अनुसन्धानले ज्ञान प्राप्त हुन्छ । परिकल्पनालाई तथ्यमार्फत पुष्टि गरेर सामान्यकृत गरेपछि सिद्धान्त बन्छन् । चाहे सफ्ट वा हार्ड विज्ञानका सिद्धान्तका कुरा गरौँ ती सबै यस्तै तथ्यलाई पुष्टि गरिएका जनरलाइजेसन हुन् । न्युटनको ‘ल अफ ग्र्याभिटी’ अनुसन्धानकै प्रतिफल हो । माक्र्सवादी दृष्टिकोणबाट समाज विकासलाई निरूपण गर्ने हो भने पनि आदिम साम्यवाद, दास युग, सामन्तवाद वा पुँजीवादका प्रत्येक चरणमा मानिसले गरेका अनुसन्धान र प्राप्त सफलताले समाजलाई आजको वैज्ञानिक युगसम्म ल्याएको छ । ईबी टोयलर, एल.एच मोर्गानले भनेजस्तै ढुङ्गे युग, बार्वरियन र आधुनिक युगलाई हेर्ने हो भने पनि मानिसले गरेका निरन्तर अध्ययन अनुसन्धानको परिणामले समाज विकास हाँकेको स्पष्ट देखिन्छ । मानिस आफँैमा जिज्ञासु प्राणी रहेकाले समाजमा हुने घटनाका कारण र परिणामलाई आ–आफ्ना तरिकाले बुझ्दै आएकोमा पछिल्ला शताब्दीबाट यस्ता घटनालाई पुष्टि गर्न कि त प्राकृतिक विज्ञानका वा सामाजिक विज्ञानका प्रयोगशालाको प्रयोग गर्ने प्रवृत्ति बढेको छ । अनुसन्धानसँगै आविष्कार र अनुसन्धानतिर वर्तमान मानव समाज आकृष्ट भएको छ । अबको मानिस आदर्श होइन प्रत्यक्षवाद (पोजिटिभिजम) मा विश्वास गर्छ ।
विश्व बैङ्कले गरेको अध्ययनअनुसार नेपालले सन् २००५ देखि २०११ सम्म औसतमा कुल गार्हस्थ्य उत्पादनको जम्मा ०.३० प्रतिशत अनुसन्धानमा लगानी गरेको देखियो । त्यो पनि विकास परियोजनामा गर्नुपर्ने अनुसन्धानका कारण यस्तो अङ्क बढेको हो । खासमा नेपालमा प्राकृतिक, भौतिक वा सामाजिक विज्ञानका क्षेत्रमा अनुसन्धान गर्ने प्रवृत्ति नै छैन भने पनि हुन्छ । ज्ञानलाई शक्ति भन्ने अमेरिकनहरू आफ्नो देशको सफलतालाई अनुसन्धानको परिणाम मान्दछन् । इजरायलले अनुसन्धानका लागि ४.३९ प्रतिशत खर्च गर्छ । युद्ध र अशान्तिबीच पनि इजरायलले गरेको प्रगतिलाई अनुसन्धानकै परिणाम मानिन्छ । नेपालले ठूला परियोजनाको कार्यान्वयन गर्ने सन्दर्भमा गर्नैपर्ने भौगर्भिक, वातावरणीय, आर्थिक तथा सामाजिक–सांस्कृतिक अध्ययन गर्ने गरेको भए पनि प्राज्ञिक÷वैज्ञानिक अनुसन्धानमा ध्यान जान सकेको छैन । सामाजिक अनुसन्धानका लागि त्रिभुवन विश्वविद्यालयमा सिनास, सेडा र वैज्ञानिक अनुसन्धानका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) क्रियाशील छ । स्वास्थ्य विज्ञान क्षेत्रमा केही निकाय संलग्न छन् तर पर्याप्त स्रोत र सोच परिचालन नभएकै कारण अनुसन्धानको जिम्मेवारी पाएका निकाय ‘संस्थागत सौन्दर्य’ मात्र भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नास्टको ४४ आँैं प्राज्ञ सभालाई सम्बोधन गर्दै आविष्कार र अनुसन्धानतर्फ केन्द्रित हुन नेपाली वैज्ञानिकलाई आह्वान गर्नुभएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का कुलपति ओलीले १११ वर्षअघि दक्षिण एसियामा पहिलोपटक जलविद्युत् गृह बनाउने नेपाल वैज्ञानिक अनुसन्धान र आविष्कारमा पछाडि पर्नुपर्ने कारण छैन भन्दै विकासलाई हरेक क्षेत्रबाट अगाडि बढाउन वैज्ञानिक अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभएको छ ।
अनुसन्धानका लागि उच्च शिक्षा अध्ययनको अवसर सहज हुनुपर्छ । अनुसन्धान खर्चिलो कार्य पनि हो । कम विकसित मुलुकले वैज्ञानिक अनुसन्धानमा उल्लेख्य खर्च गर्ने हैसियत राख्दैनन् । विकसित मुलुक मङ्गल ग्रहमा पानीको स्रोत खोज्दै मानव बसोवासका सम्भावनामाथि अनुसन्धान गरिरहेका छन् । नेपालजस्ता मुलुकलाई आफ्नै देशको स्याटेलाइट अन्तरिक्षमा राख्न पनि लामो समय कुर्नुपरेको वर्तमान अवस्था छ । नेपालजस्ता देशले विगतदेखि समाजमा विद्यमान भौतिक औजार, उपकरण, विचार तथा शैलीलाई परिवर्तन गर्न सक्छन् । डोकोमा बोकेर आठदश तलामाथि पु¥याउनुपर्ने निर्माण सामग्री उत्तोलक र भार बहनका सामान्य सिद्धान्त प्रयोग गरी स्वचालित तरिकाले त्यहाँ पु¥याउन सकिनेछ । साना तर मानव जीवनमा प्रत्यक्ष सरोकार राख्ने यस्ता सन्दर्भमा अनुसन्धान गर्दै परिष्कार, परिमार्जन गर्न सकिनेछ तर प्रधानमन्त्री ओलीले भन्नुभए जस्तै नेपालमा वैज्ञानिक अनुसन्धानको अवस्था उत्साह, सङ्कल्प गन्तव्यहीन जस्तै छ । यस्तो अवस्था अन्त्यका लागि युवा पुस्ताले वैज्ञानिक अनुसन्धानलाई महìव दिने प्रकारका शिक्षामा जोड दिनुपर्छ । शिक्षालाई व्यावहारिक बनाउँदा अनुसन्धान सहज हुनेछ । साथै केही नेपाली युवा वैज्ञानिकले पानीले पानी तान्ने मेसिन, मतदान मेसिन, रोबर्ट, हावाबाट बत्ती बाल्नेजस्ता क्षेत्रमा प्रयोगात्मक सफलता पाएका छन् । उनीहरूलाई प्रोत्साहन गर्दै थप वैज्ञानिक अनुसन्धानतर्फ आकर्षित गर्न सकिन्छ तर नेपालमा पुस्तक पढ्ने प्रवृत्तिले अनुसन्धान गर्ने परम्पराको जग बस्नै पाएको छैन ।