logo
२०८१ माघ ८ मंगलवार



कोभिड कहरमा सकारात्मकता

विचार/दृष्टिकोण |




डा. रामहरि पौड्याल

विश्व यतिखेर कोभिड–१९ को दोस्रो, तेस्रो लहरले त्राहिमाम भएको छ । सन् २०१९ को अन्त्यतिर चीनको वुहानबाट सुरु भएको यो महामारी पहिले संसारको शक्तिसम्पन्न युरोप र अमेरिकातिर डढेलोका रूपमा सल्केको थियो भने यतिखेर यो हाम्रो छिमेकी राष्ट्र भारत हुँदै नेपालतिर तीव्र रूपमा फैलिएको छ । विश्वका १६ करोडजनाभन्दा बढी सङ्क्रमित भएको यो महारोगबाट ३३ लाखभन्दा बढीले ज्यान गुमाए भने करिब १४ करोड मान्छे योसँग लडेर निको भएका छन् ।
आधुनिकता र ‘ग्ल्यामर’को केन्द्र बनेर संसारका सबैलाई लोभ्याइरहने ठुल्ठूला सहरमा यतिखेर मूर्दाशान्ति छाएको छ । कुनै आवाज छैन, कतै गाडी गुड्दैनन्, धूलो, धूवाँ, कोलाहल छैन । हिजोको महाशक्ति बेलायतको लन्डन होस् या जर्मनीको बर्लिन, फ्रान्सको पेरिस होस् या इटालीको मिलान, स्पेनको मड्रिड, अमेरिकाको न्युयोर्क होस् या क्यालिफोर्निया, सबैतिर कोलाहल मच्चाएको थियो एउटा सानो आँखाले नदेखिने भुसुनाले । विश्वविजयी भएको स्वाङ गर्नेहरूलाई चन्द्र धरातलमात्र होइन, अब मङ्गल ग्रह र समस्त सौर्य मण्डलमा प्रभुत्व जमाउने अभिलाषाले अगाडि बढेका मनुवालाई एउटा पाठ सिकाएको छ– कोभिड–१९ ले । पेट्रिक क्षेप्यास्त्र, मिसाइल, संसार ध्वस्त पार्न सक्ने अणु परमाणु बमका धाकहरू आज दुला पसेका छन् मुसा बनेर जीवन रक्षाका लागि ।

कार्बन उत्सर्जन कमी
“न सोभियत सङ्घको पतन हुँदा होस्, न त विगत ५० वर्षको समयावधिमा देखिएका विभिन्न विश्व घटनाहरू– तेलको कमी, तेलको बचतमा देखिने विश्व होडबाजी, आर्थिक मन्दीमा समेत यो महासङ्कटको जस्तो कम कार्बन उत्सर्जन भएको थिएन । कार्बनको उत्पादनमा वार्षिक रूपमा ५ प्रतिशतले गिरावट आउन सक्छ, जुन २००८ को आर्थिक मन्दीपछि १.४ प्रतिशतले घटेको थियो ।’’ क्यालिफोर्नियाको स्ट्यान्डफोर्ड विश्वविद्यालयको अर्थ प्रणाली विज्ञानका प्राध्यापक ज्याक्स भन्नुहुन्छ । ग्लोबल कार्बन प्रोजेक्टका अध्यक्षसमेत रहनुभएका उहाँले वार्षिक उत्सर्जनको अनुमान व्यापक रूपमा अध्ययन गरिरहनुभएको छ ।
“पृथ्वी बिरामी छ भन्ने कुरा पनि हामीलाई यो घटनाले सिकाएको छ । यसले हामीलाई पर्यावरण जोगाउन, वन फँडानी नगर्नका लागि पनि सन्देश दिएको छ । त्यसैले पृथ्वीको ख्याल राख्नु हाम्रो कर्तव्य हो ।’’ बिल गेट्सको भनाइ भनेर सामाजिक सञ्जालमा यो भनाइ निकै भाइरल भयो यतिखेर । विशेषतः वन्यजन्तुको विनाश र मौसम आपत्तिले मानवतालाई हानि पु¥याइरहेको छ, कोभिड–१९ ले स्पष्ट चेतावनी दिएको’ छ भन्छन् विज्ञहरू ।
