logo
२०८१ माघ १० बिहीवार



तराई रूपान्तरण गर्ने सडक (सम्पादकीय)

विचार/दृष्टिकोण |




तराई– मधेसको विकासमा सञ्जीवनी रेखा मानिएको हुलाकी राजमार्गका १४ मध्ये १३ खण्डको निर्माण सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरिएको छ । भारतीय सरकारसँगको सहकार्यमा बनेको सो राजमार्ग बुधबार नेपालका लागि भारतका राजदूतले औपचारिक रूपमा हस्तान्तरण गरेपछि राजमार्ग निर्माणको महìवपूर्ण अध्याय समाप्त भएको छ । हुलाकी राजमार्गको निर्माण सम्पन्न भएको २७३ किलोमिटर हस्तान्तरण गरिएको र वीरगञ्ज–ठोरी ३० किलोमिटर सडक खण्ड निर्माणाधीन छ । २०६२÷०६३ देखि थालिएको राजमार्ग निर्माण अवधि अनपेक्षित रूपमा लम्बिएको भए पनि निर्मित खण्डको हस्तान्तरण सडक सञ्जालमा नेपाली पहुँचका दृष्टिले विशेष उपलब्धिमूलक बनेको छ । राजमार्गले पूर्व–पश्चिम राजमार्गमा अवस्थित विभिन्न नेपाली सहरका अतिरिक्त भारत–नेपाल सीमा पनि जोड्छन् । प्रदेश नं १, २ र ५ का सात सीमावर्ती जिल्लामा अवस्थित यी सडकले करिब तीनसय वडा, १४९ गाउँ, १८ गाउँपालिका, १८ नगरपालिका, एक उप–महानगरपालिका र एक महानगरबासीलाई जोड्ने बताइएको छ । भारत सरकारको करिब आठ अर्ब रुपियाँ अनुदान सहयोगमा निर्मित यो राजमार्गले विभिन्न बस्तीलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने भएकाले स्थानीयको आर्थिक उन्नतिका साथै जनजीवनमा उल्लेख्य सुधार ल्याउने अपेक्षा गरिएको छ ।
पूर्व–पश्चिम (महेन्द्र) राजमार्गबाट समानान्तर हुँदै दक्षिणतिर करिब २० देखि ३० किलोमिटरको अन्तरमा हुलाकी राजमार्ग बहन्छ । परिकल्पनाअनुसार यो राजमार्ग निर्माण सम्पन्न भएमा नेपालको विकासमा पूर्व–पश्चिम बहने महेन्द्र राजमार्ग, पुष्पलाल मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गले ठूलो भूमिका निर्वाह गर्ने छन् । राजमार्गसँग जोडिने उत्तर–दक्षिण ठाडा (लिङ्क) सहायक मार्गहरूलाई समेत यी राजमार्गले प्राण दिनेछन् । राणाकालीन समयदेखि नै चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाकीहरू हिँड्ने, सेना तथा सरकारी कर्मचारी हिँड्ने छोटो बाटोका रूपमा चिनिएको यस मार्गको परिकल्पना राणा प्रधानमन्त्री पद्म शमशेरले गरेकाले यसको आवश्यकता र महìव स्पष्ट हुन्छ । यो राजमार्गले तराई–मधेस क्षेत्रमा आर्थिक, सामाजिक तथा सांस्कृतिक महìव राख्ने र ती जिल्लालाई मुलुकको सडक सञ्जालमा जोड्ने भएकाले पहुँच मार्गका रूपमा पनि हेरिन्छ । पूर्व–पश्चिम ९७५ किलोमिटरमा लम्बिने उक्त राजमार्गबाट मधेसका विभिन्न जिल्ला सदरमुकामसम्म जोड्ने ८१७ किलोमिटरका ३२ वटा सहायक मार्ग हुनेछन्, जसले तराई मधेस क्षेत्रमा सडक संस्कृति विस्तार गर्नेछ ।
नेपालको सडकलगायत भौतिक संरचनाको विकासमा भारतले उल्लेख्य सहयोग गरेको छ । नेपाल भ्रमणका बेला नेपालको मागअनुरूप भारतका तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरले हुलाकी राजमार्ग निर्माणका लागि प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । दुवै देशतिर परियोजना मोडालिटी, स्रोत परिचालनजस्ता पक्षमा गृहकार्य र तयारीपछि २०६१ मा राजमार्ग निर्माणका लागि भारतीय सहयोगको सैद्धान्तिक सहमति भएको थियो । राजमार्ग पूर्णतः भारत सरकारको अनुदानमा बनाइने तर आवश्यकताअनुसार बस्ती हटाउने, जग्गा अधिग्रहण, बिजुलीका पोल सार्ने, सडक रेखामा पर्ने वन क्षेत्रका रुखहरू काट्ने÷हटाउने र राजमार्गमा पर्ने सबै पुलको निर्माण नेपालले गर्ने समझदारी भएकोमा केही समय यस्ता काममा समन्वयको अभाव देखिएको थियो, जसले गर्दा आयोजना सम्पन्न गर्न बढी समय लागेको हो । तर दुवै देशबीच उच्च राजनीतिक तथा कार्यान्वयन तहमा हुने गरेका निरन्तर छलफल र अन्तरक्रियाको परिणाम स्वरूप राजमार्गका यी खण्ड नेपाललाई हस्तान्तरण गरिएको छ । प्राप्त सडकको स्तरोन्नति, पुल तथा कल्र्भट र अन्य सडक संरचना निर्माण नेपालको दायित्व हुने भएकाले उच्च महìव दिएर राष्ट्रिय गौरवको यो आयोजना नमुना रूपमा सम्पन्न गर्न नेपालले विशेष स्रोत तथा सोच परिचालन गर्नुपर्नेछ ।
नेपालीहरू भारतको सहयोगसँग पूर्ण जानकार र आभारी छन् । भीमकाय भारतको उदार हृदय नेपाललगायत दक्षिण एसियाको विकासमा सहयोगी हुनेमा नेपालीहरू विश्वस्त छन् । दुवै देशतिरका जनता, साझा संस्कृति, जीवन पद्धति र आवश्यकताले नेपाल, भारतलाई भूगोलमा मात्र नभएर हृदयमा पनि नजिक ल्याएका छन् । नेपालका नदीनाला, जडीबुटीको अधिकतम सदुपयोगमा भारतले लगानी गर्न सक्छ । नेपालको हुलाकी राजमार्ग क्षेत्रका नदी तथा भारततिरका सडकलाई व्यवस्थित गरेर नेपालमा बर्सेनि हुने डुबान समस्या समाधानमा भारतले सघाउन सक्नेछ । नेपाल, भारत अझ नजिक हुनु उनीहरूको बाध्यता मात्र होइन दुवै देशका लागि अवसर पनि हो । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?