गर्ने, गोष्ठी, ¥यालीहरू साथै अन्य चेतनामूलक कार्य सञ्चालन गरिरहेका छन् । कुल ७५३ स्थानीय तहमध्ये २०७७ पुससम्म ७४९ स्थानीय तहमा वाणिज्य बैंकका शाखा स्थापना भइसकेका छन् । नेपाल राष्ट्र बैंकबाट देशभरमा स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको शाखा सङ्ख्या २०७७ असार मसान्तमा ९७६५ रहेकोमा २०७७ पुस मसान्तमा दश हजार १८७ रही तीन करोडभन्दा बढी बचत र १५ लाखभन्दा बढी कर्जा खाताहरू सञ्चालनमा आइसकेका छन् । देशमा ४८ प्रतिशत पुरुष र ३१ प्रतिशत महिलासँग सक्रिय बचत खाता छ ।
नेपालको वित्तीय प्रणालीमा बैकिङ, बीमा, पूँजीबजार, गैरबैंकिङ वित्तीय क्षेत्र र सहकारी गरी प्रमुख पाँच क्षेत्र छन् । अनौपचारिक क्षेत्रबाट कर्जा लिने घरपरिवारको सङ्ख्या करिब २१ प्रतिशत छ । बैंकिङ प्रणालीमा अझै महिला सहभागिता उत्साहजनक छैन । दक्षिण एसियाली देशहरूमा भुटानको वित्तीय साक्षरता दर ५४, श्रीलङ्काको ३५, चीनको २८, भारतको २४ र बङ्गलादेशको १९ प्रतिशत छ । यिनको तुलनामा नेपालको वित्तीय साक्षरता दर करिब १८ प्रतिशत हुँदा हामी वित्तीयरूपमा कम साक्षर रहेको देखिन्छ । यो अवस्थामा सुधार गर्न नेपाल राष्ट्र बैंक, बीमा समिति, धितोपत्र बोर्डलगायतका संस्थाहरूले नीतिगत तथा संस्थागत संरचना तयार गरी वित्तीय समावेशिता बढाउन तथा समग्र वित्तीय क्षेत्रको सुदृढीकरण र समृद्धि हासिल गर्न वित्तीय साक्षरतालाई प्राथमिकतामा राखी विभिन्न काम गर्न लाग्नुपर्ने देखिन्छ ।

महत्व
वित्तीय चेतनाले व्यक्ति आफ्नो स्रोत र साधनको महत्व बुझी सोको उपयोगका लागि उचित निर्णय गर्न सक्षम बनाउँछ । आय आर्जनको सदुपयोगबाट आर्थिक तथा सामाजिक सुरक्षा हासिल गर्न सहयोग गर्छ । सीमित स्रोत साधनको अधिकतम उपयोग गरी असीमित आवश्यकता प्राथमिकताका आधारमा पूरा गर्ने तरिका यसबाट पाइन्छ । यति मात्र हैन, वित्तीय साक्षर मानिस पारिवारिक खर्च व्यवस्थापन गर्न, अवकाशपछिको जीवन व्यवस्थित गर्न पनि सक्षम हुन्छन् ।
कतिपय अवस्थामा वित्तीय संस्थाहरूका प्रलोभनमा परी वा अनौपचारिक वित्तीय प्रणालीको सेवा लिँदा अनावश्यक ऋणको बोझमा परी घरबास डुबेका उदाहरण पनि छन् । तर वित्तीय साक्षर मानिसले वित्तीय व्यवस्थापनसम्बन्धी ज्ञान जस्तैः बजेट निर्माण गर्ने, आम्दानी र खर्चको विवरण तयार गर्ने गर्छन् । यी सबै कारणले गर्दा देश सक्षम हुन नागरिकहरूमा वित्तीय साक्षरता हुन अति जरुरी छ । यसका लागि विद्यालयस्तरमै वित्तीय साक्षरताको पाठ्यक्रम समावेश गर्न जरुरी छ । अशिक्षित वा अर्धशिक्षित मात्र होइन, शिक्षित युवामा समेत बचत, लगानी र ऋणबारे उपयुक्त ज्ञान छैन । विशेषतः युवामा वित्तीय योजनाबारे सुसूचित गरिनुपर्ने खाँचो छ ।

अबको काम
वित्तीय साक्षरताका अभियान नै चलाइए पनि नेपालका अधिकांश दुर्गम तथा ग्रामीण भेगका जनता यसको पहुँचसम्म पुग्न नसकी वित्तीय साक्षरताको अभावमा सामाजमा भइरहेका आर्थिक गतिविधिबारे अनभिज्ञ छन् । बैंकिङ तथा वित्तीय क्षेत्रलाई सहज ढङ्गबाट सञ्चालन गर्न नभई नहुने न्यूनतम सुविधाहरू जस्तै सडक, यातायात, नियमित विद्युत् आपूर्ति, इन्टरनेटको व्यवस्था, साख सूचना प्रणाली, भुक्तानी व्यवस्था आदिजस्ता पूर्वाधार आवश्यक पर्छ । हिमाली र पहाडी क्षेत्रमा भौगोलिक विकटता र पातलो बस्ती हुँदा वित्तीय सेवा पु¥याउन खर्चिलो र कठिन छ । अर्कोतर्फ राज्यको केन्द्रीय एकल प्रयासबाट मात्र वित्तीय समावेशीकरण गर्न नसकिने भएकाले स्थानीय तहहरूसँग हातेमालो गर्दै वित्तीय सेवाहरू ग्रामीण क्षेत्रसम्म विस्तार गर्न आवश्यक देखिन्छ । यसका लागि स्थानीय तहहरूले वित्तीय संस्थाहरूसँग पनि सहकार्य गर्नु जरुरी छ ।
वित्तीय संस्था बढेरमात्र वित्तीय सेवाको पहुँच बढ्ने, वित्तीय सेवा गुणस्तरीय हुने र लक्षित समुदाय यसबाट लाभान्वित छन् भन्न सकिने स्पष्ट आधार हुन्न । खाता खोलेर वित्तीय पहुँचमात्र पुग्छ । वित्तीयरूपमा साक्षर हुनु भनेको त रकमको सही परिचालन हुनु हो । तसर्थ वैधानिकरूपमा आय आर्जन गर्न, आर्जित रकमको व्यवस्थापन गरी बचत रकमको लगानीसम्मको ज्ञान वित्तीय चेतनाले प्रदान गर्ने हुनाले वित्तीय चेतना अभिवृद्धिका लागि सबैको सहकार्य आवश्यक हुन्छ । सुरक्षित वित्तीय भविष्य र वित्तीय समृद्धि प्राप्तिका लागि वित्तीय साक्षरतालाई राष्ट्रिय अभियानकै रूपमा अगाडि बढाउन सबै क्षेत्रबाट पहल गरिनु जरूरी देखिन्छ ।
(लेखक बैङ्किङ क्षेत्रमा कार्यरत हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?