काठमाडौँलगायत सधैँ धूलो, धूवाँले भरिने देशका सबै सहर एकाएक सफा देखिनु, सयौँ किलोमिटर परबाट हिमाल देखिनु, संसारका व्यस्त सहरमा देखिएका ‘एयर क्वालिटी इन्डेक्स’मा आएको ऐतिहासिक गिरावटले हामी सबैलाई एउटा पाठ सिकाएको छ । यो सबै प्रदूषणको जिम्मेवार हामी नै थियौँ । सुन्दर धर्तीमा थोपरिएका अनगिन्ती सवारीसाधनका भीड तिने फाल्ने धूलो, धूवाँ, कलकारखाना सबैले पृथ्वीलाई बिरामी बनाए । विश्व तापक्रमलाई बढाए । वन वनस्पति, जीवजन्तु सबैमाथि धावा बोले । वर्षमा केही हप्ता यसकिसिमको बन्द गरिनु पर्दोरहेछ सफा श्वास फेर्ने धर्तीको पूजा गर्न । यो सकारात्मक सन्देश आजको उपलब्धि हो ।
आदिवासीको न्युयोर्क सम्मेलन
गत वर्ष यतिखेर न्युयोर्क कोरोनाको डरलाग्दो विपत्तिबाट गुज्रेको थियो, जहाँ सयौँ नेपालीसमेत कोरोना सङ्क्रमित भएका थिए र केहीको दुःखद मृत्युको खबर सुनिएको थियो । एउटा संयोग नै मान्नुपर्छ, सन् २०२० मार्चको १३ मा न्युयोर्क सहरमा भेला भएका विश्वका आदिवासी नेताहरूका अनुसार कोभिड–१९ र स्वास्थ्यसम्बन्धी अन्य रोग सीधा मौसम परिवर्तन र वन फँडानीमा जोडिएको छ । “कोरोना भाइरसले पृथ्वीको सन्तुलन खतरामा रहेको कुरा सम्झायो, हामीले नाजुक जैविक विविधताको सन्तुलन कायम गर्नु आवश्यक छ । संसारले प्रयोग गर्ने २० प्रतिशत औषधि जङ्गलबाट बाहिर आउँछन् र जङ्गल नासेर हामीले भविष्यका समाधानलाई जोखिममा पारेका छौँ ।’’ यो महामारीले संसारलाई बताउँदै छ– आदिवासीहरू हजारौँ वर्षदेखि के भनिरहेका छन्– यदि हामीले जैविक विविधता र प्रकृतिलाई बचाउन सहयोग गरेनौँ भने हामी यो र अझ डरलाग्दो खतराको सामना गर्नेछौँ, अमेरिकन एलायन्स अफ पिपुल्स एन्ड फरेस्ट्स
(एएमपीबी)का सहसंयोजक शुक्रे रोमेरोले भन्नुभयो ।
वैज्ञानिक अनुसन्धानअनुसार आदिवासी जनजाति र उनीहरूको ज्ञान प्रणालीले हजारौँ वर्षमा वनविनाशको हानिकारक प्रभाव, जैविक विविधताको चर्को विनाश र ठूला औद्योगिक विकासको नाममा गरिने प्रकृतिको दोहनको दाबीलाई पुष्टि गर्छन् । ‘‘यदि संसारले आदिवासी जनजातिको अधिकारलाई सुदृढ पार्नका लागि काम गरेको भए, उनीहरूले प्रकृतिमा बस्न र पशु र बोटबिरुवाको प्रजातिको रक्षा गर्न सिकेका छन् भन्ने सत्यलाई चिनेका भए, हामीले अहिले सामना गरिरहेकोजस्ता थोरै महामारी देख्ने भोग्ने थिएनौँ,’’ मीना सेत्रले मार्च १३ को उक्त सम्मेलनमामा बताउनुभयो । हाम्रो समुदायमा हामीले एउटा खास जैविक विविधताको सम्मान गरेका छौँ, जसले आज हाम्रो सुरक्षा गर्छ, हामी के खान्छौँ ? त्यो हामी आफैँ रोप्छौँ र हामीसँग यस्तै समय पाउनका लागि आवश्यक संसाधन र ज्ञान छ । यो नै हामी बाँकी विश्वलाई भन्न खोजिरहेका छौँ, रोमेरोको भनाइ थियो ।
