चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा बुधबार देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा गरी रामनवमी मनाइएको छ । यस दिन असत्यमाथि सत्यको विजय हुने विश्वासका साथ भगवान् श्रीरामको सम्झनामा परापूर्वकालदेखि देशभरका राम मन्दिरमा पूजापाठ गरिँदै आएको छ । चितवनको माडीस्थित अयोध्यापुरीमा यही रामनवमीको दिन राम र सीताका मूर्तिको प्राणप्रतिष्ठा गरिएकाले यस पटकको नवमी विशेष चर्चामा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै निजी खर्चमा बनाउन लगाउनुभएका ती मूर्ति मङ्गलबार विशेष पूजापछि हस्तान्तरण गर्दै नवमी (बुधबार) अयोध्यापुरीमा प्राणप्रतिष्ठा गर्न आयोजित विशेष रथयात्रालाई काठमाडौँबाट बिदाइ गर्नुभएको थियो । गत वर्ष असार २९ गते आदिकवि भानुभक्त आचार्य जन्मजयन्तीका दिन प्रधानमन्त्री ओलीले रामायण र राम, सीता राम र नेपालको अयोध्यापुरी, रामायणलाई नेपाली भाषामा अनुवाद गर्ने आचार्यका बारेमा चर्चा गर्दै भगवान् राम विश्वका अन्य कुनै भूभागमा नभएर नेपालको चितवन जिल्लास्थित माडी क्षेत्रको अयोध्यापुरीका भएको विभिन्न प्रमाण तथा तर्क प्रस्तुत गर्नुभएको थियो । त्यसयता माडी, अयोध्यापुरी र स्वयं प्रधानमन्त्री ओली विभिन्न चर्चामा हुनुहुन्छ । प्रधानमन्त्री ओलीले हामीले सीता अयोध्याका रामलाई विवाह गरिदिएका हौँ भन्दै अयोध्या वीरगञ्जभन्दा केही पश्चिम गाउँ छ भन्नुभएको थियो ।
सामान्य बुझाइमा राम जन्मभूमिका बारेमा विवाद गर्नुको खास अर्थ नरहन सक्छ तर राम, सीता, बुद्ध, भृकुटी नेपालका पहिचान र गर्व भएकाले यिनीहरूलाई नेपालले धार्मिक आस्थामा मात्र हेर्न मिल्दैन । यिनीहरू नेपालका व्यक्ति नभएर सम्पदा भएकाले राष्ट्रियता, संस्कति, अर्थशास्त्र, पर्यटन विभिन्न विधाबाट यिनीहरूमाथि चर्चा परिचर्चा गर्न सकिनेछ । रामभूमिको दाबी राजनीतिक आवेग मात्र नभएर प्रागऐतिहासिक तथा सांस्कृतिक अध्ययनबाट पुष्टि हुनसक्ने प्रारम्भिक प्रमाण नेपालसँग छन् । यस क्षेत्रमा मनग्य उत्खनन हुन नसकेकाले केही अन्योल र विवाद हुनसक्छन् तर वैज्ञानिक अध्ययन अनुसन्धान गर्दै जाँदा नेपालको दाबी पुष्टि हुने विभिन्न प्रमाण हुनु नेपालका लागि गौरवको विषय हो । ठोरी, अयोध्यापुरी, माडी नेपालका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र हुन् । प्रधानमन्त्री ओलीको पहलमा राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिको प्राणप्रतिष्ठाले त्यस क्षेत्रको गरिमा र विकासमा थप योगदान दिनेछ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा जोडिएको माडीलाई धार्मिक तथा पर्या–पर्यटनको क्षेत्र बनाउन सकिनेछ ।
धर्मनिरपेक्ष देशको एउटा कम्युनिस्ट प्रधानमन्त्रीले अयोध्याको बहस, रामसीताको मूर्ति निर्माण तथा तिनको विशेष पूजा गरिएको भन्दै आलोचना नभएको होइन तर नेपालको मौलिकता र पहिचानसँग जोडिएको अयोध्यापुरीलाई प्रकाशमा ल्याउनु फगत धार्मिक कार्य मात्र होइन । भारतबाट नुन किनेर ल्याइने बाटोका रूपमा परिचित तर उपेक्षित माडी (ठोरी) क्षेत्रको विकास गर्न सकिने विभिन्न सम्भावनामध्ये अयोध्यापुरी, निकुञ्ज,
पर्या–पर्यटन, कृषि एक हुन् । यी सबै सम्भावनालाई जोड्नु विकासप्रतिको नवीन धारणा हो । हरेक धार्मिक कार्यका प्रत्यक्ष र अप्रत्यक्ष अर्थात् घोषित र अघोषित उद्देश्य हुन्छन् । रामसीताको मूर्ति स्थापना, अयोध्यापुरी प्रत्यक्ष परिवेश हुन् भने यी सम्पदालाई आधार बनाएर माडी क्षेत्रमा गरिने विकास अघोषित (लेटेन्ट) उद्देश्य हो । पूर्व–पश्चिम राजमार्गबाट नजिक रहेर पनि विकासमा पछाडि परेको त्यस क्षेत्रलाई विकासको मूलप्रवाहमा ल्याउन यस्ता सम्भावनाको खोजी गर्नुपर्छ । जे सम्भावना छ त्यसैलाई समातेर विकासमा अघि बढ्नुपर्छ । माडीको अयोध्यापुरीमा धार्मिक पर्यटनको सम्भावना छ भने त्यसलाई नकारेर नेपालले त्यहाँ समुद्र तटीय पर्यटनको परिकल्पना गर्न सक्दैन ।
माडीमा लागेको घाउ बिर्साउनु पनि छ । माडीस्थित बाँदरमुढे खोलामा तत्कालीन विद्रोही नेकपा माओवादीले थापेको विद्युतीय धराप (एम्बुस) मा परी २०६२ जेठ २३ गते ४१ जना सर्वसाधारणको निधन भएको थियो । राज्यले यस्तै रचनात्मक कार्य गरेर त्यहाँ बस्ने मानिसका मन जोडिदिनुपर्छ । दुःखद घटना बिर्साइ दिनुपर्छ । नयाँ सम्भावनाका लागि सबैलाई गोलबद्ध गर्नुपर्छ । अयोध्यापुरी निर्माणमा माडी नगरपालिकामा देखिएको एकताबद्ध उत्साहले यही भन्छ । माडी क्षेत्रको रिउ (सरियू) नदीमा पुल, नदी तटबन्धन, सिँचाइ, सडकलगायतका सामुदायिक विकासका लागि यो अभियानलाई माध्यम बनाउन सकिनेछ ।