कोभिड–१९ (कोरोना) महामारीबीच पनि केही ठूला तथा राष्ट्रिय गौरवका आयोजनाको काम निरन्तर भइरहेको छ । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग, तनहुँ सेती जलविद्युत् आयोजनालगायतमा निरन्तर काम भएको ती आयोजनाले जनाएका छन् । परियोजनाको कार्यस्थलमा आइसोलेन, स्वास्थ्य परीक्षणलगायतका स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरी निर्माण कार्य निरन्तर गरिएको छ । आयोजनामा समय तालिका मिलाएर आवश्यकताअनुसार २४ सै घण्टा काम भइरहेको बताइएको छ । थानकोट–नागढुङ्गा –सिस्नेखोला सुरुङमार्ग निर्माणस्थलमै एम्बुलेन्स, अक्सिजन, सिलिन्डर र मेडिकल टोलीसहितको २५ जना क्षमताको आइसोलेसन निर्माण गरिएकोले श्रमिकलाई सुरक्षित राख्दै आयोजनाको काम निरन्तरता राख्न सकिने दृष्टान्त देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते शिलान्यास गर्नुभएको सो आयोजनाको काम सोही वर्षको पुसबाट प्रारम्भ गरिएको थियो । सुरुमा सुरुङमार्गको काठमाडौँतर्फको काम थालनी भए पनि पछि धादिङ र काठमाडौँ दुवैतिरबाट सञ्चालन गरिएको छ । मुख्य सुरुङमार्गको लम्बाइ दुई हजार ६८८ मिटर र सहायक सुरुङमार्गको कुल लम्बाइ दुई हजार ५५७ मिटर हुनेमध्ये २०७८ वैशाख अन्तिमसम्म दुवैतिरको गरेर मुख्य सुरुङमार्गको ११४ र सहायक सुरुङ मार्गको २२९.५ मिटर खन्ने काम सम्पन्न भइसकेको छ । पहिलो पटकको बन्दाबन्दीमा पनि निरन्तर काम नभएको भए यस प्रकारको कार्य प्रगति हुने थिएन ।
जापान सरकारको सहयोग नियोग (जाइका) मार्फत करिब १६ अर्ब सहुलियत ऋण र नेपाल सरकारले आन्तरिक स्रोतबाट छ अर्ब रुपियाँमा निर्माण थालिएको सो आयोजना ४२ महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ । यसबीच दुई पटक बन्दाबन्दी भए पनि निर्माण कार्यलाई निरन्तर दिइएकाले निर्धारित समयमै काम सम्पन्न हुने सम्भावना छ । यसबीच विष्फोटक पदार्थको अभावमा केही समय निर्माण कार्य ढिला भएको भए पनि आयोजनालाई उत्साहजनक रूपमा निरन्तरता दिइएकाले इच्छाशक्ति भएमा सङ्कटका बेला पनि काम गर्न सकिनेछ भन्ने पुष्टि गरेको छ । आयोजनामा कार्यरत कसैलाई सङ्क्रमण भए वा लक्षण देखिए तत्काल छुट्टै राखिने प्रबन्ध मिलाइएकाले श्रमिकमा आत्मविश्वासका साथ काम गर्न सहज भएको देखिन्छ । अन्य यस्ता आयोजनाले पनि आवश्यक व्यवस्था मिलाएर काम गर्न सक्ने कार्यविधि सरकारले यसअघि नै जारी गरेको छ ।
यी आयोजनाको उदाहरणबाट जनसम्पर्क कम हुने वा भौतिक दूरी राखी गर्न सकिने कामलाई निरन्तरता दिन सकिने देखिएको छ । केही प्रदेशस्तरीय तथा स्थानीय योजनाहरूमा पनि स्वास्थ्य मापदण्ड पालना गर्दै विकास निर्माणका कार्य भइरहेको समाचार आइरहेका छन् । यसरी नै कृषि कर्ममा पनि कोरोना महामारीबाट बच्दै पूर्ववत् निरन्तर काम गर्न सकिने देखिन्छ । स्वास्थ्य चेतना वृद्धि गरी कृषि कर्मलाई निरन्तरता राख्न जिल्लास्थित सम्बद्ध सरकारी कार्यालयले सहजकर्ताको भूमिका निर्वाह गर्न सक्छन् । कोरोनाको साङ््लो टुटाउन बन्दाबन्दी आवश्यक भए पनि जनघनत्व कम भएका धेरै र थोरै श्रमिकले काम गर्न सकिने क्षेत्रमा पूर्णतः निषेधाज्ञा लगाउनु कति आवश्यक छ भन्नेबारेमा समीक्षा गरी आगामी मापदण्ड निर्धारण गर्नुपर्ने देखिन्छ । यसअघि पहिलो चरणको कोरोनाकालको बन्दाबन्दीमा सरकारले ठूला आयोजना तथा कारखाना सञ्चालन गर्न सकिने गरी मापदण्ड बनाएकाले यिनै मापदण्डलाई थप परिमार्जनसहित अहिले पनि कृषि कर्मलगायत यस्ता क्षेत्रलाई निरन्तरता दिन सकिनेछ ।
सरकारले विकास निर्माणमा प्रयोग हुने सामग्री ढुवानीलाई समन्वयात्मक रूपमा निरन्तर गर्न सकिने व्यवस्था गरेकाले स्थानीय प्रशासनको समन्वयमा सामान ढुवानीलाई निरन्तरता दिन सम्बन्धित आयोजना तथा तालुकदार मन्त्रालयले पहल गर्नुपर्ने हुन्छ । पहिलो सर्त त जनताको स्वास्थ्य सुरक्षा नै हो तर योसँग विकास निर्माणका कामलाई पनि निरन्तर राख्न सकिन्छ भने वैकल्पिक रूपमा त्यस्ता कामलाई निरन्तरता दिनसक्दा एकातिर आयोजनाको काम समयमै सकिन सहयोग पुग्छ भने अर्कोतिर श्रमिकको आम्दानी पनि खुम्चने छैन । चालू आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा कतिपय आयोजना तथा परियोजनामा काम हुन नसकेकाले विनियोजित रकम खर्च हुन सकेको छैन । फलतः समग्र्र विकास बजेटको परिचालन निराशाजनक देखिएकाले अवस्थामा सुधार गर्न स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर विकास, निर्माण ठूला उद्योग तथा कृषि कर्मलाई निरन्तरता दिन सकिने सम्भावनाको खोजी गर्न आवश्यक छ ।