दुःखको कुरा विश्वलाई आदिवासी जनजाति र जैविक विविधताको रक्षा गर्दै वन–जङ्गल र प्रकृतिलाई जोगाउन गरिएको उक्त अन्तर्राष्ट्रिय सम्मेलनको मात्र दुई हप्तामा अमेरिकाको न्युयोर्क सहर कोरोनाको प्रकोपले सताइएको थियो । यसबाट बेलैमा हामी सबैले ठूलो पाठ सिक्नुपर्छ ।
गत महिना नेपालका धेरै ठाउँमा डढेलो लाग्यो । वातावरण प्रदूषित भएर संसारकै प्रदूषित देश बन्यो एअर क्वालिटी इन्डेक्स (वायु प्रदूषण मापदण्ड) अनुसार कति जीवजन्तु मरे, कति वनस्पतिको नाश भयो, अमूल्य जडीबुटी खरानी भए, त्यसको लेखाजोखा कसले गर्ला ?
बेलायतको प्रसिद्ध पत्रिका गार्डियनलाई राष्ट्रसङ्घीय वातावरण कार्यक्रम प्रमुख इन्गर एन्डरसनले भन्नुभएको छ, मानवजातिले गरेको प्राकृतिक विनाश र त्यसको अस्तित्वमा बोलेको तीव्र धावा नै अहिलेको हानिकारक परिणाम हुन् । उहाँले चेतावनी दिनुभयो, ‘आफ्नो ग्रहको हेरचाह गर्न असफल हुनु भनेको आफ्नै ख्याल नगर्नु हो र आफ्नै सन्ततिको भविष्यमा हतियार चलाउनु हो । अझ यस्ता प्रकोप रोक्न विशेषज्ञले भनेका छन्, ‘विश्वव्यापी बढ्दो तापक्रम, खेतिपाती, खानी र आवासका लागि प्राकृतिक संसारको विनाश अन्त्य हुनुपर्छ किनभने त्यस्ता क्रियाकलापले वन्यजन्तुलाई मानिससँग सम्पर्क राख्ने काम गर्छ ।’ उनीहरूले अवैध वैश्विक पशु व्यापारको बजार अन्त्य गर्न पनि आग्रह गरे– जसलाई उनीहरू रोगका लागि “आदर्श मिक्सिङ बाउल’’ भन्छन् । कोरोनाको उद्गम भनिएको वुहान पनि यस्तै पशुको अवैध व्यापर र पैठारीमा जोडिएको थियो ।
रेन फरेस्ट एक्सन नेटवर्क–२०१७ का अनुसार विश्वमा ठूला खाद्य उत्पादक कम्पनीका कारण बर्सेनि २० हजार हेक्टर जङ्गल सखाप भइरहेको छ । जङ्गली र घरेलु जनावरबाट मानिसमा रोग सार्ने यति धेरै अवसर पहिला कहिल्यै भएको थिएन, एन्डरसनले गार्जियनलाई बताउनुभयो कि सबै उदाउँदो सङ्क्रामक रोगमध्ये ७५ प्रतिशत वन्यजीवबाट आएका हुन् । ‘जङ्गली ठाउँको निरन्तर क्षयले हामीलाई अप्ठेरोमा परेका जनावर र बोटबिरुवाको नजिक पु¥याएको छ, त्यसैले सङ्क्रामक रोगहरू मानिसमा पुग्न सक्छन् ।’
अमेरिकाको हार्वर्ड स्कुल अफ पब्लिक हेल्थका आरोन बर्नस्टेनका अनुसार प्राकृतिक स्थानको विनाशले वन्यजन्तुलाई मानिससँग बस्न बाध्य तुल्यायो र मौसम परिवर्तनले जनावर पनि सर्न बाध्य पारेको छ ः यसले रोग जन्माएको छ र मानिसलाई सङ्क्रमित बनाइरहेको छ ।

