डा. कीर्तिपाल सुवेदी
परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल स्त्री तथा प्रसूति सेवाका लागि नेपाल सरकारको एक मात्र अस्पताल भएकोले यहाँ देशभरबाट प्रसूति सेवा या स्त्री रोगसम्बन्धी समस्या लिएर आउँछन् । प्रसूति सेवा भन्नाले कुनै पनि महिलालाई गर्भवती भएपछि गरिने सेवा हो । त्यसलाई रोग भन्न मिल्दैन । किनभने प्रसूति प्राकृतिक विषय हो ।
स्त्री रोग भन्नाले कुनै पनि महिलाको यौन अङ्गहरू र भित्री यौनाङ्ग, पाठेघरको अण्डा, अण्डाशय र पाठेघरको मुखसम्बन्धी बिरामी छ भने त्यसलाई स्त्री रोग भनिन्छ । अस्पतालमा ७७ वटै जिल्लाका सामान्य सुत्केरी गराउनेदेखि लिएर स्त्रीसम्बन्धी जटिल रोगका बिरामीहरू पनि आउने गर्दछन् । यहाँ काठमाडौँदेखि विभिन्न दुर्गम स्थानबाट हेलिकोप्टरबाट लिफ्ट भएर पनि बिरामी आउने गर्छन् । देशभरका प्रसूति सेवा वा स्त्री रोग सेवामा जति पनि जटिल समस्याका केशहरू हुन्छन् ती सबै थापाथलीस्थित प्रसूति गृहमै आउने हुन् ।
के हो स्त्री रोग ?
सामान्यतः पाठेघर, ट्युब र अण्डाशय वा यौन अङ्गहरूको सङ्क्रमण स्त्री रोग हो । जस्तो, यौन अङ्ग (भेजिना) को सङ्क्रमण र पाठेघरको मुखको सङ्क्रमण । त्यो प्रमुख समस्याको रूपमा देखापरेको छ । यीबाहेक तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, खालका समस्याहरू महिलालाई देखापर्छन् । क्यान्सर पनि अर्को प्रमुख समस्या रहेको छ । क्यान्सरको अप्रेसन पनि प्रसूति गृह अस्पतालमा हुने भएकोले यहाँ क्यान्सरका रोगीहरू आउने गर्छन् । जसमा पाठेघरको मुखको क्यान्सर, अण्डासयको क्यान्सर र पाठेघरको क्यान्सर हुने गर्छ ।
पाठेघरको छुट्टाछुट्टै भाग हुन्छ । ती अङ्गको छुट्टाछुट्टै क्यान्सर हुन्छ । यी सबै क्यान्सरसम्बन्धी शल्यक्रिया गर्ने सेवा परोपकार तथा स्त्रीरोग अस्पतालमा दिइरहेका छौँ । त्यो बाहेक क्यान्सर पहिचान र रोकथाम गर्न प्रसूति अस्पतालमै सकिन्छ ।
अब्बल प्रसूति गृह
पाठेघरको मुखको क्यान्सर प्राथमिकतामा परेको छ । यसको पहिचानका लागि पाठेघरको मुखको पानीको जाँच गर्नुपर्छ । परीक्षण गर्दा पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ । त्यो परीक्षणको विभिन्न स्टाण्र्डड हुन्छ । एचपीभी डीएनए भन्ने हालसम्मकै विश्वमा सबैभन्दा सेन्सेटिभ जाँच हो । जसबाट पाठेघरको मुखमा क्यान्सर हुन्छ या हँुदैन भन्ने पत्ता लगाइन्छ । पाठेघरको मुखको क्यान्सर एचपीभी भन्ने भाइरसले गराउँछ । त्यो भाइरसको सङ्क्रमण छ कि छैन भनेर हेर्न सकिन्छ ।
नेपालको एउटा मात्र सरकारी अस्पताल परोपकार तथा स्त्री रोग अस्पताल हो त्यहाँ एपीपीभी डीएनए परीक्षण हुन्छ । यो जाँच ठूलो कर्पोरेट अस्पतालमा पनि हँुदैन । यो परीक्षणको शुल्क दुईहजार रुपियाँ छ । यो परीक्षण ३० वर्षभन्दा माथि ६० वर्षसम्म गर्न मिल्छ । नेपाल सरकारको गाइडलाइनमा यो कार्यक्रम पर्न सकेको छैन । यो जाँच महँगो भएकोले सरकारको गाइडलाइनमा पर्न नसकेको हो । गाइडलाइनमा हालिसकेपछि देशैभर उक्त सेवा पु¥याउनुपर्ने हुन्छ । अहिले राज्यले पु¥याउनसक्ने अवस्था नभएकोले प्रसूति गृहले उक्त सेवा दिइरहेको छ । यो जाँच नेगेटिभ छ भने पाँचदेखि सात वर्ष पाठेघरको मुखको क्यान्सर हुँदैन भनेर ढुक्क हुँदा हुन्छ ।
मुख्य रोग
