नेपालमा पशुपन्छी व्यवसायी आत्मनिर्भर हुँदैछन् । अन्डा र कुखुराको मासुपछि अबका दिन दूधमा पनि नेपाल आत्मनिर्भर हुँदैछ । जानकारहरूका अनुसार अन्डा र कुखुराको मासुमा २० वर्षयता पूर्ण रूपले आत्मनिर्भर नेपाल खसीको मासुमा अझै ५० प्रतिशत आयातमा निर्भर छ । विश्व खाद्य तथा कृषि सङ्गठनका अनुसार प्रतिव्यक्ति वार्षिक ९१ लिटर दूध खानुपर्नेमा हाल नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष १३ लिटर दूध अपुग छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा नेपाललाई दुई वर्षभित्र दूधमा आत्मनिर्भर बनाइने प्रतिबद्धता व्यक्त गरिएको छ । पछिल्ला वर्ष पशुपालन र कृषिमा बढ्दै गएको लगानीका कारण मुलुक क्रमशः पशुजन्य उत्पादनमा आत्मनिर्भर हुने अवस्थामा पुगेको हो । कृषि प्रधान नेपालको खाद्य संस्कृतिमा ‘गोरस’ अकाट्य खाना हो । भन्दा गोरस भनिए पनि गाई वा भैँसीका दुग्धजन्य सबै पदार्थ समग्रमा गोरस नै मानिन्छन् । मोही नेपालका सबै क्षेत्रमा प्रचलित खाद्य पदार्थ हो । ऋषिमुनिदेखि सबैले दूध र दुग्धपदार्थको सेवन गर्ने गरेको पाइन्छ । कृषि तथा पशुपालनबाट जनशक्तिको पलायनले केही समय विदेशबाट ल्याइएका धुलो वा बट्टाको दूधलाई पनि ‘गोरस’ मान्नुपर्ने अवस्था आएको थियो । काठमाडौँमा वि.सं. ४० को दशकतिर नेपाल दुग्ध विकास संस्थानले उपलब्ध गराएको सीसी लिएर दूध किन्न वितरण केन्द्रमा उभिनु परेको सम्झना कैयौँ काठमाडौँवासीलाई हुनुपर्छ । अहिले अवस्था त्यस्तै छैन । दूध किन्न लाइन बस्नुपर्ने अवस्था इतिहास भएको छ ।
पशुपालनमा अनौपचारिक क्षेत्रको उच्च आर्थिक लगानी परेको भए पनि पशुपालक कृषकले यथोचित प्रतिफल पाएका छैनन् । खासगरी पशु स्वास्थ्य, बीमा, आहार र दूधको बजार अनिश्चित रहेकाले पशुपालन कर्मलाई ‘व्यवसाय’ बनाउन सकिएको छैन, यो अहिले पनि जीवननिर्वाहको माध्यम मात्र भएको छ । पशुपालनका एकाध सफलताले पनि नेपालमा दुग्ध पदार्थको उत्पादनलाई रोजगारीका साथै पौष्टिक आहारको सङ्गम बनाउन सकिने सम्भावना देखिएको छ । तर, यसका लागि विद्यमान विभिन्न नीति, पहल तथा दृष्टिकोणमा आमूल परिवर्तन गर्नुपर्ने देखिन्छ । अहिले पनि पशुपालक किसानले भन्दा अन्यले राज्य प्रदत्त पशुपालनका सुविधा उपयोग गरेका पनि पाइन्छ । यस्तो अवस्थाको अन्त्य गर्न नीति तथा कार्यक्रमको कार्यान्वयन र स्रोत परिचालनमा कठोर हुनुपर्छ ।
दुई ठूला अर्थतन्त्र भारत र चीनबीचको नेपालले खुला बजारको प्रतिस्पर्धात्मक व्यवस्थाबाट औद्योगिक सफलता पाउन धेरै गाह्रो छ । नेपालका लागि कृषि, पशुपालन, जडीबुटी, पर्यटन, जलस्रोतजस्ता क्षेत्र लगानीका दृष्टिले सुरक्षित देखिन्छन् । तर विगत केही वर्षयता हरियो तरकारी, अन्डा, कुखुराको मासुमा नेपाली उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न समस्या भोगिरहेका छन् । दुई वर्षअघिको दशैँमा भारतीय खसीबोकाका आयातले नेपाली खसीबोका बिक्री हुन नसकेको अवस्था राष्ट्रिय रूपमै चर्चा र चासोको विषय भएको थियो । बजारशास्त्रमा एउटा कठोर मान्यता स्थापित छ– ‘उपभोक्ताको राष्ट्रियता हुँदैन ।’ जहाँ सस्तो पाइन्छ आमउपभोक्ता उतै जान्छन् । सानो सङ्ख्याको सचेत उपभोक्ताले मात्र वस्तु तथा सेवाको गुणस्तर र ओरिजिन (उत्पादन क्षेत्र÷देश) जस्ता पक्षमा ध्यान दिन्छन् जो बजारका लागि निर्णायक हुँदैनन् । यस्तो अवस्थामा नेपालले पशुपालनलाई सुरक्षित लगानीको क्षेत्र बनाउन कुनै कसर बाँकी राख्नु हुँदैन । ठूला दुग्ध प्रशोधन उद्योग चार, मझौला ३०, साना ५० र घरेलु तथा साना गरी ५०० भन्दा बढी क्षमताका डेरी रहेको नेपालमा किसानले दूधको भुक्तानी पाएनन्, धुलो दूध कुखुराको आहार बनाइने, बन्द, हड्ताल वा हालैका (कोराना) बन्दाबन्दीले सडकमै दूध बगाउनुपर्नेजस्ता दुःखद समाचारतिर पनि ध्यान दिनुुपर्छ । अण्डा, कुखराको मासु र दूधमा मुलुक आत्मनिर्भर हुने तर यिनका लगानीकर्ता सधँै परनिर्भर हुनपर्ने अवस्था चिर्न नसक्दासम्म कुनै पनि बेला मुलुकले हाल प्राप्त गर्दै गरेको आत्मनिर्भरता जोखिममा पर्नेछ । डेरी उद्योगमा निजी क्षेत्रको करिब ३० अर्ब रुपियाँ लगानी र त्यसमार्फत ३० हजार रोजगारी सिर्जना भएको विश्वास गरिन्छ । राष्ट्रिय उत्पादनमा दुग्ध क्षेत्रको मात्र नौ प्रतिशत जति योगदान रहेको देखिन्छ । यस्तो ‘दुहुनो गाई’ मानिने पशुपालन र दूग्ध उत्पादनमा समयानुकूल पहल अपेक्षित छ ।