नेपालको सन्दर्भ
शौभाग्यले कोरोनाको पहिलो लहरमा नेपालमा यो महामारीले त्यति धेरै मानवीय क्षति नगरे पनि यो दोस्रो लहर भारतमा बढेसँगै खुला सिमानाले गर्दा यसको प्रभाव तीव्र रूपमा बढ्दै गएको छ । निषेधाज्ञा, खोप, उपचारका पूर्ण प्रयास हुँदासमेत घटना बढेका छन् । खुला सिमाना रहेको भारतमा काम गरेर घर फर्कने हजारौँ मान्छेले त्यो सङ्क्रमण भिœयाएका प्रस्ट छ । यो दुःखद स्थिति कति दिनमा रोकिएला ? युरोप र अमेरिकाले आफ्ना जनतालाई पु¥याउन नसेको टेस्ट किट र क्रिटिकल (गम्भीर अवस्था) बिरामीलाई राखिने भेन्टिलेटरको सुविधा, अक्सिजनको सुविधा गरिब देशका हामीहरू सबैले पाउने कुरै भएन । आत्मा अनुशासन कायम गर्दै घरभित्रै बस्नु नै सबैभन्दा उत्तम उपाय हो यतिखेर ।
आफूहरूलाई जिउँदै जलाउने दुर्योधनको षड्यन्त्रलाई चिर्दै पूरै खाण्डब वन जलेर खरानी हुँदा लाक्षा गृहमा सल्केको आगोबाट बच्न पाण्डवहरूले गुप्त सुरुङ खनेका र त्यही दुलोमा मुसाजस्तै लुकेर बाँचेका थिए रे ! पूर्वीय संसारको गरिमामय सभ्यता र मान्यताको ठूलै चर्चाले यतिखेर हाम्रो सामाजिक सञ्जाल भरिएका छन् कोरानाबाट बच्न । योग नित्य स्नान, शाकाहार, गाई र पशुपन्छीसँगको सामिप्यता, गाईगोरुदेखि कुकुरसम्मलाई पूजा गर्ने हाम्रो धार्मिक आस्था, प्रकृतिप्रेम तिनका जीवन्त उदाहरण हुन् ।
जुन दिन हामीले त्यो आफ्नो आत्मा अनुशासनको परिधिको लक्ष्मणरेखा नाघ्नेछौँ अनि हामीलाई समाउनेछ, कोरोनारूपी कलिले जसरी महाभारतको एउटा कथामा नल दमयन्तीको प्रसङ्ग आउँछ । नल राजालाई कलिले प्रवेश गर्न युगौँ कुर्नुप¥यो रे उनी सधैँ आफ्नो आचरणमा बस्ने धर्मभीरू, ज्ञानी, कर्मग्य थिए । यस्ता धीर पुरुषलाई कलिले प्रवेश गर्ने कुनै छिद्र नपाउने हुँदोरहेछ । अफसोस ! जब एक दिन राजाले लघुशौच (पिसाब) गरेर हात धुन बिर्सिए, उनको जीवनमा कलिले प्रवेश पायो र उनको बर्बादी त्यही दिनबाट भयो । त्यही सानो छिद्र नै उनको जीवनको सबैभन्दा दुर्भाग्यपूर्ण बन्यो ।
हो, हामी सबैले अनुशासन पालन ग¥यौँ भने कुनै कलिरूपी कोरानाले हाम्रो जीवनलाई नर्क बनाउने छैन । यो समय आफ्ना गल्ती कमजोरीलाई सुधार्ने बेला हो । प्रकृतिलाई पूजा गर्ने समय हो । वातावरण जैविक विविधतालाई सम्मान गर्ने समय हो भोलिका हाम्रा सन्ततिले अर्को कोरोना नभोगून् भनेर । 
(लेखक स्वन्जी युनिभर्सिटी बेलायतमा नवीकरणीय ऊर्जामा विद्यावारिधि सोध गर्र्दै हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?