logo
२०८१ माघ ७ सोमवार



बढ्दो सेयर संस्कृति (सम्पादकीय)

विचार/दृष्टिकोण |




कोभिड–१९ (कोरोना) कहरले मुलुकका अन्य क्षेत्रमा नकारात्मक प्रभाव परे पनि धितोपत्र बजारमा भने त्यस्तो प्रभाव परेको छैन । हरेक दिन नयाँ नयाँ रेकर्ड कायम हुँदै आइतबार सबैभन्दा उच्च बिन्दुमा पुगेको नेप्से परिसूचक सोमबार सामान्य अङ्कले वृद्धि भए पनि कारोवार रकम भने उच्च देखिएको छ । कारोबार रकमका आधारमा आइतबार नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ । मुलुकका अधिकांश जिल्ला तथा क्षेत्रको जनजीवन ठप्पप्रायः भए पनि घरमै रहेर विद्युतीय माध्यमबाट सेयर कारोबार गर्न पाउने भएकाले सेयर किनबेचमा व्यवधान छैन । आकर्षण घटेको छैन र क्रेता–बिक्रेताको सहभागिता सहज छ । यस्ता कारण पनि पुँजीबजार कारोबारमा बढोत्तरी आएको हुनसक्छ । सोमबारसम्मको अवस्थामा नेप्सेमा ३.०७ अङ्कले वृद्धि भई दुई हजार ८२३.०६ मा पुगेको छ । नेप्सेको यो उचाइ हालसम्मकै बढी हो । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.३१ ले वृद्धि भई ५०८.४९ मा पुगेको छ । सोमबार विभिन्न २१६ कम्पनीको दुई करोड ७१ लाख ४० हजार २०२ कित्ता सेयर रु १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार १८८ मूल्यमा खरिद बिक्री भयो ।
छोटै समयमा नेपाली सेयर बजारले राम्रो प्रतिफल र परिणाम दिएकाले पनि अन्यत्रको लगानी यतातिर प्रवाहित भएको देखिन्छ । पछिल्लो समय घरजग्गा तथा अटो (सवारी साधन) मा लगानी घट्दो देखिनु र सेयर बजारमा ठुलो अङ्कको कारोबार हुनुले यस्ता विचार पुष्टि गर्छन् । सेयर बजार सकारात्मक हुनु सुखद भए पनि उत्पादनमूलक क्षेत्रमा निजी लगानी आकर्षित गर्न सकिए यसले अर्थतन्त्रमा दीर्घकालीन योगदान दिनसक्छ । वर्तमान अवस्थामा बजार पुँजीकरण ३९ खर्ब १७ अर्ब ४० करोड ५३ लाख ४७ हजार ३६९ रुपियाँ बराबर पुगेको छ, जुन मुलुकको कुल गार्हस्थ उत्पादनभन्दा बढी बजार पुँजीकरण पुगेको छ ।
जानकारहरू नेपाली सेयर बजार वस्तुपरकभन्दा हल्ला वा देखासिकीमा आधारित छ र यसलाई थप पहलमार्फत् वास्तविक धरातलमा उभ्याउँदै सुरक्षित गर्नुपर्ने खाँचो देख्छन् । यस्तो विचारलाई नकार्न सकिँदैन तर वि.सं. १९९४ सुरु भएको सेयर निष्कासन, खरिद तथा त्यसको व्यवस्था पछिल्ला दशकमा गरिएका पहलले आकाश जमिनको अन्तरमा सुधार भएकाले नेपाली पुँजीबजारलाई पारदर्शी, सुरक्षित तथा वस्तुपरक बनाउन सहयोग गरेका छन् । सेयर कारोबारको नेपाली इतिहास करिब आठ दशकको रहे पनि वि.सं. २०६४ पछि अटोमेसन प्रणालीमार्फत सुरु गरिएको कारोबार, नेप्सेले २०६७ मा गरेको सीडीएस एण्ड क्लियरिङ हाउसको स्थापना र २०७२ देखि सेयरको अभौतिकीकरण (डिम्याट) सुरु भएपछि सेयर कारोबार नयाँ चरणमा प्रवेश गरेको देखिन्छ । यस्ता प्रयासले नेपालको सेयर बजारलाई थप सुरक्षित बनाएको छ । नेपाल धितोपत्र बोर्डले बजार सुधारका लागि गरेको नीतिगत प्रयास पनि उत्पादनमुखी देखिएको छ ।
कतिपय जलविद्युत् आयोजनाका प्रभावितलाई दिइएको सेयरले उनीहरूलाई व्यक्तिगत रूपमा आर्थिक लाभ मात्र दिएको छैन, सेयरको प्रचार र लाभ ग्रामीण तहसम्म पुगेको छ । बैङ्क तथा वित्तीय संस्थामा मात्र देखिने सेयर आकर्षण पछिल्ला दिन अन्य क्षेत्रमा पुगेको छ । यसले आर्थिक गतिविधिमा आमनेपालीलाई सहभागी गराउन सकिने सम्भावना देखिएको छ । यो एक वर्षबीच डिम्याट खाता खोल्ने र सेयर खरिद गर्नेको सङ्ख्या हेर्ने हो भने सेयर बजार बिस्तारै सर्वसाधारणको पहुँचमा पुग्न थालेको देखिन्छ । अर्कोतिर न्यूनतम १० सेयर र भरसक सबै आवेदकलाई सेयर दिने वर्तमान कार्यविधिले पनि सेयर बजारको सहभागितालाई चौडा बनाएको छ । यद्यपि वाध्यकारी न्यूनतम सेयर दिनुपर्ने व्यवस्थाका राम्रा र नराम्रा पक्षमा समीक्षा भइरहेका छन् र वैकल्पिक व्यवस्था गर्नुपर्ने बताइएको पनि छ । दोस्रो पुँजी बजारमा मात्र नभएर ठूला आयोजनाका सेयर खरिदमा सर्वसाधारणको उत्साहले नेपालमै ठूला लगानीको स्रोत जुट्दै आएका छन् र जुट्न सक्ने उच्च सम्भावना देखिएको छ । अझै पनि ठूलो सङ्ख्याका नागरिकलाई सेयरबारे खासै जानकारी नभएकाले सेयर साक्षरतामार्फत दोस्रो बजारलाई चलायमान बनाउन र आयोजनाको स्रोत जुटाउन सेयर संस्कृति बसाउन सकिनेछ ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?