logo
२०८१ माघ १० बिहीवार



चितवनमा नयाँ पर्यटकीय ‘प्रडक्ट’

विचार/दृष्टिकोण |




पूर्णहरि अमात्य

मध्यबिन्दु नगरपालिका (पूर्व नवलपरासी)की अर्चना अधिकारीले गत वर्ष सौराहा क्षेत्रको भ्रमण गरेर वन्यजन्तुको अवलोकन गर्दा साह्रै मज्जा लागेको अनुभव गर्नुभयो र समय मिले फेरि त्यस क्षेत्रको भ्रमण गर्ने धोको रहेको यस पङ्तिकारसँग बताउनुभयो । प्रकृतिप्रेमी पर्यटकलाई दशकौँ अघिदेखि विश्व प्राकृतिक सम्पदामा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जले आकर्षित गर्दै आइरहेको सर्वविदित छ । तर, एक वर्षदेखि कोभिड–१९ को महामारीले मानिस पर्यटकीय गन्तव्यको भ्रमण गर्ने चाहना राख्दाराख्दै पनि घरमा खुम्चिएर बस्न बाध्य छन् । महामारीको असर क्रमशः घट्न थालेपछि प्रकृतिप्रेमी अर्चनाजस्ता स्वदेशी पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गर्न थाल्दा स्थानीय पर्यटन व्यवसायी उत्साही भएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जको दर्जनौँपटक भ्रमण गरिसकेको छ यो पङ्तिकारले धुलिखेलका पर्यटन उद्यमी किरणप्रसाद श्रेष्ठको सौजन्यमा पश्चिम चितवनमा थपिएको एउटा नयाँ पर्यटकीय उत्पादन (प्रडक्ट) अम्ब्रेला स्ट्रीट (छाता सडक, गत वर्ष फागुन १ मा उद्घाटन) को अवलोकन चैत ३ गते गर्न पायो । वसन्त ऋतुको प्रारम्भसँगै निकुञ्जमा रहेका अनेकौँ वनस्पतिमा नयाँ पालुवा पलाइसकेको छ र फलफूल तापक्रमसँगै बढ्न थालेपछि फल्न फुल्न थालिसकेका छन् । सूर्योदय हुनुभन्दा अघि चितवनमा मन्द–मन्द चिसो स्वच्छ वायुले काठमाडौँको धूलो धूँवाबाट अभ्यस्त यो पङ्तिकार आल्हादित भएको महसुस गर्छ ।
विश्वप्रसिद्ध चितवन राष्ट्रिय निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकमाझ अत्यन्त एउटा लोकप्रिय गन्तव्य हो । कोभिडको सन्त्रास अघिसम्म त्यहाँ डेढ लाखको हाराहारीमा पर्यटक (स्वेदशी तथा विदेशी) पुग्न थालिसकेका थिए । स्वदेशी पर्यटक विशेषगरेर राजधानीवासीको रोजाइमा पोखरा र चितवन पर्छन् । त्यसपछि मात्र अन्य गन्तव्य आउँछन् । तर, चितवनमा पर्यटन विकासको विकेन्द्रीकरण हालसम्म हुन सकेको छैन । चितवनमा सौराहामा मात्र केन्द्रित भएको छ, पर्यटन । त्यहाँ सबैखाले होटल÷रिसोर्टको सङ्ख्या ११५ पुगेको छ र नयाँ पर्यटकीय उत्पादन त्यहाँका पर्यटन व्यवसायीले दिन सकेका छैनन् । रात्रिकालीन जङ्गल सफारी (जिपबाट) केही समय गर्ने चर्चा चलेको थियो । तर, संरक्षणवादीको चर्को विरोधपछि त्यो कदम रोकियो ।
चितवनको स्वच्छ तथा शान्त वातावरणमा पर्यटक आफ्ना फुर्सदका क्षणहरू अविस्मरणीय तथा रोमाञ्चक बनाउन भ्रमण गर्ने हुन् । तर, राप्तीकिनारमा स्पिकरबाट ठूलो आवाजमा सङ्गीत घन्काउँदा शान्तप्रेमी पर्यटकको मन आवश्य पनि कँुडिन्छ होला ? राप्तीछेउमै पक्की अट्टालिका ठड्याउँदा जति कुरूप देखिएको छ, त्यति नै गैँडाचोकपूर्व एउटा बहुमञ्जिल (मल्टी स्टोरी) होटलमा बाहिरबाट भ¥याङ ठडाएको देख्दा काठमाडौँ सुन्धारा क्षेत्रमा उभिएको भान हुन्छ । विगतमा सौराहामा पर्यटन व्यवसायीबीच सामूहिक रूपमा अस्वस्थ प्रतिस्पर्धा नगर्ने वाचा–बन्धन गरिन्थ्यो तर व्यवहारमा लागू हुँदैन थियो । त्यस्तो व्यवहार पुनः दोहरिनु मुनासिब हुँदैन दीर्घकालका लागि । पर्यटकले बढी सुविधाको माग गर्न थालेपिछ सौराहाका पर्यटन व्यवसायी शङ्कर सैँजू र सुमन घिमिरेले झैँ स्विमिङपुल निर्माण गरेर ग्राहकलाई आकर्षित गर्न सक्नुप¥यो । सौराहा ठमेलजस्तो भयो भन्ने अधिकांश पर्यटकले भन्न थालेको धेरै समय भयो । त्यसतर्फ सौराहाका पर्यटक व्यवसायी त्यति गम्भीर देखिँदैनन् । कसरा (चितवन)मा रहेको टाइगर टप्स (नेपालमा जङ्गल सफारी गराउने पहिलो रिसोर्ट)का साथै अन्य छवटा रिसोर्ट बन्द भएपछि सम्भ्रान्त प्रकृतिप्रेमी पर्यटक आगमनमा ओरालो लागेको थियो । तर, पश्चिम चितवन क्षेत्रमा नारायणी सफारी लज, मेघौली सराय, वाराही, जगतपुर लजजस्ता पर्यटक स्तरीय रिसोर्टको सञ्चालनले त्यस क्षेत्रमा स्तरीय पर्यटकको सङ्ख्यामा सुधार हुन थालेको सम्बन्धितहरू बताउँछन् । पटिहानी, जगतपुर, मेघौली, घटगाईंजस्ता पर्यटकलाई आकर्षित गर्ने भर्जिन स्थलमा सौराहाजस्तो भीडभाड छैन । स्वदेशी पर्यटक विशेषगरेर हात्तीमा सवार भएर वन्यजन्तुको अवलोकन गर्न रुचाउँछन् । केहीले जीप सफारी, क्योनोइङ (डुङ्गामा जलयात्रा) र गोरुगाडामा पनि सवार भई आनन्द लिन्छन् ।
सौराहामा हुलका हुल पर्यटकले भ्रमण गर्ने तर त्यहाँभन्दा बढी वन्यजन्तु अवलोकन गर्न सकिने शान्त वातावरण भएको पश्चिम चितवनमा किन पर्यटक आउँदैनन् भनेर स्थानीयले चर्चा गर्ने गरेको धेरै नै भयो । नयाँ ठाउँमा लगानी गर्ने जोखिम उठाउन नहिच्किचाउने काठ व्यापारबाट पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएका चन्द्रशेखर ज्ञवाली
(वासुजी) ले चौबीसकोठी (भरतपुर)मा रहेको काठ चिरान मिल बन्द गरेर नारायणी सफारी लज र त्यही नाममा पश्चिम चितवनको घटगाईंमा समेत अर्को लज स्थापना गर्ने श्रेय लिनुभएको छ ।
भरतपुर महानगरपालिका बनेपछि २२ नम्बरका वडाध्यक्ष विष्णु महतोलाई दुई वर्ष अघिदेखि नै नेपाल भ्रमण वर्ष सन् २०२० मा पश्चिम चितवनमा एउटा नयाँ पर्यटकीय प्रडक्ट (उत्पादन) सिर्जना गर्ने हुटहुटी चल्यो । र, त्यसैक्रममा आफूले पोर्चुगल, मरिसस आदि मुलुकको भ्रमण गर्दा ‘अम्ब्रेला स्ट्रीट’ले पर्यटकलाई लोभ्याएको स्मरण भयो । अनि लागिहाल्नुभयो अम्ब्रेला स्ट्रीटको निर्माणमा । उक्त स्ट्रीटको निर्माणमा एक करोड ७१ लाख खर्च भयो, जसमध्ये सङ्घीय सरकारको पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयबाट एक करोड र बाँकी रकम भरतपुर महानगरपालिकाले बेहो¥यो । यसले १२ कठ्ठा क्षेत्रफल ओगटेको छ । राप्ती नदीकिनारमा भ्यु–डेकबाट अविरल बगेको कञ्चन पानी, बालुवाको बगर तथा हरियो सालको बाक्लो जङ्गलले कङ्क्रिट जङ्गलमा बस्न बाध्य नागरिकको मन प्रफुल्लित बनाउँछ । उक्त स्थानमा दाहिने भित्तामा रैथाने थारू जातिको संस्कृति झल्काउनेगरी झरना, तस्विर र देब्रेपट्टि भित्ताबाट काठमाडौँका ¥याडिसन होटलमा झैँ पानी सलल बगिरहेको दृश्य अनि मध्यभागमा ‘वाटर फाउन्टेन’ (फोहरा)को मनोरम दृश्यले जोसुकैलाई पनि आकर्षित गर्छ ।
वडाध्यक्ष महतो बढी दर्शक आउँदा अलि साँघुरो महसुस भएकाले स्ट्रीटलाई फराकिलो बनाउन ४५५ कठ्ठा थप्दै छौँ भन्नुहुन्छ । कोभिडको सन्त्रासले भ्रमणकर्ता कम हुनु स्वाभाविकै हो । तर, हालको चार महिनामा एक लाख ३० हजार पर्यटकले स्ट्रीट भ्रमण गरिसकेको उहाँले बताउनुभयो । भरतपुरदेखि कालोपत्रे सडक प्रायः निर्माण सम्पन्न भइसकेकाले आवागमनमा यात्रुलाई कुनै समस्या छैन । र, नारायणी सफारी लज, जगतपुर लजजस्ता पर्यटकीय स्तरीय र अन्य होटल तथा रेष्टुराँँका साथै होमस्टेको व्यवस्था भएकाले पर्यटकले प्रकृतिमा रमाउँदै आफ्ना सारा तनाव मुक्त भई नयाँ ऊर्जाका साथ आ–आफ्ना दैनिकीमा फर्किन एकपटक पश्चिम चितवन क्षेत्रमा भ्रमण गरेर नयाँ अनुभूति गर्न सक्नुहुन्छ ।
कसरा (पश्चिम चितवन)मा निकुञ्ज स्थापना हुनुभन्दा अगावै नै सन् १९६५ मा कोपम्यान (एफएओमा कार्यरत)ले टाइगर टप्स सञ्चालनमा ल्याएर त्यसबेला नेपालमा पर्वतारोहणपछि दोस्रो पर्यटकीय उत्पादन (प्रोडक्ट) जङ्गल सफारी भिœयाउनुभएको थियो । उहाँ वन्यजन्तुका एक कुशल सिकारी हुनुहुन्थ्यो । र, अफ्रिकाको जङ्गल सफारीको अनुभवलाई नेपालमा प्रयोग
गर्नुभएको थियो । टाइगर टप्सले प्रत्येक वर्ष सेलिब्रेटी (बहुर्राष्ट्रिय कम्पनी) ‘एलिफ्यान्ट पोलो खोच’को आयोजना मेघौलीको एयरपोर्टमा गराएर विदेशी पर्यटक उद्गम बजारमा नेपालको प्रसार–प्रचार गर्नमा ठूलो भूमिका निर्वाह गरेको थियो । पूर्वी नवलपरासीमा जङ्गलबाहिर टाइगर टप्सको स्वामित्वमा हालसम्म पनि थारू भिलेज सञ्चालनमै छ । तर, जङ्गलभित्र कुनै पनि रिसोर्ट सञ्चालन गर्न नदिइने नेपाल सरकारको अविवेकपूर्ण निर्णयले जङ्गल सफारीमा आउने गुणस्तरीय पर्यटकमा खडेरी परेको नेपाली पर्यटन व्यवसायीहरू बताउँछन् । नीति निर्माण तहमा बस्नेहरू नेपालमा बढी खर्च गर्ने पर्यटक नआएको रोइलो गर्छन् । तर, बहुराष्ट्रिय अमेरिकी विमान कम्पनी पानाम र पूर्व बृटिश कर्णेल जिम्मी रोवर्टसले नेपालमा पहिलो टे«किङ कम्पनी माउन्टेन ट्राभलको सहकार्यमा टाइगर टप्सले जस्तो गुणस्तरीय पर्यटक भिœयाउन स्वदेशी पर्यटन व्यवसायीले विशेष योजना तथा प्रयास आवश्यक छ ।
(लेखक वातावरण पत्रकार हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?