अण्डाशय (ओभरिज) को क्यान्सर पनि महिलालाई हुन्छ । यो क्यान्सर लागिसकेपछि ढिला थाहा पाइन्छ । ओभरिजको क्यान्सरका बिरामीहरू नेपालमा धेरै सङ्ख्यामा छन् । अण्डाशयको क्यान्सर २० वर्षभन्दा अगाडिको उमेर वा ४० वर्षभन्दा पछाडि मात्र लाग्ने सम्भावना रहन्छ । २० र ४० को बीचमा पनि हुन सक्छ तर कम मात्रामा लाग्ने सम्भावना रहन्छ । महिनावारी एकदमै गडबड हुने, ३०÷४० वर्ष काटिसकेपछि महिलाहरूको महिनावारी गडबड हुनेमा ती महिला पाठेघरको क्यान्सर हुने सम्भावना प्रबल रहन्छ । यो बिरामीहरू उत्तिकै छन् । अर्को भनेको आङ खस्ने बिरामी नेपालमा धेरै छन् । नेपाल सरकारले नेपालभर आङ खस्ने समस्याको उपचार निःशुल्क गर्दा पनि यो रोग अझै नियन्त्रणमा आउन सकेको छैन । पाँचदेखि १५ वर्षसम्म आङ खस्दा खस्दा सुन्निएर, पाठेघरमा घाउ भएर अस्पताल आउने बिरामीहरू अहिले पनि त्यत्तिकै मात्रामा छन् । प्रसूति गृहमा मात्र दैनिक रूपमा तीनदेखि चारजनासम्म आङ खस्ने समस्या लिएर आउने गर्छन् । काठमाडौँ उपत्यकाभन्दा बाहिरबाट आउने बिरामीको सङ्ख्या धेरै छ ।
पिसाब चुहिने समस्या
महिलालाई हुने समस्या भनेको पिसाबसम्बन्धी समस्या हो । महिलाहरूलाई अलिकति खोक्दा, हाच्छिउँ गर्दा पिसाब चुहिने समस्या हुन्छ । समाजमा बच्चा पाएपछि पिसाब चुहिने समस्या जसलाई पनि हुन्छ भन्ने भ्रम छ । पिसाब चुहिने समस्या एउटा रोग हो । त्यसलाई औषधिले निको गर्न सकिन्छ । औषधिबाहेक शल्यक्रिया गरेर पनि ठीक गर्न सकिन्छ । मान्छेमा जब पिसाब चुहिन थाल्छ, उसको शरीर गन्हाउन थाल्छ । विस्तारै उक्त व्यक्ति समाजबाट पनि बहिस्कार हुन थाल्छ । मानिस आफैँ भाग्दै हिँड्छ । उसलाई मनोवैज्ञानिक रूपमा पनि असर पर्छ । यो कुरा उनीहरूलाई बुझाउन सकियो भने धेरै खर्च लाग्दैन । सरकारी अस्पतालमा सामान्य सेवा सुविधामा पिसाब चुहिने समस्याको समाधान गर्न सकिन्छ ।
विश्वासिलो प्रसूति गृह
प्रसूति गृहमा आउने बिरामीहरू बढीजसो मध्यम वर्गका आउनुहुन्छ । प्रसूति गृहमा धेरै विश्वास भएर होला, उच्च वर्गको मानिसहरू पनि निजी अस्पतालमा उपचार गराएर वा बाहिरको डाक्टरले शल्यक्रिया गर्नुपर्छ भनिसकेपछि एकपटक प्रसूति गृहका डाक्टरलाई पनि देखाउनुपर्छ भनेर आउने गर्नुहुन्छ । सल्लाह सुझाव लिने गर्नुहुन्छ । बाहिर शल्यक्रिया गर्न तयार भएको बिरामीलाई अहिले गर्नु पर्दैन भनेर कुरेको धेरै हुनुहुन्छ । धेरैजसो अस्पताल आउने बिरामीहरू निम्न र मध्यम वर्गीय नै हुन् । निम्न वर्गीय बिरामीहरू अस्पताल आइसकेपछि पैसाको अभावमा उपचार नपाएको अवस्था छैन । त्यसमा अस्पतालले पनि निःशुल्क सेवा दिएको छ । नेपाल सरकारको सामाजिक सुरक्षा एकाइमार्फत पनि निम्न वर्गीय व्यक्तिहरूको उपचार भइरहेको हुन्छ । बिरामी आइसकेपछि उपचार नपाएर फर्कनु परेको छैन । किनकि प्रसूति गृह देशभरबाट रिफर हुने अस्पताल हो ।
महिलाको पहुँच
