logo
२०८१ माघ १० बिहीवार



धारामा मेलम्ची (सम्पादकीय)

विचार/दृष्टिकोण |




मेलम्ची खोलाबाट ल्याइएको पानी गत आइतबार दिउँसो काठमाडौँका चाबहिल, बत्तीसपुतली, कालोपुल, देवकोटा सडक, सिफल, एयरपोर्टलगायत क्षेत्रका उपभोक्ताको घरघरमा वितरण गरिएको छ । प्रशोधनपछि पिउनयोग्य पानी महाकाँलचौरस्थित ट्याङकी (पोखरी) बाट वितरण गरिएको हो । आगामी केही दिनभित्रमा उपत्यकाका विभिन्न भागमा पानी वितरण गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ । चार चरणमा विभाजन गरी पानी वितरण गर्ने भएको छ । जसअनुसार पहिलो चरणमा आइतबार चार करोड लिटर पानी वितरण गरेको छ । दोस्रो चरणमा महाँकाल र बालाजुको पानी पोखरीबाट ६.५ करोड लिटर दैनिक वितरण गरिनेछ । तेस्रो चरणमा बाँसवारी र महाराजगञ्जको पानीपोखरीबाट ८.५ करोड लिटर वितरण हुनेछ । चौथो चरणमा कीर्तिपुर, ठिमी र भक्तपुरस्थित पोखरीहरूबाट समेत गरी १७ करोड लिटर पानी जम्मा हुने र ती पोखरीबाट चक्रपथभित्र र आसपासका क्षेत्रमा पानी वितरण गरिनेछ । पानी वितरणसँगै यसपटकको सुख्यायाममा देखिन सक्ने पानी अभावको समस्या कम हुनेछ ।
पानी वितरणसँगै वितरण प्रणालीमा आउनसक्ने प्राविधिक समस्याबारे स्पष्ट हुन सकिनेछ ।  । हाल पुुरानै पाइपबाट वितरण गरिएकाले कतिपय स्थानमा पानी चुहिने, पानी नआउनेजस्ता समस्या आउनसक्ने भएकाले पहिलो चरणमा नै यस्ता समस्या समाधान गर्न सकिनेछ । परीक्षणसँगै पानी वितरण गरिएकाले नयाँ पाइपलाइन विस्तार गरी उपत्यकामा भरपर्दो पानी वितरणको वातावरण सिर्जना गर्न ढिला गर्नुहुँदैन । मेलम्चीबाट पूर्ण क्षमतामा पानी नल्याइएसम्म उपत्यकाको माग पूरा हुने अवस्था नरहेकाले यहाँ सञ्चालनमा रहेका बोरिङबाट गरिँदै आएको वितरणलाई पनि वितरण प्रणालीमा एकीकृत गर्नु आवश्यक हुन्छ । मेलम्चीबाट दैनिक प्राप्त हुने १७ करोड र काठमाडौँ उपत्यकाको भूमिगत आठ करोड लिटर पानी वितरण गरिने भएकाले नपुग पानीका बारेमा अहिले नै स्पष्ट हुनुपर्नेछ । तत्कालका लागि मागअनुसार पानी आपूर्ति हुन नसके पनि थपिने स्रोतबाट उपत्यकाको आवश्यकता पूरा हुने गरी पानी ल्याइने भएकाले त्यसअघिसम्म पानी वितरणलाई न्यायोचित बनाउन सम्बद्ध निकाय संवेदनशील हुनुपर्छ । उपत्यकामा व्यक्तिगत रूपमा जमिनमुनिको पानी तानेर उपयोग गर्नेहरूको वैज्ञानिक तथ्याङ्क नभए पनि यस्तो प्रवृत्तिले पानी अभाव टार्न केही योगदान दिएको देखिन्छ तर विज्ञहरूका अनुसार जमिनमुनिबाट अनियन्त्रित तरिकाले पानी दोहन गर्ने प्रवृत्तिले उपत्यकाको जमिनमुनि पानीको सतह घटेर भविष्यमा आउन सक्ने जोखिमबारे अहिले नै ध्यान दिनुपर्छ । यसनिम्ति मेलम्चीबाट पानी आइसकेको अवस्थामा व्यक्तिगत तथा संस्थागतरूपमा जमिनमुनीबाट पानीको दोहन गर्ने कार्यलाई निरुत्साहन गर्नुपर्छ । मेलम्चीको पानी वितरण सुरु भएपछि भूमिगत पानीको प्रयोग नगरिने केयुकेएलले जनाएको छ तर यसबारेमा स्पष्ट अनुगमन कसरी गर्ने भन्नेबारेमा खासै तयारी गरिएको देखिँदैन ।
उपत्यकाका विभिन्न क्षेत्रमा पानीको पुनर्भण्डार गर्ने कामलाई मेलम्चीको पानी वितरणसँगै कार्यान्वयन गर्न सकिए यहाँ सतहमुनिको पानी सुक्ने समस्या न्यूनीकरण गर्न सहयोग मिल्नेछ । मेलम्चीको दोस्रो परियोजनाअन्तर्गत याङ्री र लार्के खोलाको पानी पनि मेलम्चीमै थपेर ल्याइएपछि दैनिक ५१ करोड लिटर पानी उपत्यकामा आउने भएकाले त्यसपछि पानीको उपलब्धता र वितरणमा समस्या नहुन सक्छ तर त्यसअघिको समस्या निवारणमा विशेष ध्यान दिनुपर्ने देखिएको हो । दोस्रो परियोजना सम्पन्न भएपछि उपत्यकाका घरमा दैनिक छ घण्टा पानी आउने जनाइएको सन्दर्भलाई हेर्दा उपत्यकावासीले मनग्य पानी उपभोग गर्न अझै केही समय कुर्नुपर्ने हुन्छ । लामो समयको पहलपछि उपत्यकामा पानी आएकाले यसको वितरण तथा उपभोगमा वितरक तथा उपभोक्ता दुवै पक्ष जिम्मेवार हुनुपर्छ । एक परिवारले खेर फालेको पानीले अर्को परिवारको आवश्यकता पूरा गर्न सक्ने भएकाले पानीको उपयोगलाई किफायती बनाउनुपर्नेछ । मेलम्चीका नदीमा हाल उपलब्ध पानीको स्रोत थपिने छैन तर बसाइँसराइको राष्ट्रिय प्रवृत्ति हेर्दा अबका केही वर्ष उपत्यका र अन्य सहरी क्षेत्रमा पानीको माग तीव्र गतिमा बढ्नेछ । यस्तो अवस्थालाई समेत मध्यनजर गरेर पानी वितरण तथा उपभोग नीति बनाउनुपर्ने देखिन्छ । न्यून परिमाणमा पानी खपत गर्ने र पानीको फजुल खर्च गर्ने व्यक्तिलाई समान तरिकाले शुल्क दायित्व तोक्नेजस्ता प्रवृत्तिले पानी उपयोगलाई किफायती बनाउन सकिने छैन भन्नेतिर पनि ध्यान जानु आवश्यक छ ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?