नयाँ वर्ष २०७८ मुलुकभर र जहाँ–जहाँ नेपाली रहेका छन्, त्यहाँ विभिन्न कार्यक्रमसाथ उल्लासपूर्ण रूपमा मनाइँदै छ । सौर्यमानक गणनाले वैशाख १ गते नेपालको मौलिक तथा औपचारिक नयाँ वर्ष हो । भारतमा पनि यो संवत् चलनचल्तीमा छ । विश्वका अन्य कतिपय देशमा पनि यो संवत्मा आधारित भई वैशाख १ लाई नयाँ वर्षका रूपमा मनाइन्छ । वैदिक विधिविधान तथा सूर्यको गति गणनाअनुसार निर्धारित सौर्य पात्रोमा आधारित विक्रम संवत् विश्वमा प्रचलित धेरै संवत्हरूभन्दा जेठो अर्थात् पुरानो छ । नयाँ वर्ष प्राविधिक अस्तित्वमात्र होइन, यो समाज र व्यक्तिको मौलिकता, आकाङ्क्षा, समृद्धि तथा समग्रमा सपनासँग जोडिएको एकीकृत भावना पनि हो । हरेक क्षण, हरेक दिन, हरेक वर्ष आफैँमा नयाँ हुन्छन् तर सम्पूर्ण नेपालीले वैशाख १ गतेलाई मिति, तिथि वा पात्रो परिवर्तनको प्राविधिक पक्षभन्दा उत्साह, सम्भावना, प्रेरणा र सङ्कल्पविशेष दिवसका रूपमा बुझ्छन्, लिन्छन् । यसर्थ, वैशाख १ को महŒव समयमात्र होइन, समाज परिवर्तनमा परिलक्षित छ ।
मानव समाज चुनौती र सम्भावनाको बाटो हुँदै अगाडि बढेको यात्रा हो । चुनौती र सम्भावना नभएको समाज सायदै जीवित हुन सक्छ । समाज सरलताबाट जटिलतातर्फ उन्मुख हुने गर्छ । तसर्थ, विगतको जस्तो सरल समाज आज छैन र आजको समाज भोलि यथावत् रहन सक्दैन । परिवर्तन समाजको नियम हो । यी परिवर्तनका लागि विभिन्न दबाब, अभाव, आवश्यकता, परिस्थिति जिम्मेवार हुन्छन् । विश्वव्यापी कोरोना (कोभिड–१९) सङ्क्रमणविरुद्ध जुध्नुपर्दा गत वर्ष चैत ११ गतेदेखि गरिएको बन्दाबन्दी (लकडाउन) कारण आमनेपालीले घरभित्रै, मनभित्रै नयाँ वर्ष २०७७ मनाउनुपरेको थियो । उद्विकासका लामा कालखण्डमा यस्ता असहजता मानिस समाजले भोग्दै आएको हो । यिनै असहजतालाई सहजतामा परिणत गर्न सक्ने क्षमता मानवले राख्ने भएकाले उसले हरसमस्या जितेको छ र मानव समाजको यात्रा निरन्तर छ । ब्रह्माण्डका कैयन प्राणी लोप हुनु तर मानिसले आफूलाई अझ तीक्ष्ण र सुरक्षित बनाउन सक्नुका पछाडि मानिसको बुद्धिमत्तापूर्ण क्षमता नै एकमात्र कारण हो ।
यसपटक पनि नयाँ वर्ष मनाउँदा वातावरण अपेक्षित सुधारिएको छैन । विश्वका अन्य भागमा देखिएजस्तै यही चैतको दोस्रो हप्ताबाट नेपालमा कोरोनाको दोस्रो चक्र (चरण) आएको मानिएको छ । समाजमा पुनः अनिश्चय र भय देखिएका छन् । यी परिस्थितिका अतिरिक्त विश्वव्यापी रूपमा कोरोनाविरुद्धका खोप प्रयोगमा आएका छन् । नेपालमा पनि प्राथमिकताका आधारमा अति जोखिमको घेराभित्र रहेका अधिकांशले खोपको पहिलो मात्रा लगाइसकेका छन् । सरकारले अनुदान वा खरिद गरेर भए पनि आवश्यक सबै नागरिकलाई निःशुल्क खोप वितरण गर्ने पहल तथा गृहकार्य गरिरहेको छ । यी सबै घटनाक्रमले समस्यासँगै सुखद सम्भावना पनि उदाएको देखिन्छ । यी सम्भावनालाई अझ बढी ठोस र सुखद बनाउन सरकार–नागरिक हातेमालो आवश्यक छ । हरेक नागरिकले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर आफू सुरक्षित रही सरकारलाई सहयोग गर्न सक्छ । सक्नुपर्छ ।
नेपाली उखान छ– बाँच्न पाए नाच्न पाइन्छ, हाँस्न पाइन्छ । यो बेला आफू र समुदायलाई सुरक्षित राख्ने जिम्मेवारी समयले प्रत्येक नागरिकलाई दिएको छ । हाम्रा सामाजिक व्यवहार, अन्तक्र्रिया वा क्रियाकलाप कोरोनासँग जुध्न सक्ने किसिमले सम्पादित हुनुपर्छ । नयाँ वर्ष वा अन्य चाडबाड मनाइँदा तत्क्षणको हर्षमात्र होइन, सम्भावित विस्मात्लाई पनि बिर्सन हुँदैन । विज्ञहरूका अनुसार भीडभाडबाट टाढा रहनु नै कोरोनाको प्रथम उपचार र सुरक्षित हुने उपाय भएकाले चाडबाड मनाउँदा संयमित हुनु आफ्नो सुरक्षाका लागि पनि श्रेयस्कर हुनेछ । तामझाम र भड्कावपूर्ण तरिकाले पर्व तथा उत्सव मनाउनुपर्छ भन्ने छैन । नयाँ वर्ष नयाँ अध्यायको क्षितिज उघार्ने अवसर हो । यसलाई संयमित भएर मनाउन सकिनेछ । अमेरिकी लेखक मेलोडी बेटीले भनेजस्तै, ‘नयाँ वर्ष पुस्तकको लेखिन बाँकी अध्यायका रूपमा हाम्रो अगाडि उभिएको छ, नयाँ सङ्कल्पसाथ यस्तो अध्यायको कथालाई हामीले पूर्णता दिनुपर्छ ।’ नयाँ वर्षको उत्सवलाई प्रदर्शनीय होइन, परिणाममुखी बनाउनुपर्छ । समयले वर्तमान पुस्तासँग यही मागेको छ ।