नेपालका हरेक अस्पतालमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ पुग्नुभएको छ तर एक जना डाक्टर मात्र गएर सबै सेवा दिन सकिँदैन । परीक्षण हुन्छ, रोग पत्ता लगाइन्छ तर त्यो सेवामा एक्लै गाइनोकोलोजिष्टले सबै सेवा दिन सकिँदैन । नेपाल सरकारले जिल्ला अस्पतालसम्म प्रसूति तथा स्त्रीरोग विशेषज्ञ पु¥याएको छ । नेपालमा अन्य रोग जस्तै मुटु, मिर्गौलालगायतका रोगमा सर्वसाधारणको पहुँच पुग्नै सकेको छैन । स्त्री रोगमा सामान्य सर्वसाधारणको पहुँच पुग्न सकेको छ । धेरै सेवा सुविधा स्त्री रोगमा सरकारले नै उपलब्ध गराएको छ । गर्भपतनकै कुरा गर्ने हो भने पहिले पहिले अवैध रूपमा धेरैले गर्भपतन गराएका हुन्थे । त्यसलाई सरकारले कानुनी दायरा दियो । सरकारी अस्पतालहरूमा गर्भपतन सेवा निःशुल्क राखेको छ ।
सबैभन्दा सस्तो अस्पताल
सामान्य शल्यक्रिया गर्नका लागि परोपकार तथा स्त्री रोग अस्पतालमा ल्याप्रोष्कोपी प्रविधि पनि छ । यसअन्तर्गत प्वाल पारेर दूरबिनबाट शल्यक्रिया गरिन्छ । त्यो प्रविधिबाट शल्यक्रिया गर्दा सबैभन्दा सस्तो थापाथली अस्पतालमै छ । यो विधिमा पेट चिरेर ठूलो घाउ बनाएर शल्यक्रिया गर्नुपर्दैन । तीनदेखि चार वटा प्वाल बनाइन्छ । प्वालमा सामानहरू राखेर पेटभित्र नै अप्रेसन गर्ने गरिन्छ । पेट चिरिरहनुपर्दैन । पाठेघरमा मासु पलायो, सिष्ट निस्किएको अवस्थामा वा पाठेघर नै निकाल्नुपरेको अवस्थामा सकेसम्म त्यो प्रविधिमार्फत शल्यक्रिया गर्न सकिन्छ । कुन बिरामीलाई कसरी शल्यक्रिया गर्ने भन्ने निर्णय चिकित्सकले गर्ने गर्छ ।
यो प्रविधिमा शल्यक्रिया गर्दा अस्पताल घाटामा रहेको छ । सामान महँगो हुने हुँदा ल्याप्रोष्कोपी प्रविधि चिरेर गरिने शल्यक्रियाभन्दा महँगो हुन्छ । अप्ठेरो केश छ भने चिरेरै गर्नुपर्ने हुन्छ । सजिलो केश छ भने दूरबिनबाट शल्यक्रिया गर्दछौँ र बिरामी भोलिपल्टै डिस्चार्ज भएर घर जानसक्छ । घाउ पाक्ने डर हुँदैन । ल्याप्रोष्कोपी शल्यक्रियाको निजी अस्पतालमा एकलाख ५० हजारबाट सुरु हुन्छ भने प्रसूति गृहमा २० देखि २५ हजारमा हुने गर्छ ।
दैनिक ८० जनासम्म सुत्केरी
प्रसूति गृहमा दैनिक ६० देखि ८० जनासम्म दैनिक सुत्केरी हुने गर्छन् । तीमध्ये सरदर २० देखि २५ प्रतिशत शल्यक्रियाद्वारा सुत्केरी हुने गर्छन् । विश्व स्वास्थ्य सङ्गठनले १५ प्रतिशतको हाराहारीमा मात्र शल्यक्रियाद्वारा सुत्केरी गराउ भन्ने मान्यता छ । तर प्रसूति गृह टर्चरी (रिफरल) अस्पताल भएकोले बाहिरबाट आउने बिरामी एकदम जटिल स्थितिमा आउने गर्छन् । त्यसले गर्दा पनि शल्यक्रिया मार्फत सुत्केरी हुने सङ्ख्या बढेको हो ।
प्रसूति गृहमा मुटुरोग, मधुमेहलगायतका अन्य रोगका बिरामी आउने भएकोले पनि २० प्रतिशतभन्दा बढी शल्यक्रियामार्फत सुत्केरी गराउने बढेको हो । निजी अस्पतालमा ७० प्रतिशतभन्दा माथि शल्यक्रिया गर्ने चलन छ ।
पहिले पहिले सुत्केरीको मूल्याङ्कन हुने गर्दथ्यो । हाइरिष्क (उच्च जोखिम) र कम रिष्क भनिन्थ्यो । अहिले विश्वव्यापी मान्यताअनुसार नै सबै सुत्केरी हाइरिष्कमा पर्छन् । कुनै रोग नभएको गर्भवती पनि हाइरिष्क र सुगर, प्रेसर भएको महिलालाई पनि हाइरिष्कमा राखिन्छ । अर्को अत्यधिक रक्तश्राव भएर पनि प्राथमिक स्वास्थ्य केन्द्रबाट रिफर गरेर आउने गरेका छन् । केही दिनअघि बुटवलबाट हिँडेकी गर्भवती गल्छीमा आएर सुत्केरी भइछन् । तर अत्यधिक रक्तश्राप भएपछि प्रसूति गृहमा आइन् । राम्रोसँग उपचार पाइन् ।
(प्रसूति तथा स्त्रीरोग अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ (सिनियर कन्सलटेण्ट) डा. सुवेदीसँग सरोज ढुङ्गेलको कुराकानीमा आधारित)