logo
२०८१ माघ ६ आईतवार



धानमा आत्मनिर्भर हुने दिशामा (सम्पादकीय)

विचार/दृष्टिकोण |




आज राष्ट्रिय धान दिवस । असार १५ गते दही चिउरा खाने र हिलोमा पस्ने हाम्रो संस्कृति र परम्परा छ । यही दिनलाई राष्ट्रिय धान दिवस तथा रोपाइँँ महोत्सवको रूपमा मनाइँदै आएको छ । ‘धान उत्पादनमा वृद्धि ः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ आज १८औँ राष्ट्रिय धान तथा रोपाइँँ दिवस मनाइँदैछ ।
धान नेपालको मुख्य खाद्यान्न बाली हो । कृषि क्षेत्रको कुल गार्हस्थ उत्पादनमा १५ प्रतिशत योगदान मात्रै होइन, धान खाद्यसुरक्षा, रोजगारी र आयआर्जनका दृष्टिले पनि अति महìवपूर्ण छ । कुल क्षेत्रफलको ४७ प्रतिशत भूभाग अर्थात् करिब १५ लाख हेक्टरमा धान खेती हुन्छ । अन्नबाली लगाइने कुल क्षेत्रफलको ४३ प्रतिशतमा धान खेती गरिन्छ । गएको वर्ष ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । तर माग ६२ लाख मेट्रिक टन रह्यो । अर्थात् छ लाख मेट्रिक टन धान अपुग हुने स्थिति छ । सरकारी तथ्याङ्कले नेपालमा वर्षभरिका लागि एक करोड १२ लाख मेट्रिक टन खाद्यान्न चाहिने देखाउँछ । मकै, कोदो, गहुँजस्ता अन्य बालीसमेत गर्दा हामी खाद्यान्नमा आत्मनिर्भर छौँ । तर कुल खाद्यबाली उत्पादनको ५३ प्रतिशत हिस्सा ओगट्ने धानकै मात्र हिसाब गर्ने हो भने केही अपुग छ । यो हाम्रो खाने बानी र उपभोक्ता बास्नादार चामलप्रति आकर्षित भएर पनि हो । यही कारणले चामल आयात गर्नुपर्ने अवस्था छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालू आर्थिक वर्षको १० महिनामा भारतबाट ४४ अर्ब ४६ करोड रुपियाँको चामल आयात भएको छ । यो यसै अवधिको कुल आयातमा साढे तीन प्रतिशत हो ।
माग बढ्दो क्रममा रहेकाले धानको उत्पादन र उत्पादकत्व वृद्धिविना आत्मनिर्भर हुन सकिँदैन । यसका लागि पूर्वाधार र प्रविधिमा सुधार चाहिन्छ । धानखेती आकासे पानीमै निर्भर छ, कुल धान खेतीमध्ये एकचौथाइभन्दा कम क्षेत्रफलमा मात्रै वर्षैभरि सिँचाइको सुविधा भएकाले धान उत्पादनमा सोचेअनुसार वृद्धि गर्न सकिएको छैन । वर्षा मात्रै होइन, समयमा उन्नत बीउबिजन, रोग, कीटनाशक विषादी र मल नपाउँदा पनि धान उत्पादन प्रभावित हुने गरेको छ । जनसङ्ख्या वृद्धिसँगै माग बढ्दै जाने, श्रमशक्तिको अभावमा खेतीयोग्य जमिन बाँझो रहने, कृषिमा यन्त्रीकरण र आधुनिकीकरण हुन नसक्ने, उत्पादन लागत उच्च हुनेजस्ता समस्याले धान खेती व्यावसायिक बन्नसकेको छैन । केही प्रयास भएका छन् तर धानमा आत्मनिर्भर हुन अझै धेरै गर्न बाँकी छ । उत्पादकत्व धेरै भएका नयाँ जातका धान विकास गरिएको छ, किसानलाई प्रोत्साहन गर्दै अनुदान दिने व्यवस्था छ । कृषिमा आधुनिकीकरणमा जोड दिइएको छ । परिणाम स्वरूप विगत तीन दशकमा धान उत्पादन ६० प्रतिशत र उत्पादकत्व ५९ प्रतिशतले बढेको छ । तर पनि धानको माग आन्तरिक रूपमै पूरा गर्नसक्ने स्थितिमा भने पुग्न सकिएको छैन ।
धान हामी नेपालीको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षसँग जोडिएको र जीवनशैलीको अभिन्न हिस्सा नै हो । नेपालीको चलन, संस्कृति र जीवनशैलीमा दुई छाक दाल भात नेपालीको आहारको न्यूनतम स्तर हो । केही समय अघिसम्म धानको भातको सट्टा मकै, कोदो वा गहुँको ढिँडो वा रोटीले पनि गुजारा चल्थ्यो । तर अहिले धानको चामलकै भात चाहिन्छ । र, त्यो पनि मसिनो र बास्नादार चामल चाहिने उपभोक्ताको सङ्ख्या बढिरहेको छ । खाने मुख बढेर मात्रै होइन, जिब्रो स्वादे भएकाले पनि धानको माग बढाएको हो । त्यसैले धानको उत्पादन बढाउनुपर्ने आवश्यकता त छँदैछ, मागअनुसारको उत्पादन गर्नेतर्फ पनि ध्यान दिन जरुरी छ । राम्रो गुणस्तर र उपभोक्ताले रुचाएको बास्नादार र मसिनो चामलको उत्पादन बढाउनेतर्फ ध्यान दिन आवश्यक छ । कृषि उत्पादन वृद्धि र व्यावसायीकरणका लागि सरकारले दिने अनुदानलगायतका सुविधाको प्रभावकारिता ल्याउनुपर्छ । यसले मात्रै आम नागरिकको जीवनस्तर सुधार गर्न